नेपाल सग्लो राख्ने हो भने समयसापेक्ष राजसंस्था आवश्यक छ :: मोहन चापागाईं

० तपाईं कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएको व्यक्ति, त्यत्तिकै लामो अवधि प्रजातान्त्रिक आन्दोलनमा पनि गुजार्दै हुनुहुन्छ, तर बाहिरबाट नियाल्नेले त नामोनिसान फेलापारेका छैनन्, के गर्दै हुनुहुन्छ ?
– मान्छेको जीवनमा नामोनिसान भन्ने कुरा आत्मसन्तुष्टिको विषय हो । वर्तमान नेपालको सन्दर्भमा भन्नुपर्दा कसैको पनि मान्छेको हिसाबमा नाम छैन विशेषगरी नेपाली नेता वा राजनेताहरूको । नेपाली छन्, नेपालीत्व छ, नेपाल राष्ट्र छ, यसको भूगोल छ । यीबाहेक अरू को के छन्–छैनन् भन्ने कुरा गौण नै छ । त्यसैले म कता छु कि छैन भन्ने सवालमा मलाई कुनै विष्मात् छैन ।
० तपाईं जुन विचार समूहमा आबद्ध हुनुहुन्थ्यो, काङ्ग्रेसले बोकेको विचारप्रति सहमत हुँदै तपाईंले नेपाली काङ्ग्रेसलाई पनि आत्मसात् गर्नुभयो र त्यसपछि तपाईं पार्टीगत रूपमा बाहिरिनुभएको पनि छैन । तर, काङ्ग्रेसले तपाईंलाई कुनै महत्त्वपूर्ण जिम्मेवारी दिएको छैन, कस्तो लागिरहेको छ ?
– कम्युनिस्ट आन्दोलनको सन्दर्भसँग गाँसेर मलाई हेरिन्छ । म कम्युनिस्ट आन्दोलनमा राष्ट्रवादको सन्दर्भले जोडिएको थिएँ । त्यतिबेला जवानी थियो, जोस थियो, त्यसैबेला गृष्मबहादुर देवकोटाको एउटा पुस्तक पढ्दा काङ्ग्रेसचाहिँ अराष्ट्रिय तत्त्व भन्ने लाग्थ्यो । तर, जसरी पछि शंकराचार्यले ब्रह्मतत्त्व बुझे त्यसैगरी मैले पनि नेपालको राजनीतिक परिवेशमा काङ्ग्रेसको सिद्धान्तलाई आफ्नै हृदयबाट बुझेँ । र, पुष्पलालसँगको संयुक्त आन्दोलनको जो परिवेश थियो त्यसलाई मैले अङ्गीकृत गरेर ०४६/४७ सम्म मैले त्यो अपनाएँ । तर, बहुदल प्राप्तिपछि तत्काल मैले दायाँबायाँ अन्य केही नहेरीकन गिरिजाप्रसाद कोइरालालाई समर्थन गरेँ ।
० तपाईं काङ्ग्रेस या गिरिजाप्रसाद भनेर जुन रूपमा काङ्ग्रेसमा समाहित हुनुभयो, अर्थात् जुन विचारबाट प्रेरित भएर लाग्नुभएको थियो, अहिले काङ्ग्रेस त्यो विचारमा अडिग रहेन नि, कि कसो ?
– मैले यहाँनेर ‘गिरिजाप्रसाद’ किन उद्धरण गरँे र ‘काङ्ग्रेस’ शब्द किन लिइनँ भन्दा त्यसबेलाको अन्तरिमकालमा किसुनजी प्रधानमन्त्री हुनुहुन्थ्यो र संयुक्त सरकारमा झलनाथ खनाल, सहानाहरू हुनुहुन्थ्यो । कम्युनिस्टलाई चेप्ने प्रवृत्ति थियो । जब कि म कम्युनिस्ट आइडोलोजी या माक्र्सवादलाई असफल सिद्धान्त भनेर राजनीतिमा अगाडि बढ्ने पक्षमा थिएँ । कम्युनिस्ट विचारधारा भनेको शासन गर्ने पद्धति नै होइन, यस कुरामा माक्र्स फेलियर हुन् भनेर मैले बारम्बार भन्ने गरेको थिएँ । र, त्यतिखेर गिरिजाप्रसाद काङ्ग्रेसको महामन्त्रीका हैसियतले जहाँ–जहाँ पनि भाषण गर्नुहुन्थ्यो– ‘माले, मसाले, मण्डले’ भनेर कम्युनिस्टविरोधी छवि प्रकट हुनेगरी बोल्नुहुन्थ्यो । मलाई चित्त बुझ्यो र त्यही कुरा पक्रेर हिँडँे । यसमा किसुनजीले मलाई बारम्बार सम्झाउन खोज्नुभयो, कुनै राम्रै ओहोदा दिन खोजेजस्तो पनि गर्नुभयो । तर, उहाँको आशय बीपी असफल र किसुनीचाहिँ सफल प्रजातन्त्रवादी भन्ने अभियान मैले चलाइदिनुपर्ने भन्ने थियो । उहाँले प्रस्टै शब्दमा मलाई यसो भन्नुभएकै हो । मैले यो कुरा मानिनँ, किनकि म कम्युनिस्ट विचारधाराको खिलाफमा थिएँ र गिरिजाप्रसादको त्यसमा दह्रो स्ट्यान्ड थियो । म किसुनजीको बहकाउमा पर्ने कुरै थिएन । तर, पछि जब कहाँ–कहाँको बाह्रबुँदे र के–के जाति भनेर प्रचण्डहरूलाई काँधमा गिरिजाले बोकेर ल्याउनुभयो, त्यसपछि उहाँ सिद्धन्तबाट विचलित हुन पुग्नुभएको ठहर मैले गरँे । म हराएँ भनी जो भन्नुभयो, मैले आफ्नो बुझाइअनुरूपको अडान छोडेर कतै केही माग्न गएको छैन यसबीचमा । कसैसँग त्यस हिसाबले भेटेको पनि छैन र भेट्दिनँ पनि । जब कि म बनारसमा हुँदा हिसिला र बाबुराम भट्टराई स्वयम् आएर मलाई अतिथि बनाई बीएचयूमा भाषण गराए, तर मैले आफ्नो विचार वा अडान छोडिनँ । मलाई जसले जतिसुकै प्रलोभन या मान–सम्मान दिए पनि म कम्युनिस्ट आइडियोलोजीमा जान सक्दिनँ । मैले वैचारिक खण्डन गरिसकँे । म यो सन्दर्भ यसरी जोड्न चाहन्छु कि गिरिजाबाबुले सैद्धान्तिक विचलन गराएर काङ्ग्रेसको वैचारिक धारलाई समाप्तै पारिदिनुभयो । र, अब सभापति सुशील कोइरालाको यस्तै खच्याकखुचुक पारा रहने हो भने काङ्ग्रेस उठ्नै पनि सक्दैन भन्ने लाग्छ । यतिबेला काङ्ग्रेस सैद्धान्तिक विचलनमा गइसकेको छ र अहिले काङ्ग्रेसको सिद्धान्तमा कोही छैन ।
० त्यसो भए काङ्ग्रेसको वास्तविक विचार बोक्ने नेता नै कोही छैनन् त अहिले नेपाली काङ्ग्रेसमा ?
– यतिबेला अधिकांश काङ्ग्रेसजन पद, पैसा र सुविधाको पछि दौडेका छन् । बरु बीचमा त विचलनजस्तो लाग्थ्यो तर जेलमै गए पनि येनकेन खुमबहादुरजीले काङ्ग्रेसको विचार जोगाउने चेष्टा गरिरहनुभएजस्तो देखिन्छ । तर खै ! उहाँ कुन प्रपञ्च, दोष या दशाले जेलमा हुनुहुन्छ । अन्यथा, रामचन्द्रजी, शेरबहादुरजी कसैमा पनि काङ्ग्रेसको वास्तविक विचार–सिद्धान्तअनुरूपको निष्ठा र व्यवहार यतिबेला देखिएको छैन । सिद्धान्तमा स्पष्टता र वलिष्ठ अडान बीपीमा जस्तो अरू कसैमा पनि देखिएन । बीपीको सैद्धान्तिक अडानबारे मैले तत्कालीन राजा वीरेन्द्रको परिवारको अन्त्य भएलगत्तै एक पत्रिकामा दिएको अन्तर्वार्तामा पनि भनेको थिएँ कि विश्वेश्वरको जस्तो वैचारिक प्रतिबद्धता नभईकन कोही पनि राजनेता हुन सक्दैन । राजाको नामबाट या राजतन्त्रको प्रयोगमा विश्वेश्वरले जस्तो दु:ख–हन्डर अरूले खेपेका पनि छैनन् । बीपीका मान्छे राजाकै हुकुमबाट कैयन मारिए होलान् र पनि उहाँले राजा र मेरो घाँटी जोडिएको छ भन्ने साहस देखाउनुभयो, वैचारिक प्रतिबद्धताबाट विचलन हुनुभएन बीपी । यो कुरा मैले त्यसमा पनि बोलेको छु र अहिले पनि बोल्छु ।
० तपाईं अहिले पनि संवैधानिक राजतन्त्रसहितको बहुदलीय संसदीय प्रजातन्त्र नै हुनुपर्छ भन्ने पक्षमा हुनुहुन्छ हो ?
– जुन परिवेशमा नेपाल र नेपालीको विकास भएको छ, यो राज्यको स्वरूपमा जो विकास भएर नेपाल आयो, यसलाई यथावत् राख्ने र हामी नेपाली नै रहने हो भने राजतन्त्र र प्रजातन्त्र मिलेर जानैपर्छ भन्ने विचारका कारण मैले त्यत्तिका वर्ष समय लगानी गरेको इतिहास मारेर ‘कम्युनिस्टविरोधी गिरिजाप्रसाद’को साथमा उभिने निर्णय लिएको थिएँ । इन्टरनेसनल सोसलिस्ट आन्दोलनको पक्षधर काङ्ग्रेस हो भनेर मैले समर्थन गरेको हुँ । काङ्ग्रेसको पक्षमा उभिन मैले कुनै पद मागेको, सम्पत्ति मागेको रेकर्ड छ भने कसैले बताइदेओस् । तर, आफू यसरी प्रभावित भई जोडिन पुगेको राजनीतिक अम्ब्रेला नै पलायनको बाटोमा पाउँदा चित्त दुख्दोरहेछ ।
० अब काङ्ग्रेस पार्टी परिवर्तन भई सुध्रेर आउने सम्भावनाचाहिँ तपाईं कति देख्नुहुन्छ ?
– पहिले त वैचारिक अडान भएको, अडान लिइरहने मनोबल भएको कोही नेता यसभित्र निक्लनुपर्‍यो । मैले भनिहालँे, कम्युनिस्ट आइडियोलोजी भनेको शासन गर्ने विचारधारा नै होइन, यो झुक्याएर खाने अलिक दिनको रहर मात्र हो । मैले कम्युनिस्ट आन्दोलनमै हुँदा पनि धेरैपटक बोलेको छु कि कार्यकर्ता हुन्जेल इमानदार तर नेता भएपछि बेइमानको इतिहास हो कम्युनिस्टको ।
० बाह्रबुँदेदेखि यताको प्रक्रियाहरूलाई तपाईंले कसरी लिनुभएको छ ?
– सबै बेइमानीबाहेक केही होइन ।
० प्रचण्ड–बाबुरामहरूले विदेशमा गएर आत्मसमर्पण पनि गरेका रहेछन् भन्ने कुराहरू जानकारीमा आयो, के भन्नुहुन्छ तपाईं यसमा ?
– विदेशमा मात्रै होइन उहाँहरू खुल्लै ढुक्कले घुमिरहनुहुन्थ्यो । भारतको स्वार्थमा उहाँहरू प्रयोग भएकै हो । कहाँनेर के नमिलेर राजतन्त्रलाई डिल गर्न नसक्दा वीरेन्द्रको अवसान भयो र ज्ञानेन्द्र सरकारले पनि राजनीति बुझ्नुभएन । छोटोमा सजिलोसँग बुझ्नुपर्दा नेपालमा गणतन्त्र आउनुको कारण पनि यत्ति हो ।
० ‘ज्ञानेन्द्र सरकार’ले नबुझेको तर गिरिजाप्रसादले चाहिँ बुझेकै हुन् त मुलुकको राजनीतिक परिवेश ?
– गिरिजाप्रसादले राजनीति नगरी प्रतिशोधको भावनाबाट प्रेरित भई व्यवहार गर्नुभयो । प्रतिशोध र सिद्धान्तमा त कतै केही पनि नमिल्ने अन्तर हुन्छ नि त । विश्वेश्वर हुन सक्नुपथ्र्यो, सक्नुपर्छ । म त यस सन्दर्भमा भन्न चाहन्छु कि काङ्ग्रेसलाई विश्वेश्वरको फोटो टाँग्ने अधिकार पनि छैन यतिखेर । वास्तविक काङ्ग्रेसलाई त्यो अधिकार छ तर अहिलेको काङ्ग्रेस–सङ्गठनलाई छैन भनिदिँदा हुन्छ ।
० अब बीपीको विचारमा काङ्ग्रेसलाई ल्याउन सकिएला भन्नेमा तपाईं कति आशावादी हुनुहुन्छ त ?
– यसलाई यसरी भनौँ होला, संसारमा कम्युनिस्ट आइडियोलोजी आउँदैन, यी सबै अलिक दिन रहर पुर्‍याउँछन् र समाप्त भएर जान्छन् । त्यस अवस्थामा स्थापित हुनुपर्ने त सोसियल डेमोक्र्याटिक शक्ति नै हो ।
० कम्युनिस्टको मूल प्रवाह हामी नै हौँ भनिरहेको एमाओवादी या प्रचण्ड–बाबुरामहरूको भविष्यचाहिँ कस्तो देख्नुहुन्छ नि तपाईं ?
– मूलप्रवाह भनेर आफूलाई एमालेले पनि भन्यो, तर पुष्पलाललाई गद्दार भनी गाली गर्ने तिनै एमालेहरूले अहिले पुष्पलालको तस्बिर शिरमाथि झुन्ड्याएका छन् । बहुदल आएपछि पनि निकै समयसम्म पुष्पलालको शोकसभा मनाउने नगरेको एमालेका मित्रहरूलाई अहिले पद, पैसा र सुविधा पुष्पलालकै फोटो टाँग्दा मिलेको छ भने नटाँगुन् पनि कसरी ? यस्तै प्रचण्ड भाइहरू पनि पुष्पलालजीलाई मान्ने भन्न थालेका छन् । बाबुरामजी जुनबेला अखिल भारत नेपाली विद्यार्थी सङ्गठनको अध्यक्ष हुनुहुन्थ्यो, एकपटक मलाई उहाँले वक्ता बनाएको अवसरमा ‘तपाईंहरू
(पुष्पलालसँग) मिल्नुपर्छ भन्दा ‘त्यस्ता गद्दारसँग मिल्न सकिन्न’ भनेर पुष्पलालको अपमान गरे । अहिले फोटोमा फूल चढाउन थालेका छन् । यस्तो विचलन संसारको इतिहासमा राजनीतिमा भइरहँदोरहेछ । जहाँसम्म बाबुराम–प्रचण्डहरूको भविष्यको प्रश्न छ, म त केही अस्तित्व नै देखिरहेको छैन उहाँहरूको । प्रधानमन्त्री नहुँदासम्म बाबुरामजीलाई म अलिक मान्दथेँ, तर त्यसपछि त उहाँमा पनि श्रद्धा र सम्मान गरिरहनुपर्ने तत्त्व बिलाएको अनुभूति भएको छ । प्रधानमन्त्रीरूपी जागिर खाए, त्यसबापत सेवा र सुविधा पाएका छन्, खाएका छन्, यिनका राजनीतिक भविष्य केही छैन ।
० यतिबेला मुलुकमा जातीयताको कुरा जो निकालिएको छ, यसले के फरक पारेको छ ?
– पृथ्वीनारायण शाहले एकीकृत गरेको देश हो यो । नेपालमा जस–जसले जातीय नारा चलाए पनि यहाँ पृथ्वीनारायणकालीन परम्परा छोडिँदैन, छोड्छु भन्ने पनि छोड्न सक्दैनन् । देशव्यापी बाहुन छन्, देशव्यापी मगर, देशव्यापी गुरुङ, सबै जातजाति देशव्यापी नै भएकाले सामाजिक परिवेशलाई कसैले च्यात्न सक्ने अवस्था छैन । प्रचण्डले उचाल्दैमा खल्बली आएजस्तो त होला तर अन्तत: केही हुने होइन । देश नै टुक्र्याइदिने हो भने त बेग्लै कुरा हो । यसो गर्न पनि आजको अन्तर्राष्ट्रिय परिवेश त्यति सजिलो पनि कहाँ छ र ?! देश बन्न नदिन, बिग्रनचाहिँ यस्ता विषयले मद्दत पुर्‍याइरहेको छ ।
० यो देशलाई के गरेर सुधार गर्न सकिएला त अब ?
– सुधार्न त अब धेरै अप्ठ्यारो पर्ने भइसकेको छ । सुन्दा असान्दर्भिकजस्तो कसैलाई लाग्न सक्छ, तर राजा वीरेन्द्रको अवसान भयो, राजतन्त्रकै जो अवसान भयो, नेपाललाई सुधार्ने सवालमा व्यवधान पनि यस्तै–यस्तै घटनाहरूपछि खडा भयो ।
० माओवादी या प्रचण्ड–बाबुरामको क्रियाकलापका कारण देशमा सबै कुरा नराम्रो मात्रै त भएन होला, केही न केही राम्रो पनि त भएको होला नि, त्यस्तो केही देख्नुभएको छैन तपाईंले ?
– के राम्रो हुने ? कुनै धनी घरमा आएर गरिब व्यक्ति नोकर बस्छ र त्यहाँ मासु–भात खाने परम्परा छ भने जुठै भए पनि मासुभात त्यो नोकरले भेट्छ भनेजस्तै संसार आज यति विकसित भएर गएको छ कि लाहुरे भएर गएका र अन्य काम गर्न गएका लाखौँ नेपालीजनको पसिनास्वरूप आएको रेमिट्यान्सबाट देश चलेको छ । यी प्रचण्डहरूको पोलिसीले के चलेको
छ ? केही पोलिसी नै छैन । प्रचण्डजी स्वयम् राजनेताको स्वरूपमै हुनुहुन्न । एकछिनमै एउटा कुरा गर्नुहुन्छ फेरि एकछिनमै त्यो झुटो भइसक्छ । जब राजनेता नै देशमा छैन भने कसबाट के राम्रो भयो भनी
मान्ने ? प्रचण्डजीहरूको हौवाले क्षणिक रूपमा त मुलुकमा विचलन देखिएला तर अन्तत: बर्बाद हुन लाग्यो भन्ने मर्मबोध भएर जनता एक ठाउँमा समेटिएर आउँछन् ।
० यसको मतलब तत्कालको लिडरसिपबाट यो देशको सुधार हुने सम्भावना छैन ?
– काङ्ग्रेसले आँट गर्न सक्नुपर्छ, आफ्नो यथार्थ धरातललाई बुझ्नुपर्छ । आफ्नो नीति र सिद्धान्त के थियो त्यो पक्रिन सक्नुपर्छ । जस्तो उदाहरणका लागि– जनशक्ति पार्टी र राप्रपा मिल्यो भनेको छ तर पञ्च भएर त्यत्तिका वर्ष खाने अनि अहिले आएर राजा मान्छु भन्न नसक्ने ?! यस्ता झुटा, ढोँगी र लम्फु पाराले नेपाल चल्दैन ।
० तपाईंको अभिव्यक्तिको अर्थ यो देश राख्ने हो भने राजसंस्थाको पुनस्र्थापनाचाहिँ अनिवार्य सर्त हो, होइन त ?
– भौगोलिक अवस्था यही, स्वरूप यही गरेर नटुक्र्याईकन राख्ने हो भने समयसापेक्ष प्रकृतिको राजसंस्था आवश्यक छ । राजसंस्था आवश्यक भन्दै गर्दा यो बुझ्नुपर्छ कि उही सत्रसाले पञ्चायती पाराको होइन, अनि वर्षौं देश छोडेर बाहिर बसेकालाई ल्याएर शासन–सत्ता चलाउँछु भनेर हिजो भएको कसरत दोहोर्‍याउने पनि होइन । यो कुरा राजा ज्ञानेन्द्रले पनि बुझ्नु जरुरी छ । यहाँनेर म के प्रस्ट्याऊँ भने म ‘राजतन्त्रवादी’ हुँ तर ‘राजावादी’ होइन । यो दुई शब्दको भेद बुझ्नु आवश्यक छ । म ‘काङ्ग्रेस’हुँ ‘काङ्ग्रेसी’ होइन । यसमा के भिन्नता छ र भन्ने प्रश्न आउला, तर ‘काङ्ग्रेस’ भनेको सिद्धान्त हो र एकथरी ‘काङ्ग्रेसी’ भनेकाचाहिँ केही पाउँला र खाउँला भनेर आएका या पार्टीलाई आफ्नो स्वार्थमा प्रयोग गर्न खोज्नेहरूको जमात हो ।

२४ जेष्ठ २०७०, शुक्रबार ०७:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..