बिरलाकोटीका बीपीका अनुयायीको अवसान

हरिहर विरही / भीमबहादुर तामाङ एक असल, इमानदार, त्यागी, निस्वार्थी व्यक्ति हुनुहुन्थ्यो । नेपाली काङ्ग्रेसका नेता भए पनि उहाँ वास्तवमा काङ्ग्रेसका मात्र नेता हुनुहुन्नथ्यो । आदर्श र निष्ठाको राजनीतिका कारण अन्य दलका मानिसका लागि पनि उहाँ उत्तिकै श्रद्धा र सम्मानको व्यक्तित्व हुनुहुन्थ्यो । यो कुराको पुष्टि उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्न काङ्ग्रेस पार्टी कार्यालयमा उर्लिएको सबैपक्षीय नेता–कार्यकर्ताको भीडले पनि गरायो । कुनै खास पद वा ओहोदामा नरहे पनि उहाँले राजनीतिमा जुन नमुना र आदर्श प्रस्तुत गर्नुभयो त्यसले सबैलाई प्रभावित र आकर्षित गरेको रहेछ भन्ने प्रधानमन्त्रीदेखि अन्य विशिष्ट व्यक्ति–व्यक्तित्वहरू उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्न सानेपा पुगेबाट स्पष्ट भयो । यस्तो व्यक्तित्वको आवश्यकता मुलुकको राजनीतिका लागि झन्–झन् बढिरहेको बेला दुर्भाग्यले असमयमै हामी सबैलाई छोडेर उहाँ जानुभयो ।
यस्ता निष्ठावान व्यक्तिको अवसानले वास्तवमै मुलुकको राजनीतिमा अपूरणीय क्षति पु¥याउँछ । किनकि राजनीति भनेकै वास्तवमा आस्था, निष्ठा र सेवाको विषय हो न कि यो कुनै व्यापार, भौतिक लाभ या आयआर्जनको विषय । यसअनुसार भीमबहादुरले पनि राजनीतिलाई एक विशुद्ध सेवाको रूपले हेर्नुभयो, कुनै भौतिक सुख–सुविधा प्राप्तिको माध्यम ठान्नुभएन । आदर्श, निष्ठा र नैतिकतालाई नै उहाँले जीवनपद्धतिका रूपमा अगाडि बढाउनुभयो । यो अत्यन्त महत्वपूर्ण कुरा हो आजको परिवेशमा । सबैले सिक्नुपर्ने र प्रेरणा लिनुपर्ने विषय बनेको हो यो ।
आज राजनीति एउटा व्यापार या लेनदेनको विषयझैँ बन्न पुगेको हामी देखिरहेका छौँ । अत्यन्त फोहोरी खेलहरू भइरहेका छन् राजनीतिको नाममा, अनेक विकृति उत्पन्न भएका छन् । यो अवस्थामा अत्यन्त सादा जीवन उच्च विचारका धनी, यति इमानदार, त्यागी, मूल्य–मान्यताप्रति निष्ठावान व्यक्ति राजनीतिमा रहनु दुर्लभ विषय हुन्छ । यस्ता नेताको अभावले नेपाली राजनीतिमा प्रभाव पार्छ नै । एकपटक काङ्ग्रेसको सभापतिमा चुनाव पनि लड्नुभएको थियो तर जित्नका लागि उहाँले चुनाव लड्नुभएको थिएन । उहाँले आफ्नो उम्मेदवारी राजनीतिमा नैतिक मूल्य–मान्यता र आदर्श हुनुपर्छ भन्ने कुराप्रति ध्यानाकर्षण गराउनका लागि मात्र दिनुभएको थियो ।
मैले स्वर्गीय भीमबहादुर तामाङलाई सर्वप्रथम ०३० मा बनारसमा भेटेको थिएँ । बीपी पनि बनारसको सारनाथ भन्ने ठाउँमा बस्नुहुन्थ्यो । त्यतिबेला बीपीले भन्नुभयो कि तिमीले भीमबहादुरजीलाई भेटेका छौ कि छैनौ ? उनीसँग भेट्नैपर्छ । ‘उनी तिम्रै जिल्लाको छेउछाउका मानिस हुन् तर तिमीले चिनेजस्तो लागेन’ भन्दै बीपीले भीमबहादुरजीलाई बोलाउनुभयो । भीमबहादुरजी त्यतिबेला सारनाथस्थित बीपीनिवासको आँगनमा फूल गोड्दै हुनुहुन्थ्यो । बीपीले बोलाउनेबित्तिकै उहाँ अलिक वर आउनुभयो र म पनि उहाँनजिक सरेँ । परिचय भयो । उहाँले मेरो गाउँ–ठाउँ सोध्नुभयो र जानकारी पाएपछि भन्नुभयो, ‘ओहो, सिन्धुली–सिन्धुलीमाढीतिर त म पूरै घुमेको छु, ०१८ को क्रान्तिमा भूमिगत रूपमा बन्दुक बोकेरै हिँडेको म त्यता । तर, खासै ठूलो काम केही गर्न सकिएन, बरु झन्डै त्यहाँ थुनामा परेका, तर हामी उम्किन सफल भयौँ ।’
त्यसपछि बीपी काठमाडौं आएर चाबहिल जयबागेश्वरीमा बस्न थाल्नुभएपछि पनि भीमबहादुरजी फूल लगाउन, गोड्न र त्यहाँको वातावरण सुगन्धित बनाउन समर्पित भएको देख्दा म अचम्ममा परेँ । आफू एक उच्चकोटिको नेता भए पनि पछिसम्म उहाँको सौन्दर्यप्रतिको लगाव र बीपीप्रतिको श्रद्धा वास्तवमा मेरा लागि जिज्ञासा र रोचकताको विषय बनिरह्यो । बीपी कोइरालाले ०१७ मा तत्कालीन काङ्ग्रेस सभापतिको हैसियतले नेपाली काङ्ग्रेसको सातौँ महाधिवेशन अर्थात् आफ्नो अन्तिम सार्वजनिक भाषणमा काङ्ग्रेसका कार्यकर्तामा हुनुपर्ने गुणबारे व्याख्या गर्दा अनुशासन, इमानदारी, सादगीपन, निस्वार्थी हुनुपर्छ भन्नेजस्ता चार–पाँचवटा कुरा बताउनुभएको थियो । बीपीको यो मार्गदर्शन नै थियो । दुईवटा कुराचाहिँ विशेष रूपमा कार्यकर्ताहरूले त्याग गर्नुपर्छ भन्नुभएको थियो बीपीले, एउटा– स्थानीय भावना अर्थात् क्षेत्रीयता र जातीयता वा गुटबन्दी । यी सबै कुरा भीमबहादुरले ग्रहण गर्नुभएको थियो । व्यवहारमै आत्मसात् गर्नुभएको थियो उहा“ले बीपीका यी कुरालाई ।
बीपीका यी कुरालाई अन्य काङ्ग्रेसजनले आज कति अनुशरण गर्न सकेका छन् या छैनन्, विश्लेषणको अलग पाटो हो तर भीमबहादुर तामाङले उहिल्यैदेखि जीवनको अन्तिम पलसम्म पनि अनुशरण गर्नुभयो । त्यस हिसाबमा भीमबहादुरजी बिरलकोटिका सच्चा बीपीका अनुयायी र साँचो अर्थमा नेपाली काङ्ग्रेसका कार्यकर्ता र उच्च कोटिका नेता हुनुहुन्थ्यो भन्ने मेरो मान्यता छ । कुनै धनसम्पत्ति भएर होइन, पदमा भएर होइन र धेरै पढेर पनि होइन, उहाँको महत्व र उहाँप्रति मानिसहरूको सम्मान जो देखियो निधनपछि, यसले देखाउँछ कि राजनीतिमा त्यागको महत्व निकै–निकै नै हुँदोरहेछ, सरलताको महत्व हुँदोरहेछ ।
उहाँको राष्ट्रप्रतिको निष्ठा, समाजप्रतिको निष्ठा र उहाँको उदार विचारको कारणले नेपाली काङ्ग्रेसले वर्तमानमा उठेका जातीय समस्याको समाधानार्थ उहाँकै नेतृत्वमा उपसमिति गठन गरेको थियो । उहाँको संयोजकत्वको समितिले दिएको प्रतिवेदन जातीय विभाजनको अन्त्य गरी जातीय एकता, भाइचारा बढाउने सवालमा अत्यन्त महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने लाग्छ मलाई । त्यो सुझावलाई इमानदारीका साथ कार्यान्वयन गर्ने र आमजनतासमक्ष त्यसलाई पु¥याउनेतिर नेपाली काङ्ग्रेस लाग्नुपर्छ । जातिभन्दा राष्ट्र ठूलो हो भन्ने भावनाको बोध गराउन स्वर्गीय भीमबहादुर तामाङले राष्ट्रका लागि उक्त प्रतिवेदनमार्फत ठूलो गुन लगाउनुभएको छ भन्दा अत्युक्ति हुँदैन ।
दोलखाजस्तो ठाउँ र त्यतिबेलाको परिवेशमा तामाङ परिवारमा जन्मेर पनि भीमबहादुर तामाङले खर्साङमा उच्च शिक्षा अध्ययन गर्नुभयो । उहाँको अङ्ग्रेजी भाषा ज्ञान उच्चस्तरको थियो । उहाँ अत्यन्त अध्ययनशील पनि हुनुहुन्थ्यो । अनावश्यक किसिमका भाषण सुन्न, बेअर्थका गफगाफमा भुल्न उहाँ पटक्कै रुचाउनुहुन्नथ्यो । केही न केही काम गरिरहनुपर्ने उहाँको स्वभाव थियो । एउटा साधारण झोला बोकेर लुरुलुरु सडकमा हिँड्न उहाँलाई कुनै धक थिएन । त्यस स्वभावले भीमबहादुर तामाङको महत्व कहिल्यै पनि घटाएन, बरु सचेतजनमा उहाँप्रति श्रद्धा बढायो भन्ने लाग्छ मलाई । उहाँलाई कहिल्यै त्यसमा हीनताबोध भएन, त्यो उहाँको महानता थियो । उहाँको सादगीपनको सन्दर्भमा एउटा प्रसङ्ग याद आउँछ मलाई । उहाँ कानुन तथा संसदीय व्यवस्थामन्त्री बन्नुभएको थियो एकपटक । जब मन्त्रीको शपथ खाएर उहाँले कालो कार चढ्नुप¥यो, उहाँले पछि भन्नुभयो, ‘अत्यन्त सङ्कोच बोध भयो मलाई त, बाटोमा हिँडिरहेका मानिस देख्दा म पनि गाडीबाट ओर्लिएर हिँडुँ कि भनेझैँ लाग्यो । मन्त्रीहरूले बोक्ने ब्रिफकेस किन बोक्नुप¥यो, आफैँले बोक्दै आएको झोला बोक्दा के हुन्थ्यो ? कस्तो चलन हो यो मन्त्री हुनेबित्तिकै अलग्गै ब्रिफकेस बोक्नुपर्ने ?’ यसो भन्दै उहाँले मसँग गुनासो गर्नुभएको थियो ।
‘पाखण्डको जिन्दगी हामी बाँचिरहेका छौँ, मलाई त यो सत्तामा जाने कुरामा पटक्कै रुचि लागेन’ भनेर उहाँ बेला–बेलामा भन्ने गर्नुहुन्थ्यो । पदका लागि जुनसुकै प्रकारको होडबाजीमा उत्रिन मानिस तयार हुने आजको समाज वा परिवेशमा यस्तो व्यक्तित्व आजको समाज, जहाँ फोहोरी राजनीतिक खेल भइरहेको छ, पदको लुछाचुँडीले गर्दा विभिन्न खालका विकृतिहरू देखापरिरहेका छन् । भीमबहादुरजीको व्यक्तित्वले काङ्ग्रेस कार्यकर्ता एवम् आमजनमानसमा अँध्यारोमा प्रकाश छर्ने काम गरेको छ । हाम्रो समाजको एउटा प्रवृत्ति नै छ कि बाँचुन्जेल एउटा व्यक्तिको महत्वबारे ध्यान दिएको हुँदैन, उसका सुकर्मले आकर्षित गरिरहेको हुँदैन, तर बितेपछि चर्चा–अतिचर्चा गरिन्छ, महिमामण्डन गर्ने काम गरिन्छ । तर, भीमबहादुर तामाङ त्यसरी महिमामण्डित गरिरहनुपर्ने नाम होइन । यथार्थमै उहाँ असल हुनुहुन्थ्यो र असल भएका नाताले उहाँ स्वतः नै महान् हुनुहुन्थ्यो । बीपीले असल बन्ने कि महान् भन्ने सवालमा जहिले पनि असल बन्न सुझाउनुहुन्थ्यो, भीमबहादुर त्यसको एक यथार्थ प्रतिमूर्ति हुनुहुन्थ्यो ।

१९ मंसिर २०६९, मंगलवार १८:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..