चुनाव हुन दिन्नौँ, जंगल पनि जाँदैनौँ, मुठभेड गर्छौं :: मातृका यादव (संयोजक, नेकपा माओवादी)

० देशमा दोहोर्याएर संविधानसभाको निर्वाचन हुँदैछ, तपाईंहरु पनि चुनावमा भाग लिनुहुन्छ होला नि ?
– चुनावमा भाग लिनुअघि चुनाव केका लागि र कस्तो चुनाव हुन लागेको छ भनी विचार गर्नु आवश्यक हुन्छ । त्यो कोणबाट हेर्दा वर्तमान परिवेशमा हामी चुनावमा सरिक हुने अवस्था नै छैन । पहिले पनि दुई वर्षका भनिएको संविधानसभा चार वर्ष तन्काएर पनि संविधान लेखिएन र यो तालले अब पनि लेख्दैनन् । चुनावबाट संविधान लेख्ने कुरामै विश्वास लाग्न छोड्यो हामीलाई त । चुनाव भनेको दुई अवस्थामा आवश्यक पर्ने कुरा हो, एक– व्यवस्थालाई सञ्चालन गर्न र अर्को– सबै पक्ष सहमत भई कुन–कुन एजेण्डाका लागि चुनाव गर्ने हो त्यो निक्र्योल गरेर मात्र चुनाव हुनुपर्छ । यहाँ त दुबै अवस्था छैन । न त मुलुकमा यतिबेला कुन व्यवस्था चलिरहेको छ भनी कसैले खुट्याउन सकेको छ न सबै पक्षलाई समेट्ने प्रयत्न नै भएको छ । अनि केको चुनाव ?
० यसरी चुनावको विरोध गर्नुको औचित्य के हो ?
– जनता र देशको हितमा नहुने कुराको त हामी सदा बिरोध गरिरहन्छौँ । जुन ढङ्गको चुनावको डङ्का पिटिँदैछ यसबाट देश र जनताको हित हुने हामीले देखेका छैनौँ । चुनावले मात्रै सर्वहित हुने भए पञ्चायतमा पनि चुनाव हुन्थ्यो तर किन पञ्चायतलाई मिल्काउनु प¥यो त ? चुना ठूलो कुरा होइन त्यसले दिने परिणाम महत्वपूर्ण हुन्छ भन्ने सबैले मनन गरौँ न ।
० मुख्य दलहरुबीच सहमति भएको कुरामा तपाईंहरुले यसरी टाङ अड्याउन मिल्छ र ?
– को दल ? कुन मुख्य दल ? को ठूलो दल ? केका आधारमा तिनलाई सधैं ठूलो दल मान्ने ? सबै दलबाट मानिसहरु ब्रेक भएका छन्, उथलपुथल चलेको छ, अनि कसरी उहिलेको परिणामका आधारमा तिनैलाई मुख्य दल मान्ने ? ठूला भनिएका यि सब ठग हुन्, असल नियतले चुनाव गराउने यिनीहरुको नियत नै छैन । असारमा चुनाव गराउने भने तर अहिले बोली फेरेर मङ्सिर भन्दैछन् । हेर्नुहोला चाँडै नै त्यो मिति पनि बहाना बनाएर यिनीहरुले परिवर्तन गर्नेछन् । अर्थात्, यिनले चुनाव गराउने नै होइनन्, हामीलाई दोष दिने मात्रै हुन् । नेता भन्नेहरु त जनतालाई ढाँट्ने ढँटुवा छँदैथिए अब प्रधानन्यायाधीश भएका व्यक्तिसमेत त्यही ढँटुवा समूहमा प्रवेश गरेर देशलाई ढाँट्न थालेका छन्, यो दुर्भाग्य हो ।
० चुनावको विकल्प त देखिँदैन, प्रस्ट भनिदिनुस् तपाईंहरु चुनावलाई अवरोध गर्नुहुन्छ कि गर्नुहुन्न ?
– देश र जनताको हितमा नभएको चुनाव हुन हामी दिँदैनौँ । हामी यसको बिरोधमै छौँ ।
० तपाईंहरुले बिरोध गर्दागर्दै दलहरुले चुनाव गराए भने ?
– जवर्जस्ती गराएको चुनावको कुनै अर्थ रहन्न । जनताले अनुमोदन गर्ने छैनन् । जनताबाट अनुमोदन नभएको चुनावको के तुक हुन्छ ?
० तपाईंहरुको यो अभियान त प्रतिगमनकारी भएन र ?
– अग्रगमनका लागि हामी यो गरिरहेका छौँ । आमजनहितको मुद्दा, मधेसको मुद्दा, जनजातिको एजेण्डा आदि थुप्रै एजेण्डा थिए र तिनलाई परिपूर्ति गर्न हामी आन्दोलनमा होमिएका थियौँ । आज ती सब के भए ? यस्ता ज्वलन्त मुद्दालाई अलपत्र पार्नेहरुले हामीलाई प्रतिगमनकारी भन्नु त हास्यास्पद कुरा हो ।
० तपाईंहरु फेरि जङ्गल जाँदै हुनुहुन्छ कि ?
– हामी जनताको बीचमा छौँ भने किन जङ्गल गइरहनु प¥यो ? जनताको साथ लिएर आन्दोलनको उठान गर्ने पक्षमा छौँ हामी जङ्गल–सङ्गल जाँदैनौँ । यतिबेला देश विदेशीको गोटी बनिरहेको छ । सरकार बन्ने–नबन्ने एकिन भएको हुँदैन विदेशी निकाय ठोकुवा गरेर भन्छ कि एघार सदस्यीय मन्त्रिपरिषद बन्छ ! यो के हो ? के आफूलाई ठूला दल भन्नेहरुसँग यसको जवाफ छ ?
० चुनावको बिरोध गर्नेहरुलाई बल प्रयोग गरेर भए पनि रोक्ने भनेको छ सरकारले, सरकारसँग भिड्ने हो तपाईंहरु ?
– सरकारले मुठभेड नै खोजेको हो भने हामी एकरत्ती पछि हट्दैनौँ । जायज मुद्दाका लागि किन पछि हट्ने ? सधैं जनताको साथमा बसेर लड्दै आएका हौँ, तानाशाहहरुले जनता हेर्दैनन् बरु पुलिस–आर्मीको आडमा जनतामाथि ज्यादति थोपरेर आफूलाई टिकाउन खोज्छन् । यसको त प्रतिरोध हुन्छ र हुनैपर्छ । जनताको शक्ति नै निर्णायक हुन्छ ।

११ बैशाख २०७०, बुधबार ०७:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..