सबै अस्त्र सकिएपछि वस्त्रविहीनको सहारा ! :: देवप्रकाश त्रिपाठी

बेरोजगार युवा, अशिक्षित एवम् कमजोर चेतनास्तरका जनता तथा केही हुल्लडवाजहरूलाई नयाँ जनवादी राज्यसत्ताको सपना देखाउँदै हिंसात्मक सङ्घर्षमार्फत सत्ताको केन्द्रबिन्दुमा पुग्न गरिएको प्रयास पूर्ण सफल नभएपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड निर्वाचनका माध्यमबाट सत्तामा पुग्न निर्णायक कसरत गर्दै हुनुहुन्छ । ०४६ को राजनीतिक परिवर्तनपश्चात् स्थापित संसदीय प्रजातान्त्रिक प्रणालीले जनताबाट निर्वाचित भई सत्तामा पुग्ने अवसर हरेक नेपालीलाई उपलब्ध गराएको थियो र प्रचण्डले ०४८ सालको संसदीय निर्वाचनमा भाग लिएर आफूहरूप्रतिको जनविश्वास तथा आफ्नै हैसियतको नापतौल पनि लिनुभएको थियो । २०५ संसदीय निर्वाचन क्षेत्रमध्ये आठवटामा मात्र आफ्नो पार्टी (तत्कालिक संयुक्त जनमोर्चा)ले विजय हासिल गरेपछि प्रचण्ड एकप्रकारले शायद निराश हुनुभएको थियो । ०४८ को निर्वाचन परिणामले उहाँलाई चुनावी माध्यमबाट सत्तामा पुग्न नसकिने निष्कर्षमा पुर्‍यायो । त्यसपछि उहाँले हिंसात्मक युद्धमार्फत सत्ताकब्जा गर्ने अवधारणा प्रस्तुत गर्दै पार्टीलाई दीर्घकालीन जनयुद्धमा लैजान प्रस्ताव गर्नुभयो । यसै विषयलाई लिएर पार्टीमा मतभेद उत्पन्न भई अन्तत: पार्टी नै विभाजित हुन पुग्यो । पार्टी विभाजन भएपछि चुनावमार्फत सत्ता प्राप्त गर्ने प्रचण्डको सपना झनै चकनाचुर भयो र ०५१ को मध्यावधि निर्वाचन बहिष्कार गरी सशस्त्र सङ्घर्षमा जाने आन्तरिक तयारीमा जुट्नुभयो । उक्त निर्वाचनले नेकपा एमालेलाई देशको सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा स्थापित गरायो र एमालेले मनमोहन अधिकारीको नेतृत्वमा एकमना सरकार गठन गर्‍यो । यसरी एमालेको एकमना सरकार बनेपछि हिंसात्मक सङ्घर्षका लागि प्रचण्डमा थप उत्साह पैदा गरायो । त्यसताक प्रचण्डको ठहर थियो– ‘झापामा कुनै एक/दुई व्यक्ति (उनीहरूको भाषामा सामन्त) मारिएकै आधारमा तत्कालिक को–अर्डिनेसन केन्द्र नेकपा माले हुँदै एमाले बनेको र एकमना सरकारको अधिपति हुने मौका पाएको छ । यसबाट नेपाली जनताले कसलाई मान्छन् भन्ने स्पष्ट सङ्केत मिलेको छ ।’ कुनै एउटा जिल्लामा एकाध मानिसको हत्या गरेकै भरमा आज एमाले सत्ताको मालिक बन्न पाएको छ भने हामीले त्यही कर्म अझै व्यापक रूपमा किन नगर्ने, प्रचण्डको प्रश्न होइन निष्कर्ष थियो । केही वर्ष हिंसात्मक सङ्घर्ष गरेपछि चुनावमै भाग लिन आए पनि बहुमत हासिल गर्न सकिन्छ भन्ने विश्वास प्रचण्डमा पलायो । त्यसपश्चात् उहाँ हिंसात्मक सङ्घर्षको निर्णायक तयारीमा लाग्नुभएको हो । यसरी हिंसात्मक सङ्घर्षमा जानुअघि उहाँले देखेको र तय गरेको एउटै गन्तव्य थियो– सत्ता । नेकपा मालेले झापामा सशस्त्र विद्रोहको नेतृत्व गरिरहँदा मुलुकमा पञ्चायत नामको निरङ्कुश शासन–प्रणाली थियो र जनआकाङ्क्षा एवम् असन्तुष्टि प्रतिविम्बित हुने कुनै व्यवस्था–अवस्था त्यहाँ थिएन । त्यसै समयमा भारतको नक्सलवाडीमा सुरु भएको उग्रक्रान्तिकारी रोमान्सको प्रभावले पनि कम्युनिस्ट उन्माद चढेका केही नेपाली युवालाई विद्रोहको निम्ति प्रेरित गरिरहेको थियो । प्रजातान्त्रिक प्रणाली अस्तित्वमा थियो र आफ्ना वेग–आवेगहरू प्रस्तुत गर्ने ठाउँ हुन्थ्यो भने झापा विद्रोहको सम्भावना ज्यादै कम मात्र थियो भन्न सकिन्छ । तर, प्रचण्डले प्रजातान्त्रिक संसदीय प्रणाली स्थापना भई आफ्ना आवाज संसद्मा मुखरित गर्न पाउने अवस्था हुँदाहुँदै रक्तपातपूर्ण युद्धको रचना गर्नुभयो । त्यसबेला जंगबहादुर राणा नेपालमा रहेका भए पनि सायद उनले हिंसात्मक मार्ग अवलम्बन गर्ने थिएनन् । चुनावमार्फत सत्तामा पुग्ने अवस्था–व्यवस्था नभएकाले मात्र सम्भवत: जंगबहादुरले कोतपर्वको व्युह रचना गरेका हुन् । प्रजातान्त्रिक प्रणाली भइदिएको भए जनताको विश्वास जितेर विधिवत् सत्तामा पुग्ने सामथ्र्य जंगबहादुर राणामा रहेको उनको व्यक्तित्व र क्षमताले दर्शाउँछ । तर, प्रचण्डले जंगबहादुर कस्तो अवस्थामा किन हिंसाको सहारा लिएर सत्ता प्राप्तिको मार्ग अपनाउन बाध्य भएका थिए भन्ने यथार्थको पनि हेक्का राख्नुभएन र निर्वाचनमार्फत सत्ताको मालिक बन्न पाउने सम्पूर्ण अवसर हुँदाहुँदै रक्तपातपूर्ण सङ्घर्षको थालनी उहाँले गर्नुभयो । सत्ता र शक्ति प्राप्तिको नशाले अन्धो बन्नुभएका प्रचण्डले त्यसप्रकारको हिंसात्मक युद्ध गर्दा मुलुकले कुन हदसम्मको सास्ती पाउन सक्छ भन्ने दृश्य ठ्याम्मै देख्नुभएन । हिंसात्मक युद्धको दर्मियानमा कति निर्दाेष नेपालीले ज्यान गुमाउनुपर्‍यो, कतिले स्वदेशमै शरणार्थीको जीवन जिउनुपर्‍यो र देशले कति ठूलो आर्थिक तथा भौतिक क्षति व्यहोर्नुपर्‍यो– हामी सबैका सामु छर्लङ्ग छ ।
०६३ सालको राजनीतिक परिवर्तनपश्चात् प्रचण्डले राजनीतिक सहमतिका आधारमा राज्य संयन्त्रको हरेक निकायमा ठूलो भाग खोज्नुभयो । यतिसम्म कि संसदीय प्रजातन्त्रका विरुद्ध हिंसात्मक सङ्घर्षमा उत्रिएको आफ्नो पार्टीलाई संसद्मा दोस्रो ठूलो पार्टीको हैसियतमा स्थापित गर्न उहाँले निकै रडाको मच्चाउनुभयो । तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला कुन बाध्यतामा परेर हो उहाँले पटकपटक भएका आमनिर्वाचनमा जनताले प्रमुख प्रतिपक्षी भूमिकामा स्थापित गरेको नेकपा एमालेलाई होच्याएर चुनावमा भागै नलिएका एक हुल मानिसलाई संसद्मा भित्र्याउनुभयो र माओवादीलाई काङ्ग्रेसपछिको दोस्रो शक्तिको दर्जामा पुर्‍याइदिनुभयो । ०४८ को संसदीय निर्वाचन परिणामले आफ्नो बेइज्जत गरेको ठान्नुहुने प्रचण्डले गिरिजाप्रसाद कोइरालाको बुई चढेर बदला मात्र लिनुभएन, विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्य–मान्यताको पनि मज्जाले धज्जी उडाउनुभयो । चुनावमा भागै नलिईकन संसद्मा प्रमुख प्रतिपक्षी दलको हैसियत कसैले प्राप्त गरेको दृष्टान्त विश्व इतिहासमा कहीँ कतै भेटिँदैन । जनअनुमोदित शक्ति एमालेलाई होच्याएर हिंसा र अराजकताका पृष्ठपोषकहरूलाई सम्मान दिनुको परिणाम मुलुकले अहिले भोगिरहनुपरेको छ ।
०६३ मा खुला राजनीतिमा आएपछि पनि प्रचण्डले सत्ताको सम्पूर्ण मालिक बन्ने गुप्त महत्त्वाकाङ्क्षा पूरा गर्ने कसरत जारी राख्नुभयो । सहमतिबाट प्राप्त हुन सक्नेजति सबै किसिमका उपलब्धि उहाँले हात पार्नुभयो । लडाकुलाई क्यान्टोनमेन्टमा नराख्दा र वाईसीएलको नाममा आतङ्कको अर्को शृङ्खला सुरु नगर्दा संविधानसभाको निर्वाचनमा उल्लेख्य स्थान हासिल गर्न नसक्ने देखिएपछि प्रचण्डले ६ महिनाभित्र शान्तिप्रक्रिया पूरा गर्ने दस्तावेजमा सही गरेर पनि विभिन्न अत्तो थाप्दै लडाकु व्यवस्थापन प्रक्रियालाई अलमल्याउनुभयो । जसरी भए पनि चुनाव जित्ने योजनाका साथ सक्रिय प्रचण्डको पार्टीले संविधानसभामा ठूलो दलको हैसियत प्राप्त गरेपछि उहाँ सहमतीय सरकारका प्रमुख गिरिजाप्रसाद कोइरालालाई विस्थापित गरेर आफैँ प्रधानमन्त्री बन्न अग्रसर हुनुभयो । प्रधानमन्त्री बनेलगत्तै राज्यका सबै निकाय तथा संयन्त्रलाई सम्पूर्ण नियन्त्रणमा लिने प्रयास प्रचण्डबाट भयो र प्रधानसेनापति रुक्माङ्गद कटवाल प्रकरण सोही प्रयासको उत्कर्ष थियो । आफूले प्रहार गरेको बन्चरो आफैँतिर फर्किएपछि सत्ताच्युत हुन पुग्नुभएका प्रचण्डले छिमेकी राष्ट्र भारतविरुद्ध नेपाली जनतालाई जुरुक्कै उठाएर सत्तारुढ हुने सपना देख्दै राष्ट्रव्यापी अभियान चलाउनुभयो । त्यसबाट कुनै सुखद परिणाम हासिल हुन नसक्ने देखिएपछि उहाँ भारतको आशीर्वाद प्राप्त गर्न लालयित रहनुभयो र त्यसबीचमा राष्ट्रिय सहमतिको सरकार निर्माण गरी आफू त्यसको प्रमुख बन्न पनि प्रचण्डले निकै कसरत गर्नुभयो । दलीय सहमतिका लागि भएका प्रयास आफूलाई प्रधानमन्त्री बनाउने गरी सफलीभूत हुने नदेखिएपछि उहाँ संविधानसभामा प्रधानमन्त्रीको उम्मेदवार बनेर पनि प्रस्तुत हुनुभयो । सातपटकसम्मको निर्वाचनमा पराजित भएपछि प्रचण्डलाई पार्टीले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो । यदि पार्टीले त्यस्तो निर्देशन नदिएको भए प्रचण्ड आफू प्रधानमन्त्री नभएसम्म सैयौँपटक प्रधानमन्त्रीको चुनाव लडिरहनुहुने निश्चित थियो । त्यसरी संसद्मा पराजित भइसकेपछि पनि उहाँले दलीय सहमतिका आधारमा प्रधानमन्त्री बन्न निरन्तर कसरत गरिरहनुभएको हामी सबैको स्मृतिमा छ ।
अब चुनावमा जाने, जसरी भए पनि चुनाव जित्ने र प्रधानमन्त्री बनिछाड्ने भूत प्रचण्डमा सवार भएको छ । लडाकु विघटन भइसकेको, वाईसीएल असन्तुष्ट र निष्क्रिय रहेको तथा यसअघि अपनाइएका सबै अस्त्रहरू भुत्ते भइसकेपछि बिचरा प्रचण्ड अहिले शरीरको ठाउँठाउँमा कपडाले ढाकेर युवाहरूको आकर्षण बन्न सफल अभिनेत्री रेखा थापाको शरणमा पुग्नुभएको छ । यसअघि प्रयोगमा ल्याएका विचार, दर्शन, सिद्धान्त, नीति, कार्यक्रम, तिकडम, जालझेल, आतङ्क र लडाकुसमेतले काम नदिने ठानेरै हुनुपर्छ प्रचण्डले रेखा थापालाई देखाएर चुनाव जित्ने र सम्पूर्ण सत्ताको मालिक बन्ने टिठलाग्दो ‘क्रान्तिकारी रणनीति’ अवलम्बन गर्नुभएको छ । प्रचण्डले रेखामा जुन आकर्षण देखेर आफ्नो चुनावी अस्त्रका रूपमा प्रयोग गर्ने सोच बनाउनुभएको छ कदाचित रेखा पूरा शरीर कपडाले ढाकेर चुनावी अभियानमा सामेल भइदिइन् भने एमाओवादीले कति स्थानमा विजय हासिल गर्न सक्ला– प्रचण्डका लागि चिन्ताको र बाँकी दुनियाँका लागि जिज्ञाशाको विषय बनेको छ ।

८ जेष्ठ २०७०, बुधबार ०७:०१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..