‘कुम्भमेला’ सावित नहोस् त्रिवेणीको भेला :: शिवजी श्रेष्ठ

करिब–करिब डेढ वर्ष आफ्नै काँधमा जुवा नारेर हलो जोतेका हली माधवकुमार नेपालले ‘बुढोगोरु’को उपाधि दिएको नेपाली काङ्गे्रसको महासमिति बैठक चलिरहेको सन्दर्भमा आफूलाई आफैंभित्र केलाउनुपर्ने भएको छ । भनिन्छ, नेपाली काङ्गे्रस राष्ट्रिय राजनीतिमा यति कमजोर कहिल्यै भएको थिएन । नेपाली काङ्गे्रसका सभापतिलाई प्रधानमन्त्रीमा प्रस्तावित गर्न लगाएर पछि उनैलाई अस्वीकार गर्दै बाधा अड्काउ फुकाउको नाममा गठन गरिएको प्रधानन्यायाधीशबाट काजमा आएर अध्यक्षता ग्रहण गरेका खिलराज रेग्मी मन्त्रिपरिषद्ले चुनावी मिति तय गर्नै लाग्दा भइरहेको नेपाली काङ्गे्रसको महासमिति बैठक सबैको चासोको विषय हुनसक्छ । कुनै दिन नेपाली राजनीतिको मियो मानिने नेपाली काङ्गे्रस आज राजनीतिक परिदृश्यको ‘साक्षी’को हैसियतमा मात्र छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिक जोडघटाउमा बारम्बार असफल हुँदै गइरहेको नेपाली काङ्गे्रस कतै असान्दर्भिक हुँदै जाने त होइन ? भन्ने त्रासबाट यसका कार्यकर्ता अनि शुभचिन्तकहरू गुज्रिरहेका छन् ।
वि.सं. २०१२ सालको वीरगञ्ज महाधिवेशनमा बीपी कोइरालाले पेस गर्नुभएको ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्तमा करिब आधा शताब्दीसम्म ‘कमा (,) र ‘पूर्णविराम (।)’ समेत परिवर्तन नगरी नेपाली काङ्गे्रस अनवरत अगाडि बढिरह्यो । जसै वि.सं. २०६३ को जनआन्दोलनसँगै ‘गणतन्त्र’ मात्र प्रवेश गरेको राजनीतिक परिवर्तनमा शब्द परिवर्तनबाहेक नेपाली काङ्गे्रस परिवर्तित सन्दर्भलाई लिएर जानेमा आफ्नै कार्यकर्तासम्म पनि पुग्न सकेन । काङ्ग्रेसका शीर्षस्थ नेताहरू समय परिवर्तन र सन्दर्भतिर लाग्नुभन्दा ‘बीपी यसो भन्नुहुन्थ्यो’, ‘बीपीको सपना यस्तो थियो’ भन्ने सीमाभन्दा बाहिर आउन सकेका छैनन् । नेपाली काङ्गे्रसको पार्टी कार्यालय, शीर्षस्थ नेताहरूका निवासमा हुने अव्यवस्थित भीड र नेताहरूका प्रस्तुतिबाटै सहजै अनुमान गर्न सकिन्छ– नेपाली काङ्गे्रस तथा यस पार्टीका नेतागण कति अव्यवस्थित छन् ? सायद, त्यसैको परिणति नै अहिलेको नेपाली काङ्गे्रसको हविगत हुनसक्छ । के नेपाली काङ्गे्रस मात्रै नभएर सिङ्गो देशकै भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने संविधानसभाको निर्वाचन तयारीको सम्मुखमा भइरहेको नेपाली काङ्गे्रसको महासमिति बैठकले यसको खोज, लेखाजोखा अनि निकासको खोजी गर्न सक्ला ?
नेपाली काङ्गे्रसको महासमितिको इतिहास हेर्ने हो भने यसले विशेष अवस्था र परिस्थितिमा नेपाली काङ्गे्रसलाई वैतरणी तारेको छ । जो देशको भविष्यसँगै जोडिएर गएको थियो । चाहे मातृका कोइराला प्रधानमन्त्री हुँदा देखिएको पार्टीभित्रको विकराल अवस्थामा आएको शशीभवन बैठक होस् वा ०४६ सालको परिवर्तनअघिको चाक्सीबारी महासमिति बैठक अनि टुट्नै लागेको बेला भएको ०४८ सालको कलवलगुडी बैठक । यी सबै नेपाली काङ्गे्रसलाई सबल बनाउन, बाटो देखाउन सफल बैठकहरू हुन् । के त्यो इतिहासलाई नेपाली काङ्गे्रसका नेता अनि कार्यकर्ताहरूले महसुस वा स्मरण गर्न सक्छन् ? अनि समसामयिक निर्णय गरेर सान्दर्भिक गोरेटो पहिल्याउन सक्छन् ? अथवा उही पुरानै पाराको ‘कुम्भ मेला’को रूपमै महासमिति बैठक परिणत भएर समापन हुन्छ यो महासमिति बैठक ?
नेपाली काङ्गे्रसका नेता तथा कार्यकर्ता अझै पनि उही श्री ३ जुद्ध शमशेरकालीन रोलवाला जर्नेल तथा त्यसका वरिपरि घुम्ने चाकडीवाज जागिरदारभन्दा पर पुग्न नसकेको अवस्था देखिन्छ । जो सिंहदरबार अगाडिको बगैँचामा रहेको आँपको बाङ्गो रूखलाई जुद्धशमशेरले ‘ऊ हेर त, कति सोझो रूख हगि ?’ भनेर सोध्दा ‘हो हजुर’मा नै सीमित छन् । यथार्थ र सामयिकताभन्दा नेताको भावना बुझेर बोल्न बाध्य छन् ती । जो यथार्थ कुरा बोल्न खोज्छन् ती ‘खै सरकार, मेरो गर्धन चिलाएको हो कि, रूख त सोझो देख्छु’ भन्ने अवस्थामा छन् । त्यसैले नेपाली काङ्गे्रस विधानमा भएको ‘प्रजातान्त्रिक समाजवाद’ होइन आँगनमा भेटिने ‘दाइवाद’बाट बढी प्रभावित अर्थात् निर्देशित छ । के यी प्रश्नहरू अहिले भइरहेको महासमिति बैठकमा उठे ? वा उठ्नेछन् ?
नेतामा रहेको अध्ययनहीनता, बोल्ड नेतृत्वको कमी, अझै भनौँ तदर्थवादी नेतृत्वको शैलीबारे प्रश्न उठ्ने छ के ‘बीपी यसो भन्नुहुन्थ्यो र बीपीको सपना’मै सीमित पङ्क्तिलाई स्पष्ट दृष्टिकोणसहितको प्रजातान्त्रिक समाजवादलाई युगसापेक्ष परिमार्जन र राष्ट्रिय परिस्थिति अनुकूल बनाई लागू गर्ने निर्णय गराउन समर्थन हुनेछ ? कुनै दिन पार्टीको निर्णय सशक्त लागू गराउन सक्ने निकायको रूपमा रहेका नेतृत्व जन्माउने भ्रातृ संस्थाहरू आज ‘छन् कि छैनन्’को अवस्थाबाट गुज्रिरहेका छन्, के तिनीहरूलाई ‘हस्तक्षेपमुक्त’ नेतृत्व विकासको थलो बनाउने निर्णय गर्न यो बैठक समर्थ हुनेछ ? विदेशमा गठन गरिएको नेपाली जनसम्पर्क समितिहरू मात्रै नेताहरूको विदेश भ्रमणको व्यवस्थापन गर्ने ट्राभल्स एजेन्सीजस्तै स्थान दिएर जिम्मेवारी नदिई उत्तरदायीविहीन अवस्थाबाट विदेशबाटै पार्टीलाई घचघच्याउन समर्थन संस्था बनाउने कुराहरू उठ्न सक्छन् ? अनि, पहिलो विश्व (युरोप अमेरिका)का समाजवादी पार्टीका नेताहरू जो राष्ट्रिय–अन्तर्राष्ट्रिय समस्याहरूमा व्यस्त रहँदारहँदै पनि सञ्चार आधुनिकीकरणको सदुपयोग गर्दै कार्यकर्ताहरूसँग सदा सम्पर्क रहन्छन्, समसामयिक हुन्छन् तर हाम्रा पार्टीका नेताहरू अझै पनि ‘मेरो छोरीलाई इमेल हेर्न आउँछ नि’ भन्ने अवस्थामै छन् । पार्टीको वेबसाइट रित्तो–रित्तो छ । के यस्तो अवस्थाबाट समसामयिकीरकण गर्न, गराउन यो बैठक समर्थ हुन सक्ला ? के वैदेशिक सम्बन्ध बलियो राख्न पार्टीगत अनि व्यक्तिगत रूपमा कमजोर देखिएको बारेमा कुनै महासमिति सदस्यले घचघच्याउन सक्ला ? नेताहरूले पनि अध्ययन गर्नुपर्छ, आर्थिक, राजनीतिक, वैदेशिक मामिलामा दखल राख्नुपर्छ, अनि कार्यकर्तालाई पनि सामाजिक रूपमा प्रशिक्षित गर्नुपर्छ भनेर कसैले ‘टेबुल’ गर्न सक्ला ?
सङ्घीयता, जातीय पहिचान, प्रदेश–क्षेत्रको नाममा भइरहेको राजनीतिक खिचातानीमा स्पष्ट दृष्टिकोण बनाउन सक्ला ? जातीय सङ्घीयतालाई स्वीकार्न पनि नसक्ने, अस्वीकार गरेको कुरा पनि भन्न हिच्किचाउने अवस्थाबाट मुक्ति पाउन सक्ला ? स्वर्गीय भीमबहादुर तामाङ नेतृत्वको समितिले बनाएको प्रतिवेदन ‘पहिचान भेटिने, जातीय द्वन्द्व मेटिने’ सङ्घीयतालाई आफ्नै हो भनेर अगाडि बढाउने निर्णय गर्न सक्ला ? सबैभन्दा महत्वपूर्ण कुरा ‘आगामी संविधानसभाको नेतृत्व किन नेपाली काङ्गे्रसले नै गर्नुपर्छ भन्ने कुराको नीति तय गर्न सक्ला ? त्यसरी नै आफैँलाई जोतेर ‘बुढोगोरु’ भन्ने माधव नेपालको आरोपको खण्डन गर्ने नीतिगत निर्णय गर्न सक्ला ? अर्थात् युवापुस्तालाई पर्याप्त रूपमा पार्टी अनि संविधानसभामा प्रतिनिधित्व गराउने निर्णय गर्न सक्ला ?
यी र यस्तै धेरै प्रश्नको जवाफ आजको नेपाली काङ्गे्रसबाट अपेक्षित छ । होइन सङ्घीयताको मामिलामा अल्मलिइरहने, बाह्रौँ अधिवेशन भएको अढाई वर्ष (सन् २०१० सेप्टेम्बर)सम्म पनि विधान पारित गर्न नसक्ने तदर्थवादबाट पार्टीलाई मुक्ति दिन नसक्ने हो भने महासमिति बैठकको औचित्य पुष्टि पनि गर्न सकिन्न । अनि, महासमिति बैठक नवलपरासीको त्रिवेणीमा लाग्ने कुम्भ मेलाजस्तै मात्र हुनेछ । यो कुरा नेताहरूले महसुस नगरे पनि युवा पुस्ताले गर्न सक्नुपर्छ । फेरि–फेरि आफैँलाई कुनै दिन जोत्ने हलीहरूले नेपाली काङ्गे्रसलाई ‘बुढोगोरु’ भन्न नसकून् ।

२८ चैत्र २०६९, बुधबार ०९:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत सक्रिय बनेको भन्दै..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..

ओली र प्रचण्डबीच छलफल जारी राख्ने सहमति

काठमाडौँ, २३ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’..

काँग्रेस महाधिवेशन फागुन ७ देखि १० सम्म हुने, यस्ता छन् अन्य कार्यतालिका

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फागुनमा हुने भएको छ । कोरोना भाइरसको संक्रमण कम गर्न लागू..

‘काँग्रेस जनताको म्याण्डेटअनुसार प्रतिपक्षमै बस्छ’

काठमाडौँ, २२ असार । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएकाले..