सुगाको भूमिकामा राष्ट्रपति – देवप्रकाश त्रिपाठी

पर्यटकहरू मन्दिर र मूर्तिको कला अवलोकन गर्न एक दिन या एक क्षणका लागि जान सक्छन्, तर दिनहुँ मन्दिर धाउनेहरू कलाको परख गर्न होइन एउटा निश्चित आस्था, विश्वास र भरोसाका साथ त्यहाँ पुग्ने गर्दछन् । आकार मूर्तिका पछाडि निराकार आस्था र विश्वास निहित भएकोले मात्र मानिस मन्दिरमा लामबद्ध भएका हुन् । आफ्ना दुःखकष्ट हरण गर्ने या कष्ट उत्पन्न हुनै नदिने र कार्य सफल बनाइदिने तागत मूर्तिभित्र लुकेको निराकार शक्तिमा छ भन्ने विश्वास नहुँदो हो त कोही किन मन्दिर जान्थे, किन पूजा–प्रार्थना गर्थे होलान् ?
राज्यसत्ताका विभिन्न ओहोदामा रहेका मानिसमा पनि देहगत तागतबाहेक थप शक्ति हुन्छ र जुन शक्ति आफ्नो दुःख निवारणमा सहयोगी बन्न सक्छ भन्ने ठानिएकोले सत्तामा रहेका मानिसप्रति अन्य मानिसको आशा र दृष्टिकोण बेग्लै हुने गर्छ । अदृश्य शक्तिका कारण पत्थरको मूर्तिलाई पनि देवता मानेर पूजा गरेझैं सत्तामा पुगेको मान्छे आफूजस्तै देह र मनमस्तिष्क भएका हुन् भन्ने जान्दाजान्दै पनि साधारण मानिसहरू तिनलाई विशेष मान्छन् । हरेक पदहरूमा श्रेणीअनुसारको शक्ति हुन्छ र शक्तिअनुसार तिनको मान–मर्यादामा पनि अन्तर हुन्छ । शक्ति व्यक्तिमा होइन उसले धारण गरेको पदमा हुने हो, तर पदमा पुग्ने व्यक्तिले विस्तारै आफैँलाई ‘पद’ ठान्न थाल्छ । जसरी अहिले डा. बाबुराम भट्टराईले प्रधानमन्त्री र डा. रामवरण यादवले आफूलाई राष्ट्रपति ठानेका छन्, त्यसैगरी विगतमा धेरैले आफूलाई अनेक आकारप्रकारका ‘पद’ ठानेका थिए । यस्ता मानिस पदमा रहेको निश्चित अधिकार र शक्ति आफैँमा रहेको भ्रममा हुन्थे र पदमुक्त भएपछि आफ्नो वास्तविक हैसियत पनि थाहा पाउँथे, यो क्रम जारी छ ।
कुनै पदीय जिम्मेवारीमा रहँदा व्यक्तिको योग्यता, क्षमता र
कार्यकुशलताको अनेक कोणबाट मापन भइरहेको हुन्छ । पदले मानिसको योग्यता र क्षमता अभिवृद्धि गर्दैन बरु त्यसले सम्बन्धित व्यक्तिमा निहित क्षमताको उजागर मात्र गर्दछ । पदीय हैसियतले मानिसको योग्यता–क्षमतामा परिवर्तन ल्याउने भए सबै राणा प्रधानमन्त्रीहरू जंगबहादुरसरहका हुन्थे, जंगबहादुरकै जत्तिको क्षमता सबैमा हुन्थ्यो भने नेपालले अहिलेसम्म कुनै न कुनै रूपको राणाशासन नै व्यहोर्नुपर्ने पनि हुनसक्थ्यो । नेपालमा हालसम्म तीन दर्जन व्यक्ति प्रधानमन्त्री भए, आ–आफ्नो योग्यता र क्षमताअनुसारको तिनले आ–आफ्नो पहिचान पनि बनाएका छन् । प्रधानमन्त्री बनाइ“दैमा रंगनाथ पौडेलको क्षमता चुलिएन र कुनै नगेन्द्रप्रसाद या लोकेन्द्रबहादुरको योग्यता पनि बढेन । पदीय दृष्टिले शेरबहादुर देउवा र बीपी कोइरालाको हैसियत एकै हो, तर व्यक्तित्वका दृष्टिले भने बीपीलाई सगरमाथा भनियो भने देउवालाई झापाको केचना विशेषण दिनु उचित होला । पदीय हैसियत प्राप्त गर्दा त्यसको उच्चतम सदुपयोग गर्ने मानिसले देशलाई योगदान पु¥याएको हुन्छ र आफूलाई पनि महान् प्रमाणित गर्छ । राणा प्रधानमन्त्री देवशमशेरले तीन महिना मात्र ‘श्री ३ महाराज’ बन्ने अवसर पाएका हुन्, तर झन्डै एक दशक प्रधानमन्त्री रहेका भीमशमशेर र तीन दशक प्रधानमन्त्री बनेका चन्द्रशमशेरभन्दा देवशमशेर नै इतिहास स्मरणीय बन्नुको कारण पदान्तर नभई क्षमता र योग्यताकै अन्तरले हो भन्नुपर्छ । चीनमा माओ त्से तुङ एक प्रकारको क्रान्तिको अगुवाई गरेका कारण विश्वप्रख्यात भए । आजको चीनमा माओभन्दा बढी कोही सम्मानित, पुजित र इतिहास स्मरणीय बनेका छन् भने ती देङ सियाओ पिङ हुन् । माओले आफ्नो उत्तराधिकारी तोकेका र केही समय चाइनाको सर्वोच्च कमान सम्हाल्ने अवसर पाएका हुवा को फेङलगायत सोसरहका कैयन व्यक्तिको अहिले नामोनिसान मात्र कायम छ । पदले महान् बनाउँथ्यो भने हुवा को फेङ पनि देङ सियाओ पिङजत्तिकै नामी हुनुपर्ने थियो । सिङ्गापुरमा कति प्रधानमन्त्री भए तर ली क्वान यु मात्र स्मरणीय बनेका छन् । भारतमा जवाहरलाल नेहरूजस्ता उचाइदार नेताले धारण गरेको पदमा पछि लालबहादुर शास्त्रीदेखि एचडी देवेगौडासम्म पुगेका हुन्, तर सबैको नाम बराबरीमा छैन, जब कि पद बराबरीकै हो । संयुक्त राज्य अमेरिकामा जर्ज वासिंगटनदेखि यता करिब चार दर्जन व्यक्ति राष्ट्रपति पदमा पुगिसकेका छन्, तर अब्राहम लिङ्कन, जोन एफ केनेडी, हेनरी किसिन्जर, ह्यारी टु«मन, रोनाल्ड रिगन र निक्सनलगायत हातका औंलामा गन्न सकिने केही मात्र अमेरिकी इतिहासमा स्मरणीय बनेका छन् । राष्ट्रपतिका रूपमा सबै उत्तिकै शक्तिशाली भएर पनि उत्तिकै स्मरणीय बन्न नसक्नुको कारण पदीय जिम्मेवारीमा रहँदा इतिहासले तय गरिदिएको जिम्मेवारी निर्वाह गर्न नसकेर नै हो । नेपाली इतिहासमा डा. रामवरण यादवले प्रथम राष्ट्रपति र प्रधानमन्त्रीका रूपमा डा. बाबुराम भट्टराईले जिम्मेवारी निर्वाह गर्ने मौका पाएका छन् । गोरखा खोप्लाङका बाबुराम भट्टराई गोरखा बोलाङका ‘प्रधानमन्त्री’ भीमसेन थापाले झैं ‘विपक्षी र विरोधी सिध्याउ’ अभियानमा जुटेको अनुभूति जनस्तरमा समेत हुन थालेको छ । भीमसेन थापाले आफ्ना विरोधीहरूलाई छानीछानी भौतिक रूपमै सिध्याएका थिए भने बाबुरामले फरक विचारप्रति चरम पूर्वाग्रह राखी राज्य सञ्चालन प्रक्रियामा विपक्षी विचारलाई पूर्णतः निषेध गर्दै जाने नीति लिएको आभाष गराउँदै छन् । उता राष्ट्रपति भूमिकाका रामवरण यादवचाहिँ बेलाबखत नेताहरूलाई चियाचमेनाका निम्ति आमन्त्रण गर्ने र ‘सहमति गर’ भन्ने वाक्यांश सुगाले झैं दोहो¥याइरहने भूमिकामा छन् ।
मुलुक यतिबेला ‘जिरो आवर’ (शून्य समय) अर्थात् संविधानविहीन अवस्थामा छ । राज्य सञ्चालनको मार्ग निर्देश गर्ने दस्तावेजका रूपमा संविधानलाई बुझ्ने हो भने हामीसँग कागजी रूपमा रहेको संविधानले अवरुद्ध राजनीतिक प्रक्रियालाई सुचारु गर्ने सामथ्र्य राख्दैन । त्यसैले यस्तो संविधानलाई जीवित मान्न सकिँदैन र देशलाई अघि बढाउने हो भने एउटा राजनीतिक निर्णयबाट निकास खोज्नु अपरिहार्य भएको छ । संविधानसभाको निधनसँगै अन्तरिम संविधानसमेत ‘बेहोस’ बनेको भए पनि देशमा एउटै मात्र जीवित संवैधानिक संयन्त्रको रूपमा ‘राष्ट्रपति’ रहेका छन् । राष्ट्रपतिले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारलाई ‘काम चलाउ’ घोषणा गरेर आमप्रजातन्त्रपे्रमी जनसमुदायको भावना आत्मसात् गरेको र राष्ट्रिय सहमतिका निम्ति पटकपटक दबाब दिएर ऐतिहासिक आवश्यकता बोध भएको सन्देश दिएका थिए । गत जेठ १४ अघि र त्यसपछिको आन्तरिक राजनीतिक एवम् संवैधानिक अवस्थामा आकाश–जमिनको अन्तर उत्पन्न भएको महसुस देशी–विदेशी सबैले गरेका छन्, तर राष्ट्रपतिको भूमिकाचाहिँ रहस्यमयी किसिमले यथावत् छ । जेठ १४ (२०६९) अघि पनि राष्ट्रपति ‘सहमति गर’ भन्थे, अहिले पनि ‘सहमति गर’ म्ँँत्र भनिरहेका छन् । सुगाले आफ्नाअगाडि गाई–बाख्रा उभिए पनि ‘कृष्ण कहो’ भन्छ र मान्छे देखा परे पनि । वर्षात् भए पनि ‘कृष्ण कहो’ नै बोल्छ र आँधी–बेरी आए पनि । परिस्थिति बदलिँदा पनि एउटै भूमिका निर्वाह गरिरहने पात्र, प्रवृत्ति र पद ‘डेट एक्स्पाएर औषधि’ बराबर हुन्छन् । जेठ १४ अघि विधिवत् गठन भएको संविधानसभा थियो, राजनीतिक दलहरू माथिको आस्था र भरोसा ह्रासोन्मुख भए पनि कायम थियो र संविधान तथा संवैधानिक प्रक्रियाहरू पनि जीवित थिए । जेठ १४ मा संविधान निर्माण नगरीकन संविधानसभाको अस्तित्व मेटिएपछि अचानक राष्ट्रपतिको भूमिका स्वाभाविक किसिमले उचालियो । तर, परिस्थिति फेरिँदा पनि राष्ट्रपतिको कार्यशैली र भूमिका फेरिएन । इतिहास अपेक्षित भूमिका निर्वाह गर्ने सामथ्र्य र क्षमता दर्शाउन नसक्दा राष्ट्रपति नामक पदको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ । सरकार अल्पमतको प्रतिनिधित्व गर्छ र ऊ विधिवत् काम चलाउको हैसियतमा झरिसकेको पनि छ । संविधानको संरक्षकका रूपमा रहेका राष्ट्रपतिले जुन संविधानको रक्षा गर्नुपर्ने हो त्यो मरिसकेको छ या ‘बेहोस’ छ । संविधान क्रियाशील नभएको, सरकार आफैँले घोषणा गरेको निर्वाचन गराउन असफल भएको र राजनीतिक दलहरूबीच निश्चित सहमति बन्न पनि नसकेको परिपे्रक्ष्यमा स्वाभाविक रूपले राष्ट्रपतिको भूमिका अपेक्षित हुन पुगेको हो । तर, संवैधानिक रिक्तता र अन्योलको ६ महिना बित्न लाग्दा पनि राष्ट्रपतिले ठोस कदम चाल्न नसक्दा राष्ट्रपतिको औचित्यमाथि प्रश्न उठ्ने स्थिति बनेको छ । पानी नपार्ने बादल, फुल नपार्ने कुखुरी, फलफूल नलाग्ने बिरुवा, निकास नदिने संविधान र ऐतिहासिक दायित्व बोध नगर्ने राष्ट्रपतिको अपरिहार्यतामा ह्रास आउनु स्वाभाविक हुन्छ । निर्वाचन घोषणा गरेर सरकारले आफ्नो औचित्य स्थापना गर्न गरेको प्रयासको मिति पनि यसै सातादेखि समाप्त हुँदै छ । अब पनि राष्ट्रपतिले उही पुरानै ‘मनोटोनस’ भूमिका निर्वाह गरिरहने हो भने आस्था र विश्वास गुमाएको देवताको मूर्तिलाई पत्थर कलाको रूपमा बुझिने गरेझैं राष्ट्रपतिमाथिको भरोसा पनि रित्तिएर राष्ट्रपति शीतलनिवासको बगैंचामा ठड्याइएको मूर्तिसरह बन्न सक्ने सम्भावना बढेको छ । राष्ट्रपतिमा कुनै अधिकार नभएको बताउने एमाओवादी नेतृत्व र वर्तमान प्रधानमन्त्रीले आफूहरूको सुरक्षाका लागि भने राष्ट्रपतिको भूमिका खोजिरहेका छन् । राष्ट्रपतिको कदम आफ्नो पक्षमा भए ठीक र आफूप्रतिकूल भूमिका हुँदा नाजायज ठान्ने एमाओवादी नेतृत्वको चाला बुझेर राष्ट्रपतिले प्रजातन्त्र र मुलुकलाई सही ‘ट्रयाक’मा ल्याउन समयमै प्रयास गर्न सकेनन् भने राष्ट्रपति र टुँडिखेलमा घोडा चढेर ठडिएको जंगबहादुरको शालिक भिन्न मानिने छैनन् ।
आफ्नी प्रियतमा कान्तावतिको जीवनरक्षाका लागि तात्कालिक राजा रणबहादुर शाहले देवी–देवताका कुनै पनि मन्दिर–मूर्तिको पूजाआजा गर्न बाँकी राखेका थिएनन् । काठमाडौं उपत्यकामा भएका सबै देवी–देवताको पूजा गर्दा पनि उनकी प्रियतमा कान्तावति बाँच्न सकिनन् । त्यसरी आफ्नी पत्नीको अकाल मृत्यु भएपछि आफैँले पूजा गरेका मूर्ति र मन्दिरमाथि रणबहादुर जाइलागे र त्यसक्रममा अनेकौँ मूर्ति फोडिए– मन्दिरहरू भत्काइए । आस्था र भरोसा टुटेपछि मानिस आफैँले पूजा गरेका मूर्ति र मन्दिर भत्काउन पनि पछि पर्दैनन् भन्ने कुराको यो एउटा सजीव दृष्टान्त हो । राष्ट्रपतिप्रतिको भरोसा टुट्यो भने रणबहादुर शाह मन्दिरविरुद्ध जाइलागेझैं मानिस राष्ट्रपतिका विरुद्ध पनि त्यसैगरी आक्रामक बन्ने सम्भावनालाई इन्कार गर्न सकिन्न, समयमै चेतना होस्, शुभकामना ।

५ मंसिर २०६९, मंगलवार २०:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..