राजासहितको लोकतन्त्र पो दिन्छ कि अन्तिम निकास :: रमेश ग्रहण सिलवाल

पैसो नै छ महान् आज अरु केही होइन
मन–चित्तमा पैसो सबको अरु छँदै छैन
ठाउँ–कुठाउँमा लफडा छ यही पैसोले गर्दा
सुख–शान्ति कतै छैन धनदौलतमा पर्दा
भएभरका आकाङ्क्षामा पैसो सबलाई चाहिने
बाध्यतामा मात्र होइन, सधैं पैसो दाहिने
झगडाको बीउ पैसो अशान्तिको जड
जसरी नि कमाउनै छ ‘बढ अघि बढ’
शान–शौकतको भुमरीमा पैसो बन्छ नायक
पैसो ठूलो देख्नेहरु कहिल्यै हुन्नन् लायक !
दुनियाँको कुनै पनि कुनोमा जाउँ चर्चा–परिचर्चाको प्रथम विषय नै हुन्छ पैसा । नहुनेलाई कसरी कमाउँ, हुनेलाई कसरी जोगाउँ र अझै बढाउँ । पैसाकै पिरले मानिसको दिमाग खाएको छ । पैसाकै तनावले सामान्य माइगे्रनदेखि युद्धसम्म हुनु साधारण विषय भइरहेको छ । आपत्विपद्, षडयन्त्र, धोका, जालसँजी, हत्या, हिंसा के मात्र हुँदैन यसका कारणले ? आगोले पोलेको घाउ आगोमै सेकेर निको हुन्छ भनेझैं पैसाको तनावले सिर्जित समस्या पैसाबाट नै निराकरण हुने गर्दछ । संसारमा हरेक समस्याको जड कि त महिला हुन् कि पैसा हो भनिन्थ्यो, तर अब सबै समस्याको जड पैसा मात्र हुन पुगेको छ । मलाई पैसाले पुग्यो अथवा पुग्छ भन्ने मानिस अक्सर फेला पर्दैनन् । घरवार सारा त्यागेर जोगी भएकाहरु पनि पैसाको लागि दुई नम्बरी काम गर्दछन्, मौका परे ठग्छन् भनेपछि अब पैसाको महात्म्य कसरी वर्णन गर्नु ।
नेपालको आर्थिक–सामाजिक रुपान्तरण गर्ने, सबैलाई धनी अर्थात् समान बनाउने भनेर जनताको करोडौं ‘पिन्ट’ जनताको रगत बगिसकेको छ । सामन्तवादले जनतालाई हरिकङ्गाल बनायो, त्यसको मूल नाइके राजतन्त्र हो त्यस कारण गणतन्त्रमा नै जनता सर्वेसर्वा हुन्छन्, जनताको गरिबी समाप्त हुन्छ, जनतासँगै पैसा–पैसा हुन्छ अनि शान्ति हुन्छ भनियो । सोझा जनता ‘होला त नि, एकजना राजा फालेर हामी धनी हुन्छौं भने ठिकै छ नि’ भनेर गणतन्त्रको घोषणा जबर्जस्ती गरिँदा मौनधारण गरेर बसिदिए । यसो गर्दा नेपाली जनताले नै जनआन्दोलन मार्फत् राजतन्त्र हटाएको सन्देश प्रवाहित भयो । वास्तवमा त्यो यथार्थ भने होइन ।
खासमा नेपालको राजतन्त्र नेपाललाई अस्तव्यस्त तुल्याउने, असफल बनाउने र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुको स्वार्थ पपिरपूर्ति गर्ने केन्द्रको रुपमा विकसित गर्ने गुरुयोजनाअन्तर्गत हटाइएको थियो । आन्तरिक रुपमा नेपालमा राजतन्त्रको सान्दर्भिकता समाप्त भएको परिस्थितिलाई यावत् तौरतरिकाबाट प्रमाणित गर्न लगाइयो । आफैं राजा वा सोसरह बन्ने मौका पाइन्छ भने किन गणतन्त्रवाद नबन्ने भनेर नेपालका अधिकांश दल र तिनका नेताहरु सारा इतिहास, मूल्य–मान्यता र संभावनाहरुलाई तिलाञ्जली दिएर विशेष स्वार्थकेन्द्रित र महत्वकाङ्क्षी रणनीति अख्तियार गर्न तयार भए, कोही फसे र कोही फसाइए । गणतन्त्र आयो, अन्तरिम संविधानमा लिपिवद्ध भयो, राजा नारायणहिटी छाडेर नागार्जुन दरबारतिर लागे तर नेपाली झन् गरिब भए ।
नेपाली जनता सार्वभौमसत्तासम्पन्न छन् भनियो र संविधानसभाबाट नेपाल राष्ट्रको अमूल्य ऐतिहासिक पहिचान, जो विश्वमा एक मात्र हिन्दु राष्ट्रको थियो, त्यसलाई समाप्त पारियो जनप्रतिनिधिहरु मार्फत् नै । त्यतिले मात्र पुगेन, पुगेको छैन । अब रणनीतिकारहरु नेपालको सामाजिक–धार्मिक सद्भाव कसरी विथोल्न सकिन्छ र नेपालमा दीर्घकालिन समस्याहरुको बिजारोपन गर्न सकिन्छ भन्ने योजनामा तन–मन–धनका साथ लागिपरेका छन् । पैसाका खोलो बगाइरहेका छन् । पैसाको वर्षा पनि हुने, नेता पनि हुन पाइने लालचले अहिले जातीय मोर्चाहरु सक्रिय छन् । जातीय, क्षेत्रीय र केही धार्मिक मोर्चाका ती तथाकथित अगुवाहरु विभेदका कुरा उचाल्छन्, उत्पीडनका नारा घन्काउ“छन्, अन्याय र अत्याचारका गीतहरु गाउँछन् । हो न हो, सोझा–सरल जनजाति, आदिवासी, दलित, महिला, मुस्लिम र सिमान्तकृत समुदाय तिनकै बोलीमा लोली मिलाउन बाध्य बनाईदैछन् । संघीयता भनेको विकास हो, यसले सबैलाई धनी बनाउँछ, पैसापैसा फल्छ, आफ्नो जातको राज्य बन्छ त्यसपछि मौजैमोज हुन्छ भनेर अफवाह फैलाइदैछन् । संघीयता भनेको पहिचान हो, पहिचान भनेको आफ्नो जात हो भनेर दलालहरुले यति हल्ला पिटेका छन् कि सरोकारवालाहरु सबै भ्रम र अन्योलमा छन् । संघीयता र पहिचानका प्रखर पक्षपातीहरु मधेसकेन्द्रित नेताहरुको झुटा आश्वासन र गलत कार्यशैलीका कारण तराईका जनता यिनलाई चुनावमा आउँदा ठिक पार्नुपर्छ भन्दैछन् । डाँका नै पाल्नु छ भने सयवटाभन्दा एउटै डाँका पाल्नु बुद्धिमानी हो भन्दैछन्, ठाउँमा गएर बुझे हुन्छ ।
पहिचान हो विरुवाको सधैं हरियो पात
महिला पुरुष मात्र हुन्छन् संसारमा जात
फूलबारीमा फूलहरु सयौंथरि फुल्छन्
भेद गरे एउटालाई अरु सबै रुन्छन्
विकृतिको पहिरोलाई कोही–कसैले छुन्न
विभाजनको पाखण्डमा मानिस पर्नु हुन्न
धेरैथरि रगत यहाँ रङ्ग सबै रातो
हर मुटुलाई छोई हेर ती सबैछन् तातो
मानिसलाई छुट्याई हेर्ने कसैको छैन हक
वास्तविकता बुझीवरि सत्य कुरा बक !
वार्ता, वहस र छलफल ती विषयमा हुन्छन् जसमा केही सार्थकता होस् अर्थात् सकारात्मक संभावनाहरु होस्, केही फाइदा होस् । सिमानामा जनमत संग्रह भनेको नेपाल भारतको एउटा प्रान्त हो कि होइन भनेर बहस गरेजस्तै हो, त्यस विषयमा जनमत संग्रह गरे के हुन्छ ? संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता पनि नेपालको परिपे्रक्ष्यमा असान्दर्भिक भइसकेका छन् । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संघीयताको विषयमा सही अडान राख्ने हिम्मत गरे, धम्की पनि खाए तर गलेनन् । सबैलाई अखण्ड विकास क्षेत्र नभई नहुने, जिल्ला पनि अखण्ड चाहिने अनि संघीयता पनि चाहिने । अमृत र विष एकैपटक खाए के हुन्छ ? मेरिट प्रतिशत हिन्दु धर्मावलम्वीहरु रहेको नेपाल धर्मनिरपेक्षता हुँदा नेपाली जनता साहेै दुःखी भएका छन् । बाइबलमा उल्लेख छैन तर जीसस क्राइस्टले पनि केही समय हिमालयमा आएर तपस्या गरेका थिए भन्ने भनाई छ । गौतमबुद्धको जन्म हिन्दू पपरिवारमै भएको थियो । हिन्दु धर्म आफैंमा उदार र लोकतान्त्रिक धर्म हो । हिन्दु धर्मले कसैलाई पनि ‘शैतान’ भन्दैन । यो धर्म विश्वका सारा अन्य धर्महरुको जननी हो र नेपाल त्यसको उद्गमस्थल हो । त्यसकारण हिन्दु धर्म र नेपाल राष्ट्र एकअर्काका परिपूरक अर्थात् नङ र मासु हुन् । राप्रपा नेपालले लिएको हिन्दु राज्य हुनैपर्छ भन्ने अडानलाई सम्पूर्ण नेपालीले स्वागत गरेका छन् । अब नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएर विशेष गरी इसाई धर्म फैलाउन माहोल बनाउने डलर र युरोवादीहरुले लाज नमानीकन नेपाललाई पुनः हिन्दुराष्ट्र घोषणा गर्न भूमिका खेल्न थाल्नुपर्छ । नेपालको पहिचान मेटाएर हामीले ठूलो गल्ती गरेका छौं, अधर्म गरेछौं भन्ने आत्मबोध, पश्चाताप र आत्मालोचना गर्नुपर्दछ ।
आफ्नो पहिचान, मौलिकता र निर्णय क्षमतासमेत नेपाली जनताले गुमाउनुपर्छ नेपाली जनता वास्तवमा भित्रभित्रै आगो भएका छन् । त्यसमाथि उल्टै लगातार नेताहरुको कुतर्क र बहसले घिउ थप्ने काम गरिरहेको छ । ०६२÷०६३ को आन्दोलन प्रधानन्यायाधीशलाई प्रधानमन्त्री र पेन्सनवाललाई मन्त्री बनाउनको लागि भएको थिएन । राणा शासनको अन्त्य भयो भन्नेहरुले आज पनि चन्द्रशम्शेरकै दरवारबाट राज्य सञ्चालन गर्नु परिरहेको छ । स्वतन्त्र न्यायपालिका र कर्मचारीतन्त्र राजनीतिकरणको चरम चपेटामा पारिएको छ । मंसिरमा पनि नहुने संविधानसभाको चुनावलाई असारमै सम्पन्न गरिने ढोंग रचिएको छ । आफ्ना असफलतालाई ढाकछोप गर्न खिलराज रेग्मीलाई बलिको बोको बनाइए तापनि उल्टै चुनावी सरकार निर्माणकर्ताहरुलाई रेग्मीले भक्कूको राँगो बनाइदिने संभावनालाई नजरअन्दाज गर्न सकिँदैन । चुनाव मान्दैनौं यथास्थितिमा भन्नेहरुको पकड कमजोर छैन । उनीहरुलाई सहमतिमा ल्याइएन र सिन्डिकेट जारी रहेमा विस्फोटक अवस्थाको सूत्रपात नहोला भन्न सकिन्न ।
स्वतन्त्र छन् मानिस सबै आफ्नो गरी खान
विनाश ल्याउने प्रवृत्तिलाई जरैदेखि हान
शोषण र उत्पीडनलाई पन्छाएर हिँड
उन्नतिका तगरालाई समाएर गिंड
समानताका शत्रुलाई पहिचानले नै पोल्छ
समयक्रममा विद्रोहले सबको पोल खोल्छ
हरजीवनको रक्षा हुनु अधिकार हो जान
पीडा, कष्ट दिनेलाई एक–एक गरी छान
इतिहाससंगै वर्तमानले भविष्य खोज्दछ
तातो रगत उम्लेपछि विद्रोह रोज्दछ ।
हामी संक्रमणकालको क्लाइमेक्सतिर उन्मुख छौं । यतिबेला मुलुक नियमकानुनले होइन कि नेपाली जनताको संयम, धैर्य र विवेकले चलिरहेको छ । छिट्टै नै अब यो मुलुकमा नयां परिस्थिति जन्मने छ । मुलुक समाप्त भएको टुलुटुलु हेरेर बस्ने कि राजतन्त्रको पुनस्र्थापना गरेर मुलुकलाई फेरि सही बाटोमा हिंडाउने भन्ने अवस्था आउने निश्चित नै छ । यो बेथिति, बेरोजगारी, महंगी, मनपरितन्त्र, असुरक्षा, चरम विदेशी हस्तक्षेप आदिबाट मुक्ति पाउन र वास्तविक स्वाभिमानी नेपाली बन्न, इज्जतसाथ ‘नेपाली हुँ’ भन्न, स्वाधीन नेपालको वर्चश्व कायम राखी राख्न पनि अब सबै नेपाली एकजुट हुनुको विकल्प छैन । विश्वभरि छरिएका नेपाली नागरिक मात्र होइन हरेक राष्ट्रमा रहेका नेपाली मूलका नेपालीभाषी सारा जनता गोलबन्द हुनु अत्यावश्य भइसकेको छ । वास्तवमा आजको लडाइँ अखण्ड नेपाल चाहने र नचाहनेबीचको लडाइँ हो ।
भविष्य नेपाल र नेपालीको उज्यालो र संभावनायुक्त भए पनि यतिबेला दलीय भद्रगोलका कारण र नेताहरुको क्षणिक स्वार्थको सिकार भई मुलुक दयनीय अवस्थामा पुगेको छ । अहिले यो मुलुकमा के तन्त्र छ कसैलाई थाहा छैन । चाहे चुनाव होस् या नहोस् नेपालको अस्मितामाथि खेलबाड गरिरहेकाहरुलाई ठेगानामा राख्न पनि अब राजासहितको लोकतन्त्रको वास्तवमा विकल्प छैन । यतिखेर यो मुलुकमा न संविधान छ न वास्तविक लोकतन्त्र ।
खुला आकाश खुला जमिन खुला छ यो मन्त्र
जनताको आशा जगाउने एउटै हो लोकतन्त्र
मुखभरि बोली दिन्छ पेटभरि अन्न
पिरमर्का हरिदिन्छ दुनियाँ नै दङ्ग
भङ्ग हुन्छन् व्यथा सबै, मिलेर चलाउने
कथा सबै अन्त्य हुन्छ दबाएर दलाउने
सूर्यको किरणले झैं धप्धप् ज्योति छर्छ
अन्याय–अत्याचारहरु एक–एक गरी मर्छ
आउँदा नयाँ बिहानी त्यो लिएर गुरुमन्त्र
बाँच, बचाउ सबैलाई जय होस् लोकतन्त्र ।

१५ चैत्र २०६९, बिहीबार ०८:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

बढ्यो नेपालीको प्रतिव्यक्ति आय, पुग्यो १ हजार ९० डलर

काठमाडौँ, १९ असार । नेपाल निम्न आय भएको मूलुकको सूचीबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ । विश्व बैंकको पछिल्लो..

पुरुष उत्पीडन:हिंसाको चपेटामा पुरुषपनि

पछिल्लो समयमा समाजमा महिला भन्दा पुरुष हिंसा बढ्दै गएको कुरा समय समयमा बिभिन्न संघ संस्थाहरुले गरेका अध्धयनले..

नेकपा विवाद ः एकता जोगाउन पहल

प्रकाश सिलवाल, काठमाडौँ, १८ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहमा विवाद बढेपछि पार्टी..

काँग्रेसले भन्यो, ‘संसद अधिवेशन अन्त्य गर्नु प्रधानमन्त्रीको गैरजिम्मेवार कदम’

काठमाडौँ, १८ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद अधिवेशन अन्त्य गर्ने प्रधानमन्त्री केपी शर्मा..

राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रचण्ड

काठमाडौँ, १८ असार । नेकपाभित्र विवाद बढ्दै गएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपतिलाई भेट्न शितलनिवास..