स्वतन्त्रता र समानता सभ्य समाजको सुन्दरता :: इन्द्रबहादुर बराल

आजको दुनियाँ स्वतन्त्र र समानताको समाज निर्माणतर्फ सङ्घर्षरत छ । स्वतन्त्रता र समानताको समाज स्थापना गर्न सफल राष्ट्र्रहरूले पनि त्यसको स्थायित्व कायम गराउन त्यत्तिकै कसरत गरिराख्नुपरेको स्थिति विद्यमान छ । तर, नेपालजस्तो राष्ट्रमा न त स्वतन्त्रता नै निर्वाध रूपले वहाली हुन सकेको छ न समानता नै । स्वतन्त्रता र समानताको उत्कट चाहना बोकेका नेपालीका लागि आजको अवस्था ‘आकाशको फल आँखा तरि मर’ भनेजस्तै भएको छ । ‘पाहुना आउलान् दाल–भात खाउँला’ भन्ने एउटा उखान छ । आज त्यस्तै भएको छ नेपालको राजनीति । अनाडीहरूको हातमा मुलुक परेकोले नेपालीलाई अकल्पनीय दुर्दशा भोग्न बाध्य गराइँदै छ । सत्ता स्वार्थका कारण आफ्नो राजनीतिक आस्था र विश्वासलाई पन्छाएर जातीयताका मुद्दामा अल्झिँदै मुलुकलाई अनिर्णयको बन्दी बनाइनु अनाडीहरूको हातमा राज्यको तालाचाबी हुनुकै प्रमाण हो । आज अप्रत्यासित रूपमा नयाँ–नयाँ राजनीतिक घटनाक्रमहरूले एकपछि अर्को हुँदै देशको भविष्य नै बर्बादै हुने हो कि भनेझैं त्रासदी फैल्याइँदै छ । देश नै कतै विदेशीहरूबाट सञ्चालित भएको त होइन भन्ने भान परेको छ । यसर्थ नेपाली जनताले ठूलाठूला जनआन्दोलन र तिनबाट प्राप्त उपलब्धिलाई खेर जान नदिनका लागि सचेत र सजग रहन आवश्यक छ ।
प्रजातन्त्र वा लोकतन्त्रका नाममा देशमा अहिले नोकरशाहीतन्त्र चलिराखेको छ र भनिँदै छ– जे गर्‍यौँ ठीकै गर्‍यौँ । लौहपुरुष स्व. गणेशमान सिंहले पार्टीबाट दिक्क भई काङ्ग्रेसलाई नै ‘थाकेको गधा’को उपमा दिएका थिए । आफ्नो एजेन्डा छोडेर लुरुलुरु अधिनायकवादी सोच बोकेका व्यक्तिहरूको पछि लाग्ने दल वा नेताबाट स्वतन्त्रता र समानताजस्ता उपलब्धि हासिल गर्नु आकाशकै फल हुने रहेछ । त्यसैले पनि सबै सचेत एवम् जागरुक नेपाली नागरिकले वर्तमान राजनीतिक शक्तिलाई दबाब सिर्जना गर्नैका लागि भए पनि नयाँ राजनीतिक शक्तिको खोजी गरिनुपर्दछ । नियन्त्रण र सन्तुलनको स्थिति कायम नहुँदासम्म मौजुदा मुख्य दलहरू स्वेच्छाचारी एवम् निरङ्कुशतातर्फ अग्रसर भइराख्ने भएकाले सशक्त नयाँ राजनीतिक शक्तिको खाँचो खट्किएको छ र त्यसको विकल्प खस, आर्य जाति समूहले दिन सक्नुपर्छ ।
त्यति मात्रै पर्याप्त होइन, नयाँ खोलिने पार्टीमा खस, आर्य जातिको अगुवाइले सिङ्गो नेपालको भावना समेट्न सक्नुपर्ने हुन्छ । अन्यथा ‘जुन जोगी आए पनि कानै चिरेका’ सावित हुनेछ । नयाँ शक्तिहरूले पनि मुलुकको स्थिति सम्हाल्न सकेनन् भने देश अरू भयानक द्वन्द्व र अराजकतातर्फ धकेलिनेछ, त्यस्तो अवस्थामा विदेशी शक्तिलाई ‘के खोज्छस् काना आँखो’ भनेजस्तै हुनेछ । इतिहासको कुनै पनि कालखण्डमा नभएको दु:खद् घटनालाई विवश भएर व्यहोर्न बाध्य गराइनेछ । अहिले त पश्चिमा राष्ट्रहरू विभिन्न जाति, समूह तथा विभिन्न सङ्घ/संस्थामार्फत मात्रै नेपालीको राजनीतिमा लुकीछिपी लागेका छन् । तर, जातीय द्वन्द्वले सिर्जना गर्दै अराजकताले विदेशी हस्तक्षेपलाई राजमार्ग नै खोलिदिने पक्का छ । आज नेपाली जनता स्वतन्त्रताको लागि लडिराखेको छ । समानताको खोजी गरिरहेको छ । तथापि स्वतन्त्रतामा समानता दुरुहको वस्तु बनाइएको छ । स्वतन्त्रता र समानता एक रथका दुई पाङ्ग्रा नहुँदासम्म सम्भव पनि छैन । त्यसका लागि पनि बीपी कोइरालाद्वारा स्थापित प्रजातान्त्रिक समाजवाद नै एक मात्र उत्तम विकल्प भएकाले नेपालले यसलाई नै पछ्याउनुपर्छ । स्वतन्त्रता र समानतालाई पृथक राख्ने प्रयास भएमा त्यसले विद्रोह वा झगडा निम्त्याउने अवश्यम्भावी नै छ ।
नयाँ नेपालको निर्माणमा लागेको नेपालले पनि यी दुई भिन्नजस्तो देखिने तर एक–अर्काका पूरक प्रमुख तत्त्व स्वतन्त्रता र समानतालाई हलगोरुजस्तै सँगसँगै लाने काम या सम्पूर्ण राजनीतिक दलहरूको ध्यान केन्द्रित हुनुपर्छ । त्यसका लागि नेपालमा भएका सबै जातजाति सबै नेपाली हुन् र तिनीहरूलाई एउटै सूत्रमा बाँध्न सक्ने विभेदरहित न्यायपूर्ण राज्य पुनर्संचनाको आधार निर्माण गरिनुपर्छ । सदियौंदेखि एकताबद्ध भएर एक–अर्कामा अत्यन्त सद्भाव कायम गरिएको समाजलाई देशी–विदेशीहरूको निहित स्वार्थ सिद्धिका लागि नेपाली–नेपालीबीच विभाजन गराउने घृणित खेलले नेपालीको मन, मस्तिष्क र भावनामा चोट पुर्‍याउने काम गरेको छ, जसको भण्डाफोर गर्न जरुरी छ ।
अत्यन्तै चनाखो र सतर्क हुने बेलामा निदायौँ भने नेपालीको भविष्य अन्धकारमय हुने पक्का छ ।
संसारमा जति पनि अशान्ति भएका छन् तिनका पछाडि कहीँ जातीय द्वन्द्व छ भने कतै धर्मको । आज नेपालमा षड्यन्त्रमूलक तरिकाले जातीय विद्वेष फैल्याइएको छ । खस, आर्य समुदाय शोषक, शासक, सामन्त र उत्पीडक जाति भन्दै कुप्रचार गरिएको छ भने धर्मका सन्दर्भमा पनि हिन्दूधर्मले अरू धर्मप्रति अनादर वा थिचोमिचो गरेको भन्ने दुष्प्रचार गराइएको छ । ८१.३ प्रतिशत हिन्दू भएको मुलुकलाई धर्म निरपेक्ष राष्ट्र घोषणा गराइयो । विश्व राजनीति र नेपालको विकसित राजनीतिक घटनाक्रमलाई हेर्दा नेपालमा जातीय एवम् धार्मिक द्वन्द्वका सम्भावनाहरू यथावत् राख्न खोजेको देखिन्छ । तसर्थ, यथाशीघ्र सम्भावित जातीय एवम् धार्मिकजस्ता संवेदनशीलतालाई समयमा नै थान्को लगाउनुपर्छ । त्यसका लागि पनि नेपालका जिम्मेवार राजनीतिक शक्तिले स्वतन्त्रता, समानता र सभ्य समाजको सुन्दरता हो भन्ने मूलमन्त्रलाई केन्द्रमा राखेर सहमति र सहकार्यको राजनीति अवलम्बन गर्नैपर्छ । अन्यथा, स्वतन्त्रता, समानता र जातीय सद्भावलाई कायम गराउन नयाँ शक्तिले पुराना शक्तिलाई विस्थापित पनि गराउन सक्छ भन्नेतर्फ हेक्का रहन आवश्यक छ ।

१४ जेष्ठ २०७०, मंगलवार २२:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..