राजा र राजावादीबाहेक सबै राष्ट्रघाती :: रमेश सिलवाल

मंसिरमा हुने भनिएको चुनाव टर्ने सम्भावना बढ्दै जाँदा ‘छोरो पाउने कहिले कहिले कन्दनी बाट्ने अहिले’ भनेझैँ प्रचार–प्रसार र घरदैलो अभियान भने दु्रत गतिमा सुरु भइसकेको छ । तर, दलहरु चुनावी अभियानमा देखिए पनि खिलराज रेग्मी नेतृत्वको सरकारले चुनावको तिथि तोक्न भने आलटाल गरिरहेको छ । सबै थरी दललाई सन्तुष्ट बनाउन सम्भव छैन तर चुनावी माहोल बनाउन र सबैलाई चुनावप्रति ध्यान केन्द्रित गराउन चुनावको मिति तत्काल तोकिनुपर्छ । चुनाव गर्नकै लागि निर्माण गरिएको र चुनाव सम्पन्न गराउन नसके मङ्सिरपछि सरकारमा नबस्ने घोषणा गरेको वर्तमान सरकारले समय पर्याप्त भएकै अवस्थामा चुनावको मिति तोक्नु सर्वथा आवश्यक छ र त्यो बुद्धिमानी पनि हुनेछ । बीमाओवादीलगायतका असन्तुष्ट दलहरूलाई आगामी मार्गचित्र तय गर्न/गराउन पनि चुनावको तिथि घोषणाले सहयोग पुर्‍याउनेछ । उनीहरूले चुनावमा भाग लिनेछन् कि बहिष्कार गर्नेछन् भन्ने कुरा त्यसपछि स्पष्ट हुनेछ । संविधानसभाको हो कि संसद्को मात्र चुनाव गर्नु उपयुक्त हुन्छ भन्ने कुरा त्यसपछि स्पष्ट हुनेछ । संविधानसभाको हो कि संसद्को मात्र चुनाव गर्नु उपयुक्त हुन्छ भन्ने विषयमा एकपटक फेरि सबै दलहरूले ठण्डा दिमागले सोच्न र बहस गर्न आवश्यक छ । आखिर जहिले भए पनि चुनाव नगरी धरै छैन भने तिथि तत्काल तोक्न के को आपत्ति ?
स्वदेशी र विदेशी प्रभुहरूद्वारा निर्मित भनिएको प्रधानमन्त्री रेग्मीको वर्तमान सरकार प्रेस वा मिडियाप्रति नथापाइँदो किसिमले असहिष्णु बन्दै गएको आभास मिलिरहेको छ । अलिअलि जंगबहादुरको गन्ध आइसकेको छ । सर्वोच्च अदालतमा पत्रकारलाई इजलासमा प्रवेशमा कडाइ गर्नु र मोफसलका मिडियामा हस्तक्षेपकारी नीति अवलम्बन गरिनुले त्यस्तै महसुस गराएको छ । ‘कसैले अर्ती–बुद्धि दिनु आवश्यक छैन, यो शक्तिशाली राष्ट्रहरूले पनि पूर्ण समर्थन गरेर बनेको सरकार हो, शक्ति पृथकीकरणबारे हामीलाई पूर्ण ज्ञान छ, कसैले उपदेश दिएर सिकाउनुपर्दैन’ भन्ने सरकारतर्फको अभिव्यक्तिले जनमानसमा शङ्का जन्माएको छ, कतै खिलराजले नै जंगबहादुरको रूप धारण गर्ने त होइनन् । त्यसैले यो सरकारलाई संविधानसभा वा संसद् मात्रको चुनावी तिथि घोषणा गर्न सबैले अर्थात् चौतर्फी दबाब दिनु अपरिहार्य छ ।
चुनावी तिथि घोषणा नहुँदा पनि चुनावी तातो लाग्दै जाँदा दलहरू र तिनका नेता अनेकौँ आरोप–प्रत्यारोपमा उत्रिसकेका छन् । एउटा दलका नेता–कार्यकर्ता अर्को दलमा हुलका हुल प्रवेश गर्ने क्रम बढिरहेको छ । सबै प्रमुख दलहरू आ–आफ्नो दल प्रथम दल हुने हुँकार छोडिरहेका छन् । आफ्नो दल पहिलो वा सबैभन्दा ठूलो नभए फेरि पनि संविधान बन्दैन भनिरहेका छन् । मतदातारूपी नेपाली जनतालाई भ्रममा पार्न सबै दलहरू कटिबद्ध भएर लागेका छन् । को पहिलो नभए किन संविधान नबन्ने हो त्यो पनि त नेपाली जनताले थाहा पाउनुपर्ला नि । त्यसैले एमाओवादी, काङ्ग्रेस, एमाले, राप्रपा नेपाललगायतका नेताले प्रस्ट रूपमा भनिदिनुपर्‍यो किन एउटा अमूक दल पहिलो दलको रूपमा आउनुपर्ने हो चुनावमा ।
यो मुलुकमा धेरैवटा चुनाव भए तर सर्वसाधारण नेपाली जनताले समग्र रूपमा आफू र आफ्नो परिवेश परिवर्तन भएको कहिले पनि महसुस गरेका छैनन् । अब हुने भनिएको चुनाव कुन राजाको पालामा हुने हो या होइन तर जनताले भोग्दै आएका यावत् समस्या र कठिनाइहरूको सम्बोधन भने आजको शक्तिशाली सरकारले गर्ने कोसिस गर्नुपर्छ । चुनाव आउला, नेताले जित्लान् अनि आश्वासन र प्रतिबद्धताहरू पूरा गर्लान् भन्ने विश्वास अब नेपाली जनतालाई छैन । भ्रष्टाचार, अभाव, असुरक्षा, अराजकता, हरेक क्षेत्रमा राजनीतीकरण, महँगी, कालोबजारी, ठगी, सामन्तवाद, अन्याय, अत्याचार, हिंसा, हत्या, अपहरण, बलात्कार, जातीय कुण्ठा र अहंकार, धर्म बेचबिखन, मनपरीतन्त्रलगायत थुपै्र समस्याबाट जनता आक्रान्त छन् । बेरोजगारीले सगरमाथा चुमेको छ, सामाजिक विकृति र विसङ्गतिहरूले आकाश छोएको छ, वेश्यावृत्ति र लागूपदार्थको दुव्र्यसन संस्थागत जस्तै भइसकेको छ । जिम्मेवार वा सरोकारवाला निकायहरू यो सङ्क्रमणकालमा यस्तै हुन्छ भनेर पन्छिनेबाहेक अरू केही गर्न सकिरहेका छैनन् । सङ्क्रमणकालको हौवा दिएर टार्ने हो भने यो सङ्क्रमणको अन्त्य होइन अरू थप सङ्क्रमण व्यहोर्नुपर्ने निश्चित नै छ । त्यसकारण अब सङ्क्रमकाल अन्त्य भयो भन्ने हामी सबै नेपालीले घोषणा गरौँ र तद्अनुरूप बोली, वचन र व्यवहार गर्न थालौँ । आ–आफ्नो ठाउँबाट सबैलाई उत्तरदायित्व बोली, वचन र व्यवहार गर्न थाल्यौँ भने सङ्क्रमणकालको अनुभूति कसैले पनि गरिरहनुपर्ने छैन ।
नेपालमा सम्मान र मर्यादाको राजनीति लगभग समाप्त भएको छ । नकारात्मक रणनीति, फोहोरी दाउपेच, घृणित आरोप–प्रत्यारोप, खोक्रो राष्ट्रवाद, अहम् अहँकार र तुष्टिबाहेक अरू केही बाँकी रहेन । मनमोहन अधिकारीको सत्ता ढलेपछि नेपालमा आतङ्क सुरु भयो । आजसम्म आइपुग्दा त्यो राजनीतिक आतङ्कले अहिले जातीय र क्षेत्रीय आतङ्कको रूप ग्रहण गरेको छ । चीनको भ्रमण सकेर नेपाल फर्केपछि कं. प्रचण्डले नेपालमा एमाले नामधारी पार्टी नै नभएको घोषणा गरे । तुरुन्तै एमालेका वरिष्ठहरू आत्तिएर प्रचण्डलाई राँची लगेर मानसिक उपचार गर्नुपर्ने ठहर गरे । झलनाथले एमाओवादी भदौरे भेल भएको र चुनावपछि उसलाई बत्ती बालेर खोज्नुपर्ने जिकिर गरे । भारतबाट फर्केर प्रचण्डले भारतले भाषाको आधारमा सङ्घीयतामा जान सल्लाह दिएको कुरा गर्वसाथ बताए । बीमाओवादीहरू जमिनमुनिका गँड्यौलालाई पनि राष्ट्रघाती देख्न थालिसकेका छन् । को हुन् त नेपालका वास्तविक राष्ट्रवादीहरू ?
भन्ने नै हो भने ०४६ पछिका सबै सरकारले एक या अर्को रूपको राष्ट्रघात गरेकै हुन् । बहुदलीय शासनमा विदेशीसँग दलहरूले सत्तामा बसेर गरेका कतिपय गोप्य वा सार्वजनिक सम्झौताको मौन समर्थन गर्नेहरू पनि सबै राष्ट्रघाती नै हुन् । राष्ट्रघाती नागरिकता विधेयक पास गर्नेहरू त्यसको समर्थन गर्ने वा विरोध नगर्नेहरू पनि सबै राष्ट्रघाती नै हुन् । यी सबै राष्ट्रघात गर्ने दलहरूलाई पटकपटक भोट दिएर जनअनुमोदित गर्ने हामी जनता पनि कसरी राष्ट्रवादी हुन्छौँ ? राष्ट्रघाती को–कोबाट, के–कसरी कति भएको छ भन्ने दृष्टान्त सम्भवत: साध्यबहादुर भण्डारीलाई सबैभन्दा बढी ज्ञान छ । राष्ट्रघातीहरू समर्थन गर्नु, राष्ट्रघातीहरूकै नुन खानु, राष्ट्रघातीहरूलाई नै भोट दिनु, राष्ट्रघातीहरूबाटै आमूल परिवर्तनको आशा गर्नु, राष्ट्रघातीहरूले नै मुलुक चलाउनु, जनतालाई सुख, शान्ति, समृद्धि, शक्ति र सन्तुष्टि दिन्छन् भन्ने विश्वास गर्नु पनि राष्ट्रघात नै हो । यस अर्थमा नेपाल एउटा राष्ट्रघाती नै राष्ट्रघातीहरूले भरिपूर्ण मुलुक हो । वास्तवमै विश्लेषण गर्ने हो भने यो अन्तरिम संविधान मान्नु नै राष्ट्रघात हो अरू कुनै रहस्य खोज्नै पर्दैन । यो वास्तविक पुष्टि हुन धेरै समय कुर्नुपर्ने छैन । यो मुलुकमा राजा, राजावादीबाहेक अरू सबै राष्ट्रघाती हुन् ।

१९ जेष्ठ २०७०, आईतवार ०८:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..