घुम्ने मेचमाथि अन्धो मान्छे

रामशरण प्याकुरेल:
मुलुकको राजनैतिक परिस्थिती यतिवेला निकै जटिल मोडबाट अगाडी बढीरहेको छ। राजनीतिक पार्टीहरु र नेताहरुभित्रको आपसी घृणा, अविश्वास, आन्तरिक मतभेदका साथै जातीय तथा क्षेत्रीय भावनाले गर्दा विषयवस्तुको पृष्ठभुमीमा राष्ट्रिय सहमती निर्माण हुन नसकिरहेको अवस्थाका कारण मुलुक झनै अराजकता र अस्तव्यस्ततातिर गई कतै राष्ट्र नै असफल हुने त होइन भन्ने आशंका देखिन थालेको छ।
राष्ट्रिय सहमतीविना मुलुकले निकास पाउँदैन् भन्ने कुरा सबैले बुझेकै छन्। तर बुझ्दा बुझ्दै पनि एक आपसमा हिलो छ्यापाछ्याप् र दोषारोपण नेताहरुको दिनचर्या जस्तै बन्न पुगेको छ। दैनिक वैठक बस्ने, विना निष्कर्ष उठ्ने, राष्ट्रिपतिलाई समय थप्नका लागि गुहार मागिरहने नेताहरुको दैनिकी नै बनेको छ। आफूले नसकेर स्वतन्त्र व्यक्तिलाइ प्रधानमन्त्री बनाउने जस्ता हुतिहारा कुरा गर्न पनि दलहरु हिच्किचाइरहेका छैनन् । यस्तो हिसावले लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन त के कुरा शान्ति र संविधानले पूर्णताका साथै राष्ट्रिय सहमती कायम गरी संकटको निकास निकाल्न किमार्थ संभव छैन।
राजनीति सामाजिक विज्ञान पनि हो भनिन्छ। सामाजिक विज्ञानले राजनीतिक घटनाहरूको विहंगम विश्लेषण गरेर पारख प्रदान गरेको हुन्छ। केही राम्रा सिद्धान्तहरू यसैका कारण पुष्टि पनि भएका छन्। किनभने राजनीति भनेको मानिसको आर्थिक, सामाजिक एवं मनोवैज्ञानिक सोचाइहरूबाट प्रभावित हुन्छ। यो अकाट्य नियम हो। नेपाली राजनीति यस यथार्थताबाट विमुख भएको छ। नेपालका राजनीतिक नेताहरू नेपाली समाजको सामाजिक एवं आर्थिक परिवर्तनको चाहनालाई बुझ्न नचाहेर राष्ट्रलाई उल्टो गतिमा धकेल्न खोजिरहेका छन्। सबै नेताहरु यो अवस्थाका लागि थोरबहुत जिम्मेवार रहे पनि वर्तमान गतिरोधका लागि भने सबैभन्दा बढी जिम्मेवार वर्तमान गठबन्धन सत्ताका टोली नेता प्रधानमन्त्री भट्टराइ नै रहेका छन् ।
सरकार प्रमुख र गएको संविधान सभामा सबैभन्दा ठूलो दलको नेताका पनि हैसियतले प्रधानमन्त्री बाबुराम भट्टराईले मुलुकलाई सहमतिको मार्गमा डोर्र्याउने नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्दर्थ्यो । तर पछिल्लो समय उनकै हठका कारण सहमति लंघारिइरहेको छ। एकातिर उनी सहमतिका लागि आफू कुनै पनि बेला पद छाड्न तयार भएको भाषण दिन्छन् भने अर्कोतिर ज्यान गए पनि कुर्सी नछाड्ने, आफैले चुनाव गराएरै छाड्ने र आफ्नै सरकारमा विपक्षीहरुलाई ल्याएर यसैलाई राष्ट्रिय सहमतिको सरकारको रूप दिइ छाड्ने बताउँदै हिँड्छन्।
मुलुकले अहिले खोजेको सहमतिको अर्थ प्रधानमन्त्री भट्टराईले नबुझेका होइनन्, उनले बुझ पचाइरहेका छन्। आफैंले घोषणा गरेको चुनाव गराउन असफल भइसकेका नेताले पुनः घोषणा गरेको चुनाव गराउन सक्छन् भन्ने आधार देखिँदैन। सहमतिको सरकारका लागि त्याग गर्न तयार हुनुपर्नेमा हठधर्मिता देखाएर यही सरकारलाई निरन्तरता दिने मुडमा उनी देखिन्छन्।
राज्यसत्ताको निरन्तर अनैतिक दोहन गरी शक्ति आर्जन गर्ने र पार्टी कब्जा गर्ने सुरसारमा पनि छन् हाम्रा प्रधानमन्त्री । यसैको छनक पाएर होला, प्रचण्ड निन्याउरो मुख लाएर ‘मैले सकिन, बाबुरामजीलाइ तपाइंहरुले नै सम्झाउनु पर्र्यो ‘ भनेर अरु दलका नेताहरुलाइ भन्न विवश भएका । कुनै बेला यस्तो पनि अवस्था थियो माओवादी पार्टीमा, प्रचण्ड एउटा शक्तिशाली प्राधिकार र पार्टी हेड क्वार्टरका हिसाबले उनका हरेक कुरा अकाट्य हुन्थे । आफ्नै अध्यक्षको भनाइलाइ समेत नटेरेर सत्ताका लागि मूल्य, मान्यता र सिद्धान्तलाई तिलाञ्जली दिने यात्रा प्रधानमन्त्री भट्टराइले प्रारम्भ गरेका छन्। यसबाट स्वयं माओवादी आफैंले समेत नोक्सान खेपीरहेको छ ।
दुखकासाथ भन्नै पर्ने भयो, वर्तमान प्रधानमन्त्री पनि विचारविहीन मानिसका कोटीमा समावेश भइसकेका छन्। उनको यस खालको सत्ता यात्रा राष्ट्रका लागि दुर्भाग्य नै हुंदैछ। अर्थात् परिवर्तनको आशा गर्नुपर्ने ठाउँ अब उनीसँग छैन। असल मानिसहरू समयमा सान्दर्भिक घटनाहरूको प्रभाव बुझेर त्यस्तो प्रभावलाई आफ्ना र अरु सबैको भलाइका लागि प्रयोग गर्ने खुबी राख्छन्। तर उनी त भूपी शेरचनको कविताको विम्वात्मक पात्र घुम्ने मेचमाथिको अन्धो मान्छेजस्तै भएका छन् । आखिर किन हाम्रा नेताहरुको छवि स्खलित भइरहेको छ ? किन नेताहरू सत्ता र शक्तिको स्वाद चाख्न थालेपछि बिगि्रहाल्छन् ? भनिन्छ, सत्ता र शक्तिको उन्मादले मान्छेलाई ‘अन्धो’ बनाइदिन्छ ।
कामचलाउको हैसियतमा रहेका प्रधानमन्त्रीले सकेसम्म सहमति बन्न नदिने र वर्तमान सत्तालाई नै टिकाइराख्ने प्रपञ्च रचीरहेका छन्। प्रत्येक दिन नयाँ-नयाँ सर्त र नयाँ-नयाँ प्रस्ताव आइरहँदा सहमतिको वातावरण झन् धुमिल बन्दै गइरहेको प्रष्ट भएको छ। सत्तारुढ गठबन्धन जिम्मेवार नहुँदासम्म राष्ट्रले कुनै निकास पाउन सक्ने छांट छैन। जव राजनीतिक सिद्धान्तको आवरणमा व्यक्तिहरुका स्वार्थ र महत्वाकांक्षा मुखरीत हुन थाल्छन् त्यतिबेला सहमती र सहकार्यको अपेक्षा गर्नु एउटा पाखण्ड मात्र हुन जान्छ।
अवश्य पनि हो, प्रधानमन्त्री हुनुभन्दा अगाडि निश्चयनै डा. बाबुराम भट्टराई नेपाली राजनीतिको आशा एवं भरोसाका केन्द्रविन्दुमा थिए । जनताले उनी जत्तिको मान्छेलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहन्थे । डा. बाबुराम भट्टराई प्रधानमन्त्री बनेपछि अन्यौलको चौघेरामा फंसेको मुलुकको राजनीतिले सकारात्मक दिशा लिन्छ भन्ने धेरैको अनुमान पनि थियो । यति मात्रै होइन, भट्टराई प्रधानमन्त्री बनेपछि भ्रष्टाचारको दलदलबाट देश मुक्त हुन्छ र जनताले सुशासनको अनुभूति गर्न पाउनेछन् भन्नेहरूको संख्या पनि कम थिएन । तर उनकै पदलम्पटका कारण न राजनीतिक सहमति बन्न सकिरहेको छ, नत संविधानसभाको निर्वाचनको सुनिश्चितता नै ।
राष्ट्रपति रामवरण यादवले दिएको पांचौं पटकको समयसीमाभित्र राष्ट्रिय सहमतिको सरकार गठनलगायत प्याकेजमा सहमति गरी राजनीतिक निकास दिने गरी केही दिनदेखि माओवादी, कांग्रेस र एमाले शीर्ष तहमा छलफल चलेको समाचारकासाथै पछिल्ला समयमा माओवादी अध्यक्ष प्रचण्डले भट्टराइलाइ राजिनामा गराउने कुरामा देखाएको सक्रियताका कारण पनि अब केही हुन्छ कि भन्न अपेक्षा राजनीतिक बृत्तले गरेको थियो । तर प्रधानमन्त्री भट्टराईले वर्तमान सरकारमा कांग्रेस-एमाले छोटो समयका लागि नै भए पनि सहभागी नभएसम्म कुनै हालतमा पनि राजीनामा नदिने, बरु संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा वा साना दलको नेतृत्वमा चुनावी सरकार गठन गरिनुपर्ने नयाँ प्रस्ताव अघि सारेर अरु संशय थपिदिएका थिए।

उनको यो बहुलठ्ठी प्रस्तावलाइ कांग्रेस-एमालेका नेताहरुले भने राष्ट्रपतिले कामचलाउ घोषणा गरिसकेको सरकारमा आफूहरु सहभागी हुने कुनै सम्भावना नरहेको दोहोर्‍याउँदै आफ्नै अध्यक्ष समेतले गरेको सहमति नमानेर विभिन्न बहानामा सहमति गर्न बाधा उत्पन्न गरेर सत्तामा बसिरहने रणनीतिका कारण प्रधानमन्त्री भट्टराईले सहमति भाँडीरहेको टिप्पणी गरेका छन्।
परिस्थिति अनुकूल पार्दै संधै सत्तामा कायम रहने अहिलेको सरकारको उद्देश्य होइन भने अहिले पनि अन्तरिम संविधान अन्तर्गत अर्को चुनाव भएर नयाँ संविधानसभा वा संसद्को स्थापना नहुन्जेलसम्मको अवधिका लागि पुनः एउटा राष्ट्रिय सहमतिको नयां सरकारको निर्माण गरी यो संक्रमणकाल व्यवस्थापन गर्न वर्तमान एमाओवादी-मधेसी मोर्चाको गठबन्धनले सत्ता छाडेर मार्गप्रशस्त गर्नुको विकल्प छैन । अर्कोतर्फ, संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्नका लागि दलहरूबीचको राजनीतिक सहमतिबाट नयाँ संविधानसभाको निर्वाचन गर्नु अर्को एउटा अपरिहार्य सर्त पनि हो ।
२०६९।०९।०९ rspyakurel@gmail.com

११ पुष २०६९, बुधबार ०६:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोनाका २८८ बिरामी थपिए, संक्रमितको संख्या २१ सय नजिक

काठमाडौँ, २० जेठ । एकै दिन २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले थप २८८ जनामा संक्रमण..

नेपाल फर्कन चाहनेलाई विवरण बुझाउन राजदूतावासको आह्वान

लण्डन, २० जेठ । लण्डनस्थित नेपाली राजदूतावासले नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो..

रुकुम घटनाले गरेको दिशानिर्देश र केहि सन्देश !

छुवाछुत एक किसीमको सामाजिक कुरीति हो। यो निश्चित सम्प्रदायका मानिसले अरु अभिजातीय मानिसलाई छुन नहुने प्रथाका..

१ करोडको कार्पेट फेर्ने खबरपछि ‘राष्ट्रपति’लाई चिठी

महामहिम राष्ट्रपति ज्यू, नमस्कार । राष्ट्रपति कार्यलयमा १ करोडको कार्पेट फेर्ने गरि ठेक्का लागेको समाचारहरु..

‘विदेशी मुद्राको बचत गर्न विद्युतीय गाडीमा भन्सार बढाउनु परेको हो’

काठमाडौँ, १९ जेठ । सरकारले जेठ १५ गते ल्याएको आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फ इलेक्ट्रिक सवारी साधनमा..