अब ‘ज्ञानेन्द्रपथ’ हुँदै चुनावी अभियानमा लागौँ :: रमेश ग्रहण सिलवाल

स्वतन्त्रता सबैलाई प्यारो लाग्छ । त्यसैकारण हामी अधिकार, कानुनी शासन, मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता आदिका कुरा गर्छाैं । प्रजातन्त्रको विकल्प हुँदैन भन्छौँ । आफ्नो चेतनाको स्तर र विवेक प्रयोग गरी सही ठानिएको कार्य सम्पन्न गर्नु नै वास्तवमा स्वतन्त्रता हो । कसैको पनि दबाब वा बन्धनमा परियो भने मानिसले स्वतन्त्रतापूर्वक कार्य गर्न सक्दैन । बाध्यतामा परेर गरिएको कार्यले उचित फल प्राप्त हुँदैन न त आत्मसन्तुष्टि नै मिल्दछ । जहाँ आत्मसन्तुष्टि भेटिँदैन त्यहाँ वास्तविक सफलता पनि हात लाग्दैन । यथार्थमा धनदौलतले सुख प्राप्त हुने होइन किनकि आत्मसन्तुष्टि भएन भने कुवेर पनि कङ्गालसरह हुन्छन् । फाइदा–बेफाइदा जे भए पनि आत्मसन्तुष्टि नै भविष्य र वर्तमान हो भन्दा फरक नपर्ला । सधैं जित्नैपर्ने मानसिकताले मानिस आत्मसन्तुष्टि प्राप्त गर्न नसकेर विक्षिप्त बन्न पुग्छ । चाहे सुकिलामुकिला होऊन् वा मैलाधैला, आत्मसन्तुष्टिलाई प्राथमिकता नदिने व्यक्ति महास्वार्थी बन्न पुग्छ । जब मानिस स्वार्थी बन्दछ उसलाई दया, माया, भावना, करुणा कुनै पनि कुराले छुँदैन । आफ्नो स्वार्थ पूरा गर्न नै उसको एक मात्र चाहना वा अभीष्ट हुन्छ र एकैछिनमा जसलाई पनि धोका दिन ऊ तयार भइदिन्छ ।
सद्भाव र सदाचार कायम राखेर आफ्नै मिहिनेतले महान् बनेका व्यक्तिहरूले पद, पैसा र पावरलाई भन्दा आत्मसन्तुष्टिलाई नै उपलब्धि ठान्ने गरेको ज्यादा पाइन्छ । अनुकूल, प्रतिकूल जस्तो परिस्थितिमा पनि सन्तोष लिन जान्ने कलाले मानिसलाई दीर्घजीवी बनाउँछ । अनावश्यक छटपटाहट वा कुण्ठित विचारले असन्तोष र हीनताबोध मात्र नबढी नानाथरीका रोगले पनि सताउँछ । त्यसैले आजको भौतिकवादी दुनिया“मा पवित्र आत्माहरूको खाँचो छ, सकारात्मक सोचहरूको आवश्यकता छ । देखावटी वा देखासिकी बलवान् हु“दै गएको आजको हाम्रो समाजमा स्वार्थहरू छरपष्ट छन् । सबै आफ्ना लागि बाँचेका छन् । आफूलाई अगुवा दाबी गर्नेहरूको नक्कली आडम्बर नै पे्ररणा बन्न पुग्नु नेपाली समाजका लागि अभिशापसिद्ध भएको छ ।
सामाजिक अवस्था
विविध जात–जाति, भाषा–भाषीहरू मिलेर बनेको नेपाली समाज आजभोलि निकै असहिष्णु र असहयोगी बन्न थालेको आभास हुन्छ । गाउँटोलमा कसैलाई दुःख–आपत् पर्दा पहिले–पहिले सहयोग गर्नेहरूको ताँती लाग्थ्यो । तर, आजभोलि रमिते बन्नेहरूको झुण्ड देखिन्छन् । उल्लेखनीय कार्यहरू नदेखे–नथापाएझैं गर्ने र नकारात्मक तथा बेफाइदाजनक कुराहरूमा डङ्का पिट्ने प्रवृत्ति हावी भएको छ । छानामा मन्दिर बनाएर पूजा गर्ने तर ढोकामा माग्न आएकालाई कुकुर लगाएर लखेट्ने प्रचलन पाइन्छ । सामाजिक संवेदना लगभग मृतप्रायः रहेको वर्तमानमा आ–आफ्नो जातिविशेष सङ्गठित भएर अन्य जातिको मानमर्दन गर्ने फेसन पनि चलेको छ । एक जातिले अर्को जातिलाई कुजातको देख्ने र जातीय अर्थात् साम्प्रदायिक कुण्ठा प्रदर्शन हुने गरेका छन् ।
अभावैअभावले ग्रस्त नेपाली समाजमा नकारात्मकता फैलाउनमा राजनीतिक दल र तिनका गधाजस्ता कार्यकर्ताहरू प्रमुख रूपले जिम्मेवार छन् । स–साना विषयलाई पनि राजनीतीकरण गर्ने, जातीय चस्मा लगाएर मूल्याङ्कन गर्ने प्रवृत्ति बढिरहेको छ । सदियौंदेखि सबै जातजाति मिलेर बसेको जिउँदाका जन्ती र मर्दाका मलामी ठानिने समाज अहिले घृणित राजनीतिका कारण जीवनमरणको दोसाँधमा पुगिसकेको छ । परिवर्तन, अग्रगमनको नाममा जातीय घृणा फैलाउने कुकर्म जारी छ । पहिचान र अधिकारको हौवा फिँजाएर एक जातिले अर्को जातिलाई निषेध गर्नुपर्छ भन्ने भावना मौलाउँदो छ । कमजोर चेतननास्तर भएका र अनपढ जमात विशेषगरी गलत शिक्षाका सिकार बनाइँदै छन् । चाहेर–नचाहेर, बुझेर–नबुझेर हामी नेपाली पहिला हौँ त्यसपछि मात्र अरू सबैथोक हौँ भन्ने बिर्सेका छौँ । आफ्नो धर्म, जात, संस्कृति र रीतिथिति निश्चिय पनि सबैलाई प्यारो हुन्छ । यिनै विविधतामा एकता नै नेपाली समाजको सम्पत्ति हुनुपर्छ । जान्ने–बुझ्ने, शिक्षित तप्काले सामाजिक एकताका
लागि अभूतपूर्व भूमिका खेल्न सक्दछ । तर, के यस्तो भइरहेको छ ? गणतन्त्रको आगमनपछि समाजमा सामन्तवाद झनै बढेर गएको छ, नयाँ–नयाँ शैलीमा सामन्ती सोच विकसित भइरहेका छन् । जो सामन्तवादको विरोध गर्छन्, उनीहरू नै महासामन्ती बन्न लालायित छन् र नवसामन्तवाद जन्माइरहेछन् ।
राजनीतिक वातावरण
चुस्त–दुरुस्त समाजले नै मुलुकको राजनीतिलाई ड्राइभ गरेर लानुपर्ने हो, तर नेपालमा राजनीतिले समाज ध्वस्त पारेको छ । अस्वाभाविक र नसुहाउँदा एजेण्डाहरू ल्याएर नेपाली–नेपालीबीचको सम्बन्धमा दरार पैदा गर्ने काम राजनीतिक दलहरूले गर्दै आइरहेका छन् । यस्तै हर्कतहरूले गर्दा दलहरूबीचमै अविश्वास र मनोमालिन्य बढेको हो । दलहरूले राष्ट्रिय स्वार्थलाई नै सर्वोपरि ठान्ने साहस नगर्नुको फल आज देश र जनताले मुटुमाथि ढुङ्गा राखेर भोग्नु परिरहेको छ । नेपालको पहिचान नै समाप्त पारेर धर्मनिरपेक्षता घोषणा गरिँदा महान् उपलब्धि ठान्नु परिरहेको छ । कुनै पनि कोणबाट स्वीकार्य नहुने सङ्घीयतालाई नेपाली जनताको बलिदानबाट प्राप्त उपलब्धि भनिँदै छ । नेताहरू गणतन्त्रको माला जप्दै आफैँ राजा बन्न थालेका छन् । दुई–चारजना नेताहरू भेला भएर मुलुकको भाग्य र भविष्यको फैसला गर्न अग्रसर भएका छन् । प्रजातान्त्रिक बहुदलीय शासन पद्धतिमा गैरराजनीतिक व्यक्तिलाई सत्ता सुम्पेर जग हँसाएका छन् । एउटा पागल पे्रमीले पे्रमिकालाई ‘तँ मेरी हुन्नस् भने अरूको पनि हुन दिन्नँ’ भनेर हत्या गरिदिएझैं दलहरूबीचको विश्वासको सङ्कटले कथित उपलब्धिहरू सबै धरापमा परेका छन् । अन्ततः नेपालका चार राजनीतिक दल ज्ञानेन्द्रपथमा आउन बाध्य भएका छन् ।
सबैभन्दा स्वतन्त्र र निष्पक्ष व्यक्ति मानेर खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउन पुगेका दलहरू अहिले नै आरोप–प्रत्यारोपमा उत्रिसकेका छन् । प्रधानन्यायाधीशलाई सबैभन्दा स्वतन्त्र व्यक्ति भनेर चुनावी सरकारको प्रमुख बनाउन लिट्टी कस्नेहरू मन्त्रिमण्डलमा आफ्ना कार्यकर्ता नियुक्त गर्न नपाएर विरोध जनाउँछन्, कति हास्यास्पद † अर्को कुरा कर्मचारीहरूबाटै विश्वसनीय राजनीतिक अपेक्षा गर्न सकिँदोरहेछ भने अब यो देशमा दलहरूको किन आवश्यकता प¥यो ? अब बहुदलीय पञ्चायती व्यवस्था भन्दा केको आपत्ति हुनुप¥यो ? कमल थापाको च्वाइसमा रेग्मी दुई वर्षअघि नै परेका थिए । अहिले आएर राष्ट्रपति र प्रचण्ड पनि रेग्मीलाई रोज्न विवश भए र अरू दलहरू पनि नतमस्तक हुन पुगे । कमल थापाहरूले अरू पनि थुपै्र कुरा विगतमा भनेका छन् । उनले नेपालले गणतन्त्र थेग्न सक्दैन भनेर स्पष्ट शब्दमा धेरैचोटि भनेका छन् जुन पुष्टि हुँदै गएको पनि छ ।
विद्यामान राजनीतिक महासङ्ग्राममा चुनावी चटारो आइलागेको छ । थुपै्र दल र पक्षहरूलाई खिलराजको चुनावी सरकार स्वीकार्य छैन । नेपाली जनतालाई खिलराज भए पनि दिलराज भए पनि मत खसाल्ने शुभ–अवसर चाहिएकै हो । यो यसकारण कि जनताको नाममा जति धोका दिइयो त्यसको स्पष्ट हिसाबकिताब चुनावमा हुनेछ । वर्तमान सङ्क्रमणकालमा चुनाव गर्नु–गराउनु आफैँमा फलामको च्यूरा चपाउनुसरह त छँदै छ । यदि समयमै चुनाव भयो र नेपाली समाजले फैसला गर्ने मौका पायो भने अविश्वसनीय परिणाम आउनेछ । अहिले हावी भएका अधिकांश नेताले चुनावमा बगाएको पैसा जनताले खाइदिनेछन् र भोटचाहिँ अर्कैलाई दिनेछन् । अब युवाहरूको जमाना आएको छ । सक्षम, इमानदार र निष्कलङ्क उम्मेदवारहरूले चुनाव जित्नुपर्छ । स्वतन्त्रता र समानताका पक्षधर नेपाली जनताले अब दल होइन व्यक्ति हेरेर भोट हाल्नेछन् । त्यसका लागि पनि चुनाव सकभर चाँडो हुनु अत्यावश्यक छ । त्यस्तै वर्तमान चुनावी सरकारप्रति असन्तुष्ट पक्षले पनि मुटु नै मिचेर सही चुनावमा जाने वातावरण बनाइदिए वेश हुने थियो । नहुनु भइसकेको छ र चुनाव पनि नहुने हो भने स्वतः ०१७ साल ब्युँतनेछ ।
मिडिया
सञ्चारजगत्लाई समाजको ऐना भनिन्छ । तर, स्वतन्त्र पे्रस समाज र देशको ऐनामात्र होइन, गहना पनि हो । नेपालको पछिल्लो प्रजातान्त्रिक आन्दोलनमा प्रेसले खेलेको भूमिका अतुलनीय छ । नेपाली पे्रस सशक्त हुँदै जाँदा ध्वंश चाहने स्वार्थी तत्वहरूलाई हुनसम्मको पीडा भएको छ । त्यसकारण पत्रकारमाथि आक्रमण हुनु यहाँ सामान्य कुरो भइसकेको छ । समाजमा भएका नकारात्मक वा सकारात्मक विषयवस्तुहरू पस्केर आमजनतालाई सुसूचित गर्ने र मार्गदर्शकको भूमिका निर्वाह गर्ने स्वतन्त्र पे्रस के आफैँमा आत्मनिर्भर र स्वतन्त्र छ त ? यो जटिल प्रश्न छ । नेपालमा एफएम रेडियो, टेलिभिजन च्यानल, पत्रपत्रिका, अनलाइनहरू गरेर हजारौँको सङ्ख्यामा क्रियाशील मिडिया छन् । तर, कसै न कसैको सहयोगबिना मिडिया सञ्चालन गर्न नेपालमा कठिन छ । त्यसकारण सम्बन्धित मिडियाको समाचार वा प्रस्तुतीकरण हेर्दै हामी अनुमान गर्न सक्छौँ त्यो सञ्चारमाध्यम कसको हितमा काम गर्दै छ । जतिसुकै व्यावसायिक र स्वतन्त्र भनिए पनि नेपाली पे्रस पूर्ण रूपमा स्वतन्त्र हुन सकेको छैन । मानिसहरू ढुक्कै भन्छन् फलानो पत्रिका फलानो पार्टीको अथवा नेताको हो । फलानो टीभी च्यानल फलानाको हो, फलानो एफएम रेडियो फलानोको हो आदि–इत्यादि । यस्तो हुनुको प्रमुख कारण आर्थिक परनिर्भरता हो । नेपाली पे्रस स्वतन्त्र हुन चाहन्छ तर कतै न कतै चुकिहाल्छ ।
विदेशी प्रभाव
नेपालको सामाजिक–राजनीतिक वातावरण बिथोलिनुको सबैभन्दा बढी भद्दा फाइदा अन्तर्राष्ट्रिय अवसरवादीहरूले लिइरहेका छन् । सीधासाधा, गरिब नेपाली जनतालाई प्रलोभनमा पारेर धर्म परिवर्तन गराइरहेका छन् । यही मौका पारेर जङ्गेपिलरहरू धमाधम सिमानामा उखेलेर फालिँदै छन् । नेपालमा असाध्य डरछेरुवा नेताहरू छन् भन्ने उनीहरूलाई राम्रो जानकारी छ । यहाँको अस्तव्यस्तता र सङ्क्रमणको फाइदा उठाएर नेपाली–नेपालीबीच लडन्त–भिडन्त मच्चाएर गृहयुद्ध झोस्न पाए नेपाललाई अफगानस्तान बनाउन सकिन्थ्यो भनी लागेका बाह्य शक्तिको चलखेल बढ्दो छ । छिमेकीलगायत पश्चिमाहरूको चलखेल बढेबाट चीनले पनि आफ्नो जासुसी सञ्जाल वरिपरि विकसित गरिसकेको चर्चा छ ।
अन्त्यमा, सबै असन्तुष्टि, खतरा, षड्यन्त्रका बाबजुद हामी सबै नेपाली एकजुट हुनुको विकल्प छैन । हामीलाई चाहिने सद्भाव र सहयोग विदेशीहरूबाट हामीलाई चाहिनेभन्दा बढी प्राप्त भइसकेको छ । त्यसका लागि हार्दिक धन्यवाद दिँदै अब नेपालको विकास र जनताको समृद्धिका लागि छातीमा हात राखेर सोच्ने कर्म गर्नैपर्छ । राजनीतिक स्थिरताका लागि सबै सरोकारवालाहरूले सङ्कल्प गर्नुपर्छ । यसका लागि सबै आग्रह–पूर्वाग्रह बिर्सेर चुनावमा जान कटिबद्ध होऔँ । राष्ट्रिय अस्मिताको रक्षा गर्ने अभिभारा नेपाली जनताकै हो । आत्मसम्मान र आत्मसन्तुष्टिका लागि पनि अब यो सङ्क्रमणकाललाई हामीले सकभर छिटो बिदा गर्नैपर्छ ।

७ चैत्र २०६९, बुधबार ०९:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत सक्रिय बनेको भन्दै..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..

ओली र प्रचण्डबीच छलफल जारी राख्ने सहमति

काठमाडौँ, २३ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’..

काँग्रेस महाधिवेशन फागुन ७ देखि १० सम्म हुने, यस्ता छन् अन्य कार्यतालिका

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फागुनमा हुने भएको छ । कोरोना भाइरसको संक्रमण कम गर्न लागू..

‘काँग्रेस जनताको म्याण्डेटअनुसार प्रतिपक्षमै बस्छ’

काठमाडौँ, २२ असार । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएकाले..