खबरदार ! प्रचण्ड मधेसबाट चुनाव लड्ने षड्यन्त्र गर्दैछन्

अमरदीप मोक्तान  :: पुष्पकमल दाहाल उर्फ प्रचण्डले आउँदो चुनावमा मधेसबाट चुनाव लड्ने उदघोष गरेका छन् । उनको तयारी धनुषा जिल्ला क्षेत्रनं-५ को महेन्द्रनगरबाट चुनाव लड्ने रहेको बुझिन्छ भने मधेसबाट चुनाव जितेर मधेसको पक्षमा संघियतासहितको संविधान लेख्ने उद्घोष उनले गर्नुलाई षड्यन्त्रको अर्को अध्याय गर्न लागेको रुपमा व्याख्या गर्न थालिएको छ । पहाडी जनताको आफूविरुद्धको आक्रोश आक्रोशलाई बुझेर प्रचण्डले मधेसबाट चुनाव लड्ने उद्घोष गरेका हुन् । अर्थात्, प्रचण्डद्वारा पहाडी क्षेत्रबाट चुनाव लड्ने दुस्साहस नगर्नुको कारण पहाडी जनताले प्रचण्डलाई हराएर राम्रो शिक्षा दिने तयारी गरेको महसुस गर्न नै हो भन्न पनि सकिन्छ । यसपाली कथंकदाचित चुनाव भए माओवादीको उदगम स्थल मानिने मगरात क्षेत्रबाट एमाओवादी पार्टीको सफाया हुने निश्चित छ । त्यस क्षेत्रका जनता यतिसम्म आक्रोसित छन् कि त्यहाँ एमाओवादी उम्मेदवारले कुनै कार्यक्रम समेत गर्न सक्ने स्थितिमा छैनन् । पहाडबाट तिरस्कृत एमाओवादी तथा अध्यक्ष प्रचण्डले मधेसलाई रोजेर मधेसी जनतालाई मूर्ख बनाउन खोजेको हुन् ।
आज नेपालमा पैदा भएको अस्तव्यस्त स्थितिका मुख्य जिम्मेवार प्रचण्ड नै हुन् भन्दा अन्यथा हुने छैन । अन्तरिम संविधानलाई धुजाधुजा बनाउने तथा न्यायपालिकालाई समेत इतिहासमा कलंकित बनाउने योजनाकार प्रचण्डद्वारा मधेसबाट उम्मेदवारी दिने घोषणाबारे यत्ति मात्रै भन्न सकिन्छ कि पहाडको अनिष्टकारी ग्रह मधेसमा सर्ने भयो । झुटको पोको, बाचाका व्यापारी, विश्वास गर्नै नहुने पात्र प्रचण्डको मधेसबाट चुनाव लड्ने उद्घोषले पहाडी जनताले त शरिरको पीलो पन्छिने भयो भनेर हर्ष नै मनाउलान् । प्रचण्डको झुट र धोखाका कथा यति धेरै छन् कि जसको वर्णन गरिए एउटा ठूलो पुस्तकको निर्माण हुन सक्छ । कुरा फेर्न सिपालु प्रचण्ड पटक(पटक कुरा फेरेकोमा किन्चित पनि पश्चाताप बोध गर्दैनन् । भारतविरुद्ध सुरुङ्ग युद्ध गर्ने प्रचण्डको उद्घोष गर्दै भारतीय झण्डामाथि बुटले कुल्चेको पोष्टर छाप्ने माओवादी नै हुन् । १२ पटक सम्म मधेसवादी दलको बहिष्कारका कारण प्रधानमन्त्री बन्न नपाउँदा खिन्न भएर भारतलाई इंगित गर्दै विदेशी प्रभुले गर्दा पाइनँ भन्ने रुन्चे अभिव्यक्ति दिने प्रचण्ड नै हुन् । आजभोली नेपालका अन्य नेताको तुलनामा बढी भारतीयपरस्त देखिने नेता पनि प्रचण्ड नै हुन् भन्ने सर्वविदित् नै छ । नेपालको प्रधानमन्त्रीको रुपमा भारत भ्रमणको क्रममा भारतीय पत्रकारले प्रचण्डलाई भारतविरोधी किन भन्ने प्रश्न गर्दा प्रचण्डले सोझै नकार्दै “राम भारत अयोध्याको, सीता जनकपुर नेपालको हामी कसरी भारतको विरोधी हुन सक्छौं ?” भन्ने जवाफ दिएका थिए । नेपाल भारतको रोटी बेटीको सम्बन्ध छ भन्ने उनको बयानप्रति आश्चार्य प्रकट गर्दै प्रचण्डको बहुरुपीया चरित्र बारे लेख प्रकाशित भएका छन् । प्रचण्डलाई नेपाली जनताको प्रश्न छ, कपिलवस्तु, गौर नरसंहारको प्रतिवेदन किन सार्वजनिक भएन ? कसले त्यो प्रतिवेदन सार्वजनिक गर्न दिएनन् ? नेपाली जनता जान्न आतुर छन् । २०६३/०६४ पश्चात् हालसम्म विदेशी नागरिकलाई लाखौ नागरिकता दिने दुस्प्रयास गरेको कारण देखाउदै मधेशबाट चुनाव जित्ने आकांक्षा प्रचण्डले राखेका होलान् तर राष्ट्रघात गर्नेलाई कसैले पनि विश्वास गर्दैनन्, मनन गर्न जरुरी छ ।
मधेसी जनताले मनन गर्ने कुरा के हो भने प्रचण्डले कसलाई मात्र झुक्याएनन् ? सेरेमोनियल राजा बनाउछु भनि राजालाई झुक्याए, गिरिजाप्रसाद कोइराला, माधव नेपाललाई राष्ट्रपति बनाउछु भनि झुक्याए । आदिवासी, मधेसी, सुशील कोइरालालाई प्रधानमन्त्री बनाउछु भनि मुर्ख बनाए । कहिलेकाही आफू स्वयं पनि प्रधानमन्त्री हुने अभिव्यक्ति दिएर मौकामा चौका हान्ने प्रयास गरे । बाबुराम भट्टराईको बाहिर्गमनका लागि स्वतन्त्र व्यक्तिको नाममा संविधानसभा हत्याको वातावरण निर्माण गर्ने सर्वोच्चका मुख्य न्यायधिश खिलराज रेग्मीको नाम प्रस्ताव गरि कांग्रेस, एमालेलाई समेत घुँडा टेकाउदै अन्ततः खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाएर नै छाडे । प्रचण्डको कारण न्यायपालिका माथि कहिले नमेटिने कालो धव्बा लागेको छ । न्यायपालिकाको गरिमा तथा निष्ठालाई  इतिहासमा कलंकित बनाउन समेत चुकेनन् प्रचण्ड । नेपालको अन्तरिम संविधान धुजा-धुजा भई रद्दि कागजमा परिणत भएको छ र त्यसका मुख्य अभियुक्त र कारकतत्व पनि प्रचण्ड नै हुन् । हिन्दुका आराध्यदेव पशुपतिनाथ तथा भगवान् बुद्धको जन्म स्थल लुम्बिनीमा अतिक्रमण गर्ने दुस्साहसी पात्र प्रचण्ड नै हुन् । सञ्चार माध्यम को व्यापकताका कारण मधेसी जनता निश्चय पनि प्रचण्डको बहुरुपीया चरित्र देखि अवगत नै हुनु पर्दछ ।
मधेशबाट प्रचण्डद्वारा उम्मेदवारी दिने घोषणाको सन्दर्भमा मधेशी जनताले गम्भिर रुपमा मन्थन, चिन्तन गर्नु पर्ने देखिन्छ । पहाडले प्रचण्डपोषण गर्दा धेरै गुमाएका छन्, अब मधेशी जनताले गुमाउने हुन् वा जोगाउने हुन उनीहरुको हातमा छ । पशुमा स्याललाई धूर्त र चतुर भन्ने गरिन्छ, यदि नेपाल अधिराज्यमा स्याल जस्तै धूर्त र चतुर व्यक्ति चयन गर्न जनमत भए निश्चित रुपमा प्रचण्डको नाम अग्रपंक्तिमा हुनेछ ।
चुनावमा पूर्ण बहुमत प्राप्त नहुँदा त प्रचण्ड नेतृत्वको एमाओवादीले देशमा अराजकता मच्चाई ब्रह्मलुट गरेको दृष्य नेपाली जनताले अनुभुति गरेका छन् । यदि कथंकदाचित एमाओवादीद्वारा दुइ तिहाइ बहुमत प्राप्त गरे नेपालको स्थिति के होला सजिलै अनुमान लगाउन सकिन्छ । प्रचण्डद्वारा नेकपा एमालेबाट राजीनामा दिई बसेका रामचन्द्र झाको घरमै पुगी भेट गरेको समाचार सार्वजनिक भएको छ । सम्भवतः रामचन्द्र झा एमाओवादीमा प्रवेश गरेको समाचार सीघ्रातिसिघ्र नेपाली जनताले सुन्ने छन् । भारतीय नागरिकता काण्डमा मुछिएको रामचन्द्र झा पनि मधेशी जनता माझ दुधले नुहाएका नेताको श्रेणीमा पर्दैनन्, अशोक राईसंगै एमालेमा संघियता र पहिचानको आवाज उठाएर चर्चामा आएता पनि पछि गएर एमालेमै बसी अन्तरसंघषं गर्ने भनि दोहोरो चरित्र प्रदर्शन गरेका पात्र हुन् रामचन्द्र झा । पहाडी प्रचण्ड तथा मधेसका चतुर मानिने झा ब्राह्मणको मिलनले मधेसमा कस्तो चमत्कार देखाउने हो हेर्न बाँकी छ ।
प्रचण्डद्वारा मधेसबाट चुनाव जितेर मधेशको प्रतिनिधित्व गर्दै महत्वाकांक्षी राष्ट्रपति हुने इच्छाको बारे बिगतमा राष्ट्रपति बन्ने सपना हुँदाहुँदै भित्ते राष्ट्रपतिमा परिणत हुन पुगेको धङधङी मात्र हो । राष्ट्रपतिको पद त धेरै टाढाको कुरा हो प्रचण्ड एमाओवादी अध्यक्ष पद बाहेकका कुनै ठूलो पदमा आसिन हुने सम्भावना विल्कुलै नगन्य छ, तसर्थ प्रचण्डद्वारा राष्ट्रपतिको पद ताक्नु दिवास्वप्न बाहेक केही होइन ।
तसर्थ प्रचण्डद्वारा मधेसबाट उम्मेदवारी दिने कुराको सन्दर्भमा मधेसी जनता द्वारा प्रचण्डलाई स्वागत गर्ने, तिरस्कार गर्ने, माया गर्ने, विरोध गर्ने, विजय गराउने, पराजित गर्ने वा सचेत हुने मधेसी जनतामा निहित एवं विवेकमा निर्भर छ । अन्तमा, प्रचण्डको बोली फेर्ने फितलो चरित्रका आधारमा यो पनि भन्नैपर्ने हुन्छ कि मधेसबाट उम्मेदवारी दिने  प्रचण्डको घोषणा परिवर्तन पनि हुन सक्छ ।

११ चैत्र २०६९, आईतवार ०९:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत सक्रिय बनेको भन्दै..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..

ओली र प्रचण्डबीच छलफल जारी राख्ने सहमति

काठमाडौँ, २३ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’..

काँग्रेस महाधिवेशन फागुन ७ देखि १० सम्म हुने, यस्ता छन् अन्य कार्यतालिका

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फागुनमा हुने भएको छ । कोरोना भाइरसको संक्रमण कम गर्न लागू..

‘काँग्रेस जनताको म्याण्डेटअनुसार प्रतिपक्षमै बस्छ’

काठमाडौँ, २२ असार । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएकाले..