सबैभन्दा ठूलो भ्रम :: देवप्रकाश त्रिपाठी

भ्रम एउटा यस्तो सत्य हो जसको व्यापकता ब्रह्माण्डव्यापी छ र पृथ्वीका कुनै पनि प्राणी कुनै न कुनै प्रकारको भ्रममा बाँचिरहेका हुन्छन् । सर्वाधिक बुद्धिमान् र विवेकवान् मानिएको मानवसमेत भ्रममुक्त हुन सकेका छैनन्, यहाँ त त्यसैको सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।
हरेक मानिसलाई आफू धर्तीमा पैदा भएको र एक न एक दिन मर्नुपर्छ भन्ने जानकारी हुँदाहुँदै पनि कुनै पनि व्यक्ति आफ्नो मरणको कल्पना गर्न सक्दैन, चाहँदैन । व्यक्तिलाई आफू धर्तीमा आउने पहिलो व्यक्ति नभएको जानकारी हुन्छ, तर सोच र व्यवहार उक्त सत्य जानकारी भएजस्तो हुन्न, बरु आफू नै पृथ्वीमा आउने पहिलो व्यक्ति र पृथ्वी ध्वस्त भए पनि आफूचाहिँ बाँचिरहने हुँ कि जस्तो व्यवहार व्यक्तिबाट प्रस्तुत भइरहेको हुन्छ ।
मानव सृष्टि र पछिल्लो विकासक्रमलाई मात्र दृष्टिगत गर्ने हो भने मानिसले हजारौँ वर्ष सूर्य घुम्छ, पृथ्वी स्थिर र चेप्टो छ भन्ने भ्रममा बिताए । बेथा–बिरामी लाग्दा तन्त्रमन्त्रबाट ठीक हुने भ्रममा पनि मानिसले हजारौँ वर्ष बिताए, अझै बिताउँदै छन् । आफूले देखेको या बुझेको मात्र सही भन्ने भ्रम पनि मानिसमा रहन्छ । आफूबराबर महत्वपूर्ण धर्तीमा अरू कोही र अन्य कुनै नभएको भ्रम पनि मानिसमा हुन्छ । पदीय उचाइमा पुग्दा आफू अग्लिएको ठान्ने र पदमा नरहेकाहरू भुइँमान्छे हुन् भन्ने भ्रमले पनि मानिसलाई गाँजेको हुन्छ । सिद्धान्त र विचारको भ्रम अर्को त्यस्तो ‘सत्य’ हो जसबाट मुक्त रहेर सोच्न मानिसलाई निकै मुस्किल हुन्छ । हिगल, कान्ट र जिन ज्याक रुसोदेखि माक्र्स, लेनिन र माओसम्मले प्रतिवादन गरेको सिद्धान्त नै सही भएको भ्रम पनि मानिसले पालेका हुन् र अझै पाल्दै छन् । ठोस देखिने पृथ्वी एउटा ग्यासको पिण्ड मात्रै हो भन्ने तत्वज्ञानबोध धेरै मानिसमा देखिँदैन र बोध हुनेहरू पनि तद्अनुरूपको सोचविचार गर्दैनन् । म ठीक, मैले अङ्गीकार गरेको विचार, सिद्धान्त सही, मैले बोलेको ठीक, मेरो व्यवहार जायज र मैले देख्न खोजेको भविष्य मात्र उपयुक्त भन्ने मनोविज्ञानबाट आममानिस ग्रसित छन् । यदि मानिसमा यसप्रकारको भ्रम हुँदैनथ्यो भने मानिस मर्ने–मारिने युद्धबाट समस्याको समाधान हुने र एकपटक आफूले स्थापित गरेको मूल्य, मान्यता, नियम, कानुन, संविधान र परम्पराअनुरूप नै संसार चल्छ, चलिरहन्छ भन्ने सोच सायदै मानिसमा पैदा हुने थियो । प्रकृति परिवर्तनशील छ, सृष्टिका सबै तत्व परिवर्तनशील छन्, समाज परिवर्तनशील छ, तर मानिस आफूले स्थापित गरेको ‘परम्परा’ अपरिवर्तनीय तुल्याउन– बनाउन उद्यत् रहन्छन् । प्राकृतिक परिवर्तनको गति मानव गणनामा सुस्त र विलम्बयुक्त हुन्छ, त्यसैले प्रकृतिसँग निकट रहेर स्थापित गरिने मूल्य–मान्यताहरू पनि अलिक टिकाउ हुन्छन् । प्रकृतिलाई चुनौती दिँदै स्थापना गर्न खोजिएका कुनै पनि प्रयास यसर्थमा अस्थायी र दीर्घकालिक हुन सक्दैनन् । मानिस स्वतन्त्र रहन चाहन्छन्, स्वतन्त्र अभिव्यक्ति मानवीय गुण हो, परिवर्तनको चाहना मानिसमा अनिवार्य रूपमा रहन्छ । त्यसैले राजनीतिमा प्रजातान्त्रिक प्रणालीको परिकल्पना गरिँदा प्रकृतिसँग निकट रहन खोजेको देखिन्छ । एउटा व्यक्ति या समूहको शासनसत्ता रहिरहनु या रहने कल्पना गर्नु अप्राकृतिक किन हो भने त्यसले स्वाभाविक ढङ्गले मानवमा रहने परिवर्तनको चाहनालाई आत्मसात् गर्न सक्दैन । प्रजातान्त्रिक पद्धतिले मानिसको परिवर्तन चाहने प्राकृतिक गुणलाई आत्मसात् गरेको छ र परिवर्तनलाई सुनिश्चित एवम् व्यवस्थित गर्ने काम प्रजातन्त्रले गर्दछ । विश्वमा प्रजातान्त्रिक प्रणाली दिगो एवम् बहुस्वीकार्य हुँदै जानु र अन्य कुनै पनि प्रकारका अवधारणा अल्पायु हुनुको कारण पनि यही नै हुनुपर्छ । यस्तो सत्यलाई बुझ्न नसक्ने या नचाहने मानिसबाट संसारलाई सधैँ सास्ती र पीडा मात्र मिल्ने गरेको छ, नेपाली मानिसले दीर्घकालदेखि एकै प्रकारको सास्ती र पीडा व्यहोरिरहन पर्नुको कारण पनि यही हुनुपर्छ ।
कैयन मानिस धनलाई सर्ववस्तु ठान्दछन् भने कैयन मानिस नामलाई । कोही नाम राख्नुमा गौरव महसुस गर्छन्, कोही पदीय शक्ति आर्जनलाई महान् तथा सही कार्य ठान्छन् भने कतिपयचाहिँ नाम स्थापित हुनु–गर्नुलाई शक्ति ठान्छन् । धन जो आफ्नो थिएन, आफ्नो रहँदैन र अहिले आफ्नो दाबी गरिएका कुनै पनि वस्तु भोलि अरू कसैको हुनसक्छ र यही क्रम आदि–अनादि कालदेखि चलिआएको छ र चलिरहनेछ भन्ने सत्यको हेक्का धनपे्रमीहरूमा देखिन्न । त्यस्तै नामका प्याराहरूमा आफूलाई प्राप्त नाम नै आफू भएको भ्रम रहन्छ । जति उफ्रिएर नाम फैलाए पनि त्यो अनन्तकालसम्म जीवित रहन सक्दैन भन्ने कुराको या त मानिस हेक्का राख्दैनन् या त्यस्तो सत्यप्रति सचेत हुँदैनन् । पदीय शक्तिका पुजारीहरू सदा शक्तिको मात्र स्तुति गर्छन् र शक्तिशालीको पूजा गर्दै शक्ति आर्जन गर्न सक्दा लालयित रहन्छन् । पद जो मानिस होइन, तर पदमा पुग्ने व्यक्ति आफूलाई ‘पद’ ठान्न थाल्छन् या पदलाई नै आफू ठान्न थाल्छन् । त्यसैले जीवनभर कुनै न कुनै तह या स्तरको पद झुन्ड्याइरहन त्यस्ता मानिसहरू चाहन्छन् ।
सत्य जान्न चाहने तर त्यसअनुरूपको सोच–व्यवहार प्रस्तुत गर्न नसक्ने मानिसको सङ्ख्या यतिबेला साढे सात अर्ब पुगेको छ र यसमा घटबढ भइरहने क्रम अनादिकालदेखि जारी छ । तर, यहाँ एउटा त्यस्तो भ्रमको चर्चा गर्न खोजिएको छ जुन भ्रमबारे प्रश्न मात्र उठाउनुलाई पनि मानिस नाजायज, अनुपयुक्त र गलत या पागलपन देख्न, ठान्न सक्छन्– त्यो हो समयको स्थिरता । हामी सबै मानिस समय आइरहेको, बितिरहेको या समय परिवर्तन भइरहेको ठान्दछौँ । समय स्थिर रहेको, बरु बाँकी सबै तत्वहरू आइरहेको, गइरहेको या परिवर्तन भइरहेको बुझ्न या त्यस्तो सत्य स्वीकार गर्न हामी कोही पनि तयार छैनौँ । कुनै तत्व या वस्तु पैदा हुनु र त्यसको नास हुनुबीचको अन्तराल समय होइन, यदि अन्तराललाई समय मान्ने हो भने त्यसको गणना सर्वमान्य हुनै सक्दैन । हाम्रो गणनाअनुसार १५ वर्ष उमेरका कुनै बालकले समय आइरहेको (भ्रमपूर्ण) ठान्न सक्छ भने ठीक त्यति नै बेला एउटा ७५ वर्षीय वृद्धले समय गइरहेको या गइसकेको ठानिरहेको हुन्छ । ठीक एकै समयमा दुई पात्रले बनाएको धारणा या त्यसअनुरूपको अभिव्यक्ति परस्पर विपरीत छन् । एउटाले समय गएको ठान्छ अनि अर्कोले त्यही मिति बिन्दुमा उभिएर समय आइरहेको देख्छ । ती दुवै प्रवृत्तिले समयलाई केन्द्रमा राखेर धारणा बनाएजस्तो त देखिन्छ, तर वास्तवमा उनीहरूले समयलाई होइन आफैंलाई केन्द्रमा राखेर धारणा बनाएका हुन् । अन्तराल र समयबीचको भेद खुट्याउने क्षमता सामान्य मानिसमा हुन सक्दैन । मानिस जन्मनु र मर्नुबीच एउटा अन्तराल हुनसक्छ, बिरुवा उम्रिनु र सुक्नुबीच पनि एउटा अन्तरालको अस्तित्व हुन्छ । कुनै वस्तुको उत्पत्ति हुनु र त्यसको नास हुनुका बीचको अवधिलाई पनि अन्तरालका रूपमा बुझ्न सकिन्छ । तर, यी सबै वस्तु केन्द्रित अवधारणा हुन् । ब्रह्माण्डका कुनै पनि तत्व या वस्तुबाट मुक्त भएर अनुभूत गरिँदा मात्र समयलाई अनुभूत गर्न सकिन्छ जुन स्थायी र निर्गुण निर्विकार हुन्छ । सूर्य या पृथ्वी उत्पत्तिको अन्तराल गणना गरेर हामी यति वर्ष या युग भन्न सक्छौँ, तर सूर्य, पृथ्वी, चन्द्रमा र ताराहरू तथा आफ्नै अस्तित्वलाई समेत एकैक्षणका लागि भए पनि बिर्सिएर अनुभूत गर्ने हो भने त्यहाँ एउटा अथाह रिक्तता महसुस गर्न सकिन्छ जुन स्थिर हुन्छ त्यो नै समय हो । हामीले समयलाई आइरहेको, गइरहेको या परिवर्तन भइरहेको ठान्नु भनेको रेलमा यात्रा गर्ने मानिसले वरिपरिका रूख, घर या पहाड नै कुदिरहेको देख्नुजस्तै हो । भ्रमहरूको चाङ लगाएर उभिएका हामी मानिसका लागि सम्भवतः सबैभन्दा ठूलो भ्रम पनि यही नै हो, जहाँ समयलाई ‘स्थिर’ बुझिँदैन, आएको, गएको या परिवर्तन भएको रूपमा मात्र बुझिन्छ ।

१६ फाल्गुन २०६९, बुधबार १९:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत सक्रिय बनेको भन्दै..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..

ओली र प्रचण्डबीच छलफल जारी राख्ने सहमति

काठमाडौँ, २३ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’..

काँग्रेस महाधिवेशन फागुन ७ देखि १० सम्म हुने, यस्ता छन् अन्य कार्यतालिका

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फागुनमा हुने भएको छ । कोरोना भाइरसको संक्रमण कम गर्न लागू..

‘काँग्रेस जनताको म्याण्डेटअनुसार प्रतिपक्षमै बस्छ’

काठमाडौँ, २२ असार । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएकाले..