बाबुराम कि प्रचण्ड ?

देवप्रकाश त्रिपाठी : कसैलाई ‘तिमीले मर्नुपर्ने भयो तर ढुङ्गाको प्रहारबाट मारिन चाहन्छौ कि इँटाको त्योचाहिँ तिमी रोज्न सक्छौ’ भनियो भने त्यस व्यक्तिको स्थिति कस्तो होला ? ठीक यस्तै प्रश्न नेपाली काङ्गे्रस र एमालेलगायत नेपालका प्रजातन्त्र पक्षधर राजनीतिक दलहरूको अघिल्तिर उभिएको छ । मानिसको मनोविज्ञान हुन्छ– ‘ढुङ्गाको प्रहार कडा र माटोको केही नरम हुन सक्छ,’ त्यसैले यदि पत्थर र इँटामध्ये एउटा रोज्नुपरयो भने अधिकांश मानिसले इँटा नै रोज्छन् । धेरै मानिस परिणाममा भन्दा कार्यमा, साध्यमा भन्दा साधनमा ध्यान दिने प्रकारका हुन्छन्, त्यसर्थ पत्थर या इँटा जेसुकैले प्रहार गरे पनि परिणाम एउटै हो– मृत्यु, भन्ने जान्दाजान्दै पनि मानिसको छनोटमा इँटाले प्राथमिकता पाउने गर्दछ । त्यस्तै नेपाली राजनीतिमा विचार–दर्शन, सिद्धान्त, नीति, कार्यक्रम, गन्तव्य र व्यवहारमा पूर्ण समानता रहेका प्रचण्ड र बाबुराम भट्टराईबीच तुलना गर्दै को नरम र को गरम भनी वर्गीकरण गरेर दृष्टिकोण तर्जुमा गर्नेहरूको पनि कमी छैन । कोही प्रचण्डलाई नरम ठान्छन् त कोही बाबुराममा त्यसप्रकारको ‘क्वालिटी’ देख्छन् । जसले जसलाई नरम र गरम ठाने पनि समग्रमा प्रचण्ड र बाबुराम एकदलीय अधिनायकवादी राजनीतिक दर्शनमा विश्वास राख्ने ‘क्रान्तिकारी’हरू नै हुन्, एकजनाको जुँघा मोटो र अर्कोको पातलो होला– अन्तर त्यति मात्र हो । नितान्त व्यक्तिगत स्वभाव, चरित्र र क्षमताका दृष्टिले दुई नेताबीचको भेद खुट्याउने हो भने छलकपट, झुट र बेइमानीको प्रतिस्पर्धामा बाबुरामले प्रचण्डलाई माथ गर्न सदा असम्भव रहिआएको छ । औपचारिक शिक्षाको परीक्षामा कुनै बेला बाबुराम भट्टराई सर्वप्रथम भएकै हुन् भने पनि ‘अनौपचारिक शिक्षा’मा प्रचण्ड नै ‘मेधावी’ हुन्, उनलाई उछिन्न सक्ने कुनै सकुनी समसामयिक राजनीतिमा देखिएका छैनन् । देश निर्माणप्रतिको दृष्टिकोण र प्रतिबद्धतामा बाबुराम अगाडि हुनसक्छन् भने विध्वंश र विनास मार्गको यात्रामा प्रचण्डलाई बाबुरामले कहिल्यै भेट्न सक्लान् जस्तो पनि लाग्दैन । नेपाली राजनीति रचनात्मक, सकारात्मक र समाजोचित गुणहरूबाट नभई नकारात्मक र विध्वंशात्मक तत्वगुणबाट निर्देशित रहने गरेको सन्दर्भमा प्रचण्डको स्थान ‘सुनिश्चित’ नगरी वर्तमान सङ्कटबाट मुलुकले निकास पाउने आशा गर्न सकिँदैन । हाम्रो परम्परा देवतालाई पूजा–प्रसाद चढाएर प्रसन्न तुल्याउनेमा विश्वास त गर्छ, तर देवतालाई प्रसाद चढाइँदा भूतलाई पनि यथोचित खुसी पार्ने प्रयास गरिन्छ । खानेकुरा या अन्य सामग्री जुन देवतालाई चढाइन्छ तिनै वस्तु भूतलाई पनि दिइन्छ, देवतालाई प्रसाद चढाएको भनिन्छ र भूतलाई मन्सेको भन्दै अर्पण गरिन्छ । नकारात्मक तत्वको पनि समाजमा अनादिकालदेखि नै अस्तित्वबोध हुने गरेको छ र तिनलाई पनि खुसी नै तुल्याएर राख्ने संस्कार हामीले बसाएका छौँ । त्यसैले राजनीतिमा पनि नकारात्मक प्रवृत्तिलाई समेत कुनै न कुनै रूपमा सम्बोधन हुन आवश्यक हुन्छ । विद्यमान राजनीतिमा प्रचण्डलाई यथोचित सम्बोधन नगरिएसम्म देशले निकास पाउने आशा गर्नु भूल हुनसक्छ, त्यो किनभने आफ्नो आकाङ्क्षा पूरा गर्न देशलाई समेत दाउमा राख्न सक्ने ‘क्षमता’ जो प्रचण्डले प्रमाणित गरिसकेका छन् बाबुरामले त उनको ‘फलो’ मात्र गरेका हुन् । प्रचण्ड र बाबुरामबीचको अन्तरलाई हामी माओ त्से तुङ र देङ सियाओ पिङबीचको अन्तरसँग तुलना गरेर पनि हेर्न सक्छौँ । माओमा जालझेल, तिकडम र षडयन्त्र रच्न सक्ने प्रचुर क्षमता थियो र अनुदारवादी नेताको पहिचान उनले बनाएका थिए । देङको छवि एक उदारवादी, विकासपे्रमी र व्यावहारिक नेताको थियो । आफूसँग बिमति राखेका कारण एक समय जङ्गल राजनीतिमा प्रचण्डले बाबुरामलाई सताएझैं माओले पनि देङलाई खुव सताएका हुन् । माओले जतिसुकै निषेध गरे पनि कालान्तरमा देङ चाइनाको सर्वेसर्वा बनिछाडे र चाइनाको आजको आर्थिक उन्नतिको सम्पूर्ण श्रेय देङलाई नै जान्छ । यसर्थमा माओभन्दा देङ ठीक हुन् भन्ने धेरैलाई लागेको पनि हुनुपर्छ । तर, हामीले यहीँनेर स्मरण गर्नैपर्ने सत्य के हो भने सत्ताका लागि माओले जसरी करोडौँ जनताको हत्या गरेका थिए त्यही शैलीको हिंसात्मक प्रवृत्ति देङले पनि दर्शाएका हुन् । सन् नब्बेको दशकको प्रारम्भमा चीनमा उठेको स्वस्फूर्त प्रजातान्त्रिक आन्दोलनका क्रममा देङले तियानमेन चोकमा ट्याङ्क र बुल्डोजर चलाएर हजारौँ निहत्था नागरिकको हत्या गरेका थिए । जतिसुकै उदार र रचनात्मक मानिए पनि आखिर राजनीति र आफ्नो सत्तामा चुनौती उत्पन्न हुँदा देङले पनि माओले झैँ दानवी रूप दर्शाएकै हुन् । यहाँ प्रचण्ड र बाबुरामको तुलनात्मक अध्ययन हुँदा उपर्युक्त सन्दर्भलाई सदैव स्मरण गर्नैपर्ने हुन्छ ।

यतिबेला नेपालमा संवैधानिक शून्यताको अवस्था रहेको र बृहत् राजनीतिक सहमतिबाट मात्र विधिसम्मत् प्रक्रिया स्थापित गर्न सहयोग पुग्ने हुँदा सहमतीय सरकार गठनले सर्वाधिक उच्च प्राथमिकता पाएको छ । विभिन्न कारण दर्शाउँदै प्रजातान्त्रिक खेमाले सहमतीय सरकारको नेतृत्व काङ्गे्रसले पाउनुपर्ने धारणा सार्वजनिक गरिरहेका छन् । तर, एमाओवादी काङ्गे्रसलाई सरकारको नेतृत्व ‘कुनै हालतमा’ नदिन दृढ देखिन्छ । दुई साताअघि पदत्याग गर्ने मानसिकता बनाएका बाबुराम भट्टराई पुनः दह्रिएका छन् र पार्टीले पनि उनकै नेतृत्वमा सहमतीय सरकार गठन हुनुपर्ने अडान पटकपटक प्रस्तुत गरिरहेको छ । विपक्षी तथा सबै प्रजातान्त्रिक शक्तिहरूले बाबुरामको नेतृत्व किमार्थ स्वीकार्य नहुने उद्घोष गरिरहँदा एमाओवादीले बाबुरामकै नाम दोहो¥याई–तेह¥याई लिइरहनुको रहस्य बुझ्न सकियो भने राजनीतिमा अहिले देखापरेको उल्झनबारे सजिलै जानकारी पाउन सकिन्छ । प्रचण्ड कहिल्यै पनि बाबुरामका शुभचिन्तक हितैषी थिएनन्, छैनन् र भविष्यमा पनि हुन सक्दैनन् । प्रचण्डकै चलिरहेको अवस्था हुन्थ्यो भने बाबुराम प्रधानमन्त्री बन्न असम्भव थियो, उनलाई प्रधानमन्त्री बनाउन मोहन वैद्य किरणको भूमिका महत्वपूर्ण रहेको जानकारी सबैमा छ । ती यिनै प्रचण्ड हुन् जसले राष्ट्रियताको आन्दोलन चलाउने भन्दै भारतविरुद्धको अभियानलाई राष्ट्रव्यापी बनाएका थिए र यी तिनै प्रचण्ड हुन् जसले भारतद्वारा बाबुरामलाई प्रधानमन्त्री बनाउन दबाब आएको सार्वजनिक अभिव्यक्ति दिएका थिए र यी तिनै हुन् जसले हिंसात्मक युद्धकालमा विमति राखेको आरोपमा बाबुरामलाई नियन्त्रणमा लिएर ‘सिध्याउने’सम्मको प्रपञ्च गरेका थिए । जो मानिस बाबुरामका शुभचिन्तक होइनन्, थिएनन् र जो उनलाई प्रधानमन्त्री बनाउन पनि चाहँदैनथे, तिनै व्यक्ति अहिले बाबुरामको ढाल बनेर बसेका छन् भने त्यसको रहस्य अवश्य बुझ्नुपर्छ । सर्वत्र बुझिएको सत्य के हो भने प्रचण्ड ‘पावर हङ्गर’ हुन्, ‘पावर’बिना बाँच्ने कल्पना उनले जिन्दगीमा गरेका पनि छैनन्, तर विगतमा पावरमा रहँदा र नरहँदाका बखत प्रचण्डले प्रस्तुत गरेको व्यवहार तथा उनको अविश्वसनीय छविले नै उनलाई सत्ताकेन्द्रमा पुग्न व्यवधान पैदा गरिरहेको छ । देशी तथा विदेशी शक्तिहरूका माझ प्रचण्ड यस्ता पात्र हुन् जसलाई कहिल्यै विश्वास गर्न सकिँदैन । त्यसैले माओवादी कित्ताकै अगुवाइमा नेपालको राजनीति अघि बढोस् भन्ने चाहना राख्ने विदेशी मित्रशक्तिहरू बाबुरामको विकल्प प्रचण्ड होइन बाबुराम नै बन्नुपर्छ भन्ने धारणा राख्दै छन् । अहिले प्रधानमन्त्री भट्टराईमाथि पद त्यागका निम्ति जुनप्रकारको दबाब बन्दै छ यसलाई प्रचण्डले सदुपयोग गर्न चाहेका छन् । बाबुरामले पद त्याग गर्दा उक्त पद स्वतः आफूमा सर्ने अवस्था सिर्जना होस् भन्ने प्रचण्डको चाहना छ । राजनीतिक प्रणाली र शान्तिप्रक्रियाबारे कुनै सर्त नै नराखी काङ्गे्रसले गणतन्त्रमा जान सहमति जनाएझैं बाबुराम भट्टराईले खुरुक्क पदत्याग गर्दा राजनीतिक निकासको सम्भावना बढ्ने भए पनि आफ्नो राजनीतिक महत्वाकाङ्क्षाको फल नलाग्ने देखिएपछि प्रचण्ड बाबुरामलाई सत्तामा ‘दह्रो’ बनाएर राख्न चाहँदैछन् । बाबुरामलाई सरकारमा अल्झाएर पार्टीको आगामी महाधिवेशनमा एकलौटि राज कायम गर्ने कूटनीतिक चालबाजी एकातिर देखिँदै छ भने अर्कोतर्फ सहज बहिर्गमनको मौका नदिएर बाबुरामको बचेखुचेको साखसमेत रित्याइदिने प्रचण्डको नियत उजागर भइरहेको छ । प्रचण्डको अर्को चालबाजी के देखिँदै छ भने उनी बाबुरामलाई ‘बलियो’ बनाएर विपक्षीहरूलाई गलाउन चाहन्छन् र गलेका विपक्षी एक दिन आफूलाई रोज्न बाध्य हुने विश्वास उनमा छ । बाबुरामलाई अड्याउँदै जाँदा विपक्षीहरू गल्दै जाने र निश्चित बिन्दुमा पुगेपछि ‘बरु प्रचण्डलाई बनाऊँ’ भन्ने स्थिति बन्नसक्छ भन्ने प्रचण्डको ठम्याइ छ । केही दिनअघि राष्ट्रपति डा. रामवरण यादवले एक सार्वजनिक समारोहमा ‘वर्तमान सरकारलाई नै सहमतीय स्वरूप दिनु राम्रो’ भन्ने अभिव्यक्ति दिएपछि प्रचण्डमा उत्साह थपिएको छ र फेरि एकपटक पार्टीबाट बाबुरामकै पक्षमा उनले निर्णय गराइदिएका छन् । अब काङ्गे्रस र एमालेभित्र ‘बरु प्रचण्ड’ भन्ने आवाज आउने प्रतीक्षा उनले गरिरहेका छन् । विपक्षीले प्रधानमन्त्रीमा प्रचण्डको नाम लिएको दोस्रो मिनेटमा एमाओवादीले बाबुरामलाई पदत्यागका निम्ति निर्देश गर्नेमा शङ्का गरिरहनुपर्दैन । सत्ताबाट सम्मानित बहिर्गमन भएका बाबुराम पार्टीको आन्तरिक राजनीति र देशको सत्ता–राजनीतिमा पनि सदा चुनौती बनिरहन सक्ने सम्भावित खतराबाट मुक्तिको चाहना पनि प्रचण्डमा छ । लोकप्रियतासहितको बाबुराम जुनकुनै पनि बेला आफ्नो चुनौती बन्न सक्ने भएकोले बाबुरामलाई लोकप्रियतारहित बनाउन पनि प्रचण्डले यसप्रकारको खेल खेलिरहेका हुन् । प्रचण्डलाई विपक्षीहरूले बाबुरामको नेतृत्व स्वीकार गर्ने छैनन् भन्ने पूर्ण विश्वास भएकोले मात्र उनले बाबुरामलाई ‘बार्गेनिङ टुल्स’ बनाएका हुन् । यदि अहिले भट्टराईकै नेतृत्वमा सहमतीय सरकार गठन गर्न सकिने धारणा विपक्षीले बनाए भने सबभन्दा ठूलो चोट प्रचण्डलाई पर्नेछ र यही चोटले उनी थला परे भने आश्चर्य हुनेछैन । तर, प्रचण्ड सहजै हार मान्ने खेलाडी होइनन्, उनले ‘राम्रा मन्त्रालय’ नछोड्ने अडान लिइदिएर पनि बाबुराम नेतृत्वमा बन्न खोजेको सहमतिलाई भताभुङ्ग पारिदिन सक्नेछन् ।
राष्ट्रपतिले ठोस कदम चाल्न नसकेको या नसक्ने, सेनाले विशेष अग्रसरता लिन नखोजेको या नखोज्ने र अन्तर्राष्ट्रिय सद्भाव र समर्थन हासिल हुन पनि नसकेको यस स्थितिमा विपक्षीहरूका अघिल्तिर विकल्प सीमित भएका छन् । जनआन्दोलनको आँधीबेहरी सृष्टि गरेर सरकार विस्थापित गर्ने, एमाओवादीसँग सहमति गरी प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठन गर्ने या बाबुरामकै नेतृत्व स्वीकार गरेर सत्तामा जानेबाहेकको विकल्प विपक्षीहरूसँग भए पनि तत्काल त्यसको कार्यान्वयनमा भयङ्कर कठिनाइ छ । त्यसैले विपक्षी राजनीतिक शक्तिहरू यतिबेला ‘मर्न त मर्ने तर ढुङ्गाको मार खाएर मर्ने कि इँटाको’ भन्ने स्थितिमा छन् । माओवादीलाई विस्थापित गर्ने सामथ्र्य विपक्षीहरूले दर्शाउन सकेका छैनन्, बरु विगत ६ वर्षयता तिनले निर्वाह गरेको भूमिकाले विपक्षी आफैँलाई विस्थापित गर्दै लगेको छ । अब प्रतीक्षा हुँदै छ– साँच्ची विपक्षीहरूद्वारा आफूलाई ‘मार्न’ पत्थरको प्रहार रोजिएला कि इँटाको ?’

२० मंसिर २०६९, बुधबार ०७:५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा आपत्तिजनक अभिव्यक्ति दिएको..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..

लकडाउन कडाइका साथ लागू गराउने उपत्यकाका सिडिओको निश्कर्ष

काठमाडौँ, २२ जेठ । काठमाडौँ उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले कडाइका साथ लकडाउन पालना गराउने..