धोकाको परिणाम धोका नै हुन्छ

रमेश ग्रहण / वर्तमान विश्वमा प्रायः सबै मुलुकका जनता अशान्त र असन्तुष्ट देखिन्छन् । जताततै आन्दोलन, हिंसा, विस्फोट, अत्याचार बढिरहेको छ । चाहे भारत भनौँ, बिलिया, इजिप्ट, सिरिया, इरान, इराक, अफगानिस्तान, खाडी देशहरू वा अमेरिका भनौँ शान्ति कतै छैन । २१औँ शताब्दीको चेतनशील विश्व परिवेश एकाएक आक्रोशको ज्वालामा दन्दनी बलिरहेको आभास हुन्छ । नेपालकै राजनीतिक परिस्थिति हेरौँ, कसैलाई थाहा छैन अब यहाँ के हुन गइरहेको छ । नेपालको सङ्घीयताले नेपाल टुक्रिन्छ भन्दै गर्दा त्यसअघि नै अमेरिका टुक्रिने लक्षण देखिन थालिसकेको छ । त्यसैले यो २१औँ शताब्दी अशान्तिको शताब्दी बन्न सक्ने सम्भावनाहरू प्रबल हुन थालेका छन् । प्रविधिको विकासले साँघुरिँदै गइरहेको विश्व अराजनीतिले जरा गाडिसकेको छ । त्यसकारण यत्रतत्र विध्वंश र विनास मात्र देख्न र सुन्न पाइन्छ । सैद्धान्तिक आवरण मात्र पनि समाप्त हुँदै गराइरहेका छन् भने सत्यता र मानवता नारामा मात्र सीमित हुन पुगेका छन् ।
यसै परिपे्रक्ष्यमा नेपालको वर्तमान राजनीतिलाई विश्लेषण नै गर्न मुस्किल हुने गरी फोहोरको आहालमा नुहाइदिने क्रियाकर्महरू भइरहेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच जुहारी चलेको छ । सञ्चारकर्मी, कानुनविद्, मानवअधिकारकर्मी, व्यवसायी, नागरिक समाजलगायत सबै तह र तप्का क्षतविक्षत हुनेगरी विभाजित छन् । विभाजनको सिद्धान्त अपनाएर कोही–कसैलाई मिल्न नदिने र त्यसबाट सिर्जित हुने महाभद्रगोल र शून्यतामा आफ्ना कुत्सित, विष्मयकारी र विध्वंसकारी अभीष्टहरू पूरा गर्ने प्रपञ्च रचिएको थाहा पाउन कुनै कठिनाइ छैन । राजनीतिलाई कण्डम बनाएपछि आर्थिक मात्र होइन कुनै पनि क्षेत्र ट्रयाकमा बस्न सक्दैन, सबैतिर अस्थिरता मात्र जन्मन्छ । आजको नेपालको परिवेश हेर्दा यहाँ नेतृत्व दिनसक्ने कोही रहेनछन्, सबै दलाली गर्न मात्र अभ्यस्त रहेछन् भन्ने बुझिन्छ । जनताको महान् बलिदान, त्याग र तपस्याबाट प्राप्त भएका उपलब्धिहरू मुठ्ठीभरका नेताहरूको स्वार्थसिद्ध गर्नका लागि थिएन, तर त्यस्तै भयो र भइराखेको छ । संविधानसभालाई दुहुनोगाई बनाएर धेरै मानिसले डकारे र अझै पनि डकार्नका लागि संविधानसभाको फेरि निर्वाचन गर्नुपर्छ भन्दै छन् । वास्तवमा भन्ने हो भने अहिलेको समूल नेतृत्व नेपालको राजनीति थेग्न असफलसिद्ध भइसकेको छ । यिनीहरूको विश्वास गरी लहैलहैमा लाग्ने हो भने नेपाली जनताले दुःख र कष्टसिवाय अरू केही प्राप्त गर्ने छैनन् । हामी जनताको रगत–पसिनाबाट प्राप्त लोकतन्त्र समाप्तिको दिशातिर जाँदै छ र गणतन्त्र, धर्मनिरपेक्षता तथा सङ्घीयता त लगभग समाप्त भइसकेको छ ।
भारतमा पनि वृद्ध नेतृत्वदेखि वाक्क भएर युवा नेतृत्वलाई मन्त्रिमण्डल स्थान नदिईकन नहुने स्थिति पैदा भयो । समय सधैँ एकनास हुँदैन । फल दिने वृक्ष मात्र बूढो भए पनि मानिसलाई स्वीकार्य हुन्छ । यदि वृक्षले फल दिन छोड्यो भने त्यो दाउरा बाल्नका लागि मात्र योग्य हुन्छ । हाम्रो मुलुकमा नेता भनिनेहरू जबर्जस्ती राजनीति गरिरहेका छन् । घातक र आफैँलाई पनि अफाप हुने एजेन्डाहरू अगाडि सारेर सार्वभौम नेपाली जनतालाई उल्लू र बेबकुफ बनाउँदै महान् उपलब्ध भनेर ढाँटिरहेका छन् सङ्गठित रूपमा । अन्तिम अवस्थासम्म पनि कुनै न कुनै रूपको राजतन्त्र मुलुकमा रहन्छ भनेर गिरिजाप्रसादले राजा ज्ञानेन्द्रलाई ढाँटिरहे र जब पहिलो राष्ट्रपति तपाईं नै हो भनेर प्रचण्डले ललिपप देखाए त्यसपछि गिरिजाप्रसादले गणतन्त्रमा जाने निर्णय गरे अनि राजा ज्ञानेन्द्रलाई धोका दिए । आखिर स्वतसिद्ध कुरा हो कि धोकाको परिणाम धोका नै हुन्छ । फलस्वरूप गिरिजाबाबुले पनि राष्ट्रपति हुन पाएनन् किनकि प्रचण्डले उनलाई पनि धोका नै दिए । तत्पश्चात् यो मुलुकमा धोकाको राजनीति अविछिन्न र घनीभूत रूपमा चलेको छ जसको परिणाम हो आजको मुलुकको अवस्था ।
सस्तो, महँगो जुनसुकै गुणस्तरको भए पनि भीरमा पुगेपछि गाडी ब्याक गर्नैपर्छ, साइड लाउनैपर्छ । तर, बसरूपी नेपाल भड्खालोमा जाकिन लाग्दा पनि परिवर्तन र अग्रगमन भन्न नेताहरूले छाडेका छैनन् । मुलुक संविधानबिना चल्दैन भने यो अन्तरिम संविधानले हामीलाई खाल्डोमा हाल्नेछ त्यसकारण तत्काल ०४७ को संविधान सहमतिमा पुनस्र्थापना गर्ने पहल अबको एक मात्र विकल्प हो । परिवर्तन भनेको नेपालको विकास र जनताको समृद्धि हो जसलाई राजतन्त्रको पुनरागमनले कसरी छेक्छ ? जवाफ देऊ । नाच्न नजान्ने आँगन टेडो देख्ने दलहरू र तिनका नेताले बुझून् अबको कदम भनेको सर्वथा अप्रिय तर आवश्यक कदम हो जो राष्ट्रपति डा. रामवरण यादवले चालिसकेका छन् । अबको स्थिति सक्रिय राष्ट्रपति हुँदै संवैधानिक राजतन्त्रसम्म जाने स्थिति बन्ने सम्भावना धेरै हदसम्म छ । तर, राजतन्त्रकै वकालत गर्ने राप्रपा नेपालका कमल थापालगायतका नेताहरू हाल किन सुतुरमुर्गको अवस्थामा पुगेका हुन्, किन चुपचाप बसेका हुन् रहस्यमय छ । धोकैधोकाको राजनीति विद्यमान भएकाले आगामी चुनाव होला या नहोला तर वर्तमान नेतृत्वलाई नेपाली जनताले पनि धोका दिने र लोप्पा ख्वाउने निश्चितप्रायः छ । सहज निकासका लागि, राजनीतिक–संवैधानिक निकासका लागि अब सुरक्षित मार्ग अवलम्बन गर्नु आवश्यक छ । ०४७ को संविधान ब्युँताई सबै मिलेर राजनीतिक स्थायित्व कायम गर्ने, सम्मान र सहिष्णुता दर्शाउने बाटोमा हिँडिएन भने अब जंगबहादुर जन्मनबाट यो मुलुकलाई कसैले रोक्न सक्ने छैन ।

१३ मंसिर २०६९, बुधबार ०८:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका यात्रुबाहक सवारी..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..

थप ३३४ जनामा कोरोना प्ष्टि, संक्रमितको संख्या २६ सय नाघ्यो

काठमाडौँ, २२ जेठ । नेपालमा आज एकैदिन ३३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या..