राष्ट्रपतिको कन्तविजोग ! :: देवप्रकाश त्रिपाठी

संविधानको संरक्षक तथा पालनकर्ताको रूपमा रहेका नेपालका राष्ट्रपति डा. रामवरण यादव यतिबेला पिँजडाको सुगाबराबर भूमिकाविहीन भएका छन् । राजनीतिक प्रक्रिया अवरुद्ध भएको, प्रमुख दलहरूबीच असमझादरी र अविश्वास बढेको, संविधानको अस्तित्व नै सङ्कटमा परेको यस घडीमा राष्ट्रपतिको भूमिका सर्वाधिक अपेक्षित हुनु स्वाभाविक थियो, तर देश इतिहासकै सबभन्दा कठिन घडीमा आइपुग्दा राष्ट्रपति किंकर्तव्यविमुढ र भूमिकाविहीन देखिएका छन् । यसले राष्ट्रपति नामक पदको कद घटाएको र महत्व रित्याएको महसुस गर्न थालिएको छ । देशमा संविधान छ तर क्रियाशील छैन, सरकार छ तर सर्वमान्य छैन, संवैधानिक निकायहरू छन् पदाधिकारी छैनन् या अपर्याप्त छन्, समस्या र सङ्कट गहिरिएका छन्, तर निकास अवरुद्ध छ । सरकार निकास दिन नसक्ने र पछि हट्न पनि नचाहने, विपक्षीहरू सरकारमा सहभागी हुन नचाहने र आफैँले सरकार गठन गर्न पनि नसक्ने, संविधानले निकास नदिने र दलहरूबीच सहमति बन्न पनि नसक्ने यस स्थितिमा आमनेपालीले राष्ट्रपतिको विशेष भूमिकाको अपेक्षा गर्नु स्वाभाविक थियो । तर, राष्ट्रपति र बागमती किनारमा बसोबास गर्ने सुकुम्बासीबीच समानता बढ्दै जाँदा मुलुकले थप सङ्कटहरूको सामना गर्नु परिरहेछ । राष्ट्रपतिले ‘सहमति गर’ भनिरहे, भनिरहेका छन् । ‘सहमति गर’ त रामप्रसाद–श्यामप्रसाद सबैले भनिरहेका छन्, त्यति भन्नका लागि कोही राष्ट्रपति भइरहनुपर्दैन । विगत नौ महिनादेखि राष्ट्रपतिले केही गरे भने लिखित–अलिखित, औपचारिक–अनौपचारिक रूपमा ‘सहमति गर’ भनेर भन्ने काम गरे । पछिल्लो समयमा त्यति मात्र पनि भन्न नसक्ने गरी राष्ट्रपति थलिएको अनुभूति हुँदै छ । यदि सङ्कटको समयमा पनि केही गर्न नसक्ने हो भने निष्कर्षमा पुग्नुपर्छ– ‘नेपालका राष्ट्रपतिको कुनै औचित्य हुन्न, नेपालमा राष्ट्रपति बन्नुभन्दा कुनै टे«ड युनियनको सभापति बन्नु उपयुक्त हुन्छ ।’ सर्वसाधारणले खोपामा राखेर भीमसेनको 

पूजा गर्नुको कारण परेका बेला रक्षा गर्नेछन् भन्ने आशा र विश्वासले हो । भीमसेनको अघिल्तिर आफ्नी प्रियपुत्री बलात्कृत भएको कुनै पिताले हेर्नुपरयो भने तिनले फेरि–फेरि भीमसेनको पूजा गर्लान् भन्ने ठान्न सकिन्न ।
राज्यका संवेदनशील निकायहरू सर्वोच्च अदालत, सेना, प्रहरी, निजामती सेवा देशको असामान्य स्थितिमा राष्ट्रप्रमुखप्रति वफादार रहन्छन् । सामान्य अवस्थामा सेना, प्रहरी र निजामती सेवाले सरकारको नीति–निर्देशनअनुसार काम गर्नुपर्ने भए पनि विशेष या असामान्य अवस्थामा ती निकायले राष्ट्रप्रमुखका प्रति वफादार भएर काम गर्नुपर्ने हुन्छ । सामान्य स्थितिमा सरकारप्रति वफादार नरहँदा सेना, प्रहरी र निजामती सेवाको भूमिका आलोच्य हुनसक्छ भने असामान्य अवस्थामा राष्ट्रप्रमुख छोडेर सरकारप्रति वफादार बन्दा पनि ती निकाय आलोचनाको परिधिमा आउने कारण बन्न सक्छ । राज्यका सबै निकायलाई विश्वासमा लिन राष्ट्रपति स्वयम्ले पनि प्रयास गरेको हुनुपर्छ, गरिरहनुपर्छ । यदि अप्ठ्यारो परिस्थितिमा पनि न्यायालय, सेना, प्रहरी, निजामती सेवा, जनता र अन्तर्राष्ट्रिय समुदायको विश्वास आर्जन गरेर अघि बढ्ने क्षमता दर्शाउन सकिँदैन भने राष्ट्रपतिले आफ्नो कार्यक्षमता र भूमिकाको समीक्षा गर्नु उचित हुन्छ । हाम्रा राष्ट्रप्रमुख डा. रामवरण यादवको छवि राम्रो र सकारात्मक भए पनि उनको कार्यक्षमता र भूमिकालाई लिएर जनस्तरमा समेत नकारात्मक टिप्पणी हुन थालेको छ । यसप्रकारको टिप्पणीको क्रम जारी रहँदा डा. रामवरण यादवको छविमा नकारात्मक प्रभाव पर्ने मात्र नभई राष्ट्रपति पदको गरिमालाई समेत होच्याउन सक्ने खतरा उत्पन्न हुने खतरा छ । राष्ट्रपतिले दलहरूलाई सहमतिमा ल्याउन सकेनन्, राष्ट्रपतिले कामचलाउ घोषित सरकारलाई विस्थापित गरेर सर्वमान्य या बहुमान्य सरकार स्थापित गर्न पनि सकेनन्, अनि सबै दललाई बाहिर राखेर निष्पक्ष सरकार गठन गरी चुनावमा जाने मार्ग प्रशस्त पनि गरेनन् । राष्ट्रपतिले राज्यका कुनै पनि अङ्गलाई विश्वासमा लिन सकेनन्, तिनलाई राष्ट्रका पक्षमा परिचालन र प्रतिबद्ध तुल्याउन सकेनन्, समग्रमा सङ्कटग्रस्त मुलुकलाई निकासको कुनै मार्ग देखाउन सकेनन्, त्यसैले राष्ट्रपति पदको गरिमामा ग्रहण लागेको छ, डा. रामवरण यादवको छविमा आँच पुगेको छ । राष्ट्रपतिको भूमिका शिथिल हुँदै जाँदा नेपाली सेना, प्रहरी र निजामती सेवा तथा न्यायालय र अन्तर्राष्ट्रिय समुदायसमेत न्यायालय र सेनाबीचको सहकार्यबाट मुलुकलाई सङ्कटमुक्त गराउने योजनाबद्ध परिस्थिति निर्माणमा लागे भने कुनै आश्चर्य हुने छैन । त्यस्तो बेलामा राष्ट्रपतिको भूमिका फेरि पनि ओझेलमै पर्ने निश्चित छ । अहिले चर्चामा आएजस्तै बहालवाला प्रधानन्यायाधीशले नै प्रधानमन्त्रीको समेत जिम्मेवारी लिने या दिइने अवस्था सिर्जना भएमा राष्ट्रपतिको जिम्मेवारी पद तथा गोपनीयताको शपथ गराउनेबाहेक अरू केही हुनसक्ने देखिँदैन । कुनै पनि अवस्थामा ‘सेरमोनियल’ राष्ट्रपतिबाट राज्यसत्तामा आँखा नलगाउने परम्परा विकास गर्ने अर्थमा राष्ट्रपतिलाई यसरी ‘निकम्मा’ तुल्याइनु जायज मान्न पनि सकिएला, तर राजनीतिक धु्रवीकरणको नियोजित एवम् प्रायोजित उद्देश्यबाट पे्ररित प्रयास भयो भने यसले सङ्कटमाथि सङ्कट थप गर्ने सम्भावना रहन्छ ।
एमाओवादी सत्तामाथि सम्पूर्ण नियन्त्रणको अवस्था सिर्जना गर्न निरन्तर यत्नशील छ र सिद्धान्त, विचार तथा दर्शनमा जति ठूलो अन्तर भए पनि सत्ताका निम्ति उनीहरू जोसुकैसँग जस्तोसुकै सम्झौता गर्न पनि तत्पर हुन्छन् भन्ने कुराको दृष्टान्त मधेसी मोर्चासँगको गठबन्धन हो । मधेसी मोर्चा र माओवादीबीच दर्शन, विचार, सिद्धान्त, नीति, कार्यक्रम, गन्तव्य र व्यवहारमा कतै कुनै समानता छैन । मधेसी मोर्चाको बुई चढेर एकदलीय अधिनायकवादको जग राख्न सकिने विश्वास यदि बाबुराम भट्टराईमा छैन भने पनि प्रचण्ड र समग्र एमाओवादी नेतृत्व पङ्क्तिचाहिँ अधिनायकवादको जग बसाउने नियतबाट प्रेरित रहेको बुझ्न सकिन्छ । माओवादीले राष्ट्रपतिलाई ‘बन्दी’ बनाउनुको कारण पनि सत्तामा अरू कसैको भूमिकालाई निषेध गर्नु नै हो । काङ्गे्रस या अन्य कुनै प्रतिस्पर्धी दलका नेताभन्दा गैरराजनीतिक सरकार एमाओवादीको रोजाइमा पर्नुको कारण पनि सत्तामा आफू नभए अन्य कुनै विचार–दर्शनमा आधारित दलविशेषलाई निषेध गर्दै जाने मानसिकताबाट पे्ररित छ । राष्ट्रपतिले यस्ता अदृश्य पक्षहरूमा कहिल्यै दृष्टि पुरयाउन सके या सकेनन् समीक्षाको विषय हुनसक्छ । रामवरण यादवलाई प्रजातन्त्रले राष्ट्रपति बनाएको हो, तर अब त्यही प्रजातन्त्रको रक्षा गर्ने सामथ्र्य उनले गुमाउँदै गएको आभास हुँदै छ । चुनाव भएमा चुनावी परिणाम जस्तो आए पनि डा. रामवरणले राष्ट्रपतिकै रूपमा दोहोरिन पाउने सम्भावना धेरै कम मात्र देखिन्छ । ठीक समयमा आवश्यक भूमिका निर्वाह गर्न नसकेको आरोप काङ्गे्रसभित्रैबाट लाग्न थालेको, मधेसी नेताहरूको आँखाको कसिङ्गार बनेको र एमाओवादीले दुश्मनको रूपमा हेरेको यस स्थितिमा कतैबाट पनि रामवरणलाई अघि सारिने आशा र अनुमान गर्न सकिन्न । जो मानिस पहिल्यैदेखि सर्वोच्च पदप्राप्तिको सपना बुन्छन् त्यस्ता मानिस पद पाइसकेपछि निर्वाह गर्ने भूमिकाका बारेमा पनि स्पष्ट हुन्छन् । श्रीलङ्काका महिन्दा राजापाक्षे राष्ट्रपति पदलाई लक्ष्य बनाएर राजनीतिमा क्रियाशील भएका रहेछन् त्यसैले विश्वका ठूलाठूला मुलुकलाई चुनौती दिँदै उनी दशकौँदेखि देशको समस्या बनिरहेको ‘लिट्टे’लाई सखाप पार्न समर्थ भए । यदि राजापाक्षेले पनि रामवरणले झैं नसोचेको पद प्राप्त गरेको अवस्था हुन्थ्यो भने उनले त्यसप्रकारको चुनौतीपूर्ण कार्य सम्पन्न गर्न सायदै सक्थे । ऐतिहासिक भूमिका पदले निर्वाह गर्ने होइन, पात्रले हो । जंगबहादुरदेखि मोहनशमशेरसम्मले धारण गरेको पद एउटै ‘श्री ३ महाराज’को हो । तर, सबै नौजना राणा प्रधानमन्त्रीहरूको बराबरी स्मरण हुँदैन–गरिँदैन । जंगबहादुर, चन्द्रशमशेर, वीरशमशेर, देवशमशेर र जुद्धशमशेरसम्मलाई विभिन्न रूपमा स्मरण गरिए पनि भीमशमशेरलगायतलाई सम्झन इतिहासकै पाना पल्टाउनुपर्ने हुन्छ । जो स्मरणीय बनेका छन् तिनले पदमा रहँदा कुनै न कुनै विशेष भूमिका अवश्य निर्वाह गरेका थिए । यदि पदले भूमिका निर्वाह गर्न सक्थ्यो भने राजापाक्षेभन्दा अघिकै राष्ट्रपतिले ‘लिट्टे’को सफाया गरिसकेका हुन्थे । राष्ट्रपतिजस्तो सम्मानित पदमा पुगेका व्यक्तिले आफ्नो सम्मान कायम राख्न सोहीबमोजिमको भूमिका निर्वाह गर्न सक्नुपर्छ, दुःखसाथ भन्नुपर्छ– रामवरणले सकेनन्, त्यसैले देश त बर्बादीको बाटोमा गएकै छ, साथै उनको पनि कन्तविजोग हुने स्थिति बनेको छ ।

२४ माघ २०६९, बुधबार ०९:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..