बाबुरामले सत्ता नछोड्ने, विपक्षी निरीह !

काठमाडौं, ७ पुस । अन्ततः राष्ट्रपतिले दिएको पाँचौँ अवसर पनि खेर गयो । अघिल्ला समयभन्दा यसपटक नेताहरु सक्रिय भएकाले केही निष्कर्ष निस्कने आशा गरिए पनि प्रधानमन्त्री बाबुराम भट्टराईले वर्तमान सरकारलाई सहमतीय स्वरुप दिएर केही प्रमुख काम गरेपछि मात्र कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने अडान राखेपछि बन्न लागेको राजनीतिक सहमति अबरुद्ध भएको हो । भट्टराईले आफ्नो प्रस्तावमा सहमति नजुटेमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा वा साना दलको नेतृत्वमा सहमतीय सरकार गठन गर्नेे प्रस्ताव पनि राखेका छन् । उनको प्रस्तावलाई कांग्रेस र एमालले  भने चुनाव नगर्ने र सत्ता पनि नछाड्ने षडयन्त्रको रुपमा लिएका छन् ।
जतिसुकै आदर्श कुरा गरे पनि बाबुराम भट्टराईले आफू सत्तामा पुगेदेखि नै सत्ता नछाड्ने नियत देखाउँदै आएका हुन् । शुरुमै ४५ दिनभित्र मुलुकलाई निकास दिन  नसके सत्तामा टांसिइ नरहने बताएका उनले आफ्ना बाचाअनुरुप काम गर्न नसकेपनि सत्ता त छाडेनन् नै ‘अघिल्लोपटक सत्ता छाडेर गल्ती गरियो, अब छाडिंदैन’ भनेर आफ्नो उद्देश्य प्रष्टै पारेका हुन् । यसपछि नै विभिन्न बहाना र बखेडामा बर्तमान गठबन्धन विपक्षीलाई बेवास्ता गर्दै अघि बढेको र संविधानसभा विघटनसम्म पुगेको हो ।
संसदको समेत काम गरिरहेको संविधानसभा विघटन भएपछि आउन सक्ने सम्भावित संकटको बेवास्ता गर्दै एकपक्षीय ढंगमा निर्वाचनको घोषणा गरेर भट्टराई नेतृत्वको सरकारले वर्तमान संकट जानाजान निम्त्याएको हो । सधैं सत्तामा रहन चाहने मधेसी मोर्चाका नेताको स्वभाव र जसरी पनि सत्ता कब्जा गर्ने एमाओवादीका बीच यहीँनेर मेल भएको हो, मधेसी–माओवादी गठबन्धनको योभन्दा बाहेक अर्को कुनै आधार छैन, किनकि न यिनको सिद्धान्त मिल्छ न विचार । यसैले यो सत्ता स्वार्थको गठबन्धन हो । यो मुलुकलाई संकटमा पार्ने र राष्ट्रियतालाई नै कमजोर बनाउने गठबन्धन हो भन्ने यसका गतिविधिले पनि प्रष्टै गरेको छ ।
सहमतिको कुरा गर्ने तर सहमति हुन नदिने एमाओवादीको दोहोरो चरित्रका कारण नै मुलुकले निकास पाउन नसकेको हो । मधेसीको सहमतिमा सरकारले कानुनी कारबाही गर्नुपर्नेहरुका मुद्दा फिर्ता गरिरहेको छ । अराजकता र दण्डहीनता बढाइरहेको छ । अपराधीको संरक्षण गरेर विधिको उपहास गरिरहेको छ । जनतामा बढ्दो निराशा प्रति कुनै वास्ता छैन । सरकार एकोहोरो आफ्नै ढंगमा अघि बढिरहेको छ । यस परिस्थितिमा प्रधानमन्त्रीले नै भइसकेको भनिएको सहमति अन्तिम समयमा आएर अड्काएपछि अब अल्मलिनु पर्ने कुनै कारण नै छैन । एमाओवादी र वर्तमान सत्ता गठबन्धनको विपक्षीहरुलाई अल्मल्याउने र सत्तामा टिकिरहने, आफ्ना स्वार्थ पूरा गरिरहने नियत हो भन्ने कुरामा  अब कुनै भ्रम छैन ।
बाबुराम भट्टराईले भनेझै सबै कुरा भएपनि उनले सत्ता छाड्लान भन्ने कुनै विश्वास छैन । उनले भनेका सबै कुरामा सहमत भएपनि त्यसपछि उनले अर्को सर्त तेस्र्याउने छन् । संविधान संशोधन, पदाधिकारी नियुक्ति आदि सम्पूर्ण काम सकिएपछि सबै कामका लागि बैधानिक मार्ग प्रशस्त हुने भएकोले राज्यसत्ताको दुरुपयोग गर्न अझ सहज हुने भएबाट पनि उनी त्यसपछि पनि सहजै सत्ता छाड्लान् भन्ने ठान्नु मूर्खता मात्र हुन्छ ।
बाबुरामका कृयाकलापले उनको आदर्श केवल देखावटी रहेछ भन्ने त प्रष्टै भयो उनको राजनीतिक उचाई समेत खस्केको छ । विद्वान भनिएको मान्छेपनि सत्तामा पुगेपछि कसरी बुद्धिभ्रष्ट हुँदोरहेछ भन्ने पनि प्रष्ट भएको छ । समग्र परिस्थितिको विश्लेषण गर्दा के स्पष्ट हुन्छ भने बाबुरामहरुको अर्को उद्देश्य राष्ट्रपतिको मानमर्दन पनि हो । राष्ट्रपतिलाई ‘कांग्रेस’ भन्दै आएका उनीहरुले आफ्नो मार्गको बाधक राष्ट्रपतिलाई ठानेका छन् । प्रधानमन्त्रीले नै अत्यन्त अमर्यादित ढंगमा राष्ट्रपतिमाथि लाञ्छना लगाउँदै आएका छन्, अध्यादेश अड्काएको भन्दै उनको आलोचना गरेका छन् । यस स्थितिमा  बहाना बनाएर सहमति भाँड्नुको निहित उद्देश्य राष्ट्रपतिको समयसीमा उल्लंघन र यसैबाट उनको मानमर्दन गर्ने हो भन्नेमा कुनै भ्रम छैन । तर राष्ट्रप्रमुखको मानमर्दन, उनले दिएको समयसीमाको बेवास्ता अत्यन्त विडम्बनापूर्ण विषय हुन् किनकि राष्ट्रको अभिभावकको अपमान गर्दा आफ्नोसमेत अपमान हुन्छ भन्ने बाबुरामहरुले बुझ्नुपर्छ ।
इतिहासमै नयाँ–नयाँ कीर्तिमान कायम गर्न सफल, सबैभन्दा अलोकप्रिय सरकारको नेतृत्व गरेका बाबुराम र एमाओवादीले आफूलाई यो मुलुकको ठेकेदार ठानेका छन् । जवकि वर्तमान सरकारले अपराधीलाई सजाय गर्नुको साटो उन्मुक्ति दिने र दण्डीत गर्नेहरुलाई पुरस्कृत गर्ने काम गरिरहेको छ  । संभवत ः गठबन्धनले अझै यस किसिमका धेरै काम गर्नु बाँकी छ र नै बाबुरामहरुले आफूलाई सत्तामा टिकाइरहन चाहेका छन् त्यो पनि निर्वाचनको सुनिश्चितताको नाममा । सत्ताधारीहरु लोकतन्त्रको नाममा लोकतन्त्रकै उन्मूलनतर्फ उन्मुख छन् । यसैले अव पनि सहमति गर्ने र सहमति पालन गर्ने कुरामा अग्रसरता देखाउँदैनन् भने विपक्षी दलहरुले यिनलाई गलहत्याउने आँटका साथ अघि बढ्नुपर्छ, भुलभुलैयामा पर्ने होइन । अन्यथा यिनलाई इतिहासले धिक्कार्ने छ ।

७ पुष २०६९, शनिबार २१:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना संक्रमणको आशंकामा कतारबाट फर्काइएका १४९ लाई क्वारेन्टिनमा राखियो

काठमाडौँ, २७ असार । कोरोना भाइरस सङ्क्रमणको आशङ्का भएपछि शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा..

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौँ, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गरेका छन् । शुक्रबार राती देशबासीका..

म्याग्दी पहिरोः बेपत्ताहरुको खोजीमा मौसम बाधक, सेनाको हेलिकप्टर जानै सकेन

म्याग्दी, २६ असार । म्याग्दीमा पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । धौलागिरि गाउँपालिका–६..

५ लाख पचाउन आर्थिक वर्षको अन्तिममा ३ दिने कार्यक्रम

बारा, २६ असार । असारमा बजेट सक्ने चटारो जताततै देखिएको छ । बाराको महागढीमाई नगरपालिकामा पनि असारे विकास र बजेट..

भारतीय गुप्तचर प्रमुखहरु काठमाडौँमा, कहाँ बस्दैछन् ?

काठमाडौँ, २५ असार । भारतले आफ्ना सुरक्षा र गुप्तचर संस्थाका अधिकारीहरुलाई काठमाडौं पठाएको पाईएको छ । नेपालको..