अन्ततः वैद्यहरु पनि चुनावमा सरिक हुनेछन् :: सूर्यबहादुर थापा (अध्यक्ष, राजपा नेपाल)

० तपाईंको पार्टी राजपा र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकता हुने भएको हो ?
– एकता गर्नकै लागि अधिवेशन गर्न लागेका छौँ । अधिवेशनको मूल एजेण्डा नै पार्टी एकीकरण गर्ने भन्ने छ ।
० अबको नेतृत्वचाहिँ कसले लिन्छ नि ?
– त्यो त अधिवेशनले नै टुङ्गो लगाउने हो । अधिवेशनको अधिकारलाई अहिले मैले बोलेर कसरी हुन्छ र ?
० मोटामोटी सहमति त भएको होला नि क–कसले के–के जिम्मेवारी लिने भनेर ?
– त्यो गरिराख्नुपर्ने कुरा होइन । अधिवेशनमा जुटेका सबैको राय–सहमतिबाट हुने कुरा हो । अहिले नै फलानो अध्यक्ष, ढिस्कानो महामन्त्री भनेर तोक्ने कुरा सम्भव पनि छैन । अधिवेशनका प्रतिनिधि, जिल्ला सभापतिहरू सबैसँग विचार–विमर्श गर्दा जस्तो राय आउँछ त्यसैबाट सबै कुरा तय हुन्छ । नेतृत्व भनेको दुई–चारजना कोठामा बसेर टुङ्गो लगाएर लाग्ने कुरा होइन क्या । प्रतिनिधिहरूको अधिकारको विषयलाई हामी दुई–चारजनाले टुङ्गो लगाउन थाल्यौँ भने त राम्रो सन्देश जाँदैन नि ।
० अध्यक्षमा तपाईंको विकल्प त छैन भनिएको छ नि ?
– मेरो विकल्प छैन भनेर भन्नु अतिसयोक्तिपूर्ण कुरा हो । पार्टी नेतृत्वको सवालमा एक व्यक्ति निर्विकल्प हुने कुरा कहीँ पनि आउँदैन । जिल्ला–जिल्लाबाट नयाँ युवाहरू कति निस्किरहेका छन्, मौजुदा केन्द्रीयस्तरमा पनि साथीहरू प्रशस्तै छन् नेतृत्व चलाउन सक्ने । त्यसैले विकल्प निस्कन नसक्ने भन्ने छैन । अध्यक्षमा हामीबीच विवाद हुँदैन । कसले नेतृत्व लिने भन्नेमा हामीबीच होडबाजी पनि छैन । प्रतिनिधिहरूको चाहनामा भर पर्छ यो कुरा । सर्वसम्मत गर्न पनि सक्छन्, चुनाव गराऔँ भन्न पनि सक्छन् । त्यसैले यो कुरा अहिले मैले बोल्ने कुरा होइन भनेको मैले ।
० तपाईंहरूले संवैधानिक राजसंस्थाको विषयचाहिँ सदाका लागि छोडिसक्नुभएको हो त ?
– तपाईंले समातिराख्नुभएको छ र ? मुलुक त गणतन्त्रमा गएको होइन र ? नेपालको अन्तरिम विधानले त यो देशमा राजसंस्था छैन, बिदा गरिसकियो नै भन्छ होइन र ? यसमा अब अन्य कुरा विचार गर्ने भन्ने प्रश्नै आउँदैन ।
० संवैधानिक राजतन्त्रलाई अलिक लगावका साथ मानिआएको शक्ति हो नि त तपाईंहरू त, त्यसबारे फेरि कुनै पुनर्विचारको प्रसङ्ग छ कि भनेर बुझ्न चाहेको नि ?
– नेपालको इतिहासका क्रममा त्यो कुरा सबैले मानिआएका हुन्, हामीले मात्रै होइन । अहिले भएका पार्टीहरू सबैले मानेका थिए । प्रचण्डले पनि मानेका थिए, बाबुरामले पनि मानेका हुन्, अरू–अरू जो–जति छन् सबैले मानेका थिए । त्यो व्यक्तिविशेष वा पार्टीविशेषले भन्दा पनि इतिहासले नै मानेको हो र परिस्थितिवश इतिहासको क्रमले छोडाएको हो ।
० तपाईं त राजसंस्थाकै कारणले राजनीतिमा यत्रो स्थान हासिल गर्न सफल भएको व्यक्ति हो नि, होइन र ?
– म राजनीतिमा आएको कुरा मुलुकमा राजसंस्था भएकोले सम्भव भएको अन्यथा म राजनीतिमा हुन्नथेँ भन्ने कुरा मिल्ने कुरा भएन । म राजनीतिमा आउनु थियो भने जुन शासन व्यवस्था भएको भए पनि आउने नै थिएँ होला जस्तो लाग्छ । मेरो स्वेच्छाले नै म राजनीतिमा आएको हुँ ।
० राजाहरूसँग त तपाईंको राम्रो सम्बन्ध थियो नि, होइन र ?
– हो, थियो । राजा महेन्द्र, वीरेन्द्र, ज्ञानेन्द्र सबै राजाहरूसँग मेरो राम्रो सम्बन्ध थियो । तर, भएर के गर्ने ? इतिहासले राजतन्त्र नै छोडाइदियो मुलुकमा ।
० तपाईंले छोडेको होइन ?
– मैले के छोड्ने के समाउने ? प्रधानमन्त्री भन्ने पद सधैँभरि समातेर या ओगटेर बस्न सकिने र मिल्ने कुरा त होइन । म त्यो ओहोदामा नरहनु भनेको राजाहरूलाई छोडिदिएको भन्ने हो र ? समाउने र छोड्ने कुरा नै आउँदैन नि । मुलुकमा राजतन्त्रात्मक शासन रहँदा सबैले त्यही समातेका थिएँ भने त्यो शासन नरहँदा सबैले छोडे । यो सबैमा लागू हुने कुरा हो । राजनीतिक जीवनमा कहिले सँगै होइन्छ कहिले विछोडिनुपर्छ, यो त राजनीतिक क्रम हो र राजनीतिक जीवनका स्वाभाविक आयामहरू हुन् ।
० यसको मतलब अहिलेको स्थितिमा अब तपाईंको पार्टीले राजसंस्था स्वीकार गर्दैन ?
– मुलुकमा अहिले गणतन्त्र विद्यमान छ, सबै राजनीतिक दलहरू यही व्यवस्थाको सेरोफेरोमा आ–आफ्ना गतिविधि गरिरहेका छन् भने हामी मात्रै यसबाट अछुतो कसरी हुन सक्छौँ ?
० राप्रपा नेपाल वा त्यसका अध्यक्ष कमल थापाले त राजासहितको प्रजातन्त्रको कुरा गरिरहेका छन् नि ?
– कुरा मात्र गर्नु एउटा कुरा हो देशको संंविधान मान्नु अर्को कुरा हो । मुलुकको संविधान मानेका छन् कि छैनन् तिनले त्यो प्रश्न सोध्नुप¥यो तिनलाई । मैले संविधान मानेको छैन, मेरो आफ्नै अलग्गै संविधान छ भन्न सक्छ राजासहितको प्रजातन्त्रको कुरा गर्नेले ? चाहना राख्नु एउटा कुरा हो भने देशको संविधान मानेर हिँड्ने कर्तव्य अर्को कुरा हो । मुलुकको नागरिकले म संविधान मान्दिनँ भन्छ भने त्यसलाई उपचार गर्ने विधि पनि त हुन्छ ।
० नेपालमा संविधानमै लेखेअनुसार सबै कुरा भएको छ त ?
– नभएका होलान्, तर मैले जानेको त यत्ति हो कि मुलुकको संविधान भनेको सबै नागरिकले मान्नुपर्ने विषय हो । आफ्नो चाहनाअनुरूप सबै नीति–नियम वा विधिविधान बन्छ या बनेको हुन्छ भन्ने कुरा होइन । तर, इच्छाविपरीत भए पनि बहुमतले बनाएको संविधान मान्न करै लाग्छ । संविधान मान्दिनँ भन्ने को नागरिक छ, मलाई देखाइदिनुहोस् त ।
० भनेपछि तपाईंको पार्टीले राजसंस्था र नेपाललाई हिन्दू राज्य स्वीकार गर्दैन अब ?
– संविधानविपरीतका कुरा अहिले गर्दै नगर्नुहोस् । नेपालको आमूल परिवर्तन भएपछाडि कति अन्य ऐतिहासिक घटना घटिसकेका छन्, अब अन्टसन्ट कुरा गरेर हुन्छ ? वर्तमान परिवेशमा लोकतान्त्रिक गणतन्त्रको विकल्प मैले त देखिरहेको छैन । गणतन्त्र संस्थागत भइरहेको अवस्था छ ।
० हिन्दूराष्ट्र नै चाहिन्छ भन्ने कुरा पनि त उठिरहेको छ नि ?
– भन्नु एउटा कुरा हो त्यसले व्यवहारमा मान्यता पाउने कुरा अर्को हो । संविधानले राष्ट्रको कुनै धर्मविशेष छैन, जसले जे मान्न मन लाग्छ माने हुन्छ भनेर स्वतन्त्र छोडिदिएको छ, अब त्यहीअनुसार चल्नु एक नागरिकको कर्तव्य हुन आउँछ । धर्मनिरपेक्षताको कुरा संविधानले गरेकाले व्यक्ति आफूलाई के धर्म मान्न मन लाग्छ माने हुन्छ । धर्म मान्ने कुरासँग राजनीतिको खास सम्बन्ध पनि हुँदैन । आफूले मानिआएको परम्परा, संस्कृति त मान्छेले त्यत्तिकै कहाँ छोड्न सक्छ र ?
० त्यसो भए हिन्दूधर्मको विषयलाई लिएर नेपालमा किन बहसहरू भएका त ?
– जे–जे बहस भएका भए पनि र नभएका भए पनि मैले त केही फरक देखेको छैन । हिजो हिन्दूराष्ट्र भनेको बेलामा पनि त्यति नै मानिएको थियो भने आज धर्मनिरपेक्ष भनेको अवस्थामा नि मान्नेले मानिरहेकै छन् । धर्म भन्ने कुरा राष्ट्रको कुरा होइन व्यक्तिगत विश्वास र आचरणको कुरा हो । यस्तो कुरामा बहस र विवाद गर्नु निरर्थक हो । विविध धर्म भएको र मान्नेहरूले स्वतन्त्रपूर्वक मानिआएको मुलुक हो यो ।
० तपाईं धर्मसँग राष्ट्रको सम्बन्ध हुँदैन भन्नुहुन्छ, तर यहाँको राजनीतिमा यही विषयले महत्व पाइरहेको छ त ?
– राजनीतिमा महत्व या स्थान पायो होला, तर यही विषयले हाम्रो राजनीतिमा प्रमुख भूमिका खेल्ने कुरा आउँदैन ।
० तपाईंको पार्टीको भावी एकता–महाधिवेशनले मुलुकको समस्या निकासका लागिचाहिँ के सूत्र वा एजेण्डा अघिसार्छ नि ?
– निकास त निर्वाचनबाट मात्र आउने अवस्था हो अहिले । निर्वाचन भएपछि निकासको बाटो खुल्छ । निर्वाचनचाहिँ जसरी पनि हुनुप¥यो ।
० सबैले निर्वाचन हुन्छ त भनेका छन् तर संविधानसभाको निर्वाचन गर्ने कुरा सोचेझैँ सजिलो छैन, अझै पनि वातावरण बनेको छैन भन्छन् नि कतिपय विश्लेषकहरू, तपाईं के भन्नुुहुन्छ ?
– माहोल भनेको यस्तो विषय हो जो आज नबनेको भए भोलि बन्दै जान्छ । विस्तारै चुनावी माहोल बन्दै गएको छ । आवश्यक तयारीहरू भइरहेका छन् । विस्तारै होला, भनेकोभन्दा ढिलो होला, तर निर्वाचन त हुन्छ र हुनैपर्छ ।
० वैद्यपक्षीय माओवादीले चुनाव नहुने र हुन नदिने कुरा गरेको छ नि ?
– निर्वाचनमा मतदान सकभर सबैले गरेको राम्रो हो, तर यो करकापले हुने कुराचाहिँ होइन । कसैले भोट हाल्न सक्छन् कोही हाल्दिनँ भनेर बस्न सक्छन् । भोट नहाल्ने अधिकार पनि त हुन्छ नि नागरिकलाई । जति प्रतिशतले मतदान गर्छन् त्यसैका आधारमा निस्किएको नतिजाका आधारमा कामकुरा अघि बढ्छ ।
० सबै दल तयार नभए त्यो चुनावको महत्व या मान्यता के रहला त ?
– तयार हुँदै छन्, अस्ति विरोध गर्नेहरू हिजो तयार भए, हिजो विरोधमा रहेकाहरू आज तयार हुँदै छन्, आज विरोध गर्नेहरू पनि भोलि विस्तारै तयार भइहाल्छन् । यो मान्यताबाट अघि बढ्नुपर्छ ।
० खिलराज रेग्मी नेतृत्वकै सरकारले मङ्सिरमा चुनाव गराउन सक्छ त, के लाग्छ तपाईंलाई ?
– अरू कसले गर्छ त ? चुनावकै लागि भनेर रेग्मीजीको नेतृत्वमा सरकार बनाइएको छ भने फेरि चुनाव गराउन को आउने त ?
० रेग्मीले प्रधानन्यायाधीशको पदबाट राजीनामा दिनुपर्छ अनि मात्र मान्य हुन्छ भन्ने आवाज पनि उठिरहेका छन् नि ?
– उठेका छन्, उठ्छन् । यस्ता भनाइको पछाडि कुँदेर त मुलुकको काम चल्दैन नि । चुनावी सरकारका प्रमुख भएका नाताले जसले जे भने पनि चुनाव गराउने कुरामा ध्यान दिएर अघि बढ्नु रेग्मीजीको कर्तव्य हो ।
० असन्तुष्ट पक्षले वार्ताका लागि त्यो विषयलाई महत्वपूर्ण सर्तका रूपमा अघिसारेका छन्, यसलाई उपेक्षा गरेर कसरी अघि बढ्न सकिएला त ?
– असन्तुष्ट पक्षले सर्त राख्नु कुनै अनौठो विषय होइन । सर्त राखेकैले त वार्ता गर्नुपरेको नि ।
० मोहन वैद्य नेतृत्वको दलले भाग नलिए पनि चुनाव हुन्छ नेपालमा त्यसो भए ?
– उहाँहरूले भाग लिए अत्यन्त राम्रो । मलाई त विश्वास छ कि उहाँहरूले पनि अन्ततः चुनावमा भाग लिनुहुनेछ । लिनुभएन भने लिनुभएन । भोटको केही प्रतिशत घट्छ । कोही बिरामी भएर, कोही फुर्सत नमिलेर पनि त मतदानमा सरिक हुन सक्दैनन् नि, अनि तिनले मत हालेनन् भनेर चुनाव नै उल्टाइरहने त ?
० चुनाव भाँड्न सक्नुहुन्न त वैद्यजीहरूले ?
– चुनाव भाँडिने–साँडिने केही हुँदैन हेर्नुस् । हामी राजनीति गर्ने व्यक्तिले सामान्यतया अगाडिको कुरा छर्लङ्ग देखिरहेका हुन्छौँ । यस आधारमा विश्वासका साथ म भनिरहेको छु कि चुनाव कसैले भाँड्दैनन्, चुनाव हुन्छ ।
० चुनावमा कुनै शक्तिसँग गठबन्धन पनि गर्दै छ कि तपाईंको पार्टीले ?
– अहिले नै यसको जवाफ दिने बेला भएको छैन । समय बाँकी छ, चुनावी प्रक्रिया अघि बढ्दै जाँदा परिस्थिति हेरेर मात्र हुन्छ यो कुरा । एलाइन्सको खाँचो पर्ने देखियो भने त्यो कुरा पनि आउँछ । सम्भावना जे पनि छ ।
० पशुपतिशमशेरले त काङ्ग्रेससँग गठबन्धन हुन सक्छ यसपटकको चुनावमा भनेका छन् नि ?
– पशुपति, गुह्येश्वरी, भद्रकाली कस–कसले जे–जे भने मैले पनि त्यही–त्यही भन्दै हिँड्नुपर्छ भन्ने त छैन नि । मेरो ब्रह्मले देखेको कुरा मैले भन्ने हो । अहिले त्यसरी तोकेर भन्ने बेला भएको छैन, म भन्न सक्दिनँ ।
० मुलुकमा बृहत् प्रजातान्त्रिक एकताको आवश्यकता छ कि छैन ?
– त्योचाहिँ छ । निश्चय नै त्यस्तो आवश्यकता छ । प्रजातन्त्रमा विश्वास गर्नेहरूबीच यस्तो एकता र सहकार्य सम्भव हुन्छ र गर्नुपर्ने आवश्यकता पनि छ । चुनावका लागि मात्र भन्ने होइन, यस्तो सहकार्य र एकताको खाँचो मुलुकमा छ र जो प्रजातन्त्रप्रति विश्वास राख्छ उनीहरूबीच मात्र यो सम्भव हुन्छ ।
० राजा चाहिन्छ भन्ने शक्ति अझै पनि नेपालमा छ, त्यस्तो शक्तिसँगचाहिँ सहकार्य हुन्छ कि हुँदैन तपाईंहरूको ?
– सैद्धान्तिक निकटता र समभाव भएकाहरूसँग मात्र सँगै हिँड्न सकिन्छ, यो संसारभर लागू हुने मान्यता हो । यस्ता कुरामा मैले अहिले व्यक्तिगत विचार दिए पनि भोलि महाधिवेशनपछि पार्टीले अर्कै कुरामा सहमति जनाउन सक्छ, अनि के भन्ने ?
० प्रचण्डको भारत भ्रमणलाई तपाईंले कसरी हेर्नुभएको छ ?
– नेपालको एउटा राजनीतिक दलका एक नेतालाई भारतले निम्ता ग¥यो, जानुभयो, आउनुभयो, कुनै अनौठो कुरा होइन यो । चल्दै आएको प्रक्रिया हो र चलिरहन्छ पनि । उहाँलाई प्रोटोकल्ली जे–जस्तो सत्कार गर्नुपर्ने हो उनीहरूले गरे ।
० यसबाट नेपाल र भारतको सम्बन्धमा कुनै नयाँ आयाम आउँछ कि एमाओवादीलाई मात्रै राम्रो भयो होला ?
– नेपाल र भारतबीचको सम्बन्ध भनेको एउटा कुनै नेता गएर, प्रचण्ड, सुशील या सूर्यबहादुर अलग–अलग गएर फरक पर्ने विषय होइन । भारत र नेपालको सम्बन्ध त राष्ट्रले कसरी गरेको छ, त्यसमा भर पर्दछ ।

२७ बैशाख २०७०, शुक्रबार ०७:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..