प्रचण्डलाई ठोके प्रतिगमन, अरूलाई हान्दा राइट ? :: अर्जुनप्रसाद बराल

सर्वहारावर्गको उत्थान, शोषितपीडित जनताको रक्षा, सामतन्वाद र विस्तारवादको विरोध गरौँ, अर्धसामन्ती र अर्धउपनिवेशबाट देशलाई मुक्त गर्दै नयाँ जनवादी गणतन्त्रको स्थापनाका लागि भन्ने सिद्धान्तको आधारमा तथाकथित सुरु गरिएको सशस्त्र जनयुद्ध लगातार एक दशकसम्म चलिरह्यो जसको कारणबाट देशले अर्बौंको क्षति व्यहो¥यो भने लाखौँ जनता घरबारविहीन हुन पुगे, हजारौँले ज्यान गुमाए, कति आमाहरूको कोख रित्तियो, कतिले अभिभावक गुमाए त्यसको लेखाजोखा छैन । न त जनयुद्ध छेडेका महान हस्तीसँग नै त्यसको यथार्थ तथ्याङ्क छ । साथै राष्ट्रियताको निम्ति जनयुद्ध गर्ने प्रचण्ड, संयुक्त क्रान्तिकारी जनपरिषद् नेपालका संयोजकसमेत रहेका लालध्वजले नेपाली जनताको विश्वास र भरोसामा तातो खरानी खन्याएको कुरा प्राध्यापक एसडी मुनीले ‘नेपाल इन ट्रान्जेक्सन’ नामक पुस्तकमा उल्लेख गरेका छन् ।
संयुक्त राज्य अमेरिकाका १६औँ राष्ट्रपति अब्राहम लिंकन अमेरिकी सिनेटको निर्वाचनमा दुईपटक असफल भएका भए पनि राष्ट्रपति भएपश्चात् गृहयद्धबाट देशलाई पार लगाए । अङ्गे्रज सरकारको उपनिवेशको रूपमा रहेको भारतलाई मोहनदास करमचन्द गान्धीले स्वतन्त्र गराए । आज उनको विश्व–इतिहासमा चर्चा व्यापक छ ।
दश वर्ष जनयद्धको वागडोर सम्हालेका नायकहरू नेपालमा अहिले खलनायक भएका छन् । सामन्तवाद र साम्राज्यवादका विरोधीहरू आज उनीसँग भाइ–भतिजाको नाता जोड्दै छन् । सर्वहारावर्गका भनाउँदाहरू आलिशान महल, पजेरो, दर्जनौँ सुरक्षाकर्मी र राजसी खानदानको साथसाथै रिसोर्टको बसाइमा व्यस्त हुन्छन् । चीनबाट मगाएर पाँचलाखको खाटमा आनन्दको निद्रा लिन्छन् । दश लाख रुपैयाँ पर्ने रोेलेक्स घडी लगाउँछन् । माओवादी मजदुर युनियनका नेताहरू करोडौँ रकम जुवामा हार्छन् । अझ लाज पचाएर मेचीदेखि महाकालीसम्म हाम्रो पक्षमा नेपालीको लहर देखियो भन्छन् प्रचण्ड महाराज । अनि प्रचण्डको जस्तो सुविधा लिन नपाएर वैद्यहरू विद्रोहको नाउँमा पार्टी फुटाएर विद्रोहको धाक लगाउँछन् तर कसका लागि भन्न सक्दैनन् यथार्थमा ।
नेपालका राजनीतिक दल भनाउँदाहरूका लागि राष्ट्रि«यता, जनतन्त्र र जनजीविका कुनै पनि गम्भीर चासो र सरोकारको विषयवस्तु बन्न सकेन । १३ वर्षसम्म भूमिगत भएर ऐतिहासिक जनआन्दोलनपश्चात् खुला राजनीतिमा प्रवेश गरेका र संविधानसभाको निर्वाचनमा अत्यधिक सिट ल्याई प्रचण्ड नेपालको ३२औँ प्रधानमन्त्रीका रूपमा मिति ०६५ भदौ २ गतेदेखि २०६६ साल जेठ २३ सम्म कुर्सीमा विराजमान हुँदा पनि माखो मार्न सकेनन् । तर, प्रचण्ड गद्गद् होलान् ०६३ सालमा एउटा अभियानकै रूपमा नेपाल अधिराज्यको संविधान ०४७ लाई छलेर जबर्जस्ती शैलीमा लगभग २५ लाख विदेशीलाई नेपाली नागरिकता वितरण गर्न पाएकोमा र विजयकुमार गच्छदार, राजेन्द्र महतो, महन्त ठाकुरलगायतका राजनीतिको आजन्म पद र शक्तिका लागि मरिमेटेका एक मधेस र एक प्रदेशका लागि पाइला–पाइलामा बखेडा झिक्नेहरूसँग राजनीतिक सहकार्य गर्न पाएकोमा ।
चार महिना कार्यकाल भएका सेनापतिलाई दम्भको कारण हटाउन खोज्दा राष्ट्रपतिले त्यसलाई उल्टाए अनि आत्तिएर राजीनामा दिएका प्रचण्डको बचाउमा दीनानाथ शर्माले भनेका थिए, ‘नैतिक जिम्मेवारी बोक्न नचाहने, सरकारमा बसेर विभिन्न हथकण्डा अपनाउने, सभासद् किनबेच गरेर सरकारमै बसिरहन चाहनेहरूले राजीनामा दिन्नन्, जसको नैतिकता छ जो इमानदार छ उसैले दिन्छ राजीनामा ।’ स्पष्ट होस्, माओवादी विदेश विभागप्रमुख कृष्णबहादुर महराले संसद् किनबेचका लागि चिनियाँ व्यापारीसँग करोडौँ पैसा माग गरेको अडियो टेप सार्वजनिक भएको थियो ।
नेपालको प्रतिगामी प्रतिक्रियावादी तत्व शान्ति, संविधान, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र देशको आर्थिक एवम् सामाजिक परिवर्तन चाहँदैन भनी आरोप लगाउने माओवादी आज कता गइरहेको छ ? नेपाली जनताले यो थाहा पाइसकेका छन् । कुनै कालखण्डमा कम्युनिस्ट बाहुल्य रहेको मुलुक मलेसियादेखि इथियोपियासम्मको इतिहासले स्थापित गरेको तथ्यसँग नेपालका पछिल्ला घटनाक्रम गुणात्मक दृष्टिकोणले एकपछि अर्को गर्दै समान देखिएका छन् । मुलुक राज्यविहीन अवस्थाले गुज्रिरहेको छ । जातीयता र क्षेत्रीयताको तनाव तीव्र रूपमा बढ्नुको साथै मारकाट, लुटपाट, अपहरण, बलात्कारजस्ता घटनाबीच जनताको दैनिक जीवन बितिरहेको छ । माओवादी सत्तामा आएपछि जनयुद्धताका उत्पादन गरेका हिंसात्मक जमात अशान्तिका नयाँ शक्ति बनिरहेका छन् । जनतादेखि तर्संदै भागेको पोलपोटको अवसान अनकन्टार जङ्गलको बीचमा हुन पुगेको कुरा प्रचण्डले बिर्सिसकेका छन् कि क्या हो ?
जब मदन भण्डारीको अवसान भयो नेकपा एमालेमा जनताको बहुदलीय जनवाद लागू गर्न सक्ने क्षमता पनि नष्ट भएकोजस्तो देखिन्छ । तर पनि भावी राजनीतिक अवस्थालाई एमालेले नै किनारा लगाउन सक्छ । साथै प्रजातन्त्र प्राप्तिपश्चात् अत्यधिक सरकारको लगाम समातेको कांग्रेस अलमलमा छ भने केही नेता भ्रष्टाचारको आरोपमा जेलजीवन बिताइरहेका छन् । आत्मनिर्णयको अधिकारसहित स्वायत्तताको अधिकार दिने सोभियत सङ्घका कम्युनिस्ट नेता जोसेफ स्टालिनले कार्यअनुभव गर्दै जाँदा देशलाई एकतासूत्रमा राख्ने सिद्धान्तको अभाव महसुस गरेका थिए कुनै बेला ।
माओवादी पोलिटब्युरो सदस्य हिसिला यमीले सङ्घीयताविरोधी राष्ट्रिय जनमोर्चालाई अफगानिस्तानमा अलकायदालाई जस्तै प्रतिबन्ध लगाउनुपर्ने भन्ने बताएकी थिइन् तर उनलाई थाहा छैन रामहरि श्रेष्ठ, उज्जनकुमार, मुक्तिनाथ अधिकारी, यदु गौतम, डेकेन्द्र थापा, ज्ञानेन्द्र खड्का आदिका हत्यारालाई कारबाही गर्नुपर्छ भन्ने कुराको । कम्युनिस्ष्ट घोषणापत्रअनुसार कम्युनिस्ट पार्टीले आफ्नो निम्ति होइन सर्वहारावर्गको मुक्तिको निम्ति काम गर्छ तर माओवादी अध्यक्ष प्रचण्डले काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपालको शान्तिप्रक्रिया टुङ्गोमा पु¥याउन दिल्लीले सहयोग गर्नुपर्ने माग गरेका थिए । यसबाट के प्रस्ट हुन्छ भने माओवादीले जनतालाई आफूतिर आकर्षित गर्न मात्र भारतको विरोध गरेको र व्यवहारमा ऊ भारतकै सेवक रहेको प्रमाणित हुँदैन र ? नयाँ जनदिशाका सम्पादक दीपेन्द्र रोकायाको हालै प्रकाशित पुस्तक ‘नाफाको जिन्दगी’ले पनि यो छर्लङ्ग पार्छ । एकदलीय सर्वसत्तावादको दिग्भ्रममा रहेको माओवादी एकपछि अर्को गर्दै विसङ्गति र भ्रमहरू छर्न कति तल्लीन छन् यो पछिल्लो उदाहरण होइन र ? राष्ट्रियता, गणतन्त्र, धर्मनिरपेक्षता, लोकतन्त्र, शान्ति र नयाँ संविधान निर्माण गर्ने सबै कुरा सत्तामा चढ्ने भरयाङको विषयवस्तुमा मात्रै सीमित भयो ।
जनयुद्धताका जनतालाई देखाइएको सपनामाथि तुषारापात गरेको झोकमा आफ्नै कार्यकर्ता पदम कुँवरको गतिलो झापड पाएका प्रचण्डलाई सान्त्वना दिने क्रममा हिसिला यमीले आफ्नो फेसबुक स्टाटसमा लेखेकी थिइन्, ‘आज चियापान कार्यक्रममा जे भो पहिले झलनाथ खनालपछि सुशील कोइराला र अहिले आएर प्रचण्डलाई । हेर्दा यो झापड दलीय स्टिम अर्थात् गणतान्त्रिक, लोकतान्त्रिक संस्थाविरुद्ध हो । विशेष गरेर हेर्दा प्रचण्डमाथि हान्नु भनेको उहाँको लचकता, सहमतिको निरन्तरताको प्रयास, बजेटका लागि उहाँले गरेको दौडधुपमाथिको झापड हो । क–कसलाई झापड दिएर देशलाई पापड बनाउने ? नेपालीले सोच्ने बेला भो’ त्यसो भए कमरेड हिसिला यमीज्यू काशीनाथ तिवारीदेखि उमा सिंह, रामेछापको दोरम्भामा स्थानीय जनतालाई स्वास्थ्य सेवा पु¥याएकी रेलिमाया मोक्तानका अपराधीलाई कारबाही गर्नु भनेको पनि लोकतान्त्रिकविरुद्ध होला होइन ? माडी नरसंहार, चिसापानी काण्ड, दोरम्बा काण्ड, भैरवनाथ काण्ड, भण्डारा चितवन काण्ड, मैना सुनुवार काण्डका अपराधीलाई पकड्नु पनि शान्तिप्रक्रियाविपरीत होला र देशलाई पापड बनाउने खेल होला होइन ? झलनाथ र सुशीलमाथिको झापड लोकतान्त्रिक संस्थाविरुद्ध नहुने तिम्रा अध्यक्षमाथिको झापडचाहिँ लोकतान्त्रिक संस्थाविरुद्ध कसरी हुन्छ ?
अब नेपालीले बेलैमा देशविरोधी तत्वलाई बेलैमा चिनेर खुलामञ्चमा प्रदर्शन गर्नु र देशबाट लखेट्नु नै राम्रो उपाय होला कि सबैलाई चेतना भया…।

२४ माघ २०६९, बुधबार ०७:३० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

दुई अध्यक्षबीचको विवाद मिलाउन ४ सदस्यीय अनौपचारिक कार्यदल

काठमाडौँ, २१ असार । सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद थप बढ्न नदिन दुई अध्यक्ष सकारात्मक भएका छन् । प्रधानमन्त्री निवास..

कोरोना विरुद्द लड्न आईएलओले एनआरएनएलाई दियो ५ करोड १० लाख अनुदान

काठमाडौँ, २० असार । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ४ लाख २४ हजार ३१० डलर..

उमा थापाको शनिवारिय कोशेली, कथा: ‘देउता आएनन्’

काठमाडौँको माघ महिनाको मुटु नै कठ्याङ्ग्रिने जाडो त्यसमाथि केही दिनदेखि एकनासले झरी परिरहेको छ । शीतल बेलुकीको..

नेकपा स्थायी कमिटी बैठक सोमबार सम्मका लागि स्थगित

काठमाडौँ, २० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक असार २२ गते सम्मका लागि..

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ ।..