भारत र चीन : नेपालसँग को नजिक को टाढा ? :: वीरेन्द्रमणि पौडेल

सन् १९५५ मा नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता लिएपछि यो मुलुकको संबन्ध संसारका प्रायः सबै मुलुकहरुसँग गाँसियो । सन् १९५५ पछि संसारका मुलुकहरुसँग सम्बन्ध त गाँसियो तर जति घनिष्ट र नजिकको सम्बन्ध छिमेकी भारत र चीनसँग गाँसियो त्यसको तुलनामा अरु देशसँगको सम्बन्ध एक प्रकारले पातलै रहन गयो । सत्तरीको दशक प्रारम्भ हुँदा देखि नेपालले संसारका विभिन्न मुलुकसँग दौत्यसम्बन्ध गाँस्ने क्रम चलायो । जुनजुन राष्ट्रसँग दौत्य सम्बन्ध स्थापित भयो ती मुलुकमा नेपालले राजदूतावास खोलेर राजदूतको रुपमा आफ्नो प्रतिनिधि राख्न शुरु गरयोभने अन्य मुलुकले पनि नेपालमा राजदूतावास सञ्चालन गरेर आफ्ना प्रतिनिधिहरु राख्न थाले । दौत्य सम्बन्ध स्थापना भएका मुलुकहरुसँग नेपालले विभिन्न प्रकारका सहयोगको आदानप्रदान प्रक्रिया समेत अगाडि बढायो । तर संसारका जतिसुकै मुलुकसँग नाता गाँसेपनि असरदार नातासम्बन्ध भने दुई छिमेकी मुलुक भारत र चीनसँग नै रहन गएको देखियो त्यसमा पनि सिधा सम्पर्क भारतसँग र छड्के सम्पर्क चीनसँग रहन गयो । 
भारतसँग नेपालको के कस्तो रुप र आवरणमा सम्बन्ध स्थापित छ ? चीनसँग सीमाना जोडिएपनि किन असरदार र सिधा सम्पर्क सम्बन्ध भएन ? बुँदागत रुपमा ब्याख्या गर्दा उपयुक्त हुने ठानिएकोले चर्चा गर्ने जमर्को गरिएको छ ।
१. खुला सीमाना र बन्द सीमाना :
लामो समय अघिदेखि चीन र नेपाल बीच उत्तरतर्फ एक तातो पानी नाका मात्र खुला छ । बढीसेबढी नेपालीहरु चीनको खासा बजारसम्म मात्र आउने जाने गर्छन् । त्यसभन्दा परजान नेपालीलाई अनुमति छैन भने चीनियाँहरु भिसा लिएर मात्र नेपाल प्रवेश गर्न सक्छन् । एक प्रकारले चीनसँग नेपालको जमिन जोडिएपनि आवतजावतका लागि भिसा नै चाहिने हुँदा नेपाली जनता र चीनियाँ जनता बीच मानवताका हिसाबले सौहाद्र्धपूर्ण सम्बन्ध भएपनि प्रत्यक्ष भेटघाट, कुराकानी, सुखदुख बाँड्ने काम भएको छैन । यो अवस्थालाई नेपाल र चीनवीचको सीमाना बन्दै छ भन्दा हुन्छ भने भारतसँग जोडिएको पूर्व, पश्चिम र दक्षिण सीमाना ( करिब १६ सय किलोमिटर) खुला छ । खुला सीमानाका कारण नेपालीहरु भारत जान्छन् र भारतीयहरु नेपाल आउँछन् ।
२. साठीलाख नेपालीको भारत बसाई :
सन् १९५० को नेपाल भारतबीचको मैत्रीपूर्ण सन्धीलाई आधार मानेर नेपालीहरुको करिब साठीलाख जनसंख्या भारतमा विभिन्न पेशामा अवद्धरही लामो समयदेखि स्थायीरुपले बसोवास गरिरहेका छन् । अस्थायीरुपले काम गरेर नेपाल फर्किनेको संख्या जोड्दा अझै बढी नेपालीहरु भारतमा काम गर्छन् भन्न सकिन्छ । भारतीयहरु पनि नेपाल आएर श्रम र व्यापार गर्छन् र केही समयपछि फर्किन्छन् ।
३. धर्म, संस्कृति र चाडपर्वमा एकरुपता : नेपाल र भारतका जनताले मान्ने धर्म, संस्कृति र चाडपर्वमा समानता पाइन्छ । भारतका हिन्दु धर्म मान्ने जनता र नेपालका हिन्दु धर्म मान्ने जनताको रहनसहन, संस्कृति र चाडपर्व मध्ये दशैं, तिहार जस्ता चाड एकै प्रकारले मनाइने चलन छ भने भारतीय मुश्लिम धर्म मान्ने र नेपाली मुश्लिम धर्म मान्ने बीच समानता देखिन्छ भने बौद्ध धर्म मान्नेहरुले पनि एकै खाले प्रक्रिया अपनाउँछन् । भारतीयहरुले बोल्ने हिन्दी भाषा नेपालीले बुझ्छन् र नेपाली भाषा भारतीयहरुले बुझ्छन् । अक्षरलिपी उस्तै छ । तर अर्को छिमेकी चीनका जनताको रीतिरिवाज र भाषा नेपालीसँग मेल खाँदैन । चीनियाँहरु बोले नेपालीहरु सुनेर बस्ने हो र नेपाली बोले चीनियाँ टोलाएर हेर्ने हो । भाषा प्रयोग र बुझाइका कारणले नेपालीको सम्पर्क र सम्बन्ध चीनियाँ भन्दा भारतीयहरुसँग बढी भएको देखिन्छ ।
४. राजनीतिक सम्बन्ध : नेपाल र भारत देश अलग भएपनि भारतीय स्वतन्त्रता आन्दोलनमा नेपालीहरुले भारतीयहरुमा पक्षमा लडे । अंग्रेजलाई भारतबाट लखेट्न गरिएको आन्दोलनमा भारतीय नेताहरुसँगै नेपाली नेताहरु भारतीय जेलमा बसे । नेपाली राजनीतिकर्मीहरुको यो सहयोग भारतीय नेताहरुले विर्सिने सम्भावना थिएन । सन् १९४७ मा भारत अंग्रेजको पञ्जाबाट मुक्त भएपछि नयाँ राजनीतिक माहौल सिर्जना भयो । महात्मा गान्धी, मोहम्मद अलि जिन्ना, सरदार बल्लभभाइ पटेल, सुवासचन्द्र बोस, जवाहरलाल नेहरु, जयप्रकाश नारायण, डा.राजेन्द्रप्रसाद, लालबहादुर शास्त्री लगायतका नेताहरुले भारतीय राजनीतिको बागडोर सम्हाल्दै गर्दा नेपाली राजनीतिज्ञहरुसँग पनि आत्मीय सम्बन्ध विस्तार भयो । त्यसको परिणाम भारतीय राजनीतिज्ञहरुले नेपालको राजनीतिमा ज्यादा चासो र अनावश्यक चिन्ता लिन थाले तर भारत स्वतन्त्र भएको दुई वर्षपछि सन् १९४९ मा माओत्सेतुङ्ले चीनमा शासनसत्ता कब्जा गर्दा त्यो खालको आन्दोलनमा नेपालीको प्रत्यक्ष अप्रत्यक्ष सहयोग र संलग्नता भएको थिएन । त्यसैले पनि राजनीतिक रुपमा कम र कुटनीतिक रुपमा मात्र निरन्तरको सम्बन्ध चीनसँग हुन गयो भने भारतसँग कुटनीतिक सम्बन्ध भन्दा राजनीतिक र व्यवहारिक सम्बन्ध ज्यादा हुन गयो ।
५. दलीय शासनका लागि भारतीय नेताहरुको सहयोग : भारतीय स्वतन्त्रताका लागि सहयोग पु¥याएका नेपाली राजनीतिज्ञहरुका शिष्यहरुले मुलुकमा राजनीतिक व्यवस्था परिवर्तनका लागि सहयोग माग्दा छिमेकी मुलुक नेपालको राजधानीमा आएरै भाषणवाजी गरिदिए । गुन तिर्ने तरिका ठीक थियो थिएन फेरि पनि छलफल र बहस गर्न सकिएला तर भारतीय राजनीतिज्ञहरुले स्वतन्त्र छिमेकी मुलुकको राजधानीमै आएर भाषण मार्फत पुरानो गुन तिर्दै दलहरुलाई २०४६ सालमा सहयोग गरे ।
६. भारतलाई नेपालको सहयोग : भारतलाई नेपालले सहयोग स्वरुप पानी र रगत दिँदै आएको छ । भारतीय सेनामा नेपालीहरु हजारौंको संख्यामा कार्यरत छन् । कश्मिरको युद्ध होस् वा गारगिलको नेपाली रगत भारतको लागि पोखिएकै छ भने सम्झौता मार्फत नेपालले कोशी, गण्डकी लगायत नदीका पानी भारतलाई निरन्तर दिएकै छ ।
७. नेपाललाई भारतको सहयोग : भारतले नेपाललाई स्कूल, अस्पताल र बाटोघाटो बनाउन मद्दत गरेको छ । नेपाली विद्यार्थीहरुलाई पढाइ तर्फ छात्रवृत्ति दिएको छ । एम्बुलेन्स र केही गाडी दिएको छ । नेपाली सेनालाई यदाकदा हतियार सम्बन्धी सहयोग समेत गरेको छ ।
८. चीनियाँ सहयोग : चीनले नेपालको भौतिक विकासमा निरन्तर सहयोग गर्दै आएको छ । वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल लगायत बाटो, पुल, विद्यालय भवन बनाउन मद्दत गरेको छ भने पहाडी नौ ओटा जिल्लाका नेपालीलाई आधारभूत आवश्यक्ता निरन्तर पूरा गरिरहेको छ । तर नेपालको तर्फबाट चीनलाई सहयोग गर्न पर्ने कुनै खास अवस्था सिर्जना नभएकोले होला नेपालले चीनलाई कुनै विशेष सहयोग गरेको समाचार प्राप्त भएको छैन ।
९. राजनीतिक हस्तक्षेप : नेपाली राजनीतिमा चीनले आन्तरिक मामला बताएर हस्तक्षेप नगरेको बताइन्छ भने भारतले सल्लाह माग्दा पनि दिने नमाग्दा पनि दिने गरेको स्थितिलाई नेपाली राजनीतिमाथि भारतीय हस्तक्षेप भएको आवाज सुन्न र पढ्न पाइन्छ ।
१०. भारतीय चाहना : नेपालसँग प्रशस्त पानी छ । भारतलाई सिंचाईका लागि पानी अत्यावश्यक छ । त्यसैले उसको चाहना वा स्वार्थ नेपालबाट हरहालतमा पानी प्राप्त गर्नु रहेको अनुमान लगाउन सकिन्छ ।
११. चीनियाँ चाहना : नेपालबाट चीनले केही आशा नगरेको बताइए पनि केही न केही स्वार्थ रहेकै हुन सक्छ । उसको चाहना नेपालीभूमिमा तिब्बत स्वतन्त्रताको आन्दोलन वा त्यससँग सम्बन्धित कुनै पनि खालको गतिविधि नहोस् भन्ने रहेकोचाहिँ उसले प्रष्टैसँग बोल्दै आउको नै छ ।
निष्कर्ष :
जनसंख्या र क्षेत्रफलका हिसाबले चीन र भारत नेपाल भन्दा धेरै ठूला छन् । आर्थिक विकासका दृष्टिले पनि ज्यादै शक्तिशाली छन् । छिमेकी भएपछि यदाकदा एकले अर्काको ‘घच्चा’ सहनु पर्छ भनेझैं विगतमा यदाकदा ‘घच्चा’ महशुस गरेपनि सदैव छिमेकीप्रति नरम र सकारात्मक हुने प्रयास गर्नुपर्छ । ठूलाको समस्या ठूलै हुन्छ, सानाको समस्या सानै । ‘हात्तीलाई सय किलो दानाको पीर, कमिलालाई एक गेडा चिनीको पीर’ भनेजस्तै भारत र चीन हात्तीजत्रै हुन् भने तिनलाई समस्या पनि त्यत्रै छ भनेर बुझ्न सकिन्छ । नेपालले चीनको समस्या बुझेर सहयोग गर्नुपर्छ । हामीले सहयोग ग¥यौं भने उसलाई अझै ठूलो सहयोग गर्न कर लाग्छ । भारतसँगको मामला पनि त्यस्तै हो । भौगोलिक क्षेत्रफल र जनसंख्यामा सानो भएपनि हामीबाट भारतलाई सहयोग प्राप्त भइरहेको छ भन्ने स्पष्ट भनाइ नेपालले भारतसमक्ष राख्नुपर्छ । हामीले भारतलाई अनुशासित तरिकाले सहयोगी भावना प्रदर्शन ग¥यौं भने भारतले हामीलाई हरेक कोणबाट सहयोग गर्नै पर्ने हुन्छ । त्यसकारण भारत र चीनलाई नेपालले ठूलो वा शक्तिशाली नसोचेर असल छिमेकी हुन् भनि सोही अनुसारको सहयोग लिने र दिने वातावरण तयार गर्नुपर्छ । त्यसका लागि सरकारमा रहेकाहरुले कुनै छिमेकी नजिक र कुनै टाढा छन् जस्तो बोली र व्यवहारले देखाउन हुँदैन ।

११ फाल्गुन २०६९, शुक्रबार ११:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मन्त्री भट्टराईको प्रश्न, ‘विग्रह ल्याउन खोज्ने भारत ठीक कि मिलाउन खोज्ने चीन ?’

काठमाडौँ, २४ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानमा चिनियाँ राजदूत सक्रिय बनेको भन्दै..

उपत्यकाका ३ जिल्लामा २६७ जना कोरोना संक्रमित

काठमाडौँ, २३ असार । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितहरुको संख्या २६७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका..

ओली र प्रचण्डबीच छलफल जारी राख्ने सहमति

काठमाडौँ, २३ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’..

काँग्रेस महाधिवेशन फागुन ७ देखि १० सम्म हुने, यस्ता छन् अन्य कार्यतालिका

काठमाडौँ, २३ असार । नेपाली काँग्रेसको १४ औं महाधिवेशन फागुनमा हुने भएको छ । कोरोना भाइरसको संक्रमण कम गर्न लागू..

‘काँग्रेस जनताको म्याण्डेटअनुसार प्रतिपक्षमै बस्छ’

काठमाडौँ, २२ असार । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले जनताले पाँच वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएकाले..