कम्युनिस्टहरू जातीय स्वतन्त्रताका पक्षधर हुन्थे भने दलाई लामाहरू शरणार्थी बन्नु पथ्र्यो ? :: प्रदीप पौडेल

वर्गसंघर्ष दर्शनका क्षेत्रमा माक्र्सवादका तीन मुख्य योगदानमध्ये एक मानिन्छ । कम्युनिस्टका लागि मानव जातिको इतिहास नै वर्गसंघर्षको इतिहास थियो र राता किताबमा अझै पनि त्यही लेखिएको छ । तर, नेपाली कम्युनिस्टका पाठ्यक्रममा भने अब वर्गसंघर्ष पर्न छाडेको छ । वर्ग छाडेर जातिको पुच्छर समातेका नेपालका अधिकांश कम्युनिस्ट पार्टी कार्यालयमा अब माक्र्सको फोटो मात्र छ, माक्र्सवाद छैन ।

कम्युनिस्टहरू विचारका हिसाबले सामान्यत: जड मानिन्छन् । माक्र्सवादलाई धर्म र माक्र्सलाई देवता बनाएको आरोप तीमाथि लाग्ने गरेको छ । समयानुकूल गतिशील हुन नसक्नु, जीवनलाई भन्दा विचारलाई बढी महत्त्व दिएको देखाउनु कम्युनिस्टहरूको अन्तर्राष्ट्रिय रोग हो । धेरै प्रसंगमा नेपालका कम्युनिस्ट पनि त्यस्तै छन् । तर, सत्तामा पुग्न सजिलो हुन्छ भने ती आफ्ना विचार र विश्वासको बलि दिन पनि पछि पर्दैनन् । कमरेडहरूले अहिले उछालेको जातिवाद र बिर्सेको वर्गवाद त्यसको ताजा उदाहरण हो ।

०१५ सालको प्रथम आमनिर्वाचनमा कम्युनिस्ट पार्टीले जम्मा चार सिट जित्यो । त्यतिखेर एकतिहाइ विश्वमा कम्युनिस्टहरूको शासन थियो । उत्तरी छिमेकी चीनमा माओवादको जगजगी थियो । चरम गरिबी, शोषण र सामन्तवादको अत्यधिक जगजगी भएको त्यतिखेरको नेपालमा कम्युनिस्ट पार्टीको प्रभाव धेरै हुनुपर्ने हो । तर, राणाशासन समर्थक गोरखा परिषद् नै कम्युनिस्ट पार्टीभन्दा चार गुना ठूलो थियो । यसो किन भयो भने त्यतिखेर नेपाली कांग्रेस ००७ सालको क्रान्तिको ताप र रापसहित उपस्थित थियो ।

स्थापनाकालदेखि नै नेपाल कम्युनिस्ट पार्टी नेपाली कांग्रेसमाथि अत्यन्त आक्रामक थियो । तर, कम्युनिस्टहरू कांग्रेससँग गलत जमिनमा प्रतिस्पर्धा गरिरहेका थिए । एकाध अपवादबाहेक संसारमा कम्युनिस्टले त्यहाँ मात्र सफलता हासिल गरे, जहाँ साम्राज्यवादी या सामन्तवादी शासन थियो । नेपालमा भने सामन्तवादसँग निर्णायक संघर्ष कम्युनिस्टले होइन, नेपाली कांग्रेसले गरेको थियो, त्यो पनि सशस्त्र क्रान्तिद्वारा ।
त्यतिखेर नेपाली कांग्रेस केवल राजनीतिक क्रान्तिको संवाहक थिएन, बरु त्यो सामाजिक, सांस्कृतिक र आर्थिक क्रान्तिको पनि प्रतिनिधि थियो । यसका नारा, व्यवहार र कार्यक्रम प्रगतिशील र क्रान्तिकारी थिए । समाजको आमूल परिवर्तनको केन्द्र नै नेपाली कांग्रेस थियो । आर्थिक–सामाजिक समानतासँगै त्यसले राजनीतिक स्वतन्त्रताको पनि प्रतिनिधित्व गथ्र्याे, जुन कम्युनिस्टबाट सम्भव थिएन । त्यसैले कम्युनिस्टहरू कांग्रेससँग राजनीतिक र वैचारिक संघर्षमा विजयी हुने अवस्थामा थिएनन् ।

१ पुस ०१७ पछि परिस्थिति बदलियो । लोकप्रिय र निर्वाचित सरकारलाई सैनिक ‘कु’बाट हटाइयो र एकदलीय पञ्चायती व्यवस्था सुरु भयो । त्यतिखेर स्वाभाविक रूपमा नेपाली कांग्रेसले राजनीतिक लडाइँलाई प्रमुख र अरू विषयलाई गौण मान्नुपर्ने भयो । पञ्चायतको प्रमुख दुस्मन कम्युनिस्ट होइन, कांग्रेस थियो र कतिपय अवस्थामा पञ्चहरूले कम्युनिस्टलाई कांग्रेसविरुद्ध प्रयोग पनि गरे । वास्तवमा जबसम्म कांग्रेस मुख्य शक्तिका रूपमा थियो, कम्युनिस्ट पार्टीको खासै जनाधार थिएन । जब सामन्तवादी पञ्चायत सुदृढ भयो, कम्युनिस्टहरूले जनाधार विस्तार गरे ।
०४६ सालमा नेपाली कांग्रेसको नेतृत्वमा पहिलो जनआन्दोलन सफल हुँदै गर्दा संसारका माक्र्सवादी गढ तासको महलझैँ ढल्दै थिए । त्यसको डेढ वर्षभित्रै सोभियत संघसमेत ढल्यो । तर, नेपालमा त्यसको प्रभाव किन परेन भने कम्युनिस्टहरूले वर्गीय गीत र नाराले जनताको एउटा पंक्तिलाई भ्रममा राख्न सफल भइसकेका थिए । एकातिर एमालेले वर्गीय नारालाई भोटमा बेच्यो भने माओवादीले त्यसैलाई युद्धमा बेच्यो । हुँदाहुँदा ०६४ सालको संविधानसभा चुनावमा सबै कम्युनिस्ट नामधारी पार्टीलाई जोड्दा ६२ प्रतिशत सिट उनीहरूको पोल्टामा पुग्यो ।

जनाधार जे भए पनि नेपाली कम्युनिस्टले कहिल्यै सकारात्मक र रचनात्मक मत पाएका भने होइनन् । सुरुमा त्यो पञ्चायतविरोधी जनमतको हिस्सा थियो र पछि कांग्रेससँग असन्तुष्ट मत । पछिल्लो समयमा कांग्रेसले प्रारम्भिक क्रान्तिकारी छवि कायम गर्न सकेन । कांग्रेस उत्पादनमा होइन, वितरणमा चुक्यो । उदारीकरणले अति गरिब समुदायलाई प्रत्यक्ष लाभ भएको अनुभूत गराउन सकेन । आर्थिक, सामाजिक रुपान्तरण प्राथमिकतामा परेन । यी सबै कांग्रेसका नीतिगत कमजोरी थिएनन्, सरकार सञ्चालनका कमजोरी थिए र त्यसमा पनि प्राथमिकता तय गर्नमा भएको कमजोरी । तर, जनताको एउटा हिस्सा कांग्रेसलाई दण्डित गर्ने तहमा पुग्यो र संविधानसभामा अप्रत्याशित परिणाम आयो । उता कांग्रेससँग लड्न कांग्रेस नै भइसकेको एमालेको पनि उही हविगत भयो ।

पछिल्ला पाँच वर्ष नेपाली कम्युनिस्टका लागि स्वर्ण वर्ष रहे । पालैपालो चारजना कम्युनिस्ट नेता प्रधानमन्त्रीको कुर्सीमा बसे । तर, यी वर्ष नेपाली कम्युनिस्टका लागि सबैभन्दा चुनौती र चेतावनीका वर्ष पनि रहे । किनकि यी पाँच वर्षमा नेपाली कम्युनिस्टको नकारात्मक राजनीतिको सबै जमिन सकियो । आजसम्म तिनले अरूका शासकीय कमजोरीमाथि दोषारोपण गरेर आफ्नो जनमत बढाएका थिए । तर, अब ती आफैं शासनमा थिए र तिनको शासन कांग्रेसको जति पनि जनमुखी थिएन । आफूमाथि तीव्र जनअसन्तोषलाई ‘डाइभर्ट’ गर्न अन्त्यमा तिनले जातिको कार्ड फ्याँकिरहेका छन् जबकि त्यसले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामाथि नै प्रत्यक्ष र परोक्ष संकट ल्याएको छ ।

वर्ग छाडेर जातिको राजनीति माओवादीले सुरु गर्‍यो । दश वर्ष लामो युद्धमा सुरुमा उसले वर्गलाई जोड्यो । तर, लोकतान्त्रिक धार छाडेर हिंसाको राजनीति गरिरहेको उसले युद्धलाई जनतासँग जोड्न सकेन । त्यसपछि तत्कालको फाइदा हेरेर उसले जातिको पुच्छर समात्यो र भटाभट जातीय राज्य बाँड्न थाल्यो । तत्कालका लागि उसलाई यसबाट फाइदा त भयो । तर, देशमा भने सम्हाल्नै नसक्ने परिस्थिति तयार भयो । संविधान बन्न नसक्नुको एउटा मुख्य कारण यही थियो ।

यसो भन्दाभन्दै पनि नेपालमा जातीय समस्या एउटा वास्तविकता हो । खस आधिपत्यको लामो शासनकालमा थुप्रै जातजातिलाई योजनाबद्ध रूपमा पछि पारिएको पनि इतिहासको तीतो सत्य हो । तिनले आफ्नो पहिचानका लागि अहिले गरेको संघर्षलाई लोकतान्त्रिक दलहरूले अझै पनि जातिवादका रूपमा मात्रै बुझे भने त्यसले ती दललाई त कमजोर बनाउने छ नै, वास्तविक जातिवादले पनि बढावा पाउनेछ । यो प्रसंगमा अरू कुनै दिन चर्चा गरौँला । अहिले प्रसंग नेपाली कम्युनिस्टले कसरी वर्गलाई चटक्कै छाडेर केवल जातिको कुरा उठाइरहेका छन् र आफ्नै सिद्धान्तमाथि बेइमानी गरेका छन् भन्ने मात्र हो ।
नेपालका ३० प्रतिशतभन्दा बढी जनता निरपेक्ष गरिबीको रेखामुनि छन् । यो जनसंख्या राजनीतिक रूपमा जतिखेरै पनि विस्फोटको तहमा पुग्न सक्छ । नेपालका हरेक परिवर्तनमा निर्णायक धक्का यही वर्गले दिएको हो । पछिल्लो संविधानसभा चुनावमा यो वर्ग माओवादीसँग थियो । तर, अब माओवादीसँग त्यसको मोहभंग भइसकेको छ । अब जुन शक्तिले त्यसका आशा र भरोसालाई जगाउन सक्छ, त्यही शक्ति बलियो हुनेछ ।

दस्ताबेजमा क्रान्तिकारी बनेर पुरानालाई गद्दार घोषणा गर्ने र नयाँ कम्युनिस्ट पार्टी निर्माण गरेर नेता बन्ने नेपाली कम्युनिस्ट आन्दोलनको चरित्र हो । संसारमा प्रयोगबाट विफल भएको कम्युनिस्ट सिद्धान्त नेपालमा किन लोकप्रिय भयो भने विपन्न वर्गलाई कम्युनिस्टहरूको आर्थिक दृष्टिकोणले आकर्षित गर्‍यो । तर, जब ती सत्तामा पुगे, तिनको नीति, कार्यक्रम र आचरण केही पनि हिजो तिनले घोकाएका सिद्धान्तसँग मिल्दैनथे । यसरी जनतामा तीप्रति मोहभंग भयो ।

झापा आन्दोलनको मूल नारा ‘सामन्तलाई गिँडिन्छ’ भन्ने थियो । कम्युनिस्टका गीत र नाच सबै गरिबप्रति समर्पित थिए । आर्थिक समृद्धि र समानताको सपना देखाएर कम्युनिस्ट पार्टी र त्यसका नेता लोकप्रिय भए । अब ती गीत र नाच जनतामा नबिक्ने भएपछि कम्युनिस्टले जातीय भ्रम छर्दै छन् । तर, जातीय पहिचानका पक्षधरले बुझ्नुपर्ने के हो भने नेपाली कम्युनिस्टहरू वर्गप्रति त इमानदार रहेनन् भने जातिप्रति कसरी हुन सक्छन् ? यो केवल उपयोगको राजनीति हो । कम्युनिस्टहरू धार्मिक र जातीय स्वतन्त्रताका पक्षधर हुन्थे भने दलाई लामाहरू शरणार्थी बन्ने थिएनन् ।

१३ असार २०७०, बिहीबार २०:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

दुई अध्यक्षबीचको विवाद मिलाउन ४ सदस्यीय अनौपचारिक कार्यदल

काठमाडौँ, २१ असार । सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद थप बढ्न नदिन दुई अध्यक्ष सकारात्मक भएका छन् । प्रधानमन्त्री निवास..

कोरोना विरुद्द लड्न आईएलओले एनआरएनएलाई दियो ५ करोड १० लाख अनुदान

काठमाडौँ, २० असार । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ४ लाख २४ हजार ३१० डलर..

उमा थापाको शनिवारिय कोशेली, कथा: ‘देउता आएनन्’

काठमाडौँको माघ महिनाको मुटु नै कठ्याङ्ग्रिने जाडो त्यसमाथि केही दिनदेखि एकनासले झरी परिरहेको छ । शीतल बेलुकीको..

नेकपा स्थायी कमिटी बैठक सोमबार सम्मका लागि स्थगित

काठमाडौँ, २० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक असार २२ गते सम्मका लागि..

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ ।..