डा. बाबुरामलाई जम्मा एउटा सुझाव :: देवप्रकाश त्रिपाठी

नेपालका ३५औँ प्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्ताबाट बाहिरिनेबित्तिकै एकप्रकारले ओझेलमा पर्नुभएको छ । नेपाली जनताले केही गर्न सक्ने व्यक्तिका रूपमा आशा गरिएका उहाँले सत्तामा रहँदा आशातीत काम गर्न सक्नुभएन या पाउनुभएन । यद्यपि केही अपवादबाहेक राजधानीलगायतका सहरमा सडक विस्तारमा उहाँले पु¥याउनुभएको योगदान अविष्मरणीय बनेको छ । बाबुराम सरकारमा हुनुहुन्न, तर राजधानीको सडक प्रयोग गर्नेहरूले उहाँलाई सम्झिएकै हुन्छन् । हुन त उहाँले सत्तामा रहँदा अन्य कतिपय काम पनि नगर्नुभएको होइन । पत्रकारिता क्षेत्रको विकासका लागि सरकारी विज्ञापनमा देशका सबै सञ्चारमाध्यमहरूको पहुँच स्थापित गर्न बाबुराम भट्टराईले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न लिनुभएको निर्णय पनि पत्रकारहरूका निम्ति चिरस्मरणीय बनेको छ । विगत करिब ६ दशकदेखि पत्रकारहरूले राख्दै आएको माग पूरा गर्ने अग्रसरता त्यसअघि कुनै पनि सरकारले नलिएको परिपे्रक्ष्यमा बाबुरामको निर्णयले उहाँ पत्रकारहरूको पीडाप्रति संवेदनशील हुनुहुन्छ भन्ने पुष्टि गरेको छ । त्यसबेला आफ्नै पार्टीको संसदीय दलको नेता नरहनुभएका भट्टराई विशेष अवस्थामा विशेष कारणवश प्रधानमन्त्री बन्नुभएको महसुस आमनेपालीले गरेका हुन् । तर, सरकारमा रहिन्जेल उहाँ विपक्षीको विरोधको केन्द्र बनिरहनुभयो, विशेषगरी राजनीतिक क्षेत्रबाट भएको विरोधले उहाँ आशा गरिएजति लायक र योग्य व्यक्ति होइन कि भन्ने सन्देश मुलुकमा प्रवाहित भयो । तथापि देखापरेका राजनीतिक नेताहरूमध्ये बाबुराम भट्टराई नै ठीक र ‘केही गर्न सक्ने’ भन्ने ‘इम्पे्रसन’ जनसाधारणमा अहिले पनि कायम रहेको तथ्य स्वीकार गर्न कञ्जुस्याइँ नगर्नु वेश हुने देखिन्छ । सामान्य अवस्थामा प्रधानमन्त्री बन्न पाउने र आफ्नोवरिपरि जम्मा भएको फोहोर पाखा लगाउन सक्ने हो भने बाबुरामले नै केही गर्न सक्छन् भन्ने विश्वास जनतामा अद्यापी छ । तर, अब सामान्य अवस्थामा सामान्य ढङ्गले बाबुराम प्रधानमन्त्री बन्न कठिन छ । संसदीय पद्धतिमा प्रधानमन्त्री बन्न पार्टीले निर्णय गर्नुपर्ने हुन्छ । सम्बद्ध पार्टीको आन्तरिक शक्ति सन्तुलनमा उहाँ कमजोर मानिनुहुन्छ र प्रचण्ड रहेसम्म बाबुराम भट्टराईलाई सहज ढङ्गले सत्ता प्राप्तिको अवसर उपलब्ध हुने देखिँदैन । पार्टीको कार्यकारी प्रमुखमा प्रचण्ड रहनु, संसदीय दलको नेता पनि प्रचण्ड नै बन्ने स्थिति कायम हुनु र प्रचण्डमा ‘त्रिपल जम्पिए महत्वाकाङ्क्षा’ हुनुले एमाओवादी पार्टीको निर्णयबाट सहजै प्रधानमन्त्री बन्न सक्ने अवस्थामा बाबुराम नरहनुभएको दर्शाउँछ । अब निर्वाचन हुँदा पनि उम्मेदवार चयनमा बाबुरामको भूमिका तीस प्रतिशतको हाराहारीमा सीमित हुने देखिन्छ । त्यहीमध्ये पनि निर्वाचनमा विजयी हुने बाबुराम समर्थकहरूको सङ्ख्या झनै कम हुनु स्वाभाविक हुन्छ । त्यस्तो स्थितिमा बाबुराम संसदीय दलको नेता बन्नुहुने आशा गर्न सकिन्न, संसदीय दलको नेता बन्न नसक्ने व्यक्ति प्रधानमन्त्री हुने स्थिति रहन्न । त्यसैले सहज र स्वाभाविक ढङ्गले एमाओवादीका तर्फबाट उहाँ प्रधानमन्त्री बन्न अत्यन्त कठिन रहेको निष्कर्ष निकाल्न सकिन्छ ।
बाबुराम भट्टराई त्यस्तो पार्टीका नेता हुनुहुन्छ, जसले संसदीय व्यवस्थामा विश्वास गर्दैन । सर्वहाराको नाममा कम्युनिस्ट पार्टीको एकदलीय अधिनायकवादलाई उहाँको पार्टीले क्रान्तिकारी गन्तव्यका रूपमा निर्धारण गरेको छ । जुन गन्तव्य नेपालमा हासिल गर्नु भनेको जिउँदै वैतरणी नदी तर्नुजस्तै हो । कदाचित एमाओवादीले एकदलीय अधिनायकवादी राज्य व्यवस्था स्थापना गर्ने सफलता पाएको अवस्थामा पनि बाबुराम सत्ता प्राप्त गर्न समर्थ हुनुहुने छैन, बरु त्यसपछि उहाँको जीवनकै दुःखद् दिनहरू सुरु हुने अनुमान गर्न सकिन्छ । साम्यवादी व्यवस्थामा जनताको नाममा सर्वहाराले, सर्वहाराका नाममा कम्युनिस्ट पार्टीले र कम्युनिस्ट पार्टीका नाममा कुनै एक नेताले जीवनभरि शासन गरिरहने परम्परा÷अवस्था हुन्छ । जो शासक बन्छ उसले आफ्ना वरिपरिका सबै चुनौती बढार्ने प्रयास गर्छ । साम्यवादी राज्य व्यवस्था स्थापना अभियानकै क्रममा विरोधीहरू एकप्रकारले समाप्त भइसकेका हुन्छन् । सत्ताकेन्द्रमा रहेका व्यक्तिले पार्टीकै समकालीन नेताहरूलाई विपक्षी ठान्छन् र शत्रुको व्यवहार गर्छन् । साम्यावादी परम्पराको वैश्विक अभ्यासले यस्तै दृष्टान्त प्रस्तुत गरेको छ । रसियामा त्रोत्स्की अर्थात् ट्राटस्कीलाई लेनिनभन्दा पनि योग्य र सक्षम मानिन्थ्यो । आफूलाई लेनिनको एकल उत्तराधिकारी ठान्ने स्टालिनले कालान्तरमा त्रोत्स्की र उनका समर्थकहरूको हत्या गरिदिए । चीनमा माओत्सेतुङभन्दा लिन प्याओलाई योग्य र सक्षम ठानिन्थ्यो । पार्टी र जनतामा लिन प्याओले आर्जन गरेको ख्यातिलाई माओले आफ्ना चुनौती ठाने र उनलाई शत्रुतापूर्ण व्यवहार गरियो । कालान्तरमा माओले षड्यन्त्रमूलक ढङ्गले लिन प्याओको हत्या गरेर आफ्नो राज बाँचिन्जेलका लागि सुरक्षित तुल्याए । आधुनिक चाइनाका डिजाइनर मानिएका देङ सियाओ पेङ माओका उपाध्यक्ष थिए । आफ्नो मौलिक चिन्तन र उदार दृष्टिकोणका कारण देङले पार्टीभित्र र सिङ्गै मुलुकमा बेग्लै छवि बनाएका थिए । देङको लोकप्रियतालाई पनि माओले सहन सकेनन्, उनले पार्टीबाट निष्कासन गरी देङलाई श्रमशिविरमा पठाइदिए । सन् १९७६ मा माओको निधन भएपछि मात्र देङले आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पाएका हुन् । क्युवा, उत्तरकोरिया, कम्बोडिया र भियतनामलगायतका जति पनि मुलुकमा साम्यवादी शासन व्यवस्था स्थापना भए त्यहाँ दर्जनौँ योग्य ‘कामरेड’हरू सत्तासीनहरूको सिकार भएका छन् । त्यसैले नेपालमा कदाचित एमाओवादी गन्तव्यमा पुग्न सफल भयो भने सत्ताका मालिक बाबुराम नभई प्रचण्ड हुनेछन्, त्यस्तो अवस्थामा बाबुरामले त्रोत्स्की या लिन प्याओको नियति भोग्नुपरेन भने पनि देङको परिणति व्यहोर्नुपर्ने निश्चित छ । यसर्थमा बाबुराम भट्टराईले संसदीय प्रजातन्त्र या साम्यवादी दुवै प्रणालीमा आफूलाई सहज ढङ्गले सत्ताकेन्द्रमा पु¥याउन सक्नुहुने छैन भन्न सकिन्छ । सत्ताकेन्द्रमा नपुगेसम्म कसैले पनि र उहाँले पनि आफ्नो योग्यता, क्षमता र इमानदारी प्रमाणित गर्ने मौका प्राप्त गर्ने रहँदैन । त्यसैले बाबुराम भट्टराईमा देशका लागि केही गर्ने आत्मविश्वास, जाँगर, दृष्टिकोण र प्रतिबद्धता छ भने ठीक यतिबेला नै अर्को विकल्प खोज्नु उपयुक्त हुने देखिन्छ । बाबुरामजस्ता मानिसका लागि ‘देश निर्माण राष्ट्रिय शक्ति’ या ‘राष्ट्रिय विकास दल’ जस्ता राजनीतिक दल स्थापना गरी नेपाली राजनीतिमा सक्रिय हुनु नै सर्वाधिक वाञ्छनीय हुनसक्छ ।
विश्वमा कम्युनिस्ट पार्टीले आफ्नो परम्परावादी सोचअनुरूप देश निर्माण गरेको एउटै दृष्टान्त पाइन्न । तात्कालिक सोभियत सङ्घमा समाजवादी÷साम्यवादी शासन रहेकै बखत जनताले एक पौण्ड पाउरोटीका लागि घन्टौँ लाइनमा बस्नुपर्ने अवस्था थियो । साम्यवादी शासन ढलेर प्रजातन्त्र स्थापना भइसकेपछि मात्र रसियाली जनताले समृद्धिको मुख देख्न पाएका छन् । एउटै जर्मनी दुई भागमा विभाजित भई एकातिर प्रजातान्त्रिक र अर्कोतिर (पूर्वीजर्मनीमा) साम्यवादी शासन व्यवस्था लागू गरियो । पूर्वी र पश्चिम जर्मनीबीच भीमकाय पर्खाल खडा गरेर दुवै मुलुकका जनतालाई छेकवार लगाइयो । पश्चिम जर्मनीले रातारात उन्नति–प्रगति हासिल ग¥यो तर पूर्वीजर्मनीका जनताले खानसमेत नपाउने स्थिति बन्यो । अन्ततः पूर्वीजर्मनीका जनताले पर्खाल ढालेर जर्मनीलाई एकताबद्ध गराए, प्रजातान्त्रिक पद्धतिको जर्मनी आज एउटा समृद्ध मुलुकका रूपमा विश्वमानचित्रमा अङ्कित छ । यस्तै अर्को दृष्टान्त कोरिया हो, कोरिया प्रजातन्त्र र जुच्छे विचारधाराका नाममा विभाजित भएको करिब ६ दशक भएको छ । उत्तरकोरियाले कम्युनिस्ट समाजवादी अधिनायकवाद र दक्षिणकोरियाले प्रजातान्त्रिक प्रणाली अभ्यासको तीन दशकपछि नै परिणामहरू आउन थालेका हुन् । दक्षिणले समृद्धिको शिखर चुम्यो, चुम्दै छ । लाखौँ विदेशी कामदार तथा विज्ञहरूलाई रोजगारी दिने हैसियत उसले बनाएको छ, तर उत्तरकोरिया खान मात्रका लागि पनि विदेशी सहयोगको मुख ताक्नुपर्ने नियति भोग्दै छ । उत्तरकोरियाले भोगेको परिणति क्युवाले पनि व्यहोरिरहेछ । राजनीतिक प्रणाली साम्यवादी अधिनायकवादमा आधारित हुँदाहुँदै पनि उदार अर्थनीतिको अवलम्बनपश्चात् चाइनाले धेरै ठूलो छलाङ मारेको छ । उदार अर्थव्यवस्थाले मात्र समृद्धिको मार्ग छोटो बनाउँछ भन्ने कुराको दृष्टान्त चाइनाले प्रस्तुत गरिरहेको छ, अन्य प्रजातान्त्रिक मुलुकले त शदियौँअघिदेखि नै खुला अर्थनीति अवलम्बन गर्दै आएका हुन् । चाइना विश्वकै धनाढ्य मुलुकको कोटिमा पर्दै छ, तर जतिसुकै आर्थिक उन्नति गरेको भए पनि उसले सानो मुलुक दक्षिण कोरियाले जति पनि विदेशीलाई रोजगारी दिन सकेको छैन । नागरिकलाई गोरुसरह जोतेर प्राप्त गरेको उपलब्धि कत्तिको टिकाउ हुनसक्ला भन्ने चिन्तायुक्त प्रश्न चाइनामा उठिरहेछ । युरोप या अमेरिकाका मजदुर र चाइनाका मजदुरको जीवनस्तर तुलना गर्ने हो भने यथार्थबोध हुनसक्छ– कसले मानिसको रगत–पसिनामा ज्यादती गरेर समृद्धि आर्जन गरेको छ भन्ने । पहिले उत्तरकोरिया या क्युवा पथमा रहेको भियतनाम पनि बितेका केही वर्षदेखि चिनियाँ पदचाप पछ्याउँदै छ– राजनीतिक प्रणाली अधिनायकवादी र अर्थनीति पुँजीवादी । खुला अर्थनीतिको अवलम्बनसँगै भियतनामले पनि आर्थिक समृद्धिको दिशामा ठूलो उपलब्धि हासिल गरेको छ ।
समग्रमा भन्नुपर्दा विश्वमा कम्युनिस्ट विचार र व्यवहारले देशलाई समृद्ध तुल्याएको एउटै उदाहरण पाउन सकिँदैन । चाइना र भियतनामले हासिल गर्दै गरेको उपलब्धिका निम्ति साम्यवादी विचार–दर्शनलाई शतप्रतिशत जस (यश) दिन सकिँदैन । प्रजातन्त्रसहितको उन्नति मात्र दिगो र जनहितकारी हुने दृष्टान्त भारत, मलेसिया, सिङ्गापुर र युगाण्डालगायतका दर्जनौँ मुलुकले प्रस्तुत गरिरहेका छन् । त्यसैले डा. बाबुराम भट्टराईमा देश निर्माणको चाहना, दृष्टिकोण र प्रतिबद्धता साँच्चै छ भने साधन पनि सोहीबमोजिम अपनाउनुपर्ने हुन्छ । थोत्रो माओवादको घोडा चढेर चाइना स्वयम्ले त कुनै उपलब्धि हासिल गर्न सकेन भने नेपालमा त्यसको प्रयोग गर्न खोज्नु भनेको ट्रलिबस चढेर संसारका गाउँ–गाउँ घुम्ने सपना देख्नुजस्तै हो । बाबुरामजत्तिका व्यक्तिलाई यति जानकारी पनि नहोला भन्न सकिन्न, यदि मुलुकलाई बदल्ने अठोट र इच्छा साँच्चै छ भने बाबुराम भट्टराईले सबभन्दा पहिले आफैँलाई बदल्न जरुरी छ । बदलिने प्रयास गर्नुहोस् बाबुराम, तपाईंलाई यही सुझाव र शुभकामना छ ।
devprakash9@hotmail.com

११ बैशाख २०७०, बुधबार ०८:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट..

हिमचितुवा शेर्पाको निधन

काठमाडौं । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङ्रिता शेर्पाको निधन भएको छ ।..

२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन..

मन्त्रिपरिषद् पुनर्गठन गर्ने नेकपा सचिवालय बैठकको निर्णय, व्यक्ति टुंगो लाग्न अझै बाँकी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय..

बलात्कारको आरोपमा गाउँपालिकाका अधिकृत पक्राउ

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकामा कार्यरत एक अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । जोशीपुर..