दिनमा दशपटक झुठ बोल्ने प्रचण्डलाई किन पत्याउँछन् नेपाली ? :: त्रैलोक्यप्रताप सेन

सानैदेखि टाठो र समूहमा निर्धक्क बोल्ने स्वभावका त्रैलोक्यप्रताप सेनलाई उनका बुबाले डाक्टर बनाउने धोको बोकेर अस्कल क्याम्पस (अमृत साइन्स कलेज) भर्ना गरिदिए । त्यो यस्तो कालखण्ड थियो जतिबेला प्रजातन्त्रको कुरा खुलेर गर्न पाइन्नथ्यो, नेपाली काङ्ग्रेस पार्टी प्रतिबन्धित थियो । क्याम्पस युनियनमाथि पनि प्रतिबन्ध लगाइएको अवस्था हुनाले ‘क्लास रिप्रिजेन्टिभ’ अर्थात् कक्षा प्रतिनिधिको चुनाव हुन्थ्यो । त्रैलोक्यप्रतापलाई ‘कक्षा प्रतिनिधि’मा चुनाव लड्ने इच्छा सुरुदेखि नै जागेको रहेछ । त्यतिबेला पातलो शारीरिक बनोट र सावला वर्णका भए पनि सेनको बोलक्कड र हक्की स्वभावले कलेजका धेरैको ध्यान खिच्दथ्यो । गणेशमानका ज्येष्ठ सुपुत्र प्रदीपमान पनि अस्कलमै पढ्ने रहेछन् । उनले एक दिन त्रैलोक्यप्रतापसँग प्रस्ताव राखेछन्, ‘भाइ तिमी बोल्न सिपालु र निडर रहेछौ, तिमीलाई हामी उम्मेदवार बनाएर जिताउँछौँ, तर तिमीले भोट माग्नका लागि गर्ने भाषणचाहिँ हामी लेखेर दिन्छौँ, त्यही बोल्नुपर्छ ।’ जसरी पनि चुनावमा उठ्ने र जित्ने सोच बोकेका सेनले दायाँबायाँ केही नसोची सहमति जनाएछन् । त्यसपछि प्रदीपले उपलब्ध गराएको भाषण रट्न सुरु गरे उनले । अरू कुरा केही याद नभए पनि ‘प्रजातान्त्रिक समाजवाद’ भन्ने एउटा शब्दचाहिँ उनलाई अहिले पनि याद छ त्यो भाषणको । उनले त्यही भाषण गरे र चुनाव पनि जिते । आफूले नेपाल विद्यार्थी सङ्को पक्षमा भाषण गरेको रहेछु भन्ने त उनलाई पछि मात्र थाहा भयो । यसरी सुरु भयो आजका काङ्ग्रेस नेता त्रैलोक्यप्रताप सेनको प्रजातान्त्रिक आन्दोलनको यात्रा ।
पञ्चायतकालका चर्चित अञ्चलाधीश सूर्यबहादुर सेन ओली त्रैलोक्यका सहोदर दाजु हुन् । त्रैलोक्य काङ्ग्रेसको राजनीतिमा होमिएको सन्दर्भ सेनपरिवारका लागि ठूलै बज्रपातसरह थियो । तत्कालीन राजा वीरेन्द्रका दाहिने हात भएर रहेका अञ्चलाधीश सूर्यबहादुर सेनले दशैँको बेला घरमा जम्मा भएको बेला भाइ त्रैलोक्यलाई भने, ‘हेर, तँ धन–सम्पत्ति, पद–प्रतिष्ठा जे चाहन्छस् भन्, म दिलाउन सक्छु, तर प्रजातान्त्रिक आन्दोलनमा नलाग् । तैँले कि काङ्ग्रेस छोड्नुपर्छ कि चाहिँ घर नै त्याग्नुपर्ने हुन्छ, कुन रोज्न चाहन्छस् ?’ यस प्रश्नले त्रैलोक्यको मन–मथिङ्गल खल्बल्यायो, तर एक निमेष पनि सोचविचार नगरी उनले जवाफ दिए, ‘म घर छोड्न सक्छु अब प्रजातन्त्रको बाटो त्याग्न सक्दिनँ ।’ यति भनेर तत्काल उनी घरबाट निस्किए । यसरी सुरु भएको उनको प्रजातान्त्रिक आन्दोलनको यात्रा चार दशक बित्दा पनि अनवरत जारी छ । यतिबेला आफूलाई कुनै पद, प्रतिष्ठा या भौतिक साधनको लालच नभएको बताउने सेन देश र जनताको कल्याण कसरी गर्न सकिन्छ भन्ने ध्येयका निम्ति मात्र राजनीतिमा सक्रिय रहेको दाबी गर्छन् ।

० तपाईं बहुदलीय प्रजातन्त्रका लागि दशकौँदेखि लड्दै आएको व्यक्ति हुनुहुन्छ, यतिबेला मुलुकमा कुन तन्त्रले शासन गरेको छ, बताउन सक्नुहुन्छ ?
– हो, प्रजातन्त्र र प्रजातान्त्रिक पद्धतिका लागि मैले जीवनका चालीस वर्ष बिताएँ, विभिन्न आन्दोलनमा अग्रपङ्क्तिमा सरिक भएँ र मुलुकमा प्रजातन्त्र, गणतन्त्र आएको पनि देखेँ । तर, यति सबै भएर पनि आज देशमा कुन व्यवस्था चलेको छ भन्नेचाहिँ बताउन या व्याख्या गर्न सक्दिनँ । एकदम अन्योल र अनिष्टपूर्ण अवस्थामा देश आइपुगेको छ । हुन त लामो समयदेखि चलिआएको एउटा व्यवस्थाबाट अर्को व्यवस्थामा प्रवेश गर्दा उत्पन्न हुने सङ्क्रमणकालीन अवधिमा यस्ता अनेक अनौठा र अप्ठ्यारा परिस्थिति आइपर्नु अस्वाभाविक कुरा त होइन । तर, सङ्क्रमणकाल भन्दै कहिलेसम्म हामीले आफ्नो कमजोरी ढाकछोप गरिरहने भन्ने प्रश्नचाहिँ पक्कै उठेको छ । सकेसम्म चाँडो निकास निकाल्न सबै गम्भीर हुनुपर्नेमा कोही पनि तत्पर नभएको देखिनु विडम्बनाको विषय हो ।
० बाह्य शक्तिले यस्तो गरायो भन्छन्, तपाईं विश्वास गर्नुहुन्छ ?
– आफ्नो कमजोरी र अकर्मण्यताको ढाकछोप गर्न भन्ने कुरा मात्र हो यो । जसले पनि आफ्नो हित कसरी हुन्छ, आफ्नो देश र जनताको भलो कसरी हुन्छ भनेर विभिन्न कसरत गर्छन्, लबिङ गर्छन्, त्यसलाई हामीले अन्यथा लिनुपर्ने कुरा छैन । यसरी बाह्य शक्तिले चलखेल गरेको थाहा छ भने त्यसको प्रतिरोध गर्न किन सक्दैनन् त ? किन बाह्य शक्तिकै इशारामा चल्छन् त ? त्यसैले यो जनताको आँखामा छारो हाल्ने कुरा मात्र हो । वास्तवमा हाम्रा राजनीतिक दलहरूकै अकर्मण्यता र कमजोरीका कारण हामी आज यो अवस्थामा आइपुगेका हौँ ।
० वर्तमान सरकारमा त निर्दलीयताको छाया देखिन थाल्यो भन्छन् नि कतिपय विश्लेषक, तपाईं के देख्नुहुन्छ ?
– जीवनका चार दशक अवधि लगातार काङ्ग्रेस र लोकतन्त्रका लागि आन्दोलनका जुनसुकै मोर्चामा पनि अग्रपङ्क्तिमा उभिएर गुजारेको मजस्तो व्यक्तिका लागि अहिलेको सरकार गठन भएको देख्नु नै अभिशाप हो । राजनीतिक दलहरूको असफलता त यो हुँदै हो, यसबाहेक अझै खतरनाक पद्धतितिर मुलुक स्वतः लतारिँदै छ कि भन्ने शङ्का पनि मलाई लाग्छ ।
० राजनीतिक दलहरूले नै त मुलुकलाई त्यतातिर लैजाने होइन होला, कसले यस्तो प्रयत्न गरिरहेको हुनसक्छ त ?
– दलहरूले होइन । उनीहरूलाई यसरी ठाडै आरोप लगाउन मिल्दैन । समग्रमा बुझ्नुपर्दा दलहरूको या मुलुकको आफ्नै असफलताका कारण यस्तो परिस्थिति पैदा भयो । एउटा असल कुराले ठाउँ छोड्यो भने त्यो रिक्त स्थान भर्न त खराब तत्व आइपुगिहाल्छ नि ।
० यसरी राजनीति बिग्रिएर सङ्क्रमण लम्बिनुमा प्रमुख दोषी एमाओवादी हो भन्छन्, यसो भन्न मिल्छ ?
– ०१२ सालदेखि काङ्ग्रेसले उठाएको संविधानसभाको मुद्दालाई पूरै आँखा चिम्लिएर संविधानसभा भनेको हामीले नै उठाएर स्थापित गरेको विषय हो भनी दम्भ गर्ने एमाओवादी नै प्रमुख दोषी हो । संविधानसभाको निर्वाचनबाट सबैभन्दा ठूलो दलका रूपमा उदाएको र चार–चार वर्ष मौका पाएर पनि काम देखाउन नसकेको दलका नाताले अग्रिम या ठूलो भूमिका त उसैको नै हो । तर, अन्य दलका पनि आ–आफ्नै स्तरको भूमिका नभएको त होइन सङ्क्रमणकाल लम्बिनुमा ।
० देशको राजनीतिलाई फेरि ट्र्याकमा ल्याउन काङ्ग्रेस र एमालेजस्ता दलको भूमिका रहन्न त ?
– त्यसरी हरेश खान त मिल्दै मिल्दैन नि । नहुनुपर्ने भइसकेको छ, यस्तो सरकार बनाउन हुँदैनथ्यो– बनिसकेको छ । अब दलहरूकै हातमा मुलुकको राजनीतिलाई फर्काउन पसिना बगाउनुपर्ने अवस्था आएको छ । चुनौती ठूलो छ तर सामना गर्नैपर्छ । यति गर्न काङ्ग्रेसले सक्दैन भने यत्रो इतिहास बोकेको पार्टी पनि विसर्जनको बाटोमा जान्छ भनेर भन्नैपर्छ ।
० देशको राजनीतिमा एमाओवादी या त्यस पार्टीको नेता प्रचण्ड नै हाबी भइरहेका छन्, काङ्ग्रेस–एमालेहरू त पछुवाजस्तो मात्र देखिएका छन्, यस्तो अवस्थामा ट्र्याकमा आउला त राजनीति ?
– एउटा पार्टी भन्नेबित्तिकै नेता, नेतृत्व, नीति, सङ्गठन या कार्यकर्ताको जमात आदि सबैको गठजोड भन्ने बुझ्नुपर्छ । तसर्थ, असफलताको दोष या सफलताको जश एउटा नेतृत्वलाई मात्र दिनु सामान्यतया उचित नहुन सक्छ । यस हिसाबमा काङ्ग्रेसको वर्तमान नेतृत्वलाई मात्र दोष दिन पनि नमिल्ला । कुरा के हो भने अबको भूमिकामा दह्रोसँग उभिनका लागि काङ्ग्रेसलगायतका प्रजातान्त्रिक पक्षधर पार्टीले निकै गम्भीरताका साथ पहलकदमी लिनैपर्ने देखिएको छ । काङ्ग्रेसभित्र अझै पनि यस्तो प्रचण्ड ऊर्जा छ, यस्तो आधार कायम छ जसले सही नीति, दिशा, जिम्मेवारी या स्थान पाएमा आफूलाई अब्बल पार्टीका रूपमा जनमानसमा स्थापित गर्न सक्छ । यसमा त नेतृत्व चुकेकै छ, खै केको कमजोरीले हो पार्टी त लुलो नै देखिएको छ । यत्रो त्याग–तपस्याको इतिहास बोक्नुभएका व्यक्ति आज पार्टीको कमाण्ड गरिरहनुभएको छ, किन पार्टी पछि परिरहेको छ उहाँले मूल्याङ्कन गरी नयाँ बाटो या उपायको खोजी गर्नुपर्छ । यसो हुन नसके अर्को अधिवेशनले अर्कै नेतृत्व खोज्ने अवस्था आउँछ ।
० काङ्ग्रेसले आफ्नो अधिवेशन कुर्दाकुर्दै देशको राजनीतिले त धेरै लामो कोर्स लिइसक्ला नि ?
– यही त ठूलो चिन्ताको विषय हो । काङ्ग्रेसजनलाई मात्र नभई लोकतन्त्र र दलीय प्रणालीमाथि आस्था र विश्वास राख्ने हरेक नागरिकलाई यतिबेला यही चिन्ताले सताएको छ ।
० मुलुकको समग्र राजनीतिको केन्द्रबिन्दु यतिबेला प्रचण्ड नै हुन् भनी धेरैले भनेको सुनिन्छ, तपाईं यो मान्नुहुन्छ ?
– खै मलाई त यस्तो लाग्दैन । अहम् भूमिकामा त छन् प्रचण्ड ।
० छिमेकी चीन र भारतले यत्रो स्वागत–सम्मान दिएका छन् त, यसले नेपालमा उनको बढ्दो एकछत्र भूमिकाको सङ्केत गर्दैन र ?
– चीन माओवादी विचारधाराको उद्गमस्थल भएको नाताले ‘माओवादी’ नामको ट्याग लगाएका प्रचण्डलाई स्वागत–सत्कार गर्नुमा आश्चर्य मान्नुपरेन, जहाँसम्म भारतले किन स्थान दियो भन्ने सवाल हो– यसमा भारतको आफ्नै बाध्यता छ जस्तो लाग्छ । नेपालको राजसंस्था र अन्य प्रजातान्त्रिक शक्तिहरूसँग बार्गेनिङ हतियारका रूपमा हिजो भारतले पनि प्रचण्डहरूलाई स्पेस दिएकै हो, तर पछि आएर प्रचण्डहरू भारतकै लागि घातक बनेर अघिसर्न थालेबाट माओवादी भन्ने तत्व भारतकै लागि पनि घाँडो सावित भएको छ । विषको वृक्ष रोपेर अमृत फल्दैन रहेछ भन्ने ज्ञान भएको छ भारतलाई । नेपालका माओवादी गएर भारतका माओवादीलाई तालिम दिने, बम आक्रमणका ठूलाठूला घटना गराउने गर्न थालेको त जगजाहेरै भयो । त्यसैले यसलाई बिच्क्याएरभन्दा पनि बिस्तारै मिलाई–मिलाईकन तह लगाउनुमै उसको कल्याण हुने भएकाले त्यही नीति अवलम्बन गर्दै छ । यसलाई ‘प्रचण्ड नै यो देशका भाग्यविधाता हुन्’ भन्ने अर्थमा लिइरहनु जरुरी देख्दिनँ म त ।
० एकताका भारतविरुद्ध प्रचण्डहरूले सुरु गरेको सुरुङ युद्ध नाटक हो कि वास्तविक होला ?
– त्यो फगत नाटक थियो भन्ने त घटनाक्रमले पुष्टि गरिसकेका छन् । प्रचण्ड आफूलाई फाइदा हुने कुरा छ भने चाटुकारिताको हद प्रदर्शन गर्न सक्छन् र बेफाइदा हुने अवस्थामा अनर्गल गाली गर्न पनि चुक्दैनन् भन्ने त विभिन्न घटनाक्रमले पुष्टि गरिसकेकै छ । उनी दिनमा दशचोटि कुरा बदल्न सक्छन्, बाह्रवटा झुट एकै दिनमा बोल्छन् र पनि सबैले उनकै कुरा पत्याएर हिँडिरहनुचाहिँ घोर आश्चर्य र विडम्बनाको विषय बनेको छ ।
० भारतजस्तो प्रजातान्त्रिक मुलुकले लोकतान्त्रिक शक्तिहरूलाई बिझ्नेगरी प्रचण्डजस्ता ‘अविश्वसनीय’ शक्तिलाई किन च्यापेको होला त ?
– जो घोर अप्रजातान्त्रिक र विनाशकारी छ त्यसलाई तह लगाउनु नै प्राथमिकताको विषय हुन्छ । दिल्लीतर्फ औंला ठड्याउँदै ‘विदेशी प्रभु’ भनेर चुनौती दिन खोज्ने, काङ्ग्रेसलाई भारतपरस्तको दोष लगाउने प्रचण्डजस्ता भौँजाहाहरूलाई नियन्त्रणमा लिनु भारतका लागि नगरी नहुने काम नै भयो अहिले । भएको यही मात्र हो, यसैगरी बुझ्छु है म त । ‘मलाई भारत बोलाऊ’ भनेर प्रचण्डले हैरान पारेकाले भारतले बोलाइदिएको मात्र हो । प्रचण्डको भारत र चीन भ्रमणलाई त्यति महत्व दिएर हेर्नु जरुरी छैन ।
० सरकारले निर्वाचनको तिथि तोक्न किन ढिलाइ गरेको होला, कि ढिलो गर्नुमै भलो हुन्छ देशको ?
– खै सबैले तत्काल निर्वाचनको तिथि तोक भन्ने आवाज उठाइरहेका छन्, मैले नबुझेको हो कि बढी बुझेको हो– मचाहिँ तिथि तोक्न ढिलो गर्नुमै कल्याण हुने देख्छु । किनकि, मिति मात्रै तोकेर भोलि भनेको दिन निर्वाचन हुन सकेन भने के हुन्छ ? यत्तिका दलहरू विरोधमा उभिएका छन्, यिनीहरूलाई मनाउनुपर्दैन ? नत्र चुनावको के अर्थ हुन्छ ? त्यसैले पहिले चार राजनीतिक दलले यी असन्तुष्ट दललाई सहमतिमा ल्याउनुपर्छ अनि मात्र सरकारले मिति तोक्नुपर्छ ।
० यस्तो तालले असार त यसै जाने नै भयो अब मङ्सिरमा पनि चुनाव नहोला कि कसो हो ?
– हुनसक्छ । त्यस्तो पनि हुनसक्छ । मङ्सिरमा पनि चुनाव नगराउने डिजाइन नै बनेको पनि हुनसक्छ । अन्तरिम संविधानको आडमा यी सबै भएको भन्छन् तर उहिल्यै बागमतीमा बगिसक्यो अन्तरिम संविधान त । यो त मनपरी शासन हो, बलियाहरूको शासन हो । कुनै संविधानले निर्देशित गरेको छैन यी सबै घटनाक्रमलाई र अब के होला या कहाँ पुगिएला भन्ने ठ्याक्कै ज्ञान पनि कसैसँग छैन ।
० काङ्ग्रेस पार्टी फुटेर पनि जुटेको पार्टी हो, तर फुटको तुष अहिले पनि बाँकी छ भन्छन् नि हो ?
– बडा दुर्भाग्यका साथ स्वीकार गर्नुपर्छ कि काङ्ग्रेसमा फुटको तुष अझै बाँकी नै छ । फुटेको हाँडी एक ठाउँमा जोडेकोजस्तो मात्रै रहेछ पार्टी–मिलन त । पार्टीलाई एक ढिक्का बनाउने अवसर थिए र पनि नेतृत्वले त्यो मौका पहिचान गर्न सकेन भन्छु म । विभाजनपछिको पीडा भोगेर, फुट्दा कति कमजोर भइँदोरहेछ भन्ने जानेर पनि काङ्ग्रेसले अझै शिक्षा लिन सकेको रहेनछ । नेतृत्वले सबैलाई समेटेर लैजान पहल गर्नुपर्ने हो, निर्वाचित पक्षलाई पराजित पक्षले सघाउनु पनि पर्ने हो । मूलतः जित्ने पक्षले असन्तुष्टहरूलाई साथ लिने या मिलाउने प्रयास गर्नुपर्छ, उसको दायित्व हुन्छ, यसमा कमजोरी भएको छ । तर, नेपालको एक नम्बर प्रजातान्त्रिक शक्तिको यो हाल हुनु दुःखको कुरा हो ।
० त्यसो भए काङ्ग्रेसको भविष्य छैन त ?
– नेतृत्वको भरमा बनेको पार्टी भए त भविष्य छैन भन्न हुन्थ्यो, तर काङ्ग्रेस बाँचेको माथिका केही नेताको भरमा होइन । यो बाँचेको गाउँ–गाउँका भोकै–नाङ्गै रहेर, ज्याला मजदुरी गरेर पनि ‘काङ्ग्रेस’ या ‘प्रजातन्त्र’को पक्षमा उभिन तयार जनता या कार्यकर्ताको मजबुत पङ्क्तिले धानेको कारणले हो । उनीहरूको जगमाथि टेक्दै–टेक्दै गजुरमा नेताहरू बसेका मात्रै हुन् । त्यो जग अहिले पनि यथावत् छ । हामी ग्रासरुटका मानिसले त्यो देखेका र बुझेका छौँ । त्यसैले काङ्ग्रेसको भविष्य छैन कि भनेर रत्तिभर अत्तालिनुपर्दैन । कुरा यति मात्र हो कि नसक्नेले जबर्जस्ती नेतृत्व ओगट्न खोज्नुभएन । बीपी र गणेशमानको नाम भजाएर मात्र काम चल्दैन, अब काङ्ग्रेसलाई व्यवहारमै अपरिहार्य देखाउन सक्नुप¥यो । पुरानो पुस्ताले नयाँ विचार दिन नसक्ने हो भने नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न पनि तयार हुनुप¥यो । पार्टीको माया छ भने यसो गर्नैप¥यो । भारतको राष्ट्रिय काङ्ग्रेस नेहरू, पटेलजस्ता घागडान नेताहरू भएर पनि एकताका विसर्जनको स्थितिमा पुगेको थियो । तर, नेहरूले इन्दिरालाई हस्तान्तरण गरेपछि ‘कङ्ग्रेस आई’का रूपमा उनले युवाहरूलाई समेटेर आजसम्म पनि भारतलाई समृद्ध नेतृत्व दिन सक्ने रूपमा पार्टीलाई पुनस्र्थापित गराइन् । यो पाठ हाम्रो नेतृत्वले पनि पढ्नुपर्छ ।
प्रस्तुति : जयप्रकाश

१८ बैशाख २०७०, बुधबार ०७:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..