लड्डु देखाएर लाठा वर्षाउनेको अन्तरकथा :: इन्द्रबहादुर बराल

अहिले मुलुक असहमति, असझदारी र असहिष्णुताको चरम उत्कर्षबाट गुज्रिराखेको कुरा सबैका सामु घामजस्तै छर्लङ्ग छ । तथापि सहमति, समझदारी र सहिष्णुताको भाषा या बोली बोलिरहनु बाध्यात्मक स्थितिलाई आत्मसात् गरेजस्तो देखाउने प्रयासमा प्रमुख भनिएका राजनीतिक दलहरू औपचारिकता पूरा गर्दै छन् । तर, मुलुक यसरी अनिर्णयको अवस्थाले निसास्सिएको छ कि कुनै पनि बेला भयानक विस्फोट हुन सक्ने देखिन्छ । यदि त्यस्तो परिस्थिति आयो भने सम्भवतः मौजुदा ठूला भनाउँदा दल र तिनका शीर्ष नेताहरू उछिट्टिएर कहाँ पुग्ने हुन् भन्न सकिने अवस्था छैन । तर, नेपाली जनता भने त्यस्तो स्थिति नआओस् र सहमतिकै आधारमा मुलुकले निकास पाओस् भन्ने चाहन्छन् ।
यस्तो चाहना र अपेक्षालाई प्रमुख जिम्मेवार पक्षले कमजोरीको रूपमा नलिई सदासयता र संयमताको एक अनुपम दृष्टान्त हो भनेर बुझ्नु नै बेस हुनेछ । जनताको सदासयता र संयमताको बाँध फुट्न गयो भने को कता बढारिन्छन् त्यो त भविष्यले नै बताउनेछ । त्यसकारण पनि अब राजनीतिलाई धेरै उपहासको रूपमा प्रस्तुत नगरौँ, राजनीति भनेको झुट र बेइमानीको अर्को स्वरूप हो भन्ने भनाइलाई सत्य सावित गर्नतिर नलागी वर्तमानको दायित्वबोध एवम् जवाफदेहिता बोध गरेर दलहरू अघि बढून् । देशले छिट्टै निकास पाओस् अनि शान्ति र समृद्धिको यात्रा तीव्रतापूर्ण अघि बढोस् भनी राष्ट्रपति महोदयबाट चालिएको कदम अत्यन्त सकारात्मक प्रमाणित गर्नु पनि त्यत्तिकै आवश्यक छ । यदि राष्ट्रको सर्वोच्च संस्थाको उच्चतम् गरिमा र महत्वलाई ठीक ढङ्गले सम्मान गर्न सकिएन भने सिङ्गो मुलुक ‘केटाकेटी आए गुलेली खेलाए’ भन्ने भनाइजस्तै हुन पुग्नेछ । भनिरहन पर्दैन, त्यसपछि मुलुकको अस्तित्व र अस्मिता नै धरापमा पर्न सक्छ ।
सर्वसाधारणका लागि त हुँदै हो, राजनीतिकर्मीका लागि पनि मुलुकभन्दा ठूलो अरू के हुन सक्छ ? त्यसैले पहिले देश जोगाऔँ, राष्ट्रियता मजबुत बनाऔँ, राजनीति त जति पनि गर्न सकिन्छ । त्यसैले राजनीति भनेको सहमति, सहकार्य, समझदारी र सहिष्णुताको संगम हो भन्ने प्रमाणित गरेर देखाउनु नै अहिलेको आवश्यकता हो । तर, त्यसको विपरीत मुलुक अहिले असहमति, असमझदारी, अनेकता र असहष्णिुताले तीव्र गति समातिनु अनर्थ र दुर्भाग्य नै हो । राष्ट्रपति महोदयबाट समय–सीमासहित सहमतीय सरकार गठनको आह्वानलगत्तै एउटा यस्तो तरङ्ग फैलियो कि कतै आशङ्का त कतै आशा । कोही भन्ने असंवैधानिक त कोही बोल्ने ठीक । यस्तै आशङ्का र आशाको बीचमा क्रमशः सकारात्मक सोचका साथ सहमतीय सरकार गठनको पहल र प्रयास निरन्तर अघि बढिराखेकै छ । र, सहमति गर्दिनँ भन्न नसक्ने तर भित्री मनदेखि सहमति गर्न पनि नचाहने मनोदशाका सत्तापक्षीय नेताहरू अनेक छलकपट र षड्यन्त्रमा तल्लीन भएका देखिन्छन् । सत्तापक्षीय षड्यन्त्रको एउटा ज्वलन्त उदाहरण हो– नेपाली काङ्गे्रससँग सहमतीय सरकारको नेतृत्व गर्ने उम्मेदवारको नाम मागिनु र काङ्गे्रसले सर्वसम्मत रूपमा पार्टी सभापति सुशील कोइरालाको नाम सार्वजनिक गरेपश्चात् सत्ता गठबन्धनको प्रमुख घटक एनेकपा माओवादीले फेरि अर्को अत्तो थाप्दै संविधानका अन्तरवस्तुमा सहमतिको सर्तमा मात्र काङ्गे्रस नेतृत्वको सहमतिको सरकार बनाइनुपर्ने अन्यथा वर्तमान गठबन्धनको सरकारले नछाड्ने अडान राजनीतिक बेइमानीको उच्चतम बिन्दु हो ।
यसर्थ, प्रधानमन्त्री पदको उम्मेदवारको नाम माग गर्नु, नाम दिइसकेपछि अर्को सर्त थप गर्नु भनेको काङ्गे्रसलाई प्रधानमन्त्री पदरूपी लड्डु देखाएर लाठी वर्षाएको किन नभन्ने ? हुन त आजको अवस्था हिजैदेखि हुँदै आएको हो, काङ्गे्रसले पटकपटक धोखा पाएकै हो, षड्यन्त्र र छलकपटका तमाम प्रकरण नभएका पनि होइनन् । त्यति हुँदाहुँदै पनि लोकतन्त्रको पहरेदार पार्टीले कतिपय छलकपट सबै प्रकारका षड्यन्त्र र अपमानलाई पचाएर फेरि पनि सहमति नै एक मात्र विकल्पलाई पछ्याइराखेको छ । लोकतान्त्रिक मूल्य र मान्यतासामु व्यक्ति वा पार्टीको मान–सम्मान र अपमान गौण कुरा हो । सायद नेपाली काङ्गे्रसले त्यसै भएर होला, जतिसुकै बेइमानी र षड्यन्त्रको सिकार भएर पनि एनेकपा माओवादीसँगको सहमतीय यात्राको पहललाई आजपर्यन्त निरन्तरता दिइआएको छ । यसको मतलब हो नेपाली काङ्गे्रसको सामु बहुलवादमा आधारित लोकतान्त्रिक मूल्य र मान्यताभन्दा ठूलो राजनीतिमा अरू केही छैन भन्ने प्रमाणित गरिसकेको छ । यही बाध्यता र वास्तविकतालाई चतुर रणनीतिक खेलाडी एनेकपा माओवादीले नबुझ्ने कुरै भएन । त्यसैले काङ्गे्रस पार्टीको तर्फबाट उम्मेदवारको नाम प्रस्तुत गरेपश्चात् अर्को सर्त तेस्र्याएर सहमतीय सरकार गठनमा अवरोध सिर्जना गरियो । यस्तो नकचरोपनले न त मुलुकले निकास पाउँछ न त शान्ति र समृद्धि नै सम्भव छ । यहाँ त केवल बेइमानी, षड्यन्त्र र छलकपटका घृणित खेलहरू मात्र निर्लज्ज ढङ्गले भइराखेका छन् । प्रधानमन्त्रीका लागि नेपाली काङ्गे्रससँग नाम माग गर्नुभन्दा पहिले नै संविधानको अन्तरवस्तुमा सहमति हुनुपर्ने पूर्वसर्त राखिएको भए सम्भवतः नेपाली काङ्गे्रसले बेइमानी भयो भन्न पाउने अवस्था रहने थिएन होला । तर, यहाँ त बेइमानी पनि अत्यन्त निर्लज्ज तरिका गरियो, ढाकछोप नै गर्न नमिल्ने गरी ।
राजनीतिमा यदाकदा सुनिने गरिन्थ्यो– राजनीति पद्धतिका लागि गरिन्छ, पद र प्रतिष्ठाका लागि होइन । तर, उदेकलाग्दो अवस्था देखियो कि यहाँ त केवल सत्ताप्राप्तिबाहेक अन्य केही पनि देखिएन । यस्तो लाजमर्दो स्थितिमा अलिकति नैतिकताको ख्याल गर्ने जोकोहीलाई पनि शिर निहुरिनुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरिनु अत्यन्त लज्जाको विषय हो । राजनीतिक दलहरू र तिनका नेताहरूले त सत्ता र भत्ताको अगाडि नैतिकताको ख्याल गरेनन्–गरेनन्, नागरिक समाज र मूल्य–मान्यताको राजनीतिमा भित्रैदेखि समर्पित आमनेपाली नागरिकको आत्मसम्मानमा कति चोट प¥यो होला ? केही राजनीतिक दल र नेताहरूको स्वार्थमा पूरै राष्ट्रको बेइज्जति कति न्यायोचित छ ? कम्तीमा नेपालको राजनीतिमा धेरैले आशा र भरोसा गरेका डा. बाबुराम भट्टराईले त नैतिकताको पाठ आफैंले उदाहरण बनेर देखाउनुपर्ने थियो होइन र ? के अरूले पढाउनुपर्ने पात्र बन्नु सुहाउने कुरा हो ? अब के नेपाली जनताले झुट, बेइमानी, छलकपट र षड्यन्त्रको आदर्श बोकेको पार्टी भनेरै एनेकपा माओवादीलाई चिन्ने वा बुझ्ने ?
आफ्नो राजनीतिक आस्था र विश्वास जुनसुकै पार्टीमा भए पनि वर्तमानको राजनीतिक र संवैधानिक गतिरोध अन्त्यका लागि कसैका प्रति पनि पूर्वाग्रह राखिनुहुँदैन । आज यस लेखको शीर्षक आफैं बोल्छ कि लड्डु देखाएर एनेकपा माओवादीले नेपाली काङ्गे्रसमाथि बेइमानीको लाठी वर्षाएको छ, प्रधानमन्त्रीको उम्मेदवारको नाम सार्वजनिक गर्न लगाएर । काङ्गे्रसले प्रधानमन्त्रीका लागि उम्मेदवार खडा नगरेर अमूर्त कुरा गरेकै हो र जे ग¥यो काङ्गे्रसले यस सवालमा ठीक निर्णय ग¥यो भन्नैपर्छ । अतः मर्यादामा आँच नपुगोस् । संस्थालाई सम्मानित र मर्यादित राख्न सकेको अवस्थामा भोलिका दिनमा राजनीति सङ्लिँदा जीवन्तता रहन सकोस् । अहिलेको पुस्ता परिवर्तनको संवाहक बन्न त सके तर प्राप्त परिवर्तन या उपलब्धिलाई संस्थागत गर्न अक्षम भनेर इतिहासमा अङ्कित नहुनेतर्फ पनि ध्यान जान आवश्यक देखिन्छ । जवाफदेहिता र नैतिकता यस्तो कुरा हो, जसलाई शब्दमा व्यक्त गर्नैपर्दैन, त्यो त व्यवहारले स्वाभाविक रूपमा प्रमाणित गर्दछ र सबैले अनुभूति गर्दै जाने भौतिक वस्तुजस्तै हो । नैतिकता र जवाफदेहिताका ठूलठूला भाषण र शिक्षा दिँदै हिँड्ने तर आफूले व्यवहारमा नउतार्ने प्रवृत्ति अभौतिक र अव्यावहारिक हुन आउँछ । यस्तो क्रियाकलापले समाजमा अविश्वास, अनास्था र घृणा तथा विद्वैष फैलिन सक्छ । सर्वाधिक आस्थाको केन्द्रबिन्दु बन्न सफल प्रम डा. भट्टराईले जतिसक्यो छिट्टै कुर्सीमोह त्याग्न सक्यो त्यति नै छिटो मुलुकले व्यहोर्नुपरेको गतिरोध अन्त्य भई बिग्रन लागेको छवि पुनस्र्थापित हुनेमा कुनै सन्देह नै रहँदैन ।
तसर्थ, हालै मात्र देखिँदै गरेको राजनीतिक बेइमानी, षड्यन्त्र र छलकपटका पट्यारलाग्दा फोहोरी खेलबाट अलग्गिनु नै राजनीतिमा इमानदारिता प्रदर्शन गर्नु हो । राजनीतिमा प्राधानमन्त्रीको पदलाई केन्द्रमा राखेर जनताको अपेक्षाविपरीत लाग्नु नै वर्तमान राजनीतिको गतिरोधको कारण हो । सामान्यतया राजनीतिमा सङ्क्रमणकालको उचित व्यवस्थापन हुन त्यति सहज हुँदैन, तथापि व्यवस्थापनकालमा देखाइने नियतचाहिँ इमानदार हुनुपर्छ । आजको खाँचो पनि सङ्क्रमणकाललाई व्यवस्थापन गर्ने सम्बन्धमा देखिएको असहमित, असमझदारी र असंयमतालाई सहमति, समझदारी र संयमतासहित एकतामा रूपान्तरित हुनु हो । एउटा सामान्य नागरिकले बुझेको, जानेको र अनुभूति गरेको विषयवस्तु नेताहरूले बुझेका छैनन् भन्नु हास्यास्पद हुन जान्छ, तसर्थ के भन्नु उचित होला भने, उनीहरूले (नेताहरूले) बुझ भने अवश्य पचाएकै हुन् । जहिलेसम्म बुझेर पनि बुझ पचाउने काममा निरन्तरता दिइराख्छन् तबसम्म नेपालको राजनीतिमा देखिएको बेइमानी, षड्यन्त्र र छलकपटले एकपछि अर्को दुर्घटना निम्त्याइराख्दछ र संवैधानिक एवम् राजनीतिक गतिरोध अन्त्य पनि सम्भव छैन । ‘आफू मरे डुमै राजा’ भन्ने ढिपीले देश र जनताको भलो हुन सक्दैन । देश र जनताप्रति चिन्ता र चासो राख्नेहरूको भूमिका अब गतिशील भएर अगाडि आउन जरुरी छ र गुँडको डल्ला देखएर इँटाले हान्ने काम सबैले छाड्नुपर्छ । बेइमानीले बेइमानी नै नित्याउँछ, षड्यन्त्रले षडयन्त्रमै, त्यसैले इमानदजारीले इमानदारी र सदासयताले सदासयता बढाउँछ भन्ने तथ्यलाई आत्मसात् गर्नु आजको आवश्यकता हो । तसर्थ स्वार्थ त्यागेर सही बाटो लागौँ ।

४ पुष २०६९, बुधबार ०८:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..