खिलराज अर्थात् आशाको अन्तिम त्यान्द्रो :: वीरेन्द्रमणि पौडेल

नेपाली राजनीति बद्नाम छ, सुगन्धित छैन, सबैलाई थाहा छ । स्वदेशमा बस्ने नेपालीलाई थाहा छ, विदेशमा पसिना बेच्ने नेपालीलाई थाहा छ, नेपाल र नेपाली जनतालाई माया गर्ने विदेशीलाई थाहा छ र नेपाल असफल राष्ट्रको रूपमा दर्ज भएको हेर्न चाहने कोही छ भने उसलाई पनि थाहा छ । राजनीतिक अवस्था प्रत्येक दिन कुनै व्यक्तिको रगतमा देखिएको मल्टिपल माइलोमा (एकप्रकारको घातक रक्तक्यान्सर) ले जसरी शरीरलाई जीर्ण बनाइरहेको हुन्छ त्यही ढङ्गले बिग्रिँदै गएको छर्लङ्गै देखिन्छ ।
दरबार हत्याकाण्ड भएकै कारण ज्ञानेन्द्रको टाउकोले श्रीपेच बोक्न पायो । पैसा बटुल्ने सौखका कारण व्यापारमा लागेका ज्ञानेन्द्रलाई बाल्यकालदेखि नै राजगद्दीमा बसाउने अभ्यास गराइएको थिएन, यद्यपि राजा त्रिभुवन देश छाडेर भाग्दा राणाहरूले तीनै वर्षको कलिलो उमेरमा ज्ञानेन्द्रको सानो टाउकोमा गहुँगो श्रीपेच थोपरिदिएका थिए । थुक लगाएर नोट गन्ने बानी परेका कुनै बेलाका नेपालका अधिराजकुमार ज्ञानेन्द्र स्वर्गीय राजा वीरेन्द्रको राजगद्दी र धन अपुतालीस्वरूप पाएपछि कुवाको भ्यागुतो समुद्रमा जाँदा अत्तालिएझैं अत्तालिए । एकातिर सम्पूर्ण राज्यसत्ताको शक्ति अर्कोतर्फ अथाह सम्पत्ति । मान्छेलाई मुख्य रूपमा मात लगाउने सत्ता, शक्ति र अथाह सम्पत्ति अपुतालीस्वरूप पाएपछि एक ढङ्गले ज्ञानेन्द्र महाराजको होसहवास् गुम भयो । होसै गुम भएका बखत उनले ०५९-६० साललाई २०१७ साल सम्झिन पुगे र मक्किएको हड्डी र खुम्चिएका छालासँग जेनतेन शरीरलाई लतारिरहेका वृद्ध तुलसी गिरी र कीर्तिनिधि विष्टजस्ता राजनीतिज्ञको सहयोग लिएर मुलुक हाँक्ने प्रयास गरे । जनाधार नभएका राजनीतिज्ञलाई सरकारमा ल्याउन हुँदैन भन्ने उनलाई थाहा थिएन । ज्यू–ज्यू र हजुर–हजुर भन्दै थुमथुम्याउँदै राज्य सञ्चालन गर्नुपथ्र्यो, तर भारतस“ग के खालको सम्बन्ध कसरी स्थापित गर्नुपर्छ– उनले जानेनन् । सिकेकै थिएनन् त्यसैले जान्ने कुरै थिएन, जानेनन् । ज्ञानेन्द्रले भारतलाई बिच्क्याए । संसद्वादी दलका नेताहरूलाई पनि चिढ्याए । माओवादी सशस्त्र युद्धमै थियो । माओवादीहरूले मालिकसँगै वार्ता गर्ने कुरा गरिरहेकै थिए । काङ्ग्रेस र एमालेहरू सडक–आन्दोलन र निवेदन लेखन प्रक्रियाद्वारा राजा ज्ञानेन्द्रसँग सत्ता माग्दै थिए । त्यति नै बेला ‘खतरनाक राजनीतिज्ञ’ गिरिजाप्रसाद कोइराला र ‘घमण्डी शासक’ ज्ञानेन्द्रबीचमा कसिलो टक्कर हुन गयो । ज्ञानेन्द्रले गिरिजालाई ‘कुशासनका प्रतीक’ भने । गिरिजाले ज्ञानेन्द्रलाई ‘राजसंस्था गए कहाँ जान्छौ ?’ भने । टक्कर कडा बन्दै गयो । एक दिन यस्तो आयो– त्यस दिन ज्ञानेन्द्रका सुरक्षाकर्मीले गिरिजाको खुइले टाउकोमा लट्ठी बजारे । गिरिजाप्रसाद नामको बूढो शरीर भुइँमा ढलेर बेहोसै भयो । त्यस घटनाले वृद्ध शरीरभित्रको मष्तिस्कमा रिसको बाढी नै आयो र उनले ‘राजतन्त्र’ फ्याँक्ने सङ्कल्प गरे । एमालेसँग मात्रै होइन अरू दल र माओवादीसँगसमेत अँगालो मारे र १२बुँदे सहमति गरेर स्वदेशी सहयोग र विदेशी आशीर्वाद तथा सहयोगमा गिरिजाप्रसादले ज्ञानेन्द्रलाई सत्ताबाट मात्रै ओरालेनन् लामो इतिहास बोकेको राजतन्त्र नै सखाप पारिदिए । शायद माओवादीले गिरिजालाई राजतन्त्र उन्मूलनपछिको नेपालको पहिलो राष्ट्रपति बनाउने आश्वासन दिएका थिए, तर गिरिजालाई राष्ट्रपति बनाइदिएनन् । राजनीतिक वृत्तमा आज पनि चर्चा छ– पखाला त निहुँ मात्रै हो, उनी राष्ट्रपति हुन नपाएको पिरले झोक्राएरै मरे । गिरिजाको भौतिक शरीर नेपालमा नरहेपछि कसैलाई मन परे वा नपरे पनि एक नम्बरका नेताको रूपमा प्रचण्ड देखापरे । तर, दुर्भाग्य † शासनसत्ता चलाउने मामलामा उनी कमसल देखापरे । नेपाल आर्मीको एउटा रुक्माङ्गद कटवाल नामका कर्मचारीसँग दोहोरी खेल्दा पराजित भएर रिसको झोंकमा राजीनामा दिएर सरकारबाट बाहिरिए । तीन महिनापछि स्वतः निवृत्त हुने कर्मचारीलाई स्वाभाविक रूपले जाने बाटो दिनुपथ्र्यो, तर प्रचण्ड सन्किएर अस्वाभाविक बाटो रोज्दै सहयात्रीको रूपमा सरकारमा रहेका अन्य दलहरूको सहमति पनि नलिई कुलबहादुर जर्साबलाई कार्यवाहक चिफ बनाएर रुक्माङ्गदलाई हटाए । कारणहरू थुप्रै होलान् प्रचण्डको निर्णय अस्वीकार गर्न, जे–जस्ता र जति कारण भए पनि राष्ट्रपति डा. रामवरण यादवले प्रचण्डको निर्णय कार्यान्वयन हुन दिएनन् । त्यही झोंकमा प्रचण्ड सत्ताबाट बाहिरिए ।
झोंकमा, रिसमा र सन्किएका बखत कुनै पनि निर्णय गर्न नहुने कुरा उनले सत्ता गुमाएपछि मात्रै चाल पाए । शुभचिन्तक र पार्टीका कतिपय नेता तथा कार्यकर्ताले सत्ता छाड्नु गल्ती थियो भन्ने टिप्पणी गरेपछि उनले पुनः सत्तामा उक्लन भरमग्दुर प्रयास गरे तर उनकै भाषामा भन्नुपर्दा ‘धेरै ढिला’ भइसकेको थियो । प्रचण्डको गल्तीले सत्ता फुत्किएपछि सत्ताको चाबी माधव नेपालको हातमा पुग्यो । माधव नेपालको फोटो पनि सिंहदरबारमा झुन्डियो । संविधान बनाउने पनि भन्दै गरियो । स्वाद चाख्नेले सत्ताको स्वाद लिँदै गर्ने विपक्षमा बस्नेहरू सत्ता खोस्न सबै खालका अस्त्र प्रयोग गर्ने सिलसिला जोडका तोडले चल्यो । समय बित्दै गयो । बीचमा रामचन्द्र पौडेलले पनि सिंहदरबारमा फोटो झुन्ड्याउन रहर गरेर न्वारानदेखिको बल लगाए तर सफल भएनन् । आफू प्रधानमन्त्री नबन्ने देखेपछि प्रचण्डले झलनाथ खनाललाई ‘चमत्कार’ देखाउने नाममा समर्थन गरेर सिंहदरबार छिराए । झलनाथको पनि एक थान फोटो सिंहदरबारको भित्तामा झुन्डियो । विदेशीको सहयोग पाएका भए तिनले अलि लामै समय प्रधानमन्त्रीको कुर्सीमा अडेस लाउन पाउने थिए होला, तर त्यो भाग्य तिनको निधारमा नलेखेकै देखियो । उनी सत्ताबाट एक प्रकारले लेखेटिए । एकीकृत नेकपा माओवादीभित्रको प्रचण्ड र वैद्य समूहबीचको टक्करका कारण ‘अचम्मको चिठ्ठा’ परेर डा. बाबुराम भट्टराई प्रधानमन्त्री बन्न पुगे । शान्ति र संविधान बनाउने प्रक्रिया चित्तबुझ्दो ढङ्गले अघि नबढे ४५ दिनमै राजीनामा दिन्छु भनेका बाबुरामले सत्तालाई लामै समय लतारे । काठमाडौंका सडक फराकिलो बनाउनेबाहेक उनी पनि ‘माखो’ नमारी बिदा भए । दलहरूबीच एक–आपसमा विश्वासको खडेरी पर्दा यतिबेला सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्का अध्यक्षको नाममा प्रधानमन्त्रीको कुर्सीमा बसेका छन्, बसाइएको छ र उनलाई संविधानसभाको पुनः निर्वाचन गराउने जिम्मेवारी दिइएको छ । नेपाली जनताले राजनीतिक दललाई विश्वास गरेर ०६४ साल चैत २८ गते बिहीबार दिनभरि चर्को घाममा सेकिएर लाइनमा बसेर भोट दिए । कसैले नयाँ पार्टी, जोस, जाँगर भएको, भड्किएर हिँडेको र राजनीतिको मूलधारमा आउने, जनताको मतमा विश्वास गर्ने ठानेर त्यतिबेलाको माओवादी पार्टीलाई भोट दिए । जे भए पनि पुरानो पार्टी हो भन्दै नेपाली काङ्ग्रेसलाई भोट दिए । कसैले एमालेलाई विश्वास गरेर उसैलाई भोट दिए । नेपाल मजदुर किसान पार्टी, मधेसवादी दल, राप्रपा, जनमोर्चा, मालेलगायतका दललाई लाटा, बाठा, सोझा, शिक्षित, अशिक्षित, इमानदार, भ्रष्टाचारी, दलाल, कमिशनखोर, उद्योगी, व्यापारी, किसान, डाक्टर, इन्जिनियर, पत्रकारलगायत मतदाता नामावलीमा नाम समावेश भएका सबै नेपालीले भोट दिए । नेपाली जनताले भोट खसाल्नुमा सबैको एउटै चाहना थियो– शान्ति र नयाँ संविधान । भोट खसाल्ने सम्पूर्ण नेपालीको सपना र चाहना राजनीतिक दलहरूले पूरा गर्न सकेनन् र बाध्यता बताएर प्रधानन्यायाधीशलाई गुहारे । अप्रत्यक्ष रूपमा दलहरू असफल भएको स्वीकार गर्दै निर्दलीय पाराको सरकार गठन गरे ।
निर्दलीय चुनावी सरकारको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश रेग्मीले इमानदारीपूर्वक निष्पक्ष निर्वाचन गराएर बिदा हुन्छु पनि भनेका छन् र त्यसका लागि सबै जिम्मेवार पक्षको सहयोगको पनि अपेक्षा गरेका छन् । उनले सहयोगको अपेक्षा गर्नु आफ्नो ठाउँमा ठीक छ तर एउटा सशक्त राजनीतिक शक्ति नेपाल कम्युनिस्ट पार्टी माओवादी र अन्य केही राजनीतिक दलले रेग्मी नेतृत्वको चुनावी सरकारलाई सीधै अस्वीकार गरेका छन् र भनेका छन्, ‘यो सरकार जनताको प्रतिनिधि सरकार होइन, हामी यो सरकार र यसले गराउने चुनावलाई मान्दैनौँ ।’ अवस्था छर्लङ्ग छ– रेग्मी नेतृत्वको सरकारलाई सोचेजस्तो सजिलो छैन निर्वाचन गराउन, तर यसअघिका सरकारभन्दा लचिलो भई रेग्मीले नेकपा–माओवादीलगायत अन्य दलहरू जो निर्वाचन बहिस्कार गर्न चाहन्छन् लाई सिंहदरबारमै निम्तो दिएर भेटघाटमार्फत चुनावमा भाग लिन अनुरोध बारम्बार गर्ने हो भने ती दललाई निर्वाचनमा भाग लिन जनदबाबसमेत पर्न सक्छ । जनताको भावना र चाहनाविपरीत कोही जान सक्दैन । जो जान्छ त्यसलाई जनताले अल्पकालीन वा दीर्घकालीन ढङ्गले पाखा लगादिन्छन् । तर, यदि रेग्मी नेतृत्वको सरकारले जसरी अघिल्ला दलका सरकारले जस्तै दम्भ प्रदर्शन गर्दै ‘आए आऊ नत्रभने हामी त हिँड्यौँ’ भनेको खण्डमा बहिष्कार गर्न तम्तयार परेर बसेका नेकपा माओवादीलगायतका दललाई बहिष्कार गर्न अझै चर्को ऊर्जा मिल्ने छ । यसबाट उस्तै परे निर्वाचन नहुन सक्छ भए पनि इतिहास बनिसकेको राजतन्त्रको अन्तिम राजा ज्ञानेन्द्रले ०५९ सालमा गराएको स्थानीय निर्वाचनजस्तै हुनेछ । त्यो खालको निर्वाचनको मान्यता न स्वदेशी जनताले दिन सक्छन् न विदेशी शुभचिन्तकले नै दिन सक्छन् । त्यसकारण यो खालको दयनीय राजनीतिक अवस्थाबीच राजनीतिक समस्या समाधानका लागि ल्याइएका, आएका प्रधानन्यायाधीश खिलराज रेग्मीका अगाडि दलहरूले समाधान गर्न नसकेका निर्वाचनलगायत हजारौँ हजार समस्याको चाङ उभिएका छन् । नेपाली जनताले ‘नहुनु मामाभन्दा कानो मामा निको’ भनेझैँ दलका प्रतिनिधिको नेतृत्व नभए पनि निर्वाचनको माध्यमबाटै नयाँ संविधानसभा गठनको चाहना राखेका हुँदा खिलराजलाई समस्या समाधानका लागि अन्तिम आशाको त्यान्द्रोको रूपमा लिएका छन् । खिलराज नामको आशाको त्यान्द्रो नचुँडिन उनले आफू कुनै पनि खालको विवादमा नमुछिएर निर्वाचनलाई एक मात्र गन्तव्य बनाएर अघि बढ्न सके, बहिष्कार गर्ने टुङ्गोमा पुगिसकेका दलहरूलाई निरन्तर मनाउने प्रयास गरिरहे र निर्वाचन नहुन्जेलसम्म जनताका आधारभूत आवश्यकता पूरा गर्ने, शान्तिसुरक्षा कायम गर्न कटिबद्ध रहने, आर्थिक भ्रष्टाचार नियन्त्रण गर्ने, योभन्दा बढी निर्वाचन स्वच्छ र शतप्रतिशत निष्पक्ष हुने प्रत्याभूति दिलाउने हो भने नेपालको इतिहासमा खिलराज रेग्मीलाई ‘सफल र इमानदार’ नेपाली नागरिकको रूपमा मानिनेछ । यदि खिलराज रेग्मी पनि निर्वाचनको मुख्य विषयलाई एकातिर पन्छाएर विगतका सरकारप्रमुखहरूजस्तै कार्यक्रम उद्घाटन गर्न कैँची हातमा लिएर रिबन खोज्दै हिँडे भने, नातावाद र कृपावादमा फसेर भाइ–भतिजालाई राजदूत बनाउन लागे भने, कर्मचारी सरुवा–बढुवामा अल्झिएर समय बिताए भने नेपाली जनताको आशाको अन्तिम त्यान्द्रोसमेत चुँडिने छ र यो त्यान्द्रो चुँडिनु भनेको मुलुकको भविष्य सोह्रैआना अन्धकारतर्फ बढ्नु हो । आशाको अन्तिम त्यान्द्रो नचुँडियोस् । खिलराज रेग्मीको सफलताका लागि शुभकामना ।

३ बैशाख २०७०, मंगलवार २३:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..