व्याधापथका यात्रीको ‘बुद्ध’सँग दाँजिने चाहना :: देवप्रकाश त्रिपाठी

कसैलाई मार्ने मानिस महान् हुन् कि मर्न लागेकालाई बचाउने? युद्धनाइके महान् हुन् कि युद्ध अन्त्य गराउन सक्ने? शान्ति, स्थिरता र प्रजातन्त्रका पक्षमा केही विशेष योगदान पुर्या्उने व्यक्ति महान् हुन् कि आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न हजारौँ नागरिक र राष्ट्रको जीवन बर्बाद गर्नेचाहिँ महान् हुन्छन्? प्रजातन्त्रका निम्ति आफ्नै जीवन उत्सर्ग गर्ने गंगालाल र शुक्रराज शास्त्रीहरू महान् हुन् कि प्राप्त प्रजातन्त्रलाई विस्थापित गरी एकदलीय अधिनायकवाद लाद्न अर्काको ज्यान लिनेहरू महान् हुन्? राष्ट्रका निम्ति आफूलाई बलिवेदीमा होम्ने वीर बलभद्र कुँवर र भक्ति थापाहरू महान् हुन् कि राष्ट्रको अस्तित्व नै धरापमा पार्नेहरू महान् हुन्? देशको एकीकरण गर्ने महान् हुन्छन् कि एकताबद्ध मुलुकलाई छिन्नभिन्न तुल्याउँदै विखण्डनतिर लैजानेचाहिँ महान् मानिन्छन्?
उल्लिखित प्रश्नहरूको जवाफ खोजिरहनुपर्दैन, प्रश्न आफैँभित्र जवाफ अन्तरनिहित छन्। प्रश्नहरूमा अभिव्यक्त भावले दुई पक्षबीच तुलना गर्न आवश्यक ठान्दैन, बरु सत्जन र चोरका बीच को ठीक भनेर तुलना मात्र गरिँदा पनि सत्जन अपमानित भएको या गरिएको भावार्थ लाग्छ। त्यसैले राष्ट्र र जनताका लागि केही गर्नेहरूसँग जोकोहीको तुलना गर्नु भनेको महामानवहरूको अपमान गर्नु हो। एमाओवादीका अध्यक्ष प्रचण्डले नेपाल निर्माता, एकीकरणका नायक श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहसँग आफूलाई सार्वजनिक रूपमै तुलना गरेपछि यहाँ यस सम्बन्धमा केही चर्चा गर्नैपर्ने बाध्यता आइलागेको छ।
धर्तीमा आफ्ना समर्थक, शुभचिन्तक एवम् समूहमा आबद्ध व्यक्तिको पक्षमा काम गर्ने हजारौँ, लाखौँ व्यक्ति देखिएका छन्। भारतमा ललन सिंह, मखन सिंह, फुलनदेवी र वीरप्पनहरू पनि आफ्ना समर्थक एवम् शुभचिन्तकको अन्नदाता देवता बनेका थिए। नेपालमा मिलन चक्रे, राजु गोर्खाली, कुमार घैंटे, दीपक मनाङे आदि नामका मानिसले पनि आफ्ना समर्थक एवम् सहयोगी र शुभचिन्तकका लागि केही गरिरहेका छन्। अन्तर्राष्ट्रिय जगत्मा दाउद इब्राहिम पनि आफ्ना सहयोगी र समर्थकका लागि अनेक कर्म गर्दै छन्। तर, यिनले आफ्ना समर्थकका लागि केही गर्दा मुलुक, समाज, देशको भविष्य र कानुनको हेक्का राख्दैनन्– राख्ने गरेका छैनन्। ‘देश, समाज र कानुन भाँडमा जाओस् तर आफ्नो मनोकाङ्क्षा पूरा हुनैपर्छ’ भन्ने सोच–मनोविज्ञान उनीहरूको हुन्छ। त्यसैले आफू र आफ्नो समूहका लागि जेसुकै गरेका भए पनि देशले उनीहरूलाई नाजायज पात्र र प्रवृत्तिका रूपमा बुझेको छ र सोहीबमोजिम व्यवहार पनि गरिरहेको छ। उनीहरूले आफ्ना आकाङ्क्षा परिपूर्ति गर्न राजनीतिक आवरण (एप्रोन) प्रयोग नगरेका हुनाले तिनलाई विशुद्ध अपराधीको दर्जामा राखेको छ। तिनले गरेजस्तै कर्म तर राजनीतिक आवरणमा गर्नेहरूले चाहिँ भारी छुट पाइरहेका छन्, कारणवश छुट पाउँदैमा आपराधिक कर्मलाई कसैले जायज मान्न मिल्छ कि मिल्दैन? यो प्रश्न आज उठाउने हिम्मत जनताले नगरेका भए पनि भोलि उठ्ने छ, नेपाल धर्तीमा जुन दिन जनता जाग्नेछन् त्यस दिन यसको एक–एक हिसाब खोजिनेछ भन्नेमा शङ्का गरिरहनुपर्ने छैन।
जहाँसम्म प्रचण्डले पृथ्वीनारायण शाहसँग आफूले तुलना गरेको सन्दर्भ छ, यसलाई हँसी मजाक या ठट्टाका रूपमा लिँदै त्यत्तिकै छोड्न पनि सकिन्छ। एउटा ‘जिम्मेवार पार्टीका नेता’ले बोलिसकेपछि यो सन्दर्भलाई त्यसै छोड्नुभन्दा केही चर्चा गरेरै विसर्जन गर्नु यहाँ उपयुक्त ठानिएको छ। पृथ्वीनारायण शाह त्यो समयका त्यस्ता पात्र हुन् जसले पुर्याभएको योगदानको तुलना धर्तीमा नेपाल नामक छुट्टै देशको अस्तित्व रहँदासम्म कसैसँग हुन सक्दैन, कसैले पृथ्वीनारायण शाहसँग दाँजिन खोज्नु भनेको ‘मैले पनि हजारौँ मुसा मारेको छु’ भन्दै बिरालोले सिंहभन्दा कम नभएको दाबी गर्नु जत्ति मात्र हो। प्रचण्डलाई पृथ्वीनारायण शाहसँगै राखेर चर्चा गर्दा शाहको अपमान गरिएको अर्थमा नबुझिदिन आग्रह गर्दै पृथ्वीनारायण शाह र प्रचण्डको भूमिका र योगदानका केही पक्षहरूको यहाँ उल्लेख गर्ने प्रयास गरिन्छ।
गोरखामा पृथ्वीनारायण शाह राजाका रूपमा गद्दीनशीन हुँदा नेपालको हालको सीमाक्षेत्रभित्र बाईसे र चौबीसे राज्यहरू अस्तित्वमा थिए। उनले कमभन्दा कम रगत बगाएर देशलाई आजको स्वरूप दिने आधार बनाए। उनकै प्रतापका कारण आज हामीले नेपाली भन्न र नेपाली भएकोमा गौरव गर्ने (यदि गौरव महसुस गर्ने हो भने) मौका पाएका छौँ। संसारमा अधिकांश देशको एकीकरणमा कसै न कसैको योगदान रहेको छ र नेपालमा पृथ्वीनारायण शाहलाई यो सत्कर्मको करिब शतप्रतिशत जस (यश) जान्छ। एकीकरणका क्रममा पृथ्वीनारायण जनताको रगत नबगोस् भन्नेमा पूर्ण सचेत थिए, त्यसैले त्यसबेलाको समृद्ध एवम् शक्तिशाली राज्य काठमाडौंलाई सामेल गर्दा पनि यहाँ एकजना निर्दोष मानिसले ज्यान गुमाउनुपरेन। काठमाडौं नियन्त्रणमा लिनुअघि भएका छिटफुट हिंसाका घटना पनि बाध्यतावश भएका देखिन्छन्। पूरै एकीकरण अभियानका क्रममा तीन सय मानिस मारिएको पुष्टि पनि तथ्याङ्क र तथ्यले गर्दैन। तर, प्रचण्डले जनयुद्धका नाममा सुरु गरेको हिंसात्मक सङ्घर्षमा करिब सत्र हजार निर्दोष नेपालीले ज्यान गुमाउनुपर्यो , लाखौँ मानिस आफ्नै मुलुकभित्र शरणार्थी बन्न विवश भए।
पृथ्वीनारायण शाहको एउटै मात्र अभीष्ट थियो– देशको एकीकरण गरी हिमालको काखमा समृद्ध र विशाल राज्य खडा गर्नु। प्रचण्डको पनि लक्ष्य एउटै थियो– ‘पृथ्वीनारायण शाहले खडा गरेको नेपालको राज्यसत्ताको अधिपति आफू एक्लै बन्नु। यसरी दुई पात्रबीचको अभीष्टगत भिन्नताको अन्तर भारी मात्रामा देखिन्छ। एकले देश स्थापनालाई एक मात्र अभीष्ट बनाएका थिए भने अर्कोले राज्यसत्तामा आफ्नो नियन्त्रण र आधिपत्यलाई प्रमुख गन्तव्य बनाएका थिए–छन्।
पृथ्वीनारायण शाहले टुक्रिएर रहेको नेपाललाई जोड्ने अभियान चलाएका थिए, प्रचण्डले जोडिएको नेपाललाई खण्ड–खण्डमा विभक्त गर्न अनेक प्रयत्न गर्दै आएका छन्। पृथ्वीनारायणले सिङ्गो नेपाल सबै जातजातिको साझा फूलबारीका रूपमा रहेकोले राष्ट्रका नाममा एकजुट हुन र सामाजिक एवम् जातीय सद्भाव कायम राख्न दिव्य सन्देश दिएका थिए। प्रचण्डले सिङ्गै नेपाललाई आफ्नो ठान्ने नेपाली सोच र मान्यताको अन्त्य गर्दै जातिपिच्छेको बेग्लाबेग्लै राज्य खडा गर्न मान्छे भड्काइरहेका छन्। जनजातीय समुदायका केही मानिसलाई बेग्लै राज्य बनाउन उकास्ने र आर्य सम्प्रदायका मानिससँग जनजाति समुदायका केहीले आफूलाई हैरान बनाएको भन्दै तिनका विरुद्ध सडकमा उत्रन आग्रह गर्ने काम कुनै आङकाजीले नभई प्रचण्डले नै गरेका थिए। पृथ्वीनारायण शाह देशको रक्षा र विकासप्रति पूर्ण सचेत थिए। आमनेपालीलाई राष्ट्र रक्षाको संवेदनशीलता स्मरण भइरहोस् भन्नाका लागि उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए। परिपक्व कूटनीतिक चातुर्यले मात्र नेपालको रक्षा गर्न सक्ने यथार्थलाई पृथ्वीनारायणले स्थापनाकालमै महसुस गरेको तथ्य यसबाट स्पष्ट हुन्छ। नेपाल चार वर्ण छत्तीस जातको फूलबारी भएको सन्देश प्रवाहित गर्दा उनले सचेत गराउँदै भनेका छन्, ‘सबैलाई चेतना होस् (भया)।’ नेपालको मानचित्र जोगाइराख्ने हो दुई ठूला छिमेकी मुलुकसँग सम्बन्ध सन्तुलित एवम् समझदारीपूर्ण तुल्याइनुपर्ने र देशमा बसोबास गर्ने सबै जातजातिबीच सद्भावपूर्ण सम्बन्ध हुनैपर्ने मन्त्र पृथ्वीनारायण शाहले हामी सबै नेपालीलाई दिएका छन्। तर, प्रचण्डले दुवै छिमेकी मुलुकलाई चिढ्याउने, बिच्क्याउने र शदीयौँदेखि कायम रहिआएको द्विपक्षीय विश्वासमा डढेलो लगाउने काम गरेको तथ्य घामजत्तिकै छर्लङ्ग छ। प्रचण्डको आगमनसँगै नेपालको सार्वभौमिक स्वतन्त्रता, सार्वभौमिक अखण्डता, राष्ट्रिय एकता र सामाजिक सद्भाव चरम सङ्कटमा परेकोे महसुस हरेक नेपाली तथा नेपालका शुभचिन्तकले गरेका छन्। यसर्थमा पृथ्वीनारायण शाहको भूमिका टुक्रिएको भूभाग जोड्नु र जातीय सद्भाव कसिलो बनाउनुमा केन्द्रित थियो भने प्रचण्डको क्रियाकलाप एकात्मक राज्यलाई टुक्र्याउनु र जातीय सद्भाव बिथोल्नुमा सीमित छ भन्ने निष्कर्षमा पुग्न सकिन्छ। पृथ्वीनारायणले आफ्नो निजी स्वार्थका निम्ति देशलाई दाउमा राख्ने काम कहिल्यै गरेनन्, प्रचण्डहरूले जाबो सत्ता प्राप्तिका निम्ति विदेशीहरूसमक्ष आत्मसमर्पण गरेका अनेक तथ्य सार्वजनिक भइरहेका छन्।
गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल उपत्यकामाथि विजय प्राप्त गरिसकेपछि एकीकृत मुलुकको नाम गोरखा नै राख्न सक्थे, तर उनको दूरदर्शिताले त्यसो गर्न दिएन। गोरखा नामाकरण हुँदा उपत्यकावासीमा पर्न सक्ने भावनात्मक चोटप्रति संवेदनशील हुँदै उनले विश्वमा कहीँ नभएको दृष्टान्त प्रस्तुत गरी विजयीको होइन पराजित पक्षकै नाम यथावत् राखेर देश एकीकरण अभियान जारी राखे।
त्यसैगरी उपत्यकामा प्रचलित धर्म, संस्कृति र परम्पराको उच्च सम्मान गर्दै पृथ्वीनारायणले काठमाडौंको संस्कृति एवम् परम्पराको रक्षामा विशेष ध्यान पुर्यााए, कहीँ कुनै पनि प्रकारको हस्तक्षेप गरेनन्। यस सम्बन्धमा एउटा रोचक तथ्यको उल्लेख गर्नु सान्दर्भिक हुनसक्छ। काठमाडौंलाई राजधानी बनाएर शासन सञ्चालन गर्न थालेपछि एक दिन पृथ्वीनारायणसमक्ष एउटा उजुरी पर्योल काठमाडौंको एक गणेश मन्दिरमा बलि चढाइएको बारेमा। हिन्दू मान्यताअनुसार गणेशजीलाई बलि चढ्दैन, तर काठमाडौंको गणेश मन्दिरमा बलि दिने काम भयो। यस कुराको खबर बडामहाराजाधिराजसमक्ष एक उजुरीका रूपमा पुग्यो। त्यसरी उजुरी प्राप्त भएपछि उनले बुझ्ने काम गरे र बुझ्दा उक्त गणेश मन्दिरमा बलि दिने पुरानो परम्परा भएको तथ्य फेला पर्योा। त्यसपछि पृथ्वीनारायणले यो यहाँको मौलिक परम्परा भएकाले यथावत् गर्नू/गर्न दिनू भन्ने निर्णय सुनाए। सबैको धर्म, परम्परा र संस्कृतिको सम्मान गर्ने राजा पृथ्वीनारायण थिए भन्ने यसरी पनि बुझ्न सकिन्छ। तर, प्रचण्डहरूको काठमाडौं आगमनपछि उपत्यकामा सयौँ वर्षदेखि चलिआएको परम्परा र रीतिरिवाजलाई बिथोल्ने या निरुत्साहित गर्ने काम भयो। इन्द्रजात्रा र पशुपतिनाथ प्रकरणलाई दृष्टान्तका रूपमा लिन सकिन्छ। प्रचण्ड कुनै धर्म, परम्परा, संस्कृति एवम् रीतिरिवाज मान्दैनन् र जनता पनि आफूजस्तै नास्तिक बनून् भन्ने उनको चाहना देखिन्छ। आफ्नो चाहना र इच्छाबमोजिम राज्य सञ्चालन गर्ने सोच गैरप्रजातान्त्रिक एवम् अधिनायकवादी हो। पृथ्वीनारायण शाह एउटा राजा भएर पनि जनभावनालाई अति उच्च प्राथमिकता दिने गर्दथे।
पृथ्वीनारायण शाहमा युद्धकौशल थियो, उनी चतुर तथा साहसी र वीर पनि थिए। तर, आफ्नो मुलुकका जनतामा त्रासको भाव नरहोस् भन्ने उनको चाहना सदैव थियो। राज्य एकीकृत भइसकेपछि सम्बन्धित भूभागमा बसोबास गर्नेहरूलाई उनले आतङ्कित या त्रसित बनाएको कुनै घटना या सन्दर्भ इतिहासमा पढ्न पाइन्न। तर, प्रचण्डहरूले जङ्गलबाट सहरमा आइसकेपछि पनि आतङ्क र त्रासको स्थिति कायम राखेका छन्। भनेजस्तै नभए, नगरे या नमाने कसैलाई बाँकी नराखिने त उनी बेलाबेलामा भनिरहन्छन् नै, त्रिभुवन विश्वविद्यालयको प्राङ्गणमा उभिएर विद्यार्थीसमक्ष ‘स्कुल, कलेजलाई ब्यारेक बनाइने’ उद्घोषसम्म उनले गर्न भ्याए। मूल राजनीतिक प्रवाहमा सामेल भएको अभिनय गरे पनि प्रचण्डहरूले जनसाधारणमा त्रास र आतङ्क फैलाउने क्रम जारी राखेका छन्। सामान्य नागरिक या निर्वाहमुखी जीवन बिताइरहेका मानिसमा त्रास या आतङ्क फैलाउनु कुनै बहादुरी होइन। मानिस त्रसित र आतङ्कित त दन्त्यकथाका राक्षसले पनि तुल्याउँथे, राक्षससँग डराएर मानिस उसले जे भन्यो त्यही गर्थे तर त्यस्ता राक्षसमाथि सम्मान र विश्वासभाव भने कसैले राख्दैनथे। जङ्गलमा बस्ने ब्वाँसो या चितुवाले पनि कसैलाई आतङ्कित या त्रसित बनाउने क्षमता राख्छ तर कसैलाई आतङ्कित तुल्याएकै कारण तिनलाई महान् ठानिँदैन। राज्य पाएपछि पृथ्वीनारायणले सबै विश्वास, पे्रम र आस्था प्राप्त गर्ने प्रयास गरे, प्रचण्डको व्यवहार यसको ठीक विपरीत छ।
पृथ्वीनारायण शाहले निजी स्वार्थपूर्तिका लागि झुटो बोलेको या व्यवहार गरेको इतिहासमा पढ्न पाइन्न। देश एकीकरणका क्रममा लडाइँ लडेर प्राप्त हुने उपलब्धि झुटो बोली–व्यवहारबाटै प्राप्त हुने निश्चित भएको अवस्थामा मात्र पृथ्वीनारायणले झुटो बोलेका छन् जसरी महाभारतमा युद्ध जित्ने ठूलो उद्देश्यका लागि युधिष्ठरले झुट बोलेका थिए। पृथ्वीनारायणको जीवनमा पनि करिब त्यस्तै व्यवहार भएको देखिन्छ। तर, प्रचण्डले आफ्ना लागि र आफ्नै स्वार्थ रक्षाका निम्ति झुट बोल्ने र झुटो व्यवहार गर्ने जसरी गरिरहेका छन् ‘झुट’ आफैँले लज्जित हुनुपर्ने अवस्था आइसकेको छ।
समग्रमा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह एक देशभक्त, जनपे्रमी, दूरदर्शी, न्यायिक, इमानदार र वीर व्यक्ति थिए, जुन तत्त्वहरू प्रचण्डमा कम्तीमा पनि ०६९ चैत मसान्तसम्म देख्न पाइएको छैन। पृथ्वीनारायणसँग केही हदसम्म तुलना गर्न योग्य व्यक्ति श्री ३ जंगबहादुर राणा हुन् भन्न सकिने पर्याप्त आधार–तथ्यहरू छन्। त्यसपछि प्रजातन्त्रका प्रवर्तक बीपी कोइरालालाई कैयन अर्थमा महान् मान्न सकिएला। प्रचण्डले पृथ्वीनारायणसँग दाँजिएर यदि उनको कद होच्याउने धृष्टता गरेका होइनन् र आफैँलाई अग्लो देखाउन प्रयास गरेका हुन् भने त्यो हवाईजहाज चढेर पैंतीस हजार फिटमाथि पुगेपछि सगरमाथाभन्दा ६ हजार फिट अग्लो भएको आत्मरति लिनुजस्तै हो। पृथ्वीनारायणसँग दाँजिन चाहनेले योगदान पनि पुर्यानउन सक्नुपर्छ। पेट मात्र फुलाएर साँढेजत्रो देखिने भए हरेक पोखरीका भ्यागुताले अहिले पेटै मात्र फुलाइरहेका हुन्थे। घरबार छोडेर कपाल मुण्डन गर्दैमा कोही बुद्ध हुँदैनन्, गाँजा पिउँदैमा कोही शङ्कर बन्न सक्दैनन्, मुरली बजाएकै भरमा कोही कृष्ण बन्न सक्दैनन् र मानिसको हत्या गरेकै आधारमा नेपालमा अब कोही पृथ्वीनारायण शाह बन्न सक्दैनन्, व्याधापथमा हिँडेर बुद्धसँग दाँजिन खोज्नु भनेको हास्यव्यङ्ग्यको पात्र मात्र बन्नु हो भन्ने यथार्थबोध प्रचण्डमा होस्, नयाँ वर्ष २०७० प्रवेशको अवसरमा यही शुभकामना।

५ बैशाख २०७०, बिहीबार ०५:१७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

बुटवलमा २, चितवन र डडेल्धुरामा १-१ संक्रमितको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट आज बुटवलमा २, चितवन र डडेल्धुरामा एक-एक जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार..

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..