निष्ठाको निरुत्साहन :: देवप्रकाश त्रिपाठी

सुशील कोइरालाको संसार सानो भए पनि उहाँको निष्ठा, इमानदारी, अति साधारण जीवनशैली र वैचारिक प्रतिबद्धताले फराकिलो पार्टीको सर्वोच्च नेता बन्न उहाँलाई ठूलो सहयोग पुरयायो । चाहेका भए प्रचण्डभन्दा पनि विलाशी र सुविधासम्पन्न जीवन जिउन सक्ने हैसियतमा रहनुभएका कोइरालाको प्राथमिकतामा सान, मान र धन परेको महसुस उहाँका निकट पुग्नेहरू कसैले पनि गरेका छैनन् । पार्टीले बीपी विचार परित्याग गरिसकेको भए पनि सुशील कोइरालाको अगाध श्रद्धा, सम्मान र आस्था बीपीका प्रति रहेको ठान्छन् उहाँलाई जान्ने–बुझ्नेहरू । हतपती अरूमाथि विश्वास गर्न नसक्ने सुशील कोइराला, जस्ता व्यक्तिमाथि विश्वास र भरोसा राख्नुहुन्छ, तीमध्ये अधिकांश जनताद्वारा अस्वीकृत, जनताबीच अपरिचित, निष्प्रभावी अर्थात् अप्रभावी र क्षमताका दृष्टिले पनि ‘ग’ वर्गमा सूचीकृत हुने कोटिका मानिन्छन् । सुशील कोइराला आफ्नै विशेषता र भूमिकाका कारणले राजनीतिको उचाइमा पुग्नुभएको छ, उहाँले थप उचाइ प्राप्त गर्ने पनि उहाँको आफ्नै व्यक्तित्वका कारणले हो । तर ‘ग’ वर्गका केही मानिस ‘सुशील दादालाई बलियो बनाउने’ भन्दै वरिपरि झुम्मिन पुगेका छन् र उहाँको ‘सिम्ल्पिसिटी’को लाभ उठाउँदै आफैँलाई ‘बलियो’ देखाउने कसरत गरिरहेका छन् । आफ्नै नाममा धरहराको टुप्पोमा या खुलामञ्चमा उभिँदा पनि नचिनिने काँटी र कोटिका कतिपय मानिस गिरिजाप्रसाद कोइरालाको बुढ्यौलीको लाभ उठाउँदै रातारात कृत्रिम भए पनि ‘हैसियत’ बनाउन सफल भएपछि शक्तिकेन्द्रको वरिपरि झुम्मिँदा हैसियत चुलिने आशामा हुनसक्छ ‘ग’ श्रेणीका धेरै मानिस सुशील कोइरालाको वरिपरि खोलाको ढुङ्गामा लागेको लेउझैँ टाँसिएर बसेका छन् । स्वकीय सचिव एउटा गतिलो राखेकै भरमा मात्र कुनै नेता पूर्ण सफल बन्ने आशा राख्न सकिन्न, आफ्ना वरिपरि इमानदार, योग्य र सक्षम मानिसको घेरा पनि सिर्जना गर्न सक्नुपर्छ । आफ्नोवरिपरि आफैँलाई बलियो बनाउन आएकाहरूको घेरा बाक्लिएको छ कि पार्टी सभापतिको भूमिका र प्रभाव बलियो बनाउन आएकाहरू छन् भन्नेबारे सुशील कोइरालाले हेक्का राख्न सक्नुभएजस्तो लाग्दैन । सुशील दा’लाई सहयोग गर्न भन्दै त्यहाँ वरिपरि जम्मा भएका ‘नेताहरू’मध्ये अधिकांश आफैँलाई बलवान देखाउने सपनासहित त्यहाँ पुगेका छन् ।
सुशील कोइरालालाई पद, प्रतिष्ठा, सत्ता, सुविधा र धनप्रति आशक्तिविहीन नेताका रूपमा बुझिन्छ । काङ्गे्रसभित्र मात्र होइन, समग्र मुलुकमै उहाँको छवि यसअनुरूप बनेको पनि छ । गिरिजाप्रसाद कोइरालालाई ‘प्रथम राष्ट्रपति’को प्रलोभन दिँदै बीपी विचार र काङ्गे्रसको मौलिक मूल्य, मान्यता एवम् सिद्धान्तको अन्त्येष्टि उहाँकै हातबाट गराउन सफल प्रचण्डहरूले सुशील कोइरालालाई पनि सोही सूत्र प्रयोग गरी उपयोग गर्ने प्रयास नगरेका होइनन् । पटकपटक प्रधानमन्त्रीको झाँसा दिएर काङ्गे्रसको बचेखुचेको सिद्धान्त एवम् विचारलाई पनि उन्मूलन गर्न प्रचण्डले गरेको प्रयास सफल हुन नसक्नुमा सुशील कोइरालाको दृढ व्यक्तित्व र निरपेक्ष चरित्र नै कारण बनेको हो । सिद्धान्तसँग सत्ता र शक्ति नसाट्ने अडानमा सुशील दृढतापूर्वक उभिएपछि प्रचण्डले कठिनाइ महसुस गर्न थालेका थिए । धन, सत्ता, शक्ति र सुविधा देखाएर पगाल्न नसकिएपछि प्रचण्डले सार्वजनिक रूपमै सुशीलको आलोचना गरी ‘गिरिजाबाबुको अभाव खट्किएको’ बयान दिन थालेका थिए । देश, प्रजातन्त्र, काङ्गे्रसको सिद्धान्त र मूल्य–मान्यतामा सुशील कोइरालाले कसैसँग कुनै किसिमको सम्झौता गर्नुहुने छैन भन्ने आमविश्वासलाई कायम राखेर उहाँले नेपाली मनमनमा आफ्नो उचाइ बढाउनुभएको पनि हो । तर, प्रचण्डजस्ता चतुर खेलाडीले पगाल्न नसकेको सुशीलको मन कसले पगाल्यो र असमयमा उहाँ किन प्रधानमन्त्री बन्न तयार हुनुभएको हो, यो चासो र खोजीको विषय बनेको छ । सुशील कोइराला प्रधानमन्त्री बन्न योग्य हुनुहुन्छ र सहमतीय सरकारको नेतृत्व स्वच्छ छविका इमानदार तथा वरिष्ठतम् व्यक्तिले गर्नुपर्छ भन्ने हो भने त्यसका निम्ति कोइराला सर्वाधिक प्राथमिक विकल्प पनि हो । तर, परिस्थिति अनुकूल तथा परिपक्व नभईकन उहाँलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने काम जसले गरेको भए पनि त्यो गलत थियो । नेपालको सन्दर्भमा आफूलाई खाँटी कम्युनिस्ट दाबी गर्नेहरूले सत्य बोल्न सक्दैनन् र सकेका पनि छैनन्, उनीहरू समूह–स्वार्थको दायराभन्दा माथि उठ्ने तहमा छँदै छैनन् । विदेशी शक्तिहरूले पनि कोइरालालाई भन्दा अरूहरू नै ‘योग्य’ देखी–ठानिरहेको अवस्थामा उहाँलाई प्रधानमन्त्री बन्नुपर्छ भनेर उकास्ने तर बनाउन भूमिका निर्वाह गर्न नसक्नेहरू कोइरालाका शुभचिन्तक–हितैषी हुन्– कसरी भन्ने ? कुनै सामान्य मानिसलाई पनि ‘तपाईंबिना चल्दैन’ भनियो भने ऊ प्रसन्न मात्र हुँदैन, त्यसलाई उसले सही पनि ठान्छ । सुशील कोइराला देशमा कहलिएका इमानदार तथा सिद्धान्तनिष्ट नेता भएकाले उहाँलाई कसैले ‘तपाईंबिना चल्दैन’ भनिदियो भने त्यसलाई नाजायज र अनुपयुक्त ठानिँदैन, कोइराला स्वयम्ले पनि यसलाई स्वाभाविक रूपमा लिनु स्वाभाविक हुन्छ । परिस्थिति र पात्रहरूको विश्लेषण नै नगरी उहाँलाई ‘प्रधानमन्त्री’मा अघि सार्नेहरू या त अपरिपक्व राजनीतिक बालक हुन् या सुशील कोइरालालाई अघि सारेर ह“सिमजाकको पात्र बनाउँदै उहाँको राजनीतिक गरिमा होच्याउन चाहनेहरू हुन् । राजनीतिमा आलोचना या विरोध गरेर मात्र कसैलाई सिध्याउन सकिँदैन, कतिपय अवस्थामा प्रशंसा गर्दै नहुने या नचाहिँदो काममा सरिक गराएर पनि सम्बन्धित व्यक्तिको साख गिराउन सकिन्छ । एकताक शेरबहादुर देउवा काङ्गे्रसले आफूलाई उम्मेदवार बनाए सबै दलको स्वीकार्य प्रधानमन्त्री बन्न सकिने भनी निकै चम्किएका थिए । अति गरेपछि काङ्गे्रस पार्टीले देउवालाई मौका पनि दियो, तर उनी सर्वस्वीकार्य भएनन् । माओवादीको समेत समर्थन पाएर प्रधानमन्त्री बन्ने सपनासहित दिवङ्गत संविधानसभा भवनमा यता र उता गरिरहेका देउवा केही दिनमै हिस्स परेर बुढानीलकण्ठ फर्कनुपरेको थियो । त्यस घटनापश्चात् राजनीति बुझेर हुनुपर्छ देउवाले यसपटक सुशील कोइरालालाई अनपेक्षित किसिमले उम्मेदवार बन्न सहयोग पुरयाए । सुशील प्रधानमन्त्री बन्ने सम्भावना क्षीण हुँदै जाँदा बुढानीलकण्ठमा आँसुको भेल होइन ह्विस्कीका पेग बढ्दै गएको छ । जीवनभर आफूप्रति सकारात्मक नरहेका देउवासमेत एकाएक सकारात्मक भएपछि सुशील कोइराला र उहा“वरिपरिकाले यसको रहस्यमाथि विचार–विमर्श गरेर मात्र उम्मेदवार बन्ने–नबन्नेबारे निर्णय लिइनुपर्दथ्यो । माधवकुमार नेपाल र झलनाथ खनालहरू खाँटी कम्युनिस्टको कोटिमा नपरे पनि जालझेलमा उनीहरू प्रचण्डबराबर नहोलान् तर छन् भन्ने बुझ्नुपर्दथ्यो । प्रचण्डहरूले त पहिले देउवालाई झैं ‘बेवकुफ’ बनाउने नियतवश नै उम्मेदवार घोषणा गर्न कोइराला र काङ्गे्रसमाथि दबाब पैदा गरिरहेका थिए । राष्ट्रपति रामवरण यादवको सुशील कोइरालाका प्रति सद्भाव र पे्रम छ भने त्यो अस्वाभाविक होइन, तर जोखिम मोलेर कोइरालालाई प्रधानमन्त्री बनाउने सामथ्र्य र साहस उहाँमा देखिएको छैन, सुशीलको नाममा सहमति जुटाउने क्षमता पनि उहाँले प्रस्तुत गर्न सक्नुभएन । सुशील कोइरालालाई प्रधानमन्त्री बनाउने या नबनाउने क्षमता, सामथ्र्य र हैसियत कुनै सिटौला या रिजालहरूमा थिएन र छैन, यो वास्तविकतालाई पनि सम्भवतः कोइरालाले बुझ्नुभएन । विद्यमान राजनीति इमानदार, स्वच्छ छविका र खाँटी प्रजातन्त्रवादी कसैलाई प्रधानमन्त्री बनाउने प्रकारको छैन भन्ने यथार्थको ज्ञान पनि सायद सुशील कोइरालाले राख्नुभएन । त्यसैले जीवनभर एउटा त्याग, निष्ठा, सिद्धान्त र इमानदारीको राजनीतिमा समर्पित सुशील कोइरालालाई वेश्यालयको आँगनमा नचाएर हुर्मत लिन पाएको ठान्दै केही थरी मानिस तुष्टि लिँदै छन् । तथापि कोइराला आफैँ अग्रसर नभएर अन्य पार्टीहरूको निरन्तर दबाब तथा पार्टी केन्द्रीय समितिको सर्वसम्मत निर्णयबाट प्रधानमन्त्रीको उम्मेदवार बन्नुभएकोले उहाँको व्यक्तिगत छविमा धक्का पु¥याएको छ भन्न मिल्ने देखिन्न । सम्भावित प्रधानमन्त्रीका रूपमा मैदानमा रहिरहँदा पनि उहाँले ‘सत्तासँग सिद्धान्त नसाट्ने, प्रधानमन्त्री पदसँग लोकतन्त्र नसाट्ने र अधिनायकवादसँग झुकेर प्रधानमन्त्री नबन्ने’जस्ता अभिव्यक्ति दिएर आफ्ना निम्ति पदभन्दा सिद्धान्त, विचार र निष्ठा नै ठूलो रहेको सन्देश प्रवाहित गरिरहनुभएको छ । तर, कोइरालाले जाली विपक्षीहरूसँग जत्तिकै आफ्नै निकटवर्तीहरू जो पात्र र परिस्थितिलाई बुझेर सही सुझाव गर्न सक्दैनन्, जसले प्रधानमन्त्री बन्न उकासे तर त्यसनिम्ति केही गर्न सकेनन् त्यस्ताहरूसँग पनि सचेत र होसियार रहन भने आवश्यक छ ।
पदले मानिसको योग्यता र क्षमता बढाउँदैन, बढाउने हैसियत मात्र हो । सुशील कोइरालाको व्यक्तित्व पदले चुलिएको पनि होइन । कमल थापाहरू राष्ट्रियता, प्रजातन्त्र, संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्रको पहिचानजस्ता मुद्दा बोकेर हिँड्न थालेपछि राप्रपा नेपाल जस्तो पार्टीले समेत जनस्तरमा चर्चा पाउन थालेका बेला काङ्गे्रस पार्टीलाई अधिनायकवादी विचार समूहको अभेद्य विकल्प बनाउन सुशील कोइरालाले धेरै गर्न बाँकी छ । विद्यमान परिस्थिति निष्ठाको निरुत्साहन गर्ने प्रकारको छ, यसबाट सुशील कोइरालाजस्ता नेता सुरक्षित रहन सकून् यही शुभकामना ।

devprakash9@hotmail.com

१७ पुष २०६९, मंगलवार १९:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोनाका २८८ बिरामी थपिए, संक्रमितको संख्या २१ सय नजिक

काठमाडौँ, २० जेठ । एकै दिन २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले थप २८८ जनामा संक्रमण..

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..