अरुलाई प्रतिगमनकारी भन्दैमा आफू अग्रगमनकारी होइन्न :: इन्द्रबहादुर बराल

जसले जे गरे पनि अप्ठ्यारो पर्नेबित्तिकै भन्ने चलनचल्तीको भाषा र बोली बनेको छ– ‘बाध्यता’ । हुँदाहुँदा आफ्ना अक्षमता र अकर्मण्यता लुकाउने थेगो बन्यो यो बाध्यता भन्ने शब्द । यो कस्तो राजनीतिक संस्कार र संस्कृति हो, जतिसुकै ठूला–ठूला अक्षम अपराध गरे पनि नेपालका कथित ठूला भनिएका दलले बाध्यताको शब्द उच्चारण गरेपछि सारा पाप मोचन हुने ? 
एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिँदा ‘विदेशी प्रभु’ भन्ने वाक्यांश प्रयोग गर्नुभएको थियो भने त्यही पार्टीका अर्का नेता डा. बाबुराम भट्टराईले नेतृत्व सम्हाल्दै गर्दा पनि भन्नुभएको थियो, ‘सत्ताको चाबी अन्यत्रै रहेछ ।’ संविधानसभाको निर्वाचनपश्चात् आजपर्यन्तका राजनीतिक घटनाक्रमलाई हेर्दा उक्त दुई नेताका अभिव्यक्ति संयोग मात्रै भन्न सकिने अवस्था छैन । दलीय राजनीतिको अभ्यासमा लागेका नेपालीले नाटकीय रूपमा गैरदलीय चुनावी मन्त्रिपरिषद्को गठन एउटा अनौठो र उदेकलाग्दो प्रयोग भएको छ । जुन घटना आफैँमा दुर्भाग्यपूर्ण बन्न गयो । तथापि नेपाली आमनागरिकले त्यस्ता हर्कतको चोटिलो प्रहार र प्रतिकार गर्न नसक्नुले मौन सम्मति दर्शाएको भन्नु ठीकै होला ।
जनताको मौनताको फाइदा उठाउँदै दलका नेताहरू बाध्यताको वहानामा नेपाल र नेपालीको आत्मसम्मानमा ठेस पुर्‍याइराखेका छन् । नेपालको राजनीतिक इतिहासमा महत्त्वपूर्ण ठानिएका परिवर्तनकारी आन्दोलनमध्ये ०६२/६३ ले दुई सय ४० वर्ष लामो राजतन्त्रको गौरवपूर्ण राष्ट्रिय एकताका प्रतीक मात्रै होइन साक्षात भगवान् विष्णुका अवतार ठानिएका राजा र राजतन्त्रलाई हुत्याउन सक्ने शक्ति आज सबै एकपछि अर्को प्रतिगामीको प्रतिनिधिको रूपमा चिनिएकालाई बाध्यताको नाममा आफैँले प्रस्ताव गरेर नेपाली जनताको बलिदानीलाई अपमान र होच्याउने काम गरिनु विडम्बना नै भन्नुपर्छ । चारदलीय छाया सरकार हरेक निर्देशन र निर्णय कार्यान्वयन गर्न/गराउन चुनावी मन्त्रिपरिषद्को अर्को बाध्यकारी स्थिति छ । अख्तियार प्रमुखमा भएको नियुक्ति प्रकरणले पनि के छर्लङ्ग पारेको छ भने नेपालका सरकार सञ्चालनका चारदलीय संयन्त्रमा होस् वा कठपुतली सरकारमा आफ्नै विवेक र विचारले निर्णय गर्ने कुनै अधिकार राख्दैनन् । बाह्य शक्तिकै आड र भरोसा अनि नीति र निर्देशनमा चल्नु बाध्यता नै रहेछ भन्नु अत्युक्ति नहोला । अन्यथा विभिन्न समयमा भएका जनआन्दोलनले बढारेर रछ्यानमा पुर्‍याइएका पात–पतिङ्गरलाई फेरि सुनपानी छर्केर शिरमा राख्नुपर्ने कुनै कारण थिएन । यसर्थ पनि अहिलेका प्रमुख राजनीतिक शक्तिलाई विश्वास गर्ने ठाउँ देखिँदैन ।
परिवर्तनकामी नेपालीले अब पनि तिनै अक्षम दल र तिनका नेताकै भरमा मुलुकको कार्यभार सुम्पनु महाभूल हुनेछ । देशमा धेरै इमानदार र सक्षम व्यक्ति खाँचो छैन । त्यसैले अब गम्भीर भएर मातृभूमिको माटो हातमा लिएर निर्णय गर्ने बेला आएको छ । अब पनि सही निर्णय लिन सकिएन भने नागरिक समाजले पनि उही बाटो समाएको ठहरिनेछ । जुन बाटो मौजुदा दलहरूले पछ्याइराखेका छन् । बाध्यता भनेपछि सयौँ खत पनि माफी पाउने परिपाटीबाट देशले मुक्ति पाउने पर्छ । त्यसका लागि एउटै उपाय छ त्यो हो नेपाली एकजुट हुनु । फुटाऊ र शासन गर भन्ने राजनीतिमा पल्केका ढाडेबिराला जसै पनि तर खाने दाउमा लिप्त देखिन्छन् । लाग्दछ– नेपाली सचेत र जागरुक नागरिकको बुद्धिमतापूर्ण कदमले ढाडेबिरालोको ढाड उठ्नै नसक्ने गरी भाँचिदिनुपर्छ । अनि मात्र नेपालीको भविष्य सुन्दर र सुनिश्चित गर्न सकिन्छ । यो देश सतीले सरापेको देश भन्ने पनि चलन छ, धेरै टाढाको कुरा छाडौँ मुलुककै सबैभन्दा ठूलो पद भनेको प्रधानमन्त्रीको पद हो तर त्यस्तो पद पनि चाहिँदैन भन्ने प्रजातन्त्रका पिता जनआन्दोलन २०४६ का सर्वोच्च कमान्डर गणेशमान सिंहको के गति भयो/गरियो ? त्यस्तै मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराईजस्ता सच्चा राष्ट्रवादी नेताहरूको अवस्था पनि वास्तवमा दारुणिक नै रह्यो । भीमसेन थापालगायत थुप्रै वीर र वीरांगनाका त धेरै टाढाको कुरा भयो । यी सबै हर्कत पनि बाध्यताकै परिणाम थिए होलान् होइन र ? त्यसकारण अब चार राजनीतिक दल जसले राज्य सञ्चालनको संयन्त्र धारण गरेका छन् तिनीहरूले जनताको माझ चित्तबुझ्दो जवाफ दिनुपर्ने कि नपर्ने ? भोलिका पुस्तालाई सामाजिक एवम् जातीय सद्भावयुक्त सिङ्गो नेपाल हस्तान्तरण हुन नसके त्यसको मूल्य चुकाउन त्यति सहज हुने छैन । देश अहिले विखण्डनको खतरातर्फ बढिरहेको छ भने अर्कोतर्फ सामाजिक एवम् जातीय सद्भावमा खलल पुर्‍याउने विषवृक्षको विजारोपण गरिएको छ । शायद त्यसै भएर होला ‘बाहुन जति कासी जौ क्षेत्री जति फाँसी जौ’ भन्ने आपत्तिजनक र विद्वेषपूर्ण नारा घन्काइरहँदा ठूला भनिएका दलहरूले आनन्दको अनुभूति गरे होलान्, त्यस्ता अपत्यारिला तर ज्यादै पेचिला नाराले यस मुलुकका खस आर्यहरूले आफ्नो मन र मुटुमा सुइरा वा छुरा प्रहार भएको महसुुस गरिराखेका छन् । अत्यन्त अमानवीय तौरतरिकाले खस, आर्य जाति समूहप्रति प्रहार भइरहँदा पनि प्रमुख राजनीतिक शक्तिहरू कुन बाध्यताले हो एक शब्द बोल्न सक्दैनन् । के यसको जवाफ दिन आवश्यक छैन ?
जिम्मेवारी लिएका प्रमुख चार दल र तिनका नेताहरू अब खस, आर्य जाति समूहको घर–आँगनमा जाने, मत माग्ने अधिकार राख्दैनन् । अनि उनीहरूसँग खस, आर्य–जातिसँगको सहकार्य गर्ने नैतिक आधार पनि रहँदैन । यो वास्तविकतालाई आत्मसात् गर्दै नयाँ शक्तिको रूपमा उदीयमान हुने पार्टीलाई सम्पूर्ण नेपालीले साथ दिनु बुद्धिमान हुनेछ । प्रजातन्त्रको नाम जप्दैमा वा जनयुद्धको धङधङीले मात्र मुलुकको अखण्डता र सामाजिक एवम् जातीय सद्भाव कायम हुन सक्दैन । ‘बिहानले दिनको सङ्केत गर्छ’ अरूलाई यथास्थितिवादी र प्रतिगामीको आरोप लगाउँदैमा आफू अग्रगामी ठहरिँदैन । शब्दले मात्र परिवर्तन दिँदैन । परिवर्तन त व्यवहारमा देखाउने होइन र ? अब पनि बाध्यताको जालले नेपालीको आँखामा छारो हाल्न खोज्नु भनेको २१औँ शताब्दीका जनतालाई मूर्ख बनाउन खोज्नु मात्र हो । जुन अभीष्ट पूरा नहुन पनि सक्छ । बाध्यताको ढ्वाङ फुकेर आफ्ना झोला भर्ने द्रव्यपिचासी चरित्र र स्वभाव आजैबाट छोड्न सके बाध्यतैबाध्यताको चङ्गुलमा पिल्सिएको राजनीतिले निकास पाउन सक्ने झिनो सम्भावना देखिन्छ । अन्यथा बाध्यताको बहानाबाजीमा जनआन्दोलनबाट बढारिएर रछ्यानमा फालिएकालाई सुनपानी छर्किएर चोख्याउनुको पछाडि लोभीपापी मनबाहेक के नै हुन सक्ला ?

६ जेष्ठ २०७०, सोमबार २२:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..