गंगोत्री खोज्दै सागरतर्फ हामी गोर्खाली :: देवप्रकाश त्रिपाठी

सृष्टिको गुण गतिशील, परिवर्तनशील अर्थात् चलायमान भए पनि मानिसको चाहनाचाहिँ स्थिरता हो र स्थिरतामै आनन्दानुभूति पनि हुन्छ । जीवनलाई सुखी बनाउनु र सुखलाई स्थिर राख्नु मानवीय जीवनको गन्तव्य हो, चाहना हो र जुनसुकै वाद, विचार र आदर्शका व्याख्यान जसले जसरी गरेका भए पनि मानिसको चाहना भनेको सुरक्षा, शान्ति, सुख एवम् समृद्धि प्राप्तिभन्दा बढी केही हो भने ‘प्राप्तिको स्थिरता’ मात्र हो । उल्लिखित पाँच ‘तत्व’ को निम्ति हरेक मानिस हरक्षण तड्पिरहेको हुन्छ, सुरक्षा, शान्ति, सुख र समृद्धि हासिल भइहालेछ भने पनि ती तत्व प्राप्तिको स्थिरताचाहिँ असम्भव मानिन्छ । अनि यही बिन्दुमा मानिसको असन्तुष्टि या दुःख पुनर्वहाली हुन पुग्छ । जसलाई सुरक्षा चाहिएको छ उसले त्यो पाएपछि आनन्दानुभूति गर्छ, तर उसको त्यो सुखानुभूति लामो समय कायम रहन सक्दैन, सुरक्षा पाएपछि हरेकलाई शान्तिको चाहना हुन्छ, सुरक्षा र शान्ति प्राप्त भइसकेपछि हरेक व्यक्तिमा सुख–समृद्धि प्राप्तिको चाहना हुन्छ । जब चारै तत्व प्राप्त गर्छ त्यसपछि ऊ आफ्नो प्राप्ति कहिल्यै गुमाउन चाहँदैन– दुःख पुनर्वहालीको मूल कारणको स्रोत पनि यहीँ निहित छ । दुःखबाट सुख प्राप्तिको यात्रामा रहँदा हरकोहीले सङ्घर्ष या कष्टलाई पनि सहज रूपमा लिन्छन् र बेलाबखत प्राप्त हुने सफलताले पनि मानिसलाई आनन्द र सुखानुभूति दिलाउँछ । तर, जब मान्छेलाई सुरक्षा, शान्ति, सुख र समृद्धि प्राप्त हुन्छ तब प्राप्तिमा स्थिर रहने चाहनाले उसलाई व्याकुल बनाउँछ । हो, त्यही व्याकुलता नै जीवनको दुःखको कारण बन्दछ ।
अल्पविकसित र कम शिक्षित या कमजोर चेतनाका मानिसको बाहुल्य रहेको मुलुकमा सुख प्राप्तिको छटपटी त्यसै पनि बढी हुन्छ नै, त्यसमाथि राजनीतिकर्मी र कर्मचारीतन्त्रले सामान्य मानवजीवनलाई यति जटिल बनाइदिएका हुन्छन् कि अल्पविकसित
देशका अधिकांश नागरिक सुख–आनन्द भनेको के हो थाहै नपाई धर्तीबाट बिदा हुन्छन् । राजनीतिकर्मीहरू विभिन्न आदर्श, विचार, सिद्धान्त, दर्शन, नीति र कार्यक्रमलाई सर्कसको बाँदरजस्तो अनेक सिंगारपटार गरेर प्रस्तुत गर्छन्– जनता सधैं अलमलमा । कर्मचारीतन्त्रले ऐन, कानुन र प्रक्रियाको नाममा पैदा गरेको जटिलताले पनि नागरिक जीवनलाई त्यति नै सकस दिएको छ जति विचार र सिद्धान्तका नाममा राजनीतिकर्मीले असहजता सिर्जना गरेका छन् । मान्छेको चाहनाभन्दा कुनै बेग्लै चाहना देशको हुँदैन । सुरक्षा, शान्ति, सुख, समृद्धि र स्थिरता देशका लागि पनि मान्छेका निम्ति जत्तिकै अनिवार्य पहलु हुन् । यिनै तत्वको अभावका कारण हाम्रो देश नेपाल वर्षौंदेखि छटपटिइरहेको छ । राणाशासन एउटा ऐतिहासिक आवश्यकता थियो भन्नेहरूको मतलाई सम्मान गर्दागर्दै पनि एउटा सत्य स्वीकार गर्नैपर्ने हुन्छ– राणाशासन प्रजातन्त्र थिएन र प्रजातन्त्र स्थापना हुन राणाहरूको शासन विस्थापित हुनैपथ्र्यो– भयो । प्रजातन्त्रको उदयसँगै नेपाली जनताले सात दशकअघि आफ्नो जीवनमा भारी परिवर्तन आउने सपना देखेका थिए । त्यसपछि राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गर्दा पनि जनतालाई ठूलै सपना देखाइएको थियो । तीन दशक प्रतीक्षा गर्दा पनि सपना पूरा नभएपछि पञ्चायती व्यवस्थालाई जनताले विस्थापित गरिदिएका हुन् । ०४६ को जनआन्दोलनले राजा, काङ्ग्रेस र वामपन्थीलाई एउटा सम्झौतामा ल्याउन बाध्य तुल्याएको थियो । बहुदलीय प्रजातन्त्र स्थापना गर्न तीन शक्तिबीच बनेको सहमति राष्ट्र निर्माणका नाममा पनि रूपान्तरित हुन सकेको भए मुलुकले अहिले यस्तो दुर्गतिको सामना अवश्य गर्नुपर्ने थिएन । प्रजातन्त्र ढलेर ०६१ मा गाइडेड डिमक्रेसी (निर्देशित प्रजातन्त्र) को सूत्रपात गरिँदा पनि जनतालाई सपना देखाइएको हो र निर्देशित प्रजातन्त्र विस्थापित गरेर लोकतन्त्र, गणतन्त्र आदि स्थापित गर्ने क्रममा पनि जनतालाई नयाँ नेपालको सपना देखाइएकै हो ।
कर्मचारीतन्त्रका विशिष्ट मौलिक विशेषता हुन्छन्, आफ्नो निजी जीवनमा परिवर्तन ल्याउने दृढतासहित राज्य सेवामा प्रवेश गर्नेहरूले देशकेन्द्रित भावनाअनुरूप काम गर्न सकेनन् या गरेनन् भनेर टिप्पणी या विरोध जनाउने अलग्गै काइदा हुनसक्ला । तर, राजनीतिकर्मी जो निजी आकाङ्क्षाको तहबाट माथि नउठीकन बन्न सम्भव नै हुन्न, उनीहरूले समेत आत्मकेन्द्रित व्यवहार प्रदर्शन गर्दै आएकाले कर्मचारीको कार्यव्यवहारमाथि टिप्पणी या आलोचना गर्नै नपर्ने अवस्था सिर्जना गरिदिएको छ । प्रजातन्त्र स्थापनाको सात दशक पूरा हुनै लाग्दा हामी नेपाली यस अवधिमा अनेकौँ आकारप्रकारका राजनीतिक आन्दोलनमा जुट्यौँ र त्यसलाई ‘सफल’ पनि बनायौँ । तर, देशको समृद्धि–प्राप्ति अभियानको ढोका हामीले खोल्न सकेनौँ, यस निम्ति राजनीतिकर्मीहरूको चेतनास्तर, सोच, व्यवहार र कार्यशैलीबाहेक अरू कसैलाई दोषी या जिम्मेवार ठान्ने स्थिति छैन । नेपालले उन्नति–प्रगति गर्न नसक्नुका खास कारणको यहाँ बुँदागत चर्चा गर्ने प्रयास गरिएको छ ।
ड्ड विश्वमा विचार, दर्शनमा आधारित आदर्शको राजनीति क्रमशः विस्थापित हुँदै छ र त्यसको ठाउँ ‘इकोनोमी’ले लिँदै छ । तर, हामी वीर नेपाली यो वास्तविकताबारे बेखबर या बेसरोकार छौँ । अहिले पनि नेपालमा कथित आदर्शवादी राजनीतिले प्राथमिकता पाइरहेको छ, जुन विश्वका समृद्ध मुलुकको राजनीतिभन्दा ठीक विपरीत छ ।
ड्ड संयुक्त राज्य अमेरिका आर्थिक रूपमा कमजोर हुँदै गयो भने उसले विश्वमा आफ्नो प्रभुत्व मात्र गुमाउँदैन ऊ आफ्नो मुलुकको एकतासमेत कायम राख्न नसक्ने अवस्थामा पुग्न सक्छ । अहिले होनोलुलुदेखि अलास्का र बोस्टनदेखि सनफ्रान्सिस्कोसम्मका बासिन्दा आफू अमेरिकी भएकोमा गौरव अनुभूति गर्छन् । देश कङ्गाल भएमा गौरवानुभूति कसैमा रहने कुरै भएन, बरु विखण्डन र विभाजनको खतरा पैदा हुनसक्छ । बेल्जियमको फ्रान्सेली समुदाय जो समृद्ध पनि छ, उनीहरू देश विखण्डनको पक्षमा किन लागेका छन् भने आफूहरूले गरिब राज्यलाई पाल्नुपरेको पीडानुभूति तिनीहरूमा देखिएको छ । तर, हामी नेपालीमा अर्थतन्त्र सुदृढ बनाउने चेत नै पलाएको छैन
ड्ड संसारमा वैचारिक आधारमा ठूलाठूला द्वन्द्व भए, हजारौँ–लाखौँ मानिस विचारकै नाममा मारिए । मानव सभ्यताको विकासमा विचारको ठूलो योगदान छ र विनाशको कारण पनि विचार नै बनेको छ । विश्वमा वैचारिक द्वन्द्व शिथिल भइसक्दा पनि हामी वैचारिक द्वन्द्वमै रुमल्लिँदै छौँ ।
ड्ड विश्वमा धेरै मुलुकले जातीय एवम् क्षेत्रीय द्वन्द्वको पीडा भोगे, यसक्रममा ती मुलुकले गहिरो चोट व्यहोरेका छन् । बुरुण्डी, रुवाण्डा, नाइजेरिया, दक्षिण अफ्रिका या इथियोपियाजस्ता अफ्रिकी र वर्मा, श्रीलङ्का, भारत, मलेसिया र चाइनालगायत एसियाली मुलुकले मात्र होइन समृद्धिको नमुना बनेका स्वीटजरल्याण्ड, अमेरिका, क्यानडा र ब्रिटेनले समेत जातीय–क्षेत्रीय द्वन्द्वको पीडा भोगिसकेका छन् । र, त्यही द्वन्द्वबाट पाठ सिकेर उनीहरू समृद्धि प्राप्तिको दिशामा लागे, हामीचाहिँ अहिले आएर जातीय–क्षेत्रीय द्वन्द्व चर्काउन पाखुरा सुर्किंदैछौँ । कुनै बेलाका वीर गोर्खाली हामी, हाम्रो नयाँ पहिचान माग्नुमा र लड्नुमा गौरव गर्ने जातिका रूपमा बन्दै छ । बुद्धिमानहरू अरूको पीडाबाट चेत्छन् तर ‘बहादुर’हरू आफैँले भोगेपछि मात्र, हामी चेत्नका लागि भोग्ने तहको तनावबाट गुज्रँदै छौँ । यो बनाउनेतर्फको नभई विनाशतर्फको दिशा हो । अर्काको देश रक्षाका निम्ति सेनामा भर्ती हुने हामी गोर्खाली आफ्नै देशको एकता र सद्भावको रक्षा गर्नचाहिँ पूर्ण असफल हुँदै छौँ ।
ड्ड सर्वशक्तिमान राष्ट्र अमेरिकाबाट केही सिक्ने हो भने त्यहाँ कुनै पनि स्तरको निर्वाचनबाट छानिएर जानेहरू सबै आ–आफ्ना क्षेत्रका सफल व्यक्ति हुन् । नेतृत्व लिन अग्रसर हरेक व्यक्तिसँग आफ्ना जीवनको कुनै न कुनै सफलता गाँसिएको हुन्छ । तर, हामीकहाँ जीवनको सबै विधामा असफल व्यक्तिलाई चुनाव जिताउने र तिनै असफलको अगुवाइमा देश सफल बन्छ भनी ठान्ने अबोधहरूको बाहुल्य छ । अमेरिकामा आफ्नो जीवनमा सफल रहेकाहरूलाई खोजी–खोजी देशको नेतृत्वमा पु¥याइन्छ, हाम्रोजस्तो मुलुकमा चाहिँ रोजी–रोजी असफलहरूलाई अघि लगाइन्छ ।
नेपाली राजनीतिमा पनि कैयन योग्य, सक्षम र इमानदार एवम् देशभक्त व्यक्ति नभएका होइनन्, तर त्यस्ता व्यक्ति निर्णायक तहमा पुग्न सकेका छैनन् या उनीहरूको पथमा अवरोध सिर्जना गरिएको छ । उनीहरूले तोकिएको जिम्मेवारी र खटाएको काममै सीमित हुनु परिरहेको छ । अमेरिका र त्यस्तै समृद्ध मुलुकको राजनीतिमा व्यक्तिले आफ्नै जीवनमा कति सफलता प्राप्त गरेको छ भन्ने पक्षलाई प्राथमिकतामा राखेर हेरिन्छ । तर, हाम्रोजस्तो मुलुकमा ‘बिचराले राजनीतिमा लागेर पढ्न पाएन, उद्यम–व्यवसायका निम्ति लगानी गर्ने धन थिएन र बैंकले पनि पत्याएन, जागिरमा जान खोज्दा पनि कहीँ कसैले पत्याएनन्, तीसौं वर्षदेखि झोला बोकेर हिँडिरहेका छन्, यिनीलाई एकपटक मौका दिउँ’ भन्ने आधारमा नेता चुनिन्छ । यस आधारमा पढ्न नसकेका या नपाएका अशिक्षित र अल्पशिक्षित, कुनै सरकारी वा गैरसरकारी क्षेत्रमा काम गर्ने मौका नपाएका या सेवाका निम्ति लिइएका परीक्षामा अनुत्तीर्ण भएकाहरू, कुनै उद्यम–व्यवसाय गर्न नगद नभएका या बैंकले पत्याउने हैसियत या चरित्र नभएका र समग्रमा जीवनको सबै विधामा असफल भएकालाई अघि लगाएर देश सफलताको निम्ति व्यग्रता प्रकट गर्ने काम हामी नेपालीले गर्दै आएका छौँ । आफ्नो विपन्न एवम् कष्टसाध्य जीवनलाई इमानदारीका साथ परिश्रम गरी बदल्न सक्ने मानिसमा देशको जीवनलाई पनि बदल्ने कला या क्षमता हुन्छ भन्ने यहाँ ठानिँदैन । अमेरिकामा दश हजार डलरको लगानीमा किराना पसल खोल्ने मानिसले केही वर्षभित्रै दुई–चारवटा शहरमा डिपार्टमेन्टल स्टोर खोली दशौं हजारलाई रोजगारी उपलब्ध गरायो र राज्यलाई वार्षिक करोडौँ डलर राजस्व बुझायो भने उसलाई सफल मानिन्छ । एउटा व्यक्ति व्यापार, कानुन, पत्रकारिता, शिक्षण, अनुसन्धान, सुरक्षा आदि कुनै व्यावसायिक क्षेत्रमा संलग्न भई सफलता हासिल गर्न समर्थ हुन्छ भने उसलाई सफल मानिन्छ र त्यस्ता व्यक्तिले देशलाई पनि सफल बनाउन सक्ने विश्वास गरिन्छ । हामी हाम्रो राजनीतिमा असफलहरूको भीड व्यहोर्दै छौँ । जीवनमा असफल प्रमाणित व्यक्तिहरू राजनीतिलाई नै व्यापार ठान्छन् र नाफामुखी जिन्दगीका निम्ति राजनीतिमा समेत भइरहनु तिनको बाध्यता बनिरहेको पनि हुन्छ । यदि नेपाली जनताले साँच्चै मुलुकलाई शान्त, सुरक्षित, आनन्दित र समृद्ध बनाउन चाहेका हुन् भने आफ्नै जीवनमा सफल सिद्ध मानिसलाई नेतृत्वमा पु¥याउनेतर्फको अग्रसरता लिनुपर्ने हुन्छ । असफलहरूलाई अघि लगाएर देश सफल हुने अपेक्षा राख्नु भनेको ब्वाँसोमा सवार भएर सगरमाथा आरोहण गर्ने सपना देख्नुजस्तै हो भन्ने यथार्थबोध नेपाली जनतालाई नभएसम्म नेपाल कहिल्यै शान्त, सुरक्षित र समृद्ध बन्न सक्ने छैन, काशी जान कुतिको बाटो तय गर्ने या गंगोत्री (मुहान) भेट्टाउन सागरतर्फको यात्रा गर्ने उल्टो यात्रीको नियति हामीले सदा व्यहोरिरहने छौँ ।

   devprakash9@hotmail.com

१ जेष्ठ २०७०, बुधबार ०७:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..