भारत–चीन भ्रमणको नेपाली अर्थ :: देवप्रकाश त्रिपाठी

नेपालले दुई छिमेकी मुलुक भारत र चीनलाई बराबरी महत्व दिनुपर्छ र दुवैसँग सन्तुलित सम्बन्ध राखिनुपर्छ– यो सैद्धान्तिक पक्ष हो । व्यवहारतः हाम्रो निकटता भारतसँग घनीभूत छ र यो निकटता कटौती गर्न मिल्ने प्रकारको भू–राजनीतिक अवस्था कहिल्यै थिएन र छैन । यही तथ्यबोध नहुँदा जंगबहादुर राणापछिका कुनै पनि नेपाली राजनीतिकर्मीले नेपालको समग्र विकासमा छिमेकीको भरोसापूर्ण साथ–सहयोग प्राप्त गर्न सकेनन् । हामीले हाम्रा विदेश सम्बन्धहरूलाई देशहितमा सदुपयोग गर्न सक्नुपर्छ भन्ने मान्यता सर्वविदित छ, त्यसमाथि पनि छिमेकी मित्रराष्ट्रहरू भारत र चीनसँगको सम्बन्धलाई राष्ट्रहितमा केन्द्रित गर्नैपर्ने हुन्छ । इतिहासमा कैयनपटक द्विपक्षीय सम्बन्धलाई देशहितमा सदुपयोग गर्ने प्रयास हुँदै आएका पनि हुन् । तर, ०६३ को राजनीतिक परिवर्तनपश्चात् राजनीतिक दल र तिनका नेताहरूको प्रयास भारत र चीनसँगको सम्बन्धलाई आफ्नो निजी हितमा प्रयोग गर्ने कसरतमा मात्र सीमित हुँदै आएको छ । भारत र चीनको विश्वास र सद्भाव आर्जन गरी आफूलाई सत्ताकेन्द्रमा पु¥याउने अभिप्रायबाट प्रेरित व्यवहार नेपाली राजनीतिकर्मीहरूबाट भइरहेको महसुस देशवासीले गरेका छन् । खासगरी एमाओवादीका नेताको सम्पूर्ण प्रयास नेपालको सत्ता राजनीतिमा स्थायित्व प्राप्त गर्ने चाहनाबाट उत्पे्ररित रहेको देखिँदै छ । एमाओवादी अध्यक्ष प्रचण्डबाट हालै चाइना र भारतको भ्रमण हुँदा पनि उनले देशलाई होइन आफैँलाई केन्द्रभागमा राखेर व्यवहार गरे । दुवै छिमेकी मित्रराष्ट्रको सद्भाव र विश्वास आफूलाई रहेको या दुवै छिमेकी मुलुकले पत्याएको मानिस आफूमात्र भएको प्रमाणित गर्ने प्रयत्न प्रचण्डबाट भयो– भइरहेको छ । भारतको विश्वास लिएर चीन भ्रमण गर्ने र चीनको ‘कन्सेन्ट’ लिएर भारतको भ्रमण गर्ने काम जुन प्रचण्डबाट भयो, राष्ट्रहितको गफ दिए पनि हाउभाउ र अभिव्यक्तिले
प्रचण्डका प्रयासहरू राष्ट्रहितमा केन्द्रित रहेको बुझाउँदैन । बरु आफू सत्तामा पुग्नुपर्ने र आफैँ सत्तारुढ भएको अवस्थामा मात्र चीन या भारतको हित हुनसक्छ भनी सम्झाइ–बुझाइ गर्ने या ‘केमोफ्ल्यास’ गर्ने काम प्रचण्डबाट भएको महसुस गरिएको छ । यी तिनै प्रचण्ड हुन् जसले नेपालमा हिंसात्मक युद्ध गर्न आश्रयका लागि भारतभूमि रोजे र भारतसमक्ष लिखित रूपमै आत्मसमर्पण गरे । एसडी मुनिको बहुचर्चित लेखले यस तथ्यको प्रमाण दिइसकेको छ । यी तिनै प्रचण्ड हुन् जसले कथित जनयुद्ध सुरु गर्ने क्रममा सरकारसमक्ष चालीस सूत्रीय माग पेस गर्दा भारत विरोधका नौवटा बुँदा उल्लेख गरेका थिए । प्रचण्ड तिनै व्यक्ति हुन् जसले भारतसँग लडाइँ लड्न भन्दै पश्चिम नेपालको सीमावर्ती क्षेत्रमा सुरुङ खन्ने काम गरेका थिए । यी तिनै व्यक्ति हुन् जो प्रधानमन्त्री भइसकेपछि भारत छोडेर चीनतिर लहस्सिने प्रयासमा थिए । प्रचण्ड तिनै हुन् जसले २०६६ मा सत्ताच्युत हुनेबित्तिकै राष्ट्रियताको आन्दोलन भन्दै भारतविरुद्ध देशव्यापी अभियान चलाएका थिए र अहिले फेरि भारतसँग नजिकिने योजनाबद्ध अभियानमा जुटेका छन् । कूटनीतिको अनिवार्य सर्त विश्वसनीयता हो । विश्वासयोग्य व्यक्तिले मात्र कूटनीतिक चातुर्यको प्रयोगद्वारा राष्ट्रहितमा कसैलाई पनि सहभागी गराउने सामथ्र्य राख्दछ । प्रचण्ड झुट र बेइमानीका पुलिन्दा हुन् भन्ने चीन र भारत दुवैले बुझिसकेको सन्दर्भमा उनीबाट कुनै राष्ट्रिय लाभ पुग्ने आशा गर्न सकिँदैन । भारत र चीन दुवैको विश्वास आर्जन गर्न प्रयत्नशील प्रचण्डको समग्र व्यवहारले उनी दुवै छिमेकी मुलुकको आँखामा सन्देहास्पद र रहस्यमयी पात्र बन्न पुगेका छन् । जसरी विगतमा प्रचण्डले दर्शाएको व्यवहार अहिले परिवर्तन भएको छ, त्यसैगरी अहिले प्रस्तुत भइरहेको व्यवहार पनि भोलि परिवर्तन हुनसक्ने विश्लेषण चीन या भारतका कूटनीतिज्ञहरूले गरेका छन् भने त्यो अस्वाभाविक होइन । त्यसैले प्रचण्डले दुवै छिमेकी मित्रराष्ट्रको विश्वास आर्जन गर्दै होइन दुवैको विश्वास गुमाउँदै छन् भन्ने निष्कर्ष निकाल्न सकिन्छ । भारत जानुअघि प्रचण्डले आफू देशकै प्रतिनिधि बनेर भ्रमण गर्न लागेको घोषणा गरे । देशको प्रतिनिधित्व गर्ने हैसियत तिनलाई मात्र हुन्छ जो राष्ट्रपति या प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका हुन्छन् । सरकारले औपचारिक निर्णय गरी भ्रमणमा पठाएका व्यक्तिलाई समेत देशको प्रतिनिधिका रूपमा बुझ्ने गरिन्छ । सरकारी निर्णयबिना देशकै प्रतिनिधिका हैसियतले विदेश भ्रमण गर्न लागेको घोषणा कसैले गर्छन् भने त्यो अपरिपक्वताको पराकाष्टा हो । प्रचण्डलाई न भारत सरकारले औपचारिक निर्णय गरेर निम्ता दिएको हो न नेपाल सरकारले नै आफ्नो प्रतिनिधिका रूपमा प्रचण्डलाई भारत पठाउने निर्णय गरेको छ । यसरी जसले जतिबेला मन लाग्यो त्यतिबेला विदेश जाने र आफूलाई देशकै प्रतिनिधिका रूपमा प्रस्तुत गर्ने परम्परा बस्न दिने हो भने अहिले प्रचण्ड गएकै शैलीमा भोलि महन्थ ठाकुर जालान्, पर्सि विश्वेन्द्र पासवान पुग्लान्, निपर्सि लक्ष्मणसिंह खड्काले त्यसै गर्लान् । त्यसैले राज्यले यसप्रकारको शैलीलाई नियन्त्रण र निषेध गर्न आवश्यक छ । भ्रमणमा गएका प्रचण्डले भारत या चीनमा अर्थ, वाणिज्य, जलविद्युत् आदि विषयमा गफ गरे होलान्, त्यो जसले पनि गर्न सक्छन् । तर, द्विपक्षीय हितलाई व्यवस्थित गर्ने आफ्नै कूटनीतिक प्रक्रिया हुन्छन् र राज्यले त्यसमा अग्रसरता लिनुपर्ने हुन्छ ।
भारत र चीन कुनै झलनाथ खनाल या गिरिजाप्रसाद कोइराला होइनन्, जसलाई आफूले चाहेको समयमा चाहेको तरिकाले उपयोग–प्रयोग गर्न सकियोस् । काङ्गे्रस या एमालेका नेतालाई एकै दिनमा सातपटक झुक्याउन सकेझैं भारत र चाइनालाई पनि झुक्याउन सकिने ठम्याइ जो प्रचण्डको थियो, त्यो एउटा आत्मभ्रम मात्र भएको सिद्ध भइसकेको छ । युद्धकालमा प्रचण्डले विभिन्न पार्टीभित्रका अन्तरविरोधमा खेल्दै कहिले कसलाई त कहिले अर्कोलाई आफ्नो पक्षमा प्रयोग उपयोग गरेका थिए । प्रशासक, प्रहरी र सामाजिक कार्यकर्तालाई पनि उनले आवश्यकताअनुरूप प्रयोग–उपयोग गरेकै हुन् । सुरक्षित सेल्टरका लागि भारतलाई उपयोग गर्ने प्रचण्डले गणतन्त्र घोषणाका लागि गिरिजाप्रसाद कोइरालालाई पनि भरपुर उपयोग गरेकै हुन् । ०६५ सालमा प्रधानमन्त्रीका रूपमा सत्तामा चढिसकेपछि प्रचण्डले गिरिजाप्रसादको मात्र होइन भारतको समेत उपयोगिता सकिएको ठानेका थिए र चाइनासित लपक्क टाँसिएर आजीवन शासन गर्ने सपना उनले देखेका थिए । भारत विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुक भएका नाताले ऊ संसारमा प्रजातन्त्र र प्रजातान्त्रिक प्रक्रियाकै पक्षमा सहानुभूतिशील हुनु स्वाभाविक थियो । एउटा प्रजातान्त्रिक मुलुकको आडमा नौलो जनवादी चरित्रको अधिनायकवादी शासनसत्ता स्थापित गर्न खोज्नु प्रचण्डको एउटा दिवास्वप्न मात्र थियो । तथापि भारतलाई गुमराहमा राख्दै चीनको अकण्टक आशीर्वाद प्राप्त गर्ने यत्न उनीबाट भएको थियो । यही असाध्य प्रयत्न गरेका कारण प्रचण्ड सडकमा पुगे र अझै सडकमै छन् । सडकमा भए पनि देशको संस्थापन पक्ष आफैँ भएको ‘इन्पे्रसन’ दिने जाँगर प्रचण्डले चलाइरहेका छन् । उनको यस्तो प्रयास आफैँमा हास्यास्पद देखिएको छ । जनसङ्ख्याका दृष्टिले विश्वका सबैभन्दा ठूलो मुलुक (जुन विश्वकै ठूलो अर्थतन्त्र भएका मुलुक पनि हुन्) बीच सेतुको काम गर्न आफू सक्षम भएको ध्वाँस प्रचण्डले दिइरहेका छन् । प्रचण्डको यस्तो ध्वाँसलाई चीनले माउथाई र भारतले मिठाइ खुवाएर शिथिल बनाइसकेका छन् । भारत र चीनले पत्याएको नेता आफैँ मात्र भएको भ्रम नेपाली जनतामा सृष्टि गर्दै आगामी निर्वाचनमा भोट बटुल्ने प्रयत्न प्रचण्डले गरेका हुन् भने यसलाई उनको अर्को परिपक्व सोच–व्यवहारका रूपमा बुझ्दा हुन्छ ।
एउटा सत्य के हो भने प्रचण्ड र उनको पार्टी एमाओवादी विश्वमा प्रचलित प्रजातन्त्रमा विश्वास राख्दैन । छिमेकी मित्रराष्ट्र चीनको पनि प्रजातन्त्रसँग साइनो गाँसिएको छैन । नेपालमा गणतन्त्रको घोषणापश्चात् राजदरबार जसलाई चाइनाले आफ्नो स्थिर र स्थायी मित्र ठानेको थियो त्यो विस्थापित भएको छ । राजसंस्थाको विस्थापनसँगै चीन नेपालमा आफ्नो स्थायी र स्थिर मित्रशक्तिको खोजीमा छ । त्यस्तै प्रचण्ड र उनको पार्टीको सफलतामा इसाई सङ्घ–संस्था र पश्चिमी मुलुकहरूको ठूलो योगदान रहेको भए पनि शासनमा रहिरहन पश्चिमाहरूको साथ सहयोग रहनेमा प्रचण्ड विश्वस्त हुन नसक्नु स्वाभाविक छ । त्यसैले प्रचण्ड आफूलाई संरक्षण गर्ने स्थायी अन्तर्राष्ट्रिय शक्तिको खोजीमा थिए । त्यस निम्ति चीनजति भरपर्दो अर्को कुनै अन्तर्राष्ट्रिय शक्ति नहुने ठम्याइ प्रचण्डको थियो या छ भने त्यो स्वाभाविक पनि हो । यसर्थमा प्रचण्ड उर्फ एमाओवादी र चीनबीचको सम्बन्धलाई कलम र बिर्कोजस्तै भएको अर्थमा बुझ्न सकिन्छ । यो सत्यलाई भारतजस्तो परिपक्व प्रजातन्त्र भएको मुलुकले बुझेको छैन भन्ने ठान्नु भनेको आफैँलाई भ्रममा राख्नु मात्र हो । चीनको कुरा लगाएर या पाकिस्तानको विरोध गरेर मात्र भारतको विश्वास आर्जन गर्न सकिन्न र ‘भारतको प्रभावबाट आफू मुक्त हुन चाहेको’ सन्देश दिएकै भरमा चीनको विश्वास प्राप्त गर्न पनि सकिन्न । भारत र चीनको सरोकारका विषयमा प्रस्तुत हुन परिपक्व सोच र व्यवहारले मात्र दुई छिमेकीको विश्वास जित्ने अवसर नेपाली नेतृत्वलाई प्राप्त हुने हो, जुन मौका प्रचण्डले धेरै पहिले नै गुमाइसकेका छन् । यस्तो अवस्थामा प्रचण्डमार्फत भारत र चीनको सहयोग नेपालमा प्राप्त हुने विश्वास गर्न सकिन्न र विश्वास गरिनु पनि हुँदैन । बरु यिनका कारण नेपालले थप कुन सास्ती व्यहोर्नुपर्ने हो चिन्ता थपिएको छ । प्रचण्डका हरेक व्यवहार कृष्णको जस्तो सार्वजनिक हितमुखी नभई शकुनीको जस्तो आत्मकेन्द्रित, कुण्ठाग्रस्त र निजी हित प्रेरित रहने गरेको ठानिन्छ । उनको कूटनीति पनि रामको जस्तो शालीन होइन, बाँदरको जस्तो चकचके भएको महसुस आमनेपाली र अन्तर्राष्ट्रिय समुदायले समेत गरेका छन् । बाँदर कसैको घरमा पस्दैमा ऊ मान्छे हुँदैन, मानिसजस्तै हुन बाँदर आफैँ बदलिनुपर्छ, बदलिने प्रयास न पशुपतिका बाँदरले गरेका छन् न प्रचण्डले । बाँदरले भक्ति नै ग¥यो भने पनि मालिकको गाला काट्छ भन्ने सत्य भारत र चीन दुवैले बुझेका छन्, त्यसैले प्रचण्डको चीन र भारतको भ्रमण नेपाल र नेपालीको हितमा हुनै सक्दैन भन्ने तथ्यबोध सबैलाई भएको छ । विदेशीको आशीर्वाद लिएर स्वदेशमा रजाइँ गर्ने प्रतिस्पर्धामा प्रचण्ड अन्य नेताहरूभन्दा केही अगाडि भएका हुन् कि भन्ने उनका पछिल्ला क्रियाकलापले दर्शाएको छ । आफ्नो निजी महत्वाकाङ्क्षा साकार तुल्याउने नियतबाट हुने विदेश भ्रमणहरूले राष्ट्र हित गर्ने आशा गर्न सकिन्न । प्रचण्डका भ्रमणहरू राष्ट्रहितको गीत गाउँदै सुरु गरिएका भए पनि निजी स्वार्थको दायराभन्दा माथि उनका भ्रमणहरू कदापि उठ्ने छैनन् भन्ने यथार्थ अवगत हुनु वाञ्छनीय छ । देश चुनावमा जान लागेको र सत्ता राजनीतिबाट राजनीतिकर्मी एकप्रकारले पाखा लागेको वर्तमान अवस्थामा बेरोजगारझैं बनेका प्रचण्डले ‘टाइम पास’ गर्न मात्र चीन र भारतको भ्रमण गरेका हुन् । यो ‘भ्याकेसन’ अरू नेताहरूले घर–परिवारसँग बसेर मनाइरहेका भए पनि प्रचण्डले चाहिँ विदेशमा रमाइलोसँग मनाए । नेपाली नयाँ वर्ष आगमनको अवसरमा प्रचण्डले छिमेकी मित्रराष्ट्रहरूको ‘मेजमानी’ पाए, उनलाई यस्तो अवसर फेरि–फेरि पनि प्राप्त हुँदै गरोस्– हाम्रो शुभकामना ।

१८ बैशाख २०७०, बुधबार ०६:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..