वैद्यको विरोध छिचोल्ने बाटो खोज दलहरू ! :: विनोद नेपाल

संविधानसभा सदस्य निर्वाचन कानुनका विवादित विषयमा सहमति खोज्न बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकले विवादित विषयको अन्तिम टुङ्गो लगाउने जिम्मा सरकारलाई नै दिने निर्णय गरेको केही दिनमै सरकारले बहुप्रतीक्षित दोस्रो संविधानसभा निर्वाचनको मिति घोषणा गर्‍यो । प्रमुख चार राजनीतिक शक्ति एनेकपा माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले तथा संयुक्त मधेसी मोर्चाका शीर्ष नेताहरू सम्मिलित समितिको पटकपटकको छलफलमा दलहरू आ–आफनै अडानमा रहेपछि मङ्सिरको पहिलो साताभित्र निर्वाचनको सुनिश्चितताका लागि भन्दै विवादित विषयको टुङ्गो लगाउने जिम्मा सरकारलाई दिने सहमति भएपछि निर्वाचनको मिति घोषणा गर्न बाटो खुलेको थियो ।
निर्वाचन आयोगले विगतको अनुभवको आधारमा निर्वाचन अध्यादेशमा केही संशोधन प्रस्ताव गरेको थियो । उसले मत प्रतिशत सीमा र उम्मेदवारको योग्यता तथा सम्पत्ति विवरणलगायत विषयमा केही सुधारको आवश्यकता अनुभव गरी सोहीबमोजिम सरकारसमक्ष सिफारिस गरेको थियो । तर, दलहरूबीच ती विषयमा सहमति हुन नसकेको कारण निर्वाचनको मिति घोषणामा ढिलाइ भइरहेको र त्यसले एकप्रकारको अन्योल महसुस भइरहेकोमा प्रमुख दलहरूको समितिद्वारा प्राप्त अधिकारबमोजिम सरकारले राष्ट्रपतिसमक्ष निर्वाचन अध्यादेश सिफारिस गर्दै चुनावको मिति घोषणा गरेको र राष्ट्रपति महोदयबाट सो अध्यादेशमा स्वीकृति प्राप्त भइसकेको सन्दर्भमा अब निर्वाचनको प्रक्रियाले गति लिन थालेको र यसले आमजनमानसमा समेत केही आशाको सञ्चार हुन पुगेको छ ।
विवादका विषयलाई लिएर दलहरू एक–अर्कामाथि चुनाव नचाहेको र चुनावबाट भाग्न खोजेकोजस्ता आरोप लगाउँदै आएका थिए । प्रमुख भनिने दलहरूबीचकै यस किसिमको विवादले एकप्रकारको रमिता भइरहेकोमा चुनावी अध्यादेश स्वीकृत भई निर्वाचन क्षेत्र निर्धारण आयोगसमेत गठन भइसकेको सन्दर्भमा घोषित मिति आगामी मङ्सिर ४ गते निर्वाचन सम्पन्न गर्नुको अब विकल्प छैन । तर, केही दल अझै पनि निर्वाचनमा अवरोध उत्पन्न गर्ने दिशामै अग्रसर छन् । निर्वाचनको मिति घोषणाको भोलिपल्ट ‘निर्वाचनबाटै मुलुकले निकास पाउने’ भन्दै अन्तरिम चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीले राष्ट्रका नाममा सम्बोधनमार्फत सबै किसिमका असहमति परित्याग गरी निर्वाचनका लागि सहमतिमा आउन आग्रह गरे पनि असन्तुष्ट दलहरूले सो आह्वानको बेवास्ता गर्दै नेपाल बन्दको आयोजना गर्नुका साथै आन्दोलनका अन्य कार्यक्रमसमेत तय गरेबाट निर्वाचन सहज नहुने देखिएको छ ।
निश्चय नै निर्वाचनका सामु थुप्रै चुनौती छन् । प्राविधिक तयारी भए पनि अधिकाधिक दल र आमजनताको व्यापक सहभागिता नभएसम्म निर्वाचनको औचित्य नरहने सन्दर्भमा अब सबैको प्रयास असहमत दलहरूलाई सहमतिमा ल्याउनेतर्फ केन्द्रित हुनु जरुरी छ । यसै क्रममा उच्चस्तरीय राजनीतिक समितिको असार ३ गते बसेको बैठकले असन्तुष्ट दलहरूलाई विरोधका कार्यक्रम छाडी सहमतिमा आउन आह्वान गरेको पनि छ । तर, यस किसिमको औपचारिकताले मात्र परिस्थिति सुध्रन नसक्ने भएकाले सार्थक वार्ता हुनु अनिवार्य छ भन्ने कुरा प्रमुख दलहरूले बुझ्नुपर्छ । जायज मागको सम्बोधन गर्ने तथा असन्तुष्टि र असहमति रहेका विषयमा उनीहरूलाई सहमतिमा ल्याउन दलहरूको निरन्तर प्रयास हुनुपर्छ ।
सबैले आग्रह–पूर्वाग्रह र दल वा गुटगत निहित स्वार्थ परित्याग गरी देश र जनताको पक्षमा एकाकार भई स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्नु अहिलेको आवश्यकता हो । मुलुकलाई विद्यमान अन्योलबाट निकास दिनका लागि निर्वाचनको अपरिहार्यता छ र सोही उद्देश्यले गठन भएको वर्तमान सरकारलाई लामो समय सत्तामा राखिरहनु लोकतन्त्रको मूल्य, मान्यता र मर्मविपरीत हुने भएकाले पनि दलहरूले बहानाबाजीमा समय घर्काउने र परिस्थितिलाई झन् जटिल बनाउनेतर्फ उद्यत् रहनुहुँदैन । सफल निर्वाचनका लागि सबै नै इमानदार हुनुपर्छ । तर, कतिपयले आफू एकदमै इमानदार र प्रतिबद्ध अनि अरू सबै निर्वाचनविरोधी भन्ने हल्ला फैलाएर गैरजिम्मेवारी देखाइरहेका छन् जुन अत्यन्त विडम्बनापूर्ण विषय हो ।
विभिन्न घटनाक्रमले हाम्रा नेताहरूमा निर्णय क्षमता नभएको तथा जायज–नाजायज, उचित–अनुचित र आवश्यक अनावश्यक छुट्याउने क्षमतासमेत उनीहरूमा नभएको प्रस्टै देखाएका छन् । यो अपरिपक्वता कम्तीमा अब प्रदर्शन गर्नु हुँदैन । यदि दलहरू जिम्मेवार छन् भने उनीहरूबाट असन्तुष्ट पक्षहरूलाई समेत निर्वाचनमा सहभागी गराउने जिम्मेवार प्रयास हुनुपर्छ । निर्वाचन गराउने प्रयोजनका लागि सरकार गठन भएको तीन महिना पूरा भइसक्दा पनि निर्वाचन ऐनको विवाद सुल्झन नसक्दा निर्वाचनको प्रक्रिया अघि बढ्न नसकेकोमा अब फेरि कुनै किसिमको अवरोध भएमा घोषित मितिमा निर्वाचन सम्भव नहुने र निर्वाचन टाढिनु लोकतन्त्र नै सङ्कटमा पर्ने सन्दर्भमा दलहरूले मूल मुद्दाहरूमा न्यूनतम सहमति कायम गरी निर्वाचनमा कुनै किसिमको अवरोध नहुने सुनिश्चितता गर्नु अनिवार्य छ । तपसिलका विषयमा अल्झेर समय घर्काउनुभन्दा कसैले कुनै कुरा त्यागेर, छाडेर गतिरोध अन्त्य हुन्छ भने त्यही बाटो समाउनुपर्छ । निर्वाचन लोकतन्त्रको सुन्दरता हो । स्वच्छ, निष्पक्ष र पारदर्शी निर्वाचन आजको आवश्यकता हो । यदि दलहरू साँच्चै लोकतन्त्रप्रति प्रतिबद्ध छन् भने व्यापक सहभागितामा यस किसिमको निर्वाचनका लागि अग्रसरता देखाउनुपर्छ ।
दलहरूले हिजोका कमी–कमजोरीमा आत्मालोचना गर्दै र आगामी दिनमा पुन: त्यस्ता प्रवृत्ति र पात्रहरू संविधानसभाजस्तो गरिमामय सभामा पुग्न नसकून् भन्नेतर्फ सजगता अपनाउँदै आगामी संविधानसभा सद्चरित्र, योग्य र सक्षम व्यक्तिहरूको साझा सभा बनोस् र मुलुकको स्वाभिमान र अखण्डता तथा नेपाली–नेपालीबीचको सम्बन्धमा कुनै किसिमको आँच नपुग्ने किसिमको संविधान बनाउन सफल होस् भन्ने अपेक्षाका साथ उम्मेदवार चयन गर्नेतर्फ ध्यान दिन सके संविधानसभा निर्वाचनको औचित्यसमेत पुष्टि हुनेछ । चुनावका सामु थुप्रै चुनौती छन् । सरकारले एकपक्षीय ढङ्गमा निर्वाचनको मिति घोषणा गरी निषेधको बाटो अपनाएकाले त्यसको विरोधमा सशक्त सङ्घर्ष गर्ने भन्दै वैद्य माओवादी नेतृत्वको गठबन्धन, उपेन्द्र यादवको गठबन्धन र अशोक राई नेतृत्वको पार्टीले विरोधका कार्यक्रम तयार गर्दै छन् । यस सन्दर्भमा दलहरू साँच्चै निर्वाचनको सफलता चाहन्छन् भने सबैको एकमात्र लक्ष्य निर्वाचनको सफलता हुनुपर्छ र असन्तुष्ट दलहरूलाई समेट्दै निर्वाचनमा जान सके मात्र सार्थक निर्वाचन सम्पन्न भई नेपाल र समस्त नेपालीको कल्याण सम्भव हुने भएकाले त्यसैका लागि प्रयत्न हुनु जरुरी छ ।

५ असार २०७०, बुधबार ०८:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

दुई अध्यक्षबीचको विवाद मिलाउन ४ सदस्यीय अनौपचारिक कार्यदल

काठमाडौँ, २१ असार । सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद थप बढ्न नदिन दुई अध्यक्ष सकारात्मक भएका छन् । प्रधानमन्त्री निवास..

कोरोना विरुद्द लड्न आईएलओले एनआरएनएलाई दियो ५ करोड १० लाख अनुदान

काठमाडौँ, २० असार । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ४ लाख २४ हजार ३१० डलर..

उमा थापाको शनिवारिय कोशेली, कथा: ‘देउता आएनन्’

काठमाडौँको माघ महिनाको मुटु नै कठ्याङ्ग्रिने जाडो त्यसमाथि केही दिनदेखि एकनासले झरी परिरहेको छ । शीतल बेलुकीको..

नेकपा स्थायी कमिटी बैठक सोमबार सम्मका लागि स्थगित

काठमाडौँ, २० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक असार २२ गते सम्मका लागि..

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ ।..