स्यालको ‘मासु जोखाइ’ बन्यो देश :: इन्द्रबहादुर बराल

पट्यारलाग्दो सहमतीको यात्रा–प्रयासले कहिल्यै सार्थक निष्कर्षमा पुग्ने शुभसङ्केत दिन सकिरहेको छैन । यस्तो अन्त्यहीन सहमतिको प्रयत्नले केही आशा त दिन सक्ला तर ठोस सकारात्मक निचोड दिन नसक्दा मुलुकलाई घोर अन्धकारतर्फ उन्मुख गराइराखेको छ । अतः यस्तो अनिर्णयको बन्दी बनाइराख्दा कतै देश स्यालको मासु जोखाइजस्तो हुन गई मुलुककै स्वाधीनता र सार्वभौमिकता नै समाप्त हुने त होइन भन्ने आशङ्का पैदा हुनु स्वाभाविकै हो । यहाँ स्यालको मासु जोख्ने उखान किन भन्न खोजिएको भने स्यालले मासु जोख्दाजोख्दै सबै मासु आफैंले खाएर सक्छ रे र बाँकी अरूलाई दिन केही पनि रहँदैन भनेजस्तै सहमतीय सरकारका यावत् प्रयत्नहरू असफलल हुँदै जाँदा मुलुकै असफल भयो भने, त्यसपछिको अवस्था के हुने हो भन्ने सवालमा कसैसँग पनि चित्तबुझ्दो जवाफ सायद नहुन सक्छ र असफल राष्ट्र घोषित भइसकेपछि हामी स्वाभिमानी र सार्वभौमसत्तासम्पन्न नेपालीमाथि प्रश्नचिह्न खडा हुन्छ कि हुँदैन ? यसको चित्तबुझ्दो जवाफ अब आमनेपाली नागरिकले खोज्नु के अस्वाभाविक हुन्छ ?
अवश्य पनि त्यस्तो दुःखद् र दुर्भाग्यका दिनहरू नआऊन् र नेपाली नेपाली नै भएर बाँचिरहन पाउने अधिकारमाथि कहीँ–कतैबाट खतरा नआओस् भन्ने दृढविश्वस्त देखिन्छन् । तथापि विद्यमान राजनीतिक क्षितिजमा देखिएको अत्यन्तै केटाकेटीपनले भने त्यस्तो विश्वास राख्नेहरूमा झस्काइराखेको हुन्छ । यसर्थ जतिसक्यो चाँडो वर्तमान राजनीतिक एवम् संवैधानिक गतिरोधको अन्त्यले नै आमनेपाली नागरिकको मनमा आशा र भरोसा पलाउँछ । अन्यथा नेपालीमा एउटा भनाइ ‘चुरा लाउने भए पोइ टोक्थिस् राँड’ भनेजस्तै प्रधानमन्त्री डा. भट्टराई के संविधानसभाबाट संविधान जारी गर्ने भए एकतर्फी रूपमा विपक्षी दलहरूसँग परामर्श नै नगरी संविधानसभाको गला निमोठिने थिएन होला नि ? सरकारी साधन र स्रोतको दुरुपयोग गर्दै आफूसँग असहमति राख्नेहरूविरुद्ध खनिनु कम्तीमा पनि डा. साहेवजस्तो विद्वान् प्रधानमन्त्रीलाई सुहाउने कुरै भएन । संविधानसभाबाट संविधान जारी गरिनुपर्ने तर आफ्नै हातबाट संविधानसभाको गला रेट्ने प्रधानमन्त्री डा. भट्टराईलाई जवाफ दिन हाम्रो नेपाली समाजमा सुनिँदै आएको उखान प्रयुक्त गरेकोमा आमा, दिदी, बहिनीप्रति घृणा र अपमान गर्न खोजेको नभई प्रसङ्गवश उक्त उखान सान्दर्भिक र पेचिलो हुने देखेर नै लेखमा समाविष्ट गरिएको हुँदा अन्यथा रूपमा नबुझ्नसमेत विनम्रतापूर्वक अनुरोध गरिन्छ ।
यदि प्रधानमन्त्री भट्टराईले संविधानसभाबाटै संविधान लेखन गर्ने भित्री इच्छा थियो भने अवश्य पनि बरु प्रधानमन्त्री पद परित्याग गर्थे होला तर संविधानसभा विघटन वा भङ्ग गर्ने थिएनन् । यसबाट प्रस्ट बुझिन्छ कि उनी संविधानसभाबाट संविधान बनोस् भन्ने चाहँदैनन्, बरु वर्तमानको अन्योलपूर्ण राजनीतिक परिस्थितिलाई थप जटिलतातर्फ धकेल्दै शान्तिपूर्ण बाटोबाटै दशवर्षे जनयुद्धले प्राप्त गर्न नसकेको राज्यसत्ता प्राप्तिको मार्गमा निर्ममतापूर्वक लागेको भन्नु उपयुक्त होला । आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहालले समेत सहमतीय सरकारका लागि प्रधानमन्त्रीलाई पद त्याग गर्न गरिएको अनुरोधलाई समेत बेवास्ता गर्दै संविधानसभाले गर्ने काम अहिल्यै हुनुपर्ने अडान राख्दै कुर्सीको आयु लम्ब्याउनेतर्फ प्रवृत्त देखिनु आश्चर्य मात्र होइन रहस्यमय पनि हो । देशको सम्पूर्ण शक्ति र आफ्नै पार्टी अध्यक्षसमेत सहमतीय सरकारका लागि मार्गप्रशस्त हुनुपर्ने विचार सार्वजनिक हुँदा पनि प्रधानमन्त्री पद त्याग गर्न पटक्कै नचाहनुको पछाडि कुन शक्तिको आडमा डा. भट्टराई चलिरहेका छन् भन्ने बुझ्न अब कुने गाह्रो विषय हो जस्तो लाग्दैन । आफ्नै सहयात्री नेकपा–माओवादीले लगाउँदै आएको आरोप र मधेसवादी दलसँगको गहिरो सत्ता–गठबन्धन साँठगाँठले पनि सहजै अनुमान गर्न सकिन्छ । यस्तो निर्लज्ज खेलको कुनै पनि राष्ट्रवादी नेपालीलाई चुप लागेर बस्न दि“दैन ।
त्यसैले अब बेला आएको छ, सबै तह, तप्का र क्षेत्रबाट मुलुकलाई यस सङ्गीन मोडबाट जोगाउन आवश्यक परे सडकमा ओर्लन तयार हुनुपर्छ । यो मुलुक सबैको साझा हो, कसैको बाबुको बपौती पनि होइन, धेरै ठूलो त्याग र बलिदानीको परिणामस्वरूप निर्माण भएको यो मुलुकमा वीर बलभद्र कु“वर, भक्ति थापा, भीमसेन थापा, कालु पाण्डे र ‘म बाघको डमरु हुँ सिनो खाने कुकुर नसम्झ’ भनी ब्रिटिस साम्राज्यलाई मुखतोड जवाफ दिने अमरसिंह थापासम्मको पौरख र गौरवले जोगाइराखेको देश हो यो । जसले आजको नेपाल निर्माण ग¥यो त्यसैलाई खुनी हमलाकारीको संज्ञा दिनेहरूबाट अब देशको अस्मिता र अस्तित्व रक्षा होला भन्न सकिँदैन । इतिहासलाई बङ्ग्याएर वा तोडमोड र गलत अर्थ लगाएर राज्यसत्ता प्राप्तिको मार्गमा अग्रसर हुनेहरूबाट समयमा नै सचेत हुनैपर्छ । दुई–चार अक्षर पढेकै भरमा ढाँट, छल र षड्यन्त्रकै बलमा सत्ताको शिखरमा पुगेकाहरूले अब बुझ्नैपर्छ, काला गए गोरा आउँछन् वा तारे गए तिल्के पनि आउन सक्दछ । आफूले जे बुझ्यो त्यही ठीक भन्ने अड्डीले अब देशको हित हुन सक्दैन । तसर्थ सबैले बुझ्ने बेला आइसकेको छ कि सहमति, सहमति मात्र भनेर सहमति सम्भव छैन, त्यसका लागि पहिलो सर्त ‘त्याग’ हो । देश र जनताका लागि कहालीलाग्दो जनयुद्ध लडेका मसिहाले जाबो प्रधानमन्त्री पद त्याग गर्न नसक्नु कि त पद लोलुपता नै हो या राज्यसत्ता प्राप्तिको रणनीति हुनुपर्दछ । यी दुई तर्कबाहेक अर्को केही हो जस्तो लाग्दैन । अन्यथा विश्वसामु नेपालीहरूको मान, सम्मान र गौरवको खिल्ली उडाउनुसिवाय अरू के हुन सक्छ ?
त्यसैले प्रधानमन्त्री डा. भट्टराईज्यू अझै मौका छ तपाईंको बचेकुचेको छवि जोगाउने । यो मौका पनि गुम्यो भने डा. भट्टराई त पतन भयो, भयो सारा नेपालीको पतन पनि अवश्यंभावी छ । एउटा विद्वान् प्रधानमन्त्रीले त्यस्तो दुर्गतिका दिन आउनबाट रोकिनुपर्छ । अन्यथा यसको नाममा पनि सहमति नजुट्ने उसको नाममा पनि सहमति नजुट्ने स्थिति सिर्जना गरी आफैं सत्तामा मधेसवादी दलको वैशाखीमा टिकिरहने अभीष्टले सहमतीय प्रयास र पहललाई निरर्थक सावितबाहेक अरू केही हुँदैन । स्यालले तराजुमा मासु बराबरी गर्छु भन्दै जोख्दै जाँदा कहिले एकातिर भाँट्ने, झाँट्नेतिर धेरै भयो भन्दै मासुको चोक्दा झिक्दै खाँदै गर्ने अनि फेरि जोख्दा अर्कोतर्फ झाँट्ने र बढी भयो भन्दै खाँदै जाँदा, त्यो क्रम निरन्तर जारी रहँदा सबै मासु सक्याथ्यो रे स्यालले । त्यस्तै स्याल नबन्नुहोस् डा. साहेव, यसको नाममा पनि सहमति नजुट्ने उसको नाममा पनि सहमतिमा नआउने र अन्त्यमा आफ्नै हालीमुहालीको दाउमा लागिरहँदा मासु नरहेजस्तो देश नहोस् भन्ने चिन्ता हो । यदि त्यस्तो स्थिति विद्यमान गराउन खोजिएको हो भने एकपटक राजनीतिक दलहरूलाई पछाडि राखेर नागरिक समाजको अग्रसरता मुलुकले चाहेको हुनसक्छ । प्रधानमन्त्री डा. भट्टराईले एकपटक अतीततिर फर्केर हेर, संविधानसभाबाट नेपाली जनतालाई संविधान चाहेको हो भने किन ०६८ साल जेठ १४ गते मध्यरातमा संविधानसभाको विघटन गर्नुभयो । औपचारिक रूपमै संविधानसभाको विघटन गरेर ७ मङ्सिर ०६९ को संविधानसभाको चुनाव गराउन सकेको भए विघटनको औचित्य पुष्टि हुने थियो । संविधानसभाको निर्वाचनको मिति तोकेर छँदाखाँदाको संविधासनसभा विघटन गर्ने, चुनाव पनि गराउन नसक्नेले अरूलाई जिम्मेवार थुपारेर आफू चोखो बन्न खोज्नु दिवास्वप्न मात्र बाहेक अरू के हुन सक्छ ? आफूबाहेक दुनियाँमा अरूलाई नदेख्नेले भोलि कुनै सनकमा आएर देशै विघटनको मौका छोपेर बसेकाहरूको मतियार नहोलान् भन्न सकिँदैन । त्यसकारण पनि इतिहासमा स्वर्ण अक्षरमा अङ्कित हुने व्यक्तित्व जसबाट नेपाली जनताले मुक्तिको सास फेर्ने आकाङ्क्षा राखेका जनयुद्धका नायकमध्ये एक विद्वान् कहलिएका डा. भट्टराई अनुहारमा कालो दाग लाग्न सक्छ ? अब प्राविधिक कुरा मात्र निकालेर मुलुकलाई अनिर्णयको बन्दी बनाइराख्नु किमार्थ बुद्धिमानी होइन । तसर्थ सकिन्छ अरू राजनीतिक दललाई विश्वास दिलाएर आफ्नै नेतृत्वको सरकारमा सहभागी गराउनुहोस्, सकिँदैन पद त्याग गरेर सहमतिको मार्गप्रशस्त गरिदिनुहोस् । न सहमति बन्ने न सहमतिको स्वर बन्द हुनाले ‘…भन्दा देख्नेलाई लाज’ भएन र ? कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै नेपालको राजनीतिक खेलमा कहिले एक्लै चुनाव भइरहँदा पनि जित हुन नसक्ने त कहिले सहमति भनेर नथाक्ने अवस्थालाई वर्तमान राजनीतिक नेतृत्व तह अक्षम र अयोग्य भन्नुको विकल्प रहँदैन । परिस्थितिलाई केन्द्रमा राखेर गहन जिम्मेवारीका साथ बहस र छलफल गरेर सही निष्कर्षमा पुग्ने इमानदार प्रयासमा लाग्नु नै अहिलेको दायित्व हो । अन्यथा स्यालले मासु जोखेजस्तै देश नबनोस् भन्ने शुभेच्छाबाहेक के नै बाँकी रहन्छ र ।

९ पुष २०६९, सोमबार १८:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..