अपराध फस्टाएपछि प्रहरीको छवि धुजाधुजा

डेढ दशकअघिसम्म नेपाल प्रहरीको इमेज यस्तो थियो, जतिबेला कानुनविपरीत चल्न खोज्ने या अपराध गर्नेहरूलाई हातमा एउटा काँडेलठ्ठी समातेकै भरमा प्रहरीले नियन्त्रणमा लिई कानुनी दायरामा ल्याउन सक्थ्यो । यस्तो छवि बोकेको प्रहरी पछिल्लो समयमा रुग्ण रोगीसरह भएको महसुस आमनागरिकले मात्र नभई त्यही सङ्गठनका इमानदार जवानदेखि अधिकृतसम्मले गरेका पाइन्छ । वि. सं. १९०५ मा मिलिसिया र पुलिस गढीगौँडा, ठानाचौकीका रूपमा स्थापित प्रहरीले २०१२ साल असोज ३१ देखि नेपाल प्रहरीका रूपमा वैधानिक मान्यता पाई स्थापना भएको छ । जन्मँदै क्रान्तिबाट जन्मिएर नेपाली जनताको सुरक्षाको लागि बलिदान दिनसमेत पछि नपरेका प्रहरी कर्मचारी यतिखेर अरूलाई न्यायको कठघरामा ल्याउनुभन्दा पनि कसरी चाकडी, चाप्लुसी र दलाली गरेर आफू माथि पुग्न सकिन्छ भन्ने एकोहोरो र व्यक्तिकेन्द्रित सोच राखेकै कारणले रुग्णजस्तो बन्न पुगेको हो । नेपाली जनताले अझै पनि प्रहरीबाटै आफ्नो सुरक्षा सम्भव रहेको विश्वास गरे पनि स्वयम् प्रहरी भने आफैं असुरक्षित मानसिकतामा काम गरिरहेका अनुभूति हुन्छ । राज्यको सर्वोच्च निकाय सिंहदरबारलाई गाउँको कुना–कन्दरामा जोड्ने सबैभन्दा व्यवस्थित प्रहरी संयन्त्र अहिले आफैँभित्र चर्को विवाद, गुट, उपगुट र असन्तुष्टिको सामना गर्दै अघि बढिरहेको छ । कानुनी व्यवस्थाको पालना गराउने राज्यको चुस्त निकाय अहिले आफ्नै बचाउ पनि गर्न नसकेको हो कि भन्ने आभास हुन थालेको छ । कहीँकतै घटना हुनासाथ प्रहरी आएर अनुसन्धान गर्छ र दोषीमाथि कारबाही गर्छ भन्ने विश्वास मर्दै जान थालेको छ । यो सबै हुनुमा प्रहरीको तल्लो कर्मचारी दोषी नभएर उपल्लो दर्जाको अनावश्यक प्रतिस्पर्धा नै मुख्य दोषी हो । लोकतन्त्र र मुलुकको फौजदारी न्यायप्रणालीका लागि योभन्दा लाजमर्दो र दु:खको कुरा अरू केही हुन सक्दैन । 
राष्ट्र सेवामा नेपाली प्रहरीको भूमिका स्वर्ण अक्षरले लेखिएको छ । यसको योगदान चिरकालसम्म रहिरहनेछ । प्रहरी कानुन व्यवस्था लागू गर्न बनेको नागरिक इकाइ हो, विद्रोहीसँग लड्न बनेको फौजी अङ्ग होइन । तर, प्रहरी हिजो फौजी अङ्गजस्तै गरी विद्रोहीसँग लड्न पर्‍यो । जसका कारण यस सङ्गठनका सयौँ योद्धाले ज्यान अर्पिनुपर्‍यो । राज्यको गलत सोच र निर्णयका कारण प्रहरीले माओवादी द्वन्द्वमा ठूलो क्षति व्यहोर्नुपर्‍यो । तत्कालीन प्रहरी सङ्गठनका नेतृत्वकर्ताले राज्यको बागडोर सम्हालेकाहरूसँग ‘हामीलाई हतियार दिएर बलियो बनाउने होइन अनुसन्धान प्रणालीमा बलियो र दक्ष बनाउनुपर्छ’ भन्ने अडान लिनुपथ्र्याे । नेतृत्वकर्ताले राज्यका सञ्चालकसँग आफू राम्रो हुनका लागि सङ्गठनलाई लगेर द्वन्द्वमा फसाएको जगजाहेर छ । ‘सिभिल वार’ भएको ठाउँमा प्रहरीको भूमिका सेनालाई अनुसन्धानमा सहयोग गर्ने हुनुपर्नेमा हिजो यसका नेतृत्वकर्ताले सेनाको अघि लगाएर प्रहरी परिचालन गर्नु नै गलत थियो । जसका कारण प्रहरी एउटा स्वतन्त्र सङ्गठन हो र यसले आफ्ना परिभाषित कामहरू गर्नुपर्छ भन्ने भावना कमजोर बन्दै गएको हो ।
परिवारलाई राम्रो र सक्षम बनाउन त्यस परिवारको अभिभावक बढी जिम्मेवार हुन्छ भनेझैँ नेपाल प्रहरीको इतिहासमा त्यसको अभिभावक बन्ने कुराको श्रीगणेश तोरणशमशेर जबराबाट सुरु भएको हो । उनले २००७ साल चैत २८ गतेदेखि चैत ३० गतेसम्म २ दिन मात्र अभिभावकत्व निर्वाह गरेका थिए । तोरणशमशेर राणादेखि कुवेरसिंह रानासम्म आइपुग्दा नेपाल प्रहरीले २४ जना आईजीरूपी अभिभावक पाएको छ । झन्डै ५८ वर्षको यो इतिहासमा ०२९ असार १ गते पदस्थापना भई ०३५ जेठ ३१ गते अवकाश पाएका खड्जित बराल र ०३९ असार १ गते पदस्थापना भई ०४३ जेठ ३१ गते अवकाश पाएका दिलबहादुर लामाबाहेक अन्य आईजीबाट सङ्गठनका कर्मचारीले सम्झनायोग्य कार्य गरेको पाइएन । खड्गजित बराल अभिभावक रहँदा उनको पहलमा जनपद प्रहरीले रासनको सुविधा पाएका थिए भने लामाले प्रहरीको उपचारका लागि अस्पताल, उनका सन्तानको शिक्षाका लागि विद्यालय र महिला प्रहरीका लागि महिला प्रहरी गुल्म बनाएका थिए । लामा प्रहरीको अभिभावक रहँदा सोच बनाइएको सामुदायिक प्रहरी अहिलेसम्म लोकप्रिय बनेको छ । यी दुई प्रहरी महानिरीक्षकका अलावा यसअघिका महानिरीक्षक रवीन्द्रप्रताप शाहसम्म आइपुग्दा केवल प्रधान कार्यालयमा फोटो झुन्ड्याउने कामबाहेक मुलुक र सङ्गठनका लागि कसैले केही गर्न सकेको देखिएन । नेपाल प्रहरीले ५८औँ वसन्त पार गर्दा प्रहरी सेवाबाट अवकाश पाउने वर्तमान अभिभावक कुवेरसिंह रानाले यो छोटो अवधिमा मेडिकल कलेजको अवधारणा ल्याएको प्रशंसनीय छ । तर, त्यो भनाइमा मात्र सीमित रह्यो भने आईजी राना पनि फोटोमै सीमित रहने निश्चितप्राय: छ ।
प्रहरीमा पछिल्लो समय सङ्गठनप्रति माया गर्ने चलन हराउँदै गएको छ । जसरी पनि नगद जम्मा गरेर आफ्नो ‘नाम’ राख्नुपर्छ भन्ने मान्यता विकास हुँदै गइरहेकाले सुरक्षा दुब्लाउँदै र अपराध मोटाउँदै गएको छ । तल्लो दर्जाका कर्मचारीले सङ्गठनको मर्यादालाई उच्च राख्न दिनको भोक र रातको निद्रा नभनी लागेको पाइन्छ, तर माथिल्लो तहका अधिकृत प्रहरी सङ्गठनको नभएर राजनीतिक पार्टीका कुनै नेताको मान्छे भइदिँदा अपराध कर्म गर्नेहरू प्रहरीभन्दा बलिया हुँदै गएका हुन् । ०५३ सालको अन्त्यतिर तत्कालीन गृहमन्त्री वामदेव गौतमले एक महिना ६ दिन आईजी बनेका अच्युतकृष्ण खरेललाई फालेर धु्रवबहादुर प्रधानलाई नयाँ आईजी बनाएपछि सुरु भएको प्रहरीभित्रको गुटबन्दी अहिलेसम्म आइपुग्दा विभिन्न उपगुटमा समेत जालो फैलिएको छ । सङ्गठन बनाउने होइन आफू बन्ने प्रतिस्पर्धाका लागि रकम जोहो गर्ने कार्यको विकास प्रहरीमा भएको छ । रकम जोहो गर्दा राम्रा मान्छेबाट अवश्य हुँदैन । गलत व्यक्तिबाट रकम प्राप्त गरेपछि उसको सुरक्षा गर्ने परिपाटीले नै तल्लो दर्जाकाले ४० रुपैयाँ घुस लिएको निहुँमा जागिरबाट हात धुँदै जाँदा माथिल्लो तहमा हुने प्रतिस्पर्धाका लागि गरिने करोडौँको हल्ला कहाँबाट ल्याएको रकम हो भनेर सोध्ने निकाय नै चिरनिद्रामा रहन्छ ।
प्रहरी इमानदार भयो भने मुलुकवासी अमनचयनसँग बस्न र निदाउन पाउँछन् । एउटा प्रहरी अधिकृतले ‘कि अपराधी छैन कि म रहिनँ’ भन्ने हुँकार दिँदा अपराध गर्नेले आत्मसमर्पण गर्दारहेछन् भन्ने उदाहरण थुपै्र छन् । केही समयअघि एक अधिकृतले कुनै भूमिगत सङ्गठनका नाइकेको नामै किटेर हुँकार गरेपछि अहिले धमाधम हतियार बुझाउने होड चलेको छ । प्रहरी सङ्गठनमा मिडियामा हल्ला गरेर चर्चा बटुल्नेहरू पनि कम छैनन् । मबाहेक अरू सबै भ्रष्टाचारी हुन् भन्ने मानसिकताबाट अघि बढेको पनि देखियो । कुनै वृत्तचित्रको नाम आफ्नोबाट होइन सङ्गठनको नामबाट राखियो भने मात्र प्रहरी बलियो हुन्छ भन्ने कुरालाई पनि ख्याल गरिएको देखिएको छैन । केवल प्रतिस्पर्धाका लागि नाम चलाउने तर सङ्गठनको काम भने शून्य गर्नेहरूकै कारण प्रहरी कमजोर र अपराध बलियो हुँदै गएको हो । नेपाल प्रहरीको झन्डाले सङ्केत गरेझैं नीलो रङ गम्भीरताको पहिचान, रातो किनारा वीरताको चिह्न, पहेँलो रङ स्वच्छ र निश्चल हृदयको प्रतीकलाई मनन गर्न हो भने प्रहरी साँच्चै जनताको प्रहरी हो । आफू बन्नका लागि अपराध कर्म र अपराधीसँगको हिमचिमले नै प्रहरी कमजोर भएको कुरालाई सबैले आत्मसात् गर्नुपर्छ । केही गलत व्यक्तिका कारण सुनौलो इतिहास बोकेको प्रहरीको देश र विदेशमा उसको इज्जत धमिलो हुँदै गएकाले सङ्गठनप्रति इमानदार, यसको छविप्रति चिन्तित र सचेत प्रहरीले आजैदेखि सङ्गठनलाई मुखले होइन व्यवहारले शून्यसहनशीलतामा लैजान जरुरी छ । होइन भने कस्तुरीले आफ्नो सुगन्ध थाहा नपाएझैँ नेपाल प्रहरीका केही व्यक्तिका कारण सङ्गठन नै दुर्गन्धित बन्दै जानेछ ।

महेन्द्र पाण्डेय

११ जेष्ठ २०७०, शनिबार ०९:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

नेपाल र खनालको वरियता विवाद नमिलेपछि नेकपाको सचिवालय बैठक स्थगित

निरोज कुमार थापा, काठमाडौँ, ३२ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । पार्टी एकतालाई..

बीपीको पुस्ता सकिएपछि कांग्रेसको पनि समय सकियोः डा. भट्टराई

कास्की, ३१ साउन । समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो..

प्रधानमन्त्रीले भने, ‘९९ डिग्रि ज्वारो आउँदा हाँगा हालेर समाचार आएछ’

निरोज कुमार थापा, काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू बिरामी नभएको प्रष्टिकरण दिएका छन् ।..

पुडासैनी आत्महत्या प्रकरणः युवती पक्राउ, रबीमाथि प्रहरीले निगरानी बढायो

काठमाडौँ, ३० साउन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले आरोपितलाई पक्राउ गर्न सुरु गरेको छ ।..

प्राधिकरणको नाफा ७ अर्ब २० करोड, वर्ष दिनमै बने ३८ आयोजना

काठमाडौँ, २९ साउन । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७५/०७६ मा ७ अर्ब २० करोड मुनाफा कमाएको छ । यो मुनाफा..