लोभ त्यागे सुख–शान्ति आउँछ :: ‘डोल्पो बुद्ध’ रानाग रिम्पोछे (यात्सेर गुम्बाका अवतारी लामा)

०६१ सालमा उपल्लो डोल्पास्थित यात्सेर गुम्बाबाट लुटिएका २८ वटा बहुमूल्य मूर्ति तिब्बतमा फेला पारी मुद्दा लडेरै फर्काउन सफल भएपछि चर्चामा आउनुभएका गुरु रानागलाई बाल्यकालमा परिवारले दिएको नाम फुर्बा टासी हो, तर डोल्पो बुद्धको पाँचौँ अवतार मानिएका उहाँ ‘डोल्पो बुद्ध’का रूपमा देश–देशावरमा चिनिनुहुन्छ । विकट उपल्लो डोल्पाको जन्म भए पनि शिक्षा आर्जन र धर्म–ज्ञान बाँड्ने सिलसिलामा विभिन्न मुलुकको यात्रा गरिरहने यात्सेर गुम्बाका यी अवतारी लामा हाल धेरैजसो ताइवान बस्नुहुन्छ । बुद्धधर्मका सिद्धान्त, दर्शन, ज्ञान र उपदेश छर्दै विश्वशान्तिको कामनामा लागिपरेका रिम्पोछे (संसारका प्राणीको उद्धार गर्न अवतरित बुद्ध अवतार)ले आफैँ पनि धेरै सिद्धान्त प्रतिपादन गर्नुभएको छ । उहाँको आफ्नै विधि ‘तुम्बो’उपचारमार्फत अनेक रोगका सिकार दशौँ हजार मानिसले आरोग्य–उपचार पाइसकेका छन् भने ताइवानमा समुद्री आँधी नै फर्काइदिएको विश्वासमा त्यहाँ उहाँको विशेष श्रद्धा र पूजा गरिन्छ । असहाय र गरिबका लागि डोल्पालगायतका स्थानमा स्कुलहरू खोल्नुभएका रिम्पोछेले काठमाडौं बुढानीलकण्ठमा सञ्चालन गर्नुभएको ‘स्नोल्याण्ड रानाग लाइट अफ एजुकेसन’ नामक विद्यालयले अनाथ, असहाय र अवसरबाट वञ्चित बालबालिकालाई खान, बस्न र पढाइसम्बन्धी सम्पूर्ण कुरा निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको छ । कुनै पनि राज्यका लागि शिक्षा नै पहिलो अपरिहार्यता हो भन्ने मान्यता राख्नुहुने उहाँसँग नेपाली भएकै कारण हेपिनुपरेका अनेक भोगाइ पनि छन् । यसले उहाँभित्र नेपाल राष्ट्रलाई शान्त र समृद्ध तुल्याएर विश्वका विकसित देशहरूको लहरमा उभ्याउने उत्कट अभिलाषा जन्माइदिएको छ । नेपाल संसारकै दुर्लभ स्थान हो भनी दाबी गर्ने उहाँ यस देशलाई संसारकै तीर्थस्थल बनाउन आफूसँग योजनासमेत रहेको खुलासा गर्दै भन्नुहुन्छ, ‘यसका लागि नेताहरूमा इमानदारी, प्रतिबद्धता र जनताको पनि सच्चा साथ आवश्यक पर्दछ ।’ बाल्यावस्था तथा किशोरवयमा आफूबाट भएका कतिपय गल्ती–कमजोरीहरू कत्ति नलुकाई व्यक्त गर्ने डोल्पो बुद्ध गुरु रानाग जीवनमा आफूले भोगेका कैयन कुरा नै आज ज्ञानका रूपमा प्रदान गर्न सहायकसिद्ध भएको प्रस्ट्याउनुहुन्छ । उहाँसँग भेटेर ज्ञान र आशीर्वाद लिनेदेखि उहाँले निःशुल्क रूपमा प्रदान गर्ने ‘तुम्बो’ उपचारको लाभ उठाउन ठूल्ठूला राजनीतिज्ञ, प्रसिद्ध व्यक्तिहरूदेखि सर्वसाधारणको समेत घुइँचो लाग्ने गर्छ । यसरी देश–विदेशमा असङ्ख्य चेला, अनुयायी तथा प्रशंसक बनाएका डोल्पो बुद्धसँग उहाँको व्यक्तिगत जीवनभोगाइ तथा बौद्ध धर्मलगायत विविध विषयमा जयप्रकाश त्रिपाठीले गर्नुभएको कुराकानी प्रस्तुत गरिएको छ ।

० तपाईंको परिवारले दिएको नाम फुर्वा टासी रहेछ, तपाईं कहिले कसरी डोल्पो बुद्ध बन्नुभएको हो ?
– उपल्लो डोल्पा बौद्धमार्गीहरूका लागि अत्यन्त महत्वपूर्ण र ऐतिहासिक स्थान हो । त्यहाँ एक महान् बुद्धात्माको जन्म भई डोल्पो बुद्धका रूपमा प्रसिद्ध भएको कुरा बुद्ध धर्मग्रन्थहरूमा समेत उल्लेख भएको छ । उनै बुद्धले पुनर्जन्म लिँदै आएको र यस क्रममा डोल्पो बुद्धका रूपमा मेरो जन्म भएको बौद्धगुरु तथा लामाहरूको विश्वासका आधारमा मलाई ‘पाँचौँ डोल्पो बुद्ध’को स्थान दिइएको हो ।
० तपाईं नै पाँचौँ डोल्पो बुद्ध हो भनी कसरी पहिचान भयो होला त ?
– हाम्रो गुम्बाका लामा गुरुहरूले बुद्धत्वको पहिचान गर्छन् । यसको आफ्नै विधि छ । गुरुहरूले ऐनामा पनि देख्छन् र हिमालतिर पाइने स–साना तालमा पनि विशेष मन्त्र जपेर गुरुहरूले डोल्पो बुद्धलाई देख्छन् । मप्रति गुरुहरूको ध्यान पुगेको एउटा घटना छ । म सानै छँदा एकपटक डोल्पामा एउटा स्तूपा बनाउने क्रममा भनेजस्तो ढुङ्गा पाइएन । उनीहरू यसबाट चिन्तित देखिए । यस्तैमा अचानक मेरो मुखबाट स्थानीय एक ठाउँको नाम उच्चारण भई ‘फलानो ठाउँमा चाहिएजस्तो ढुङ्गा छ’ भन्ने शब्द निस्किएछ । त्यहाँ गई खोतल्दा स्तूपा बनाउन आवश्यक ठूलाठूला ढुङ्गा फेला परेछ । अनि लामा गुरुहरूले यो बालक विशेष हो भन्दै मन्त्र लगाएर हेरे र म डोल्पो बुद्धको रूपमा जन्मिएको भन्ने देखेर पाँच वर्षको उमेरमा विशेष शिक्षा–दीक्षाका लागि गुम्बामा पठाए ।
० अवतारी लामा भनेर पनि चिनिनुहुन्छ तपाईं, यो अवतारी लामा भनेकोचाहिँ के हो नि ?
– प्राणीहरूको मुक्तिका लागि भगवान्ले बोधिसत्व स्वरूपमा संसारमा जन्म लिइरहन्छन् भन्ने विश्वास बौद्धमार्गीहरूमा छ । भगवान् बुद्ध पनि बोधिसत्वकै एक रूप हुनुहुन्थ्यो । यसरी प्राणीहरूलाई ज्ञान दिएर मुक्त तुल्याउन लामाका रूपमा भएको अवतारलाई नै अवतारी लामा भन्ने हो ।
० बुद्ध धर्ममा ‘रिम्पोछे’ भनेको पनि सम्पूर्ण प्राणीलाई मुक्ति दिन आएको व्यक्ति भन्ने बुझिँदोरहेछ, तपाईं पनि रिम्पोछे हुनुहुन्छ, प्राणीको मुक्तिका लागि खास के गर्दै हुनुहुन्छ त ?
– प्राणी या व्यक्तिहरूको आ–आफ्नै चाहना वा अवस्था हुन्छ । व्यक्तिको चाहना वा प्रकृति हेरेर हामीले के गर्दा ऊ शान्त, सन्तुष्ट या मुक्त हुन्छ भन्ने बुझेर त्यसअनुसारको विधि अपनाउँछौँ । नेपालमा हिंसा बढेको छ, भगवान्को नाममा काटमार र हिंसा गरेका छन् । मानिसले अझै पनि महसुस गर्न सकेका छैनन् कि हरेक प्राणी उस्तै हो, हरेकलाई दुःख–पीडाको अनुभूति हुन्छ, त्यसैले अर्कालाई पीडा दिनुहुँदैन, काटमार गर्नुहुँदैन । मूलतः हिंसा नगर्न म सबैसँग अनुरोध र आग्रह गर्ने गर्छु । अर्को कुरा आजको युगमा शिक्षाको महत्व अत्यन्तै बढेर गएको छ । शिक्षा नभए केही हुन सक्दैन भन्ने कुराको सन्देश मैले जहाँसुकै बाँड्ने गरेको छु । उपल्लो डोल्पामा स्कुल खोल्न खोज्दा मैलेसमेत विरोध खेप्नुप¥यो । स्कुल पढेर मानिस क्रिश्चियन बन्ने भए, हिन्दू बन्ने भए आदि भन्दै कतिपय लामाहरूले नै विरोध गरे । शिक्षाको अभावले उनीहरूले त्यसरी शिक्षाको विरोध गरेका थिए । तर, मैले उनीहरूलाई सम्झाएँ र आज त उपल्लो डोल्पामा पनि चार–पाँचवटा राम्रा–राम्रा स्कुल चलेका छन् ।
० तपाईंले ‘तुम्बो’ उपचार पनि गर्नुहुँदो रहेछ, यो तुम्बो भनेको के हो नि ?
– तुम्बो भनेको ‘इनर्जी’ हो । मानिसको शरीरको आफ्नै नेचर (प्रकृति) हुन्छ । शरीरको नेचर नमिलेर उसमा अनेक रोग निस्कन्छ, कष्ट जन्मन्छ । पृथ्वीमा पनि नेचर मिलेन भने अनेक विपत्ति र अशान्तिको जन्म हुने हो । नेचर मिलाइयो भने सब ठीक र शान्त हुन्छ । तुम्बो उपचार भनेको यही नेचर मिलाउने पद्धति हो । मानिसको शरीरमा एघारवटा मुख्य प्वाइन्ट हुन्छन् । त्यही प्वाइन्टमार्फत रोगहरूबारे बुझ्न सकिन्छ । त्यही प्वाइन्टमा छोएर, दबाएर नेचर मिलाउन सकिन्छ । सम्बन्धित व्यक्तिले चाहेको के हो, अमूक देशले चाहेको के हो भन्ने बुझेर नेचर मिलाइदिएमा त्यो ठीक अवस्थामा आउँछ । मानिसको शरीरको ११ प्वाइन्टजस्तै देश या पृथ्वीका पनि त्यस्तै प्वाइन्टहरू हुन्छन् । देशलाई समस्यामा पार्ने प्वाइन्ट चिनेर त्यसको नेचर मिलाएमा देशमा पनि शान्ति र समृद्धि आउँछ ।
० यसरी उपचार गर्ने ज्ञानचाहिँ तपाईंमा आफैँ प्राप्त भयो कि कहीँ सिक्नुभयो ?
– उपचार गर्ने विभिन्न तौरतरिका र शक्ति–सिद्धिबारे विभिन्न पुस्तकमा पढ्न पाइन्छन् । म पनि यस्तै कुराबाट प्रभावित भएर आफैंले प्रयोग गर्दै ‘तुम्बो’को ज्ञान हासिल गरेको हुँ । यो मेरो आफ्नै विधि हो ।
० यसको उपचार विधिचाहिँ कस्तो हो नि ?
– रोगको प्रकृति या कारण बुझेपछि प्वाइन्ट पक्रिएर छोएर सन्तुलन बिग्रेको अवस्थालाई ठीकमा ल्याइदिने हो । यसमा अवस्थाअनुसार अन्य एक्सरसाइज गर्नुपर्ने पनि हुनसक्छ ।
० तपाईंले आजसम्म अनेक किसिमका हजारौँ रोगीको उपचार गरिसक्नुभएको छ, बदलामा के पाउनुहुन्छ ?
– यो मेरो सन्तुष्टिको एउटा माध्यम हो । उपचारको बदला कसैसँग म केही माग्दिनँ र कसैले केही दिँदा पनि दिँदैनन् । उपचार पाएर व्यक्ति सबल, सक्षम र सन्तुष्ट वा खुसी बनोस् भन्ने मेरो चाहना हो । व्यक्ति सबल, शान्त, सक्षम र समृद्ध बनेमा समाज, देश र संसार नै शान्त, सुन्दर र समृद्ध बन्छ भन्ने मेरो मान्यता हो । मेरो स्वार्थ त्यही हो र त्यही परिणाम हासिल भए उपचारको बदलामा केही प्राप्त भएको अनुभूति हुनेछ मलाई ।
० बाल्यकालको सम्झना गर्नुपर्दा कसरी गर्नुहुन्छ गुरु ?
– आफूले केही बुझ्न सक्ने भएलगत्तै गुम्बा जानुपरेकोले मलाई मेरी आमाको निकै सम्झना आउँथ्यो । गुम्बामा आमा मलाई भेट्न आउनुहुँदा अत्यन्त खुसी हुन्थेँ, अब सधैं मसँगै बसिदिए पनि हुन्थ्योजस्तो लाग्थ्यो । हाम्रो परिवारको अवस्था ठीकै नै थियो । ८–९ जना दाजुभाइ–दिदीबहिनी भए पनि बुबाले दुःख गरेर हामीलाई हुर्काउनुभएको थियो । मेरो घरकी हजुरआमाले मेरी आमालाई जहिले पनि गाली गर्ने र दुःख दिने गर्नुहुन्थ्यो । त्यो देख्दा मलाई अत्यन्त नरमाइलो लाग्थ्यो । कहिलेकाहीँ त म हजुरआमासँग बदला लिने कुरा पनि गर्दथेँ । त्यसप्रकारका नराम्रा काम पनि मबाट भयो बाल्यकालमा ।
० तपाईं कति वर्षको उमेरमा काठमाडौं आउनुभयो ?
– पढ्नका लागि १२ वर्षको उमेरमा आएँ । काठमाडौंको विषयमा सुनेपछि कस्तो होला, जानपाए हुन्थ्यो भन्ने लाग्थ्यो ।
० कति वर्ष पढ्नुभयो काठमाडौंमा ?
– नौ वर्ष यहाँ बौद्धको गुम्बा स्कुलमा पढेपछि म भारत देहरादून गएँ । मेरा एक गुरु हुनुहुन्थ्यो, त्यहाँ उहाँसँगै विभिन्न ज्ञान लिने अवसर मिल्यो ।
० तपाईंको धेरै समय अहिले ताइवानमा बित्छ क्यारे, पहिलोपटक ताइवानचाहिँ किन जानुभयो ?
– त्यहाँ जाने विशेष इच्छा त केही थिएन । एउटा साथी जान लागेको रहेछ, उसले मलाई पनि जाऊँ भन्यो । मैले इन्कार गर्दा पनि उसले ‘अर्काको ठाउँ पनि कस्तो रहेछ भनेर हेर्नु–घुम्नुपर्छ, हिँड’ भनेर कर गरयो र म घुमघामकै हिसाबले गएको हुँ सन् १९९८ मा । त्यतिबेला म २४ वर्षको थिएँ । अहिले पनि तिम्रो देश कुन हो भनेर माथिल्लो डोल्पालीलाई सोध्यो भने नाम भन्न नसक्ने धेरै छन्, त्यस्तो ठाउँबाट ताइवान पुगेको म, त्यहाँ पुगेपछि सुरुमा त म कन्फ्युजनमा परेँ । ताइवानको विकास हेरेपछि आफ्नो देशको अवस्था दीनहीन रहेको बुझ्न सकेँ । कर्णालीवासी, डोल्पोवासीहरू त आफ्नै देशले नहेरेका टुहुराजस्ता छन्, बरु रेफ्युजीहरूलाई हेर्ने निकाय धेरै छन् तर हामी कर्णाली–डोल्पाका लामाहरू आफ्नैबाट हेपिएका र चेपिएका छौँ भन्ने यथार्थबोध पनि त्यतिबेला भयो मलाई ।
० भनेपछि आफ्नो देश र यहाँका शासकप्रति रिस उठ्यो तपाईंलाई त्यहाँ पुगेपछि ?
– रिस त उठेन टीठ लाग्यो । आफ्नो देशको माया जाग्यो । पिछडिएको कर्णाली–डोल्पा र सिङ्गै देशका लागि केही गर्नुपर्छ भन्ने भाव जाग्यो ।
० त्यहाँ तपाईंलाई एउटा गुरुका रूपमा चाहिँ मानिसले कसरी चिने नि ?
– त्यहाँ एक दिन के भयो भने एक जोडी श्रीमान्–श्रीमती झगडा गरिरहेका थिए । ‘छोरा जन्माउन नसकेको’ भन्दै श्रीमान्चाहिँले श्रीमतीलाई गाली गर्ने, पिट्ने गर्दोरहेछ । धेरै छोरी पाएको तर छोरा नपाएको कारणले त्यो श्रीमान्ले श्रीमती छोड्न लागेको रहेछ र श्रीमान्ले छोडेमा आत्महत्या गर्ने निर्णय श्रीमतीले गरेकी रहिछिन् । त्यो देखेपछि ममा अचानक एउटा स्फुरण भयो र उनीहरूलाई भनिदिएँ– ‘तिमीहरू चिन्ता नगर, छिट्टै एउटा छोरो जन्मनेछ, पाँच लाख ताराको मन्त्र जप्ने गर्नु ।’ मेरो त्यो कुरा सुनेर त्यहाँ भएका अरूहरूले मतिर अपत्यारिलो दृष्टि दिए पनि झगडा गर्ने श्रीमान्–श्रीमतीचाहिँ झगडा बन्द गरेर गए । त्यसको नौ महिनामा साँच्चै छोरो जन्मिएछ ।
० त्यो घटनापछि गुरुमा आफूभित्र शक्ति रहेछ भन्ने लाग्यो कि कसो ?
– मलाई त त्यस्तो केही लागेन । मनमा आएको कुरा मात्र भनिदिएको थिएँ मैले त । ताराको मन्त्रमा शक्ति रहेछ, त्यही मन्त्रले उनीहरूलाई खुसी प्रदान गरयो भन्ने लाग्यो मलाई ।
० तपाईं सानोमा चकचके हुनुहुन्थ्यो कि शान्त ?
– म निकै चकचके, विभिन्न बिर्याइँहरू गरिरहने, छुच्चोखालको थिएँ । पछिसम्म पनि त्यो स्वभाव रह्योजस्तो लाग्छ । साथीभाइसँग झगडा पनि परिरहन्थ्यो, कुटपिट पनि चल्थ्यो, एकपटक गुरुको बक्साबाट पैसा चोरेको, गुरुको खानेकुरामा जुठो पारिदिएको, बुबाको खल्तीबाट चुरोट चोरेर लुकेर खाएको पनि सम्झन्छु म ।
० त्यस्तो केटालाई अवतारी लामा भनेर कसरी माने होलान् त ?
– अहिले पनि मलाई गाउँका बूढापाकाले तिमी त सानोमा यस्ता थियौ भनेर भन्ने गर्छन् । त्यस्ता घटनाबाट मलाई निकै शिक्षा मिलेको छ र अरूलाई ज्ञानका कुरा बाँड्न पनि सघाएको छ । उपल्लो डोल्पाबाट लुटिएका मूर्तिहरू फर्काउने काममा मेरो भूमिका देखेपछि गाउँलेले मलाई विशेष मान्न थालेको मेरो अनुभूति छ ।
० बाल्यकालको कुरा त्यो भयो, युवावस्थामा काठमाडौंमा बस्दा पनि तपाईं विभिन्न किशोरी र युवतीहरूप्रति आकर्षित हुनुभएछ, होइन ?
– एउटा मान्छेकै रूपमा जन्मेपछि मानवीय फिलिङ्स त भइहाल्दोरहेछ । उमेरजन्य अपरिपक्वता र ज्ञानको कमीले त्यस्तो आकर्षणमा परे पनि कुनै नराम्रो र अपवित्र काम मबाट भएन । त्यो आकर्षण शारीरिक आकर्षण नभई विशुद्ध आत्मीय थियो । तथापि, त्यस्तो भावना सिर्जना हुनु ठीक थिएन भन्ने नै लाग्छ ।
० तपाईं धर्म गुरु, रिम्पोछे भए पनि युवा नै हुनुहन्छ, शरीर त मानवकै हो, अहिले यौनेच्छाको भाव आउँछ कि आउँदैन ?
– शारीरिक रूपमा त्यस्तो भाव नजाग्ने होइन, जाग्न खोज्छ । तर, रिस उठे करुणाले शान्त पारेजस्तै कसैप्रति यौनजन्य माया–प्रेमको भावना आएमा वृद्ध भएर मर्नेबेला मान्छेको शरीरको अवस्था कस्तो हुन्छ त्यसको ध्यान गर्ने, रगत, पिप, गलेका हड्डी, कुहिएका छाला र मांस आदि सम्झने र हेर्दा जति नै आकर्षक लागे पनि अन्ततः त्यस्तै हालतमा पुगिने भएकोले यो जवानी केही पनि होइन भन्ने मनन गरेपछि त्यस्ता भावना त्यत्तिकै मर्छ । ज्ञानको कमी भएको अवस्थामा लोभ पनि जाग्छ, मोह पनि जाग्छ, यस्ता विकारलाई ज्ञानले नै भष्म पारिदिन्छ ।
० पहिलेका ती कुरा सम्झेर अहिले कस्तो लाग्छ त ?
– कस्तो पनि लाग्दैन । त्यस्तो अवस्थाबाट गुज्रिनुपर्ने थियो, गुज्रियो, सकियो भन्ने लाग्छ ।
० संसारकै मानिसहरू दुःखी छन्, यस्तो दुःखी बन्नुपरेको मूल कारण के होला ?
– एक शब्दमा भन्नुपर्दा लोभका कारण मानिस दुःखी हुनुपरेको हो । एकपछि अर्को चाहना बढाउँदै लगेपछि मानिस कहिल्यै सुखी हुन सक्दैन, बरु दुःखको भारी बढाएकोबढायै गर्छ ।
० ए, त्यसो भए को सुखी र को दुःखी भनी छुट्याउनुपरे जो लोभ गर्दैन ऊ सुखी र जो लोभी छ ऊ दुःखी भनेर बुझ्नुप¥यो ?
– यसैगरी बुझ्दा हुन्छ । लोभसँग जोडिएर धेरै पाप–बिकारहरू आउँछन् । लोभ त्याग्नेबित्तिकै व्यक्तिबाट त्यस्ता बिकार बेपत्ता भइहाल्छन् ।
० सुख र शान्तिका लागि लोभ मात्रै त्यागे पुग्छ त ?
– लोभ त्याग्ने, ज्ञान र ध्यानहरू सिक्ने गरेपछि सुख र शान्ति आउँछ कि आउँदैन, प्रयास गरेर जान्न सकिन्छ ।
० तपाईं एउटा धर्मगुरु भएर पनि नेपाल (देश)को धेरै चिन्ता गर्नुहुन्छ, किन ?
– कुनै पनि व्यक्ति अरूले जति नै माया गरे पनि आफ्नी आमाले गरेजस्तो नेचुरल माया अनुभूत गर्न सक्दैन । संसारको जस्तोसुकै विकसित र सुन्दर देशमा पुगे पनि आफ्नो देशको माया झन् बढेर आउँछ भन्ने कुरा ममा पनि लागू हुन्छ ।
० स्कुल खोल्ने इच्छाचाहिँ तपाईंलाई सुरुमा कसरी र किन भयो ?
– हाम्रो देश तुलनात्मक रूपमा अत्यन्त पछिपरेको छ र डोल्पा–कर्णाली त झन् निकै–निकै नै पिछडिएको छ । यसरी पछि पर्नुमा शिक्षाको अभाव नै प्रमुख हो भन्ने मलाई लाग्छ । शिक्षाको कमीले गर्दा स्वदेशमा हामी दुःख पाउँछौँ र विदेशमा त झन् हेपाइसमेत भेट्छौँ । मानव जीवनमा शिक्षा नभए जीवनको कुनै अर्थ नै रहन्न भन्ने भावका साथ मैले स्कुलहरू खोल्न आफूसक्दो प्रयत्न गरेको हुँ ।
० शान्तिको दूत भगवान् बुद्धको जन्मस्थल लुम्बिनीको विकासका लागि पनि केही पहल गर्नुभएको छ कि तपाईंले ?
– लुम्बिनीलाई विश्वले नै मान्यता दिएको छ तर हाम्रो आफ्नै पनि विशेष पहल हुनुपर्ने हो यसको विकासका लागि । तर, विडम्बनाको कुरा के छ भने यस्तो महत्वपूर्ण सम्पदाको सुरक्षा र विकासमा राज्यले खास केही गर्न सकिरहेको छैन । विश्वको एक मात्र शान्तिको केन्द्रका रूपमा विकसित गर्न सकेमा तीन करोड नेपालीको सुख र समृद्धिको ढोका लुम्बिनीले नै खोलिदिन्छ भन्नेमा म विश्वस्त छु । हङकङमा रहेको शाक्यमुनि फाउन्डेसनमार्फत हामीले लुम्बिनीको विकासमा मद्दत गर्न दुई वर्षअघि यूएनमा पनि पत्र पठाएका थियौँ । नेपाल सरकारका विभिन्न प्रधानमन्त्रीहरूलाई पनि प्रपोजलहरू दिएका थियौँ । तर माधव नेपालदेखि झलनाथ खनाल, प्रचण्ड, बाबुराम भट्टराई कुनै प्रधानमन्त्रीले पनि यसतर्फ ध्यान पुरयाउन भ्याउनुभएजस्तो लागेन ।
० नेताहरूले लुम्बिनी बनाएर बन्छजस्तो लाग्छ ?
– मलाई लाग्छ नेताहरू एकदम व्यस्त हुनुहुन्छ । देश सबै कुरामा पछि परेकाले उहाँहरूले गर्नुपर्ने काम धेरै छ । त्यसैले लुम्बिनीजस्ता धार्मिक स्थललाई विकास गर्ने कुरामा राज्यले आवश्यक तजबिज मिलाइदिएर बाँकी गर्नुपर्ने कामचाहिँ हामीजस्तालाई छोडिदिए हुन्छ । लुम्बिनीलाई कसरी विश्व शान्ति–केन्द्र बनाउन सकिन्छ भन्ने आइडिया र प्लान मसँग पनि छ, गर्न सकिन्छ ।
० तपाईं ज्ञान र शिक्षा दिने, धर्म प्रचार गर्ने सिलसिलामा देश–विदेश पुगिरहनुहुन्छ, स्कुलहरू चलाउनुभएको छ, यसका लागि खर्च कसरी जुट्छ नि ?
– मेरा चेलाहरू जताततै छन्, उहाँहरूमार्फत नै चल्छ ।
० आफूसँग शक्ति छ भन्दै गलत रूपमा मानिसलाई ठग्दै हिँडेकी एक महिलालाई ताइवानमा तपाईंले शक्तिविहीन बनाइदिनुभएको रहेछ, त्यो चमत्कार कसरी ?
– त्यो चमत्कार होइन । केवल मैले उनलाई सत्य मार्गमा हिँड्न सचेत गराएको मात्र थिएँ । स्वार्थ राखेर हिँडेको व्यक्तिले एक न एक दिन यसै पनि दुःख पाइहाल्छ । मैले तिनलाई भनिदिएँ कि तिमीसँग कुनै शक्ति छैन तर तिमी मानिसलाई भ्रममा पारेर ठग्दै हिँडेकी छ्यौ– यसो नगर, पोल खुलेपछि गाह्रो पर्ला । मैले यति भन्दैमा उनको हृदय छोएछ र आफ्नो गल्ती स्वीकार गरेर आइन्दा त्यस्तो धन्दा नगर्ने कसम खाइन् । शक्ति नै नभएको व्यक्तिलाई मैले किन शक्तिविहीन बनाइरहनुपरयो र ?
० तपाईं ताइवानमै हुँदा एकपटक सुनामी आउन लागेको तर त्यसलाई तपाईंले रोकिदिनुभएकोसमेत सुन्नमा आएको छ त, योचाहिँ के हो ?
– त्यस्तो प्रलय हुुन लागेको भनेर त्यहाँको प्रशासनले सुरक्षा–प्रबन्ध मिलाउन लागेको थियो, मानिसहरूमा अनेक डर पैदा भएको थियो । तर, मलाई लाग्यो, सम्बन्धित विज्ञहरूले अनुमान गरेअनुरूप त्यस्तो कुनै विपत्ति आउनेवाला छैन । अन्तरआत्माले देखेको कुरा मैले भनिदिएँ कि डराउनुपर्दैन, केही बिपत्ति आउँदैन । त्यस्तै भयो । मैले त आफ्नो फिलिङ मात्र सुनाइदिएको हो, आफैँले चमत्कार गरेर आउन लागेको आँधीलाई छेकेको होइन । शक्ति त भगवान्को हो, देखेको बताइदिएको मात्र हो मैले । तर, त्यहाँको प्रशासन र मानिसका लागि त्यो निकै महत्वपूर्ण कुरा बन्न पुगेकोले मानिसहरूले त्यसैलाई ठूलो ठाने ।
० तपाईं उपल्लो डोल्पास्थित यात्सेर गुम्बाको अवतारी लामा, झन्डै एक दशकअघि उक्त गुम्बाबाट २८ वटा दुर्लभ बौद्धमूर्तिहरू लुटिँदा तपाईं कहाँ हुनुहुन्थ्यो, ती कसरी लुटिए र कसरी फिर्ता आए ?
– मैले स्कुल खोल्दा मन नपराउनेहरू, म गुम्बाको प्रमुख भएको नरुचाउनेहरू पनि थिए । अर्काको मन दुखाएर गुम्बामा किन बस्नु भनेर म त्यतिबेला ताइवानमै थिएँ । लुटेराहरू पहिले पूजा गर्ने बहानामा गुम्बामा आएर सोझा लामाहरूलाई झुक्याएर मूर्तिहरूको नालीबेली बुझेका रहेछन् । त्यसको केही समयपछि रातको समयमा आएर उनीहरूले मार्ने धम्की दिँदै मूर्ति लुटेर तिब्बत पुरयाएका रहेछन् । उक्त घटना घटेपछि अत्तालिएर डोल्पावासीहरूले मलाई खबर गरे र म आएँ । त्यसपछि मूर्ति कहाँ पु¥याइयो भन्नेबारे मैले खोजीनिती सुरु गरेँ । नेपाल सरकार र स्थानीय प्रशासन गुहार्दा त्यति चासो नै दिइएन, उल्टै अनेक झमेला मात्र खडा गर्न खोजियो । अनि म आफैं लागेँ, चीन सरकारलाई गुहारेँ, उहीँ गएर वकिल खडा गरी मुद्दा दर्ता गरेँ । यसो गर्दा निकै दिनहरू बितिसकेका थिए । केही समय मात्र ढिला भएको भए चीनको कानुनअनुसार मूर्ति नफर्कने रहेछ । चोरहरूले बिक्री गर्नै लागेको अवस्थामा मुर्ति फेला पारेर त्यहाँको प्रहरीले चोर पक्रिएर सघाउ पु¥यायो । चीनका टप पुरातत्वविद्हरूले समेत एउटा स्तूपा मूर्ति कति पुरानो र कति महत्वपूर्ण भन्ने आंकलन गर्न सकेनन्, यति ऐतिहासिक मूर्ति थिए ती । यसरी दुई वर्ष लगाएर मूर्ति फर्काएर फेरि गुम्बामा प्रतिस्थापन गराउन पाउँदा मलाई निकै सन्तोष मिल्यो, डोल्पोवासी सबै खुसी भए ।
० मूर्तिपूजा गरेर धर्म हुन्छ कि हुँदैन ?
– मूर्ति भनेको हाम्रो इतिहास र संस्कृति झल्काउने सम्पदा भएकोले त्यसलाई पूजा गरेजत्तिकै श्रद्धा गर्नुपर्छ । तर, मूर्तिपूजा गरेर धर्म कमाइने भन्ने होइन । मूर्तिपूजा गर्नु कुनै अपराध पनि होइन र धर्म खोज्नेले मूर्तिपूजा गर्नुपर्छ भन्ने पनि छैन । धर्मआर्जन गर्ने बाटोहरू त अरू नै छन् ।
० यतिबेला हाम्रो देशमा केही हिमालको, कोही पहाड र कोही तराईको भन्दै आ–आफ्ना अधिकारका कुरा गर्न थालेका छन्, यसमा गुरु के भन्नुहुन्छ ?
– मलाई यसमा के लाग्छ भने एउटा घरमा तीनजना छोरा छन् । ती तीनै छोराहरू आफू आफ्नो बुद्धि, बर्कत र विवेक भिडाएर एकताबद्ध भई आर्जन गर्ने कर्मतिर नलागी बाबुको सम्पत्ति लुछाचुँडी गर्न मात्र लागिपरिरहेका छन् । मिलेर बाबुको सम्पत्तिलाई अझ समृद्ध बनाऊँ भन्ने सोच छोराहरूमा नपलाएर सम्पत्तिका लागि झगडा गरी आफैँ कमजोर बन्न पुगेझैँ अवस्था हो यो । तीनवटै क्षेत्र नेपालआमाका विशेष सन्तान हुन्, सबैको आ–आफ्नो महत्व छ र एकले अर्कोलाई मद्दत गर्ने धेरै कुरा छ । तर, यस्तो महत्व नबुझेर आपसमा झगडा गर्ने टुक्रिने कुरा गर्नु दुःखको कुरा हो ।
० बुद्ध जन्माउने देश आज किन यति अशान्त बनेको होला ? यस अशान्तिबाट मुक्ति पाउन नेताले के गर्ने र जनताले के गर्दा उचित होला ?
– तीनवटा क्षेत्ररूपी छोराहरूमा विवेक गुमेजस्तै बाउरूपी राज्यले पनि कुन सन्तानले के दुःख भोगिरहेको छ, उसलाई आफूले केही मद्दत गर्नुपर्ने छ कि भनेर राम्ररी ध्यान दिनुपर्नेमा विचार पुरयाउन नसकेको अवस्थाले गर्दा यो कलह जन्मेको हो । सन्तानको कर्तव्य आफ्नो पितृप्रति भएजस्तै पितृले पनि सन्तानको दुःख–सुख हेरेर आवश्यक मद्दत, सल्लाह र आशीर्वाद दिनुपर्ने हुन्छ । यो देशले अब शान्तिको मार्गमा हिँड्ने प्रयत्न गर्नैपर्छ । हामी धेरै पछि परिसकेका छौँ । विकसित मुलुकका जनता बिहान उठेर काममा जान हतारिँदा हामीचाहिँ दश बजेसम्म चिया खाएर गफ गर्नमै रमाइरहेका हुन्छौँ । सुन्दा यो साधारण कुराजस्तो लाग्न सक्छ,
तर एक–एक नेपालीले गहिरिएर विचार गरौँ– सुख–शान्ति र समृद्धि प्राप्तिका सवालमा यो महत्वपूर्ण कुरा हो ।

१४ मंसिर २०६९, बिहीबार ०८:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री ओलीले भर्चुअल सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रसंघको ७५औँ महासभाको उच्चस्तरीय सत्र अमेरिकाको न्यूयोर्कमा आजबाट सुरु भएको छ । महासभामा प्रधानमन्त्री केपी ओली..

आजबाट मलमास शुरु

काठमाडौं । हिन्दू परम्परा अनुसार आजबाट मलमास शुरु भएको छ । मलमास असोज ३० गते राति १ बजेर ५३ बजेसम्म रहने छ ।..

वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा..

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौं । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण,..

कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम..