गणतन्त्रका सूत्रधारहरूले पालैपालो थप्पड किन खाए :: रमेश ग्रहण सिलवाल

वर्तमानमा नेपाल बडो विचित्र अवस्थामा रहेको छ । गणतन्त्र छ भनौँ भने नेपाली जनताको मन–मस्तिष्कमा राजतन्त्र अझ गाढा बन्दै गएको छ, राजतन्त्र छ भनौँ भने श्रीपेचधारी राजा ज्ञानेन्द्र सिंहासनमा बसेका छैनन् । नेपालका कथाकथित अर्थात् स्वघोषित नेताहरूले ‘हामीले गणतन्त्र प्राप्त गरेका छौँ, यो महान् उपलब्धिलाई संस्थागत गर्नुपर्छ, हामीले दुई सय ४० वर्ष पुरानो राजतन्त्र ढालेका छौँ, सामन्तवादको अन्त्य गरेका छौँ’ भन्दै जनताको अझै पनि दिमाग भुटिरहेका छन् । कतिपय राष्ट्रघाती जमात पृथ्वीनारायण शाहले एकात्मक शासन प्रणाली लादेकाले नेपालको विकास नभएको र त्यसैले अब त्यसको उल्टो बाटोमा हिँड्नुपर्छ भन्ने अभिव्यक्ति प्रचार गर्दै छन् लाज पचाएर । त्यो कठिन घडीमा जसरी श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेर नेपाली मात्रको सम्मान र स्वाभिमान स्थापित गर्न सफल भए आजका पतित नेताहरू त्यसको विरुद्धमा उभिएका छन् । पृथ्वीनारायण शाहलाई गलत देख्नु र उनका ऐतिहासिक कर्महरूको खिल्ली उडाउनु नै राष्ट्रघाती नेताहरूको दिनचर्या बन्दै गएकोमा नेपाली जनता दुःखी छन् ।
०६२÷६३ को जनआन्दोलन सफल भएपश्चात् एक वचन जनतालाई नसोधी नेपाली गणतान्त्रिक, धर्मनिरपेक्ष, सङ्घीय राष्ट्र भएको घोषणा राष्ट्रघाती नेताहरूले गरेर र आत्मघाती थपडी बजाए । गणतन्त्रले नेपाली जनतालाई सार्वभौमिसत्तासम्पन्न बनाउँछ, शक्तिशाली बनाउँछ, सामन्तवादको अन्त्य हुन्छ, जनता मालिक बन्नेछन्, मुलुकको कायापलट हुनेछ, सामान्तवादको उन्नति गर्नेछन्, आधारभूत जनताका समस्याको दोहोलो हुनेछ आदि थुपै्र सपना देखाइएको थियो । नेपाली जनता र नेपालको प्रगतिको प्रमुख बाधक नै राजतन्त्रात्मक व्यवस्था हो भनेर कहिल्यै नथाक्ने अहिले सात वर्षपछि ‘प्रतिगमन, प्रतिगमन’ भनेर घोक्रो सुकाउँदै छन् । नेपाली जनताले वास्तविक लोभीपापी, षड्यन्त्रकारी, भ्रष्टाचारी, सामन्तवादी वर्तमानमा हालीमुहाली गरिरहेका राष्ट्रघाती नेताहरू नै रहेछन् भन्ने तथ्य स्पष्ट रूपमा बुझिसकेका छन् । यी राष्ट्रघाती नेताहरू भाषणमा बहुतै अग्रगामी कुरा गर्दछन् तर व्यवहार र सोचमा यिनीहरूजति घोर पश्चगामी र प्रतिगामी अरू कोही छैनन् । आफूलाई गणतन्त्रका सूत्रधार ठान्नेहरूले पालैपालो जनताको थप्पड किन खाए ? यसको जवाफ अब राष्ट्रघाती गणतन्त्रवादी भनाउँदा स्वघोषित नेताहरूले खोज्नुपर्छ ।
हिन्दूराष्ट्र नेपाललाई धर्मनिरपेक्ष राष्ट्रमा परिणत गर्नु अर्को एउटा आत्मघाती कदम थियो । विश्वकै एक मात्र हिन्दूराष्ट्र नेपालको एउटा महत्वपूर्ण पहिचान समाप्त पारेर यिनीहरू अर्को ठूलो उपलब्धि ‘महान् उपलब्धि’ भनेर डलर र युरो डकारिरहेका छन् । नेपालमा विविध धर्म मान्ने जनता भए तापनि धार्मिक द्वन्द्व थिएन । बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीहरू बसोबास गर्ने यो मुलुकलाई इसाईकरण गर्नुबाहेक धर्मनिरपेक्षताको अरू कुनै आवश्यकता थिएन, छैन । न्यून आय भएका र अशिक्षित तह–तप्काका नेपालीलाई यावत् प्रलोभन र आकर्षण दिएर इसाई धर्म मान्न विवश बनाइँदै आएको छ । घर–घर र चोटा–चोटामा पुगेर जबर्जस्ती इसाईकरण गर्ने–गराउने दुष्प्रयास जारी छ । धर्मको नाममा व्यवसाय सञ्चालन गर्नेहरू उत्साहित छन् । बुझे पनि नबुझे पनि क्रिश्चियन बनेका नेपालीले प्रभुको नाम लिएर नेपालमा के भइरहेको छ राम्ररी बुझ्न सकेका छैनन् । धार्मिक स्वतन्त्रताको नाममा भइरहेको धर्मको व्यापारले गर्दा आजभोलि घरैपिच्छे चर्च खुलेका छन् । एउटा कोठा लियो, चर्च भइहाल्यो ।
हिन्दू राजतन्त्रात्मक व्यवस्था पनि सबै धर्मलाई छुट थियो । चर्च, मस्जिद, गुम्बा खुलेकै थिए । आ–आफ्नो धर्मधर्म मान्ने स्वतन्त्रता सबैलाई थियो । हिन्दूराष्ट्र भए पनि धार्मिक सहिष्णुता कायम थियो । तर, काग बढी बाढो भयो भने फोहोर खान्छ भनेझैं आमूल परिवर्तनको आवरणमा विदेशी प्रभुहरूलाई रिझाउन नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो र त्यसलाई संवैधानिक रूप दिइयो जसले सारा हिन्दूधर्म मान्ने नेपाली जनताको चित्त त दुखायो नै, त्यसमाथि विश्वमै स्थापित नेपालको एकमात्र हिन्दू राष्ट्रको पहिचान पनि मेटायो । यसरी नेपालका मुठ्ठीभरका राष्ट्रघाती र विदेशी दलालहरू मिलेर नेपालको धार्मिक पहिचान समाप्त पार्न सफल भए । अब यो पहिचानलाई पुनस्र्थापित गर्न अत्यन्त जरुरी छ । भएको पहिचान समाप्त पार्ने र नभएको पहिचान स्थापित गर्ने नारा बोकेर हिँडेका राष्ट्रघाती दल र तिनका नेतृत्वलाई नेपाली जनताले पहिचान गर्नुपर्छ र आगामी चुनावमा तिनीहरूलाई हराइदिएर मात्र पुग्दैन, जमानत नै जफत गरिदिनुपर्छ । यदि समयमै जे पायो त्यही घोषणा गर्दै हिँड्ने जमातलाई तह लगाउन सकिएन भने भोलि ताइनतुईका क्रिश्चियनहरूले नेपाल भरिनेछ । हिन्दूहरू नै अल्पमतमा पर्नेछन् ।
नेपालको भूराजनीतिक अवस्थालाई हेर्ने हो भने यहाँ सङ्घीयता स्वीकार्नु भनेको विखण्डनलाई स्वीकार्नुजस्तै हो । जातीय÷सांस्कृतिक विविधता र सानो क्षेत्रफलको नेपाललाई कुनै पनि कोणबाट सङ्घीयताको आवश्यकता पर्दैन । यो राष्ट्रघाती र विखण्डनवादीहरूले लादेको एजेन्डा भएकाले सङ्घीयतालाई तत्काल खारेज गर्नुपर्छ । नेपालको विकास गर्न र विकासलाई हरेक मानिसको पहुँचमा पु¥याउन पाँच विकास क्षेत्र, चौध अञ्चल र पचहत्तर जिल्ला सम्पूर्ण रूपमा वैज्ञानिक, व्यावहारिक छ, ठीक छ । यदि आवश्यकता छ भने विकेन्द्रीकरणको छ । वास्तवमा भन्ने हो भने नेपालको परिप्रेक्ष्यमा सङ्घीयता बहसको निरर्थक विषय हो, समयको बर्बादी मात्र हो । नेपालमा अस्थिरता मच्चिरहोस् र आफ्ना स्वार्थहरू पूरा गर्न पाइयोस् भनेर लिट्टी कसेर लागेका केही शक्तिराष्ट्रहरूले सङ्घीयताको आवश्यकता पुष्टि गर्न कुनै उपाय बाँकी राखेका छैनन् । स्वविवेक नभएका र विदेशीकै इशारामा नाच्न पल्केका दलहरू र तिनका नेताहरूले नेपाललाई यो एजेन्डा पाच्य छैन, व्यावहारिक छैन भनेर भन्न सकेका छैनन् । यो सङ्घीयता भन्ने एजेन्डा नेपालका लागि मन्दविष नै हो ।
श्री ५ पृथ्वीनारायण शाहले बेलैमा बाइसे–चौबीसे राज्यलाई एकत्रित गरेर सिङ्गो नेपाल निर्माण नगरेका भए आज विश्वमानचित्रमा नेपाल भन्ने मुलुकको अस्तित्व रहने थिएन । उनका सन्ततिले पनि नेपालको भूगोल विस्तारमा अभूतपूर्व योगदान दिए र नेपालको रक्षार्थ अनेक कूटनीतिक कुशलतापूर्वक निर्वाह गरे । स्व. वीरेन्द्रले नेपाललाई विश्वकै शान्तिक्षेत्र बनाउन अथक प्रयास गरे तर ‘जानी दुस्मन’ हरूका कारण त्यो प्रयास असफल पारियो । आज गणतन्त्रको नाम जपेर मुलुकलाई क्षतविक्षत र अस्थिर राजनीतिमा होमिरहेका राष्ट्रघाती दल र तिनका नेताहरूको क्रियाकलाप हेर्दा नेपाल र नेपाली जनताको हितार्थ राजतन्त्रले ठूलै मूल्य चुकाउनुपरेको इतिहास अगाडि आउँछ । आजको अस्तव्यस्त र छिन्नभिन्न राजनीतिक माहोल देख्दा स्व. श्री ५ महेन्द्र र बीपी कोइरालाको सम्झना आउँछ । आज नेपालले जति विकास गरेको छ त्यति विकास त पञ्चायती व्यवस्था नै रहेको भए पनि हुन्थ्यो होला । अहिलेको जमानामा पञ्चायती व्यवस्था भएको भए के जनतासँग मोबाइल, मिडिया, कम्प्युटर, टीभी, गाडी, बाटोघाटो, स्कुल, कलेज, बिजुली, पानी (जो हामी आज पाउँछौँ) आदि हुँदैनथ्यो होला त ?
हाल नेपालमा लोकतन्त्र होइन भीडतन्त्र विद्यमान छ । अनुशासन तोड्नु र अराजक बन्नु नै लोकतन्त्र हो भने जनताले सास्ती खप्नुपर्ने लोकतन्त्र वा प्रजातन्त्र अब यो मुलुकलाई किन चाहियो ? वर्तमान नेपालको समग्र वस्तुस्थितिले बताउँछ कि राजा महेन्द्र अत्यन्त दूरदर्शी नेता पनि थिए । उनीहरू राष्ट्रवादी त छँदै थिए, आफैँमा जनपे्रमी र कवि पनि थिए । उनी आफैँ बजार भाउ बुझ्न बेलाबखत छद्म भेषमा पसलपसल पुग्थे । योग्य र इमानदार राष्ट्रसेवकको कदर गर्थे । कलाकार र साहित्यकारको सम्मान गर्थे । पञ्चायतकालमा जति स्रष्टा जन्मे र जुन स्तरका जन्मे आज त्यस्तो पाइँदैन । त्यतिखेर आफ्नो मुलुकप्रति जनतालाई जति स्नेह हुन्थ्यो त्यो आज मरिसक्यो । सुरक्षाकर्मीहरू इमानदार थिए । जनता कानुनको सम्मान गर्थे, सुरक्षाकर्मीको इज्जत थियो, राजनीतिक इमानदारी पनि थियो, भ्रष्टाचार गर्न जिम्मेवारहरू डराउँथे, मान्छे हुनुको मूल्य थियो । तर, अहिले ठीक उल्टो छ । मुलुक र जनताको कसीमा हेर्दा बहुदलभन्दा पञ्चायती व्यवस्था हजारौँ गुण उचित पुष्टि हुन्छ ।
वर्तमानमा नेपाली राजनीति ढाँटहरूको कब्जामा छ । लोकमानसिंह कार्कीलाई चार दलले स्वीकार गरे, सहीछाप ठोके, सहमति गरे । पछि आएर हामीले महाभूल ग¥यौँ, माफ गर्नोस् भन्छन् । यी नेता भनाउँदाहरूले के बोल्छन्, के गर्छन्, के भन्ने हुन् त्यसको कुनै भर र ठेगान हुँदैन । खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउँदा पनि ‘हामी ठूलो दबाब र बाध्यतामा प¥यौँ’ भन्दै थिए । तर, कसले दबाब दियो, कस्तो बाध्यता हो यिनले कहिले पनि बताउन सक्दैनन् । आफूलाई जनताको प्रतिनिधि वा नेतृत्व हौँ भन्नेहरूको यस्तो भूमिगत र धोकेबाज शैलीले नेपाली जनता ट्वाँ… पर्छन् । बिस्तारै चुनावका चर्चा चल्दै गर्दा यी छद्मभेषी नेताहरू जनप्रिय देखिन नौटङ्की गर्न थालेका छन् । आन्दोलनका जिउँदा सहिदहरूलाई ‘मागेर खाऊ’ भन्नेहरू अहिले प्राकृतिक प्रकोपबाट पीडितहरूलाई पैसा बाँड्दै प्रचार गरेर हिँडिरहेका छन् । यस्ता बाघको छाला ओढेका ब्वाँसाहरूको पछाडि अब जनता लाग्नुहुँदैन । जबसम्म हामी जनता आजका नेता भनिनेहरूको बेवकुफी सहेर बस्छौँ र यिनलाई पत्याइरहन्छौँ तबसम्म यिनको चुरीफुरी कायम रहिरहन्छ । मुलुकले अब शान्ति र स्थिरतामा खोजेको छ जसलाई प्राप्त गर्न वास्तविक प्रजातन्त्रसहितको राजतन्त्रात्मक व्यवस्था चाहिन्छ ।
नेपाल र नेपालीका दुस्मनहरूले थोपरिदिएका नचाहिँदा एजेन्डाहरूलाई संस्थागत गर्न लागिपरेका नेताहरूले बुझुन् कि यी गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताजस्ता एजेन्डाहरू उनीहरूको पार्टी र उनीहरूकै हितमा पनि हुनेछैन । यी नेपालमा गृहयुद्ध मच्चाएर नेपालको अस्तित्व समाप्त पार्ने घातक एजेन्डाहरू हुन्, यसमा कुनै द्विविधा छैन । यदि बेलैमा बुद्धि पलाउने हो भने फेरि संविधानसभाको चुनावको कुनै औचित्य छैन, संसद्को चुनाव चाहिन्छ । चाहे चुनाव होस् या नहोस् नेपालमा संवैधानिक राजतन्त्र अपरिहार्य छ । अब गणतन्त्रको गुलियोले तीतो स्वाद दिन थालिसकेको छ । पार्टीहरू तहसनहस भइसके, कति हुने तरखरमा छन्, नेताप्रति कसैलाई विश्वास छैन, के अझै पनि रहरको गणतन्त्रले पुगेको छैन ? विश्वमा थुपै्र राष्ट्र छन् जहाँ सम्मानित राजतन्त्र छ, के त्यहाँ प्रतिगमन छ ?
नेपालका स्वघोषित नेताहरू जति कुर्ले पनि अब नेपाल राजतन्त्रबिना अखण्ड र शान्त रहने सम्भावना छैन । राजतन्त्रकै अभावमा नेपालको विविधता क्रमशः खण्डित हुँदै गइरहेको छ । नेपाललाई अफगानस्थान, फिजी, सिक्मिम वा भुटान बनाउने एकसूत्रीय लक्ष्य हो भने भन्नु केही छैन । यदि त्यस्तो उद्देश्य छैन भने सबै सरोकारवालाहरूले राजतन्त्रको वास्तविक आवश्यकताको बोध गर्नुपर्छ । राजतन्त्रबाहेक नेपाली एकताको प्रतीक अरू केही हुनै सक्दैन । नेपालमा राजतन्त्रको पुनरागमन भएन भने दल र तिनका नेता पनि विस्थापित हुनुपर्नेछ । त्यसकारण राजतन्त्र आजको निर्विकल्प आवश्यकता हो र त्यो कुनै पनि हालतमा पश्चगमन वा प्रतिगमन मँन्न सकिँदैन । पुनस्र्थापित राजतन्त्रले गडबढी गरे तह लगाउने काम फेरि पनि जनताकै हो । तर, नेपालको अस्तित्वसँग गाँसिएको नेपालको राजतन्त्र विदेशीको उक्साहटमा हटाइनुचाहिँ वास्तविक प्रतिगमन हो । राजा ज्ञानेन्द्र जीवितै छन् । त्यसकारण मुलुकको विशिष्ट परिस्थितिको ख्याल गरी, गोलमेच सम्मेलन गरी, तत्काल नेपाललाई राजतन्त्रात्मक मुलुक घोषणा गरिनुपर्छ । ०४७ को संविधान ब्युँताएर संसद्को नयाँ चुनावमा जानु बुद्धिमानी हुनेछ । राजासहितको प्रजातन्त्र वा लोकतन्त्र स्थापित गरेपछि अग्रगमनको खोजी गर्नुपर्छ । धर्मनिरपेक्षता र सङ्घीयता हाललाई खारेज गरिएको घोषणा गर्नुपर्छ । यदि यसो गर्न सकेनौँ भने नेपालको सङ्क्रमण चौगुणा बढेर जानेछ, दल र तिनका नेताहरू विदेशीका चोखो कठपुतली बनिरहनेछन्, कालान्तरमा सबै दल समाप्त हुनेछन्, मुलुकभित्र गृहयुद्ध सुरु हुनेछ र अन्ततः नेपालको विखण्डन, विघटन र विसर्जन हुनेछ । चेतना रहोस् ।

१ जेष्ठ २०७०, बुधबार ०७:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..