भिड्नैपर्ने हो भने समयको बर्बादी किन ?

देवप्रकाश त्रिपाठी, नेपोलियन बोनापार्टजस्ता युद्धपे्रमीले पनि जीवन उत्तराद्र्धको अन्त्यतिर पुग्दा तरबारभन्दा मानव आत्मा शक्तिशाली हुने अभिव्यक्ति दिएका थिए । उनको भनाइ थियो, ‘बल प्रयोग कुनै औषधि होइन, मनुष्यको आत्मा तरबारभन्दा ज्यादा शक्तिशाली हुन्छ । बल प्रयोग कुनै चिज गठनको सामथ्र्य राख्दैन । संसारमा केवल दुईवटा मात्र ताकत छन् एउटा आत्मा र अर्को तरबार, अन्त्यमा सधैँ आत्माले तरबारमाथि विजय प्राप्त गर्दछ ।’ सम्राट अशोक भारतका एक विजयी राजा थिए र उनको प्रभाव भोल्गादेखि जापानसम्म फैलिएको थियो । कसैले हल्लाउन नसकेको दक्षिण भारतीय राज्य कालिङमाथि समेत उनले युद्ध लडेर विजय प्राप्त गरेका थिए । युद्धका क्रममा कालिङका एक लाखभन्दा बढी मानिस मारिएका थिए भने डेढ लाखलाई कैदी बनाइएको थियो । तर, यति ठूलो लडाइँमा विजय प्राप्त गरेपछि सम्राट अशोक खुसी, प्रफुल्लित र अहङ्कारले उन्मादित हुनुपर्नेमा उनमा पश्चात्तापको अग्निज्वाला दन्कियो र ग्लानिले पानी–पानी भए, अनि भने, ‘मानव हृदयमाथि विजय पाउनु मात्र सच्चा विजय हो ।’ तर, नेपालका युद्धपे्रमीहरूमा अहिलेसम्म कुनै परिवर्तन आउन खोजेन, यो या त्यो रूपको युद्धको चाहना र अहंकारबाट उनीहरू मुक्त हुन सकेनन्, जसका कारण मुलुक अझै कैयन वर्ष अन्योल, अराजकता र गरिबीको चपेटाबाट मुक्त हुन नसक्ने अवस्था यथावत् रहन पुगेको छ ।
देश र जनतालाई माया गर्नेहरू आफ्ना निहित महत्वाकाङ्क्षा पूरा गर्न देशलाई दाउमा राख्दैनन्, देशको इच्छाका अघिल्तिर सत्मानवहरू आफ्ना आकाङ्क्षालाई तिलाञ्जली दिन्छन् । निदरल्यान्डका प्रिय नेता विलियम अफ अरेञ्जलाई श्रीपेच पहि¥याएर राजा बनाउन खोज्दा उनले त्यसलाई स्वीकार गरेनन् । विलियमको भूमिकाका कारण निदरल्यान्डले आफ्नो अस्तित्व, स्वाभिमान, सान र समृद्धिको रक्षा गर्न सकेको थियो । उनलाई पुरस्कृत गर्दै जनताले राजा बनाउन खोज्दा विलियमले देशको भविष्यलाई शीर्ष महत्व दिँदै श्रीपेच पहिरन अस्वीकार गरेका थिए । राजा बनेका भए विलियम स्वयम् र निदरल्यान्डको भविष्य के हुन्थ्यो थाहा छैन, त्यागका कारण उनी इतिहास स्मरणीय बनिरहेका छन् । ‘नेपालमै पनि जुद्धशमशेरजस्ता तानाशाहले राज्यसत्ताभन्दा प्रभुसत्ता नै अन्तिम सत्य रहेछ भन्दै श्रीपेच खोलेर सन्त बनेका हुन् । बाँचिञ्जेल शासन गरिरहन सक्ने र पाउने हैसियत भएका जुद्धले काठमाडौंको सुख–शासन सयल छोडेर रिडीको कुटीमा जीवन बिताएका थिए ।’ जननेता गणेशमान सिंहले पनि प्रधानमन्त्री पद त्याग गरेर सत्ताभन्दा जनता र देश महत्वपूर्ण भएको सन्देश दिएका हुन् । तर, प्रचण्ड–बाबुरामहरू देशमा राजनीतिक परिवर्तन भएमा आफूहरूले राज्यसत्ताको कुनै पद धारणा नगर्ने सार्वजनिक घोषणा गरेर पनि आफ्नै वचनको पालना नगरी सत्तालाई सर्वोपरी बनाएर देशमा नयाँ सङ्कटको सिर्जना गर्न उद्यत् भएका छन् । कसैले ब्रह्मचारी दाबी गर्दैमा उसलाई ब्रह्मचारी मान्न सकिँदैन । ब्रह्मचर्यको परीक्षा मरुभूमिमा होइन युवतीहरूको बीचमा लिइन्छ । प्रचण्ड–बाबुरामहरू युवतीहरूका बीच लिइने ब्रह्मचर्यको परीक्षामा सम्पूर्ण रूपले अनुत्तीर्ण भइसकेका छन् । हजार वर्ष तपस्या गर्ने ऋषिमुनि अप्सरा अघिल्तिर प्रकट भएपछि लल्याकलुलुक भएझैं प्रचण्ड–बाबुरामका चरित्र र क्षमता सत्ता अगाडि आएपछि मैनझैं पग्लिएर सखाप भएका छन् । जनताको दैनिक जीवनलाई सरल र सहज बनाउने क्षमता मात्र होइन देशको अस्तित्व रक्षा गर्ने हैसियत पनि उनीहरूले गुमाएका छन् । त्यति ठूला कुरा गर्ने नेता यति निम्न काँटी र कोटीका होलान् भन्ने अनुमान विगतमा कसैले पनि गर्न सकेका थिएनन्, कसैले अनुमान गर्न नसकेको व्यवहार प्रचण्ड–बाबुरामले दर्शाएका छन्– अब उनीहरूप्रतिको जनअपेक्षा पूर्णतः भष्म भएको छ । उनीहरूले न जनताको मन परिवर्तन गर्न सके न जनताको जीवनस्तरमा सुधार ल्याउन सके, न देशलाई परिवर्तन गर्ने क्षमता देखाए न आफैँ परिवर्तन हुन सके । सत्ताकेन्द्रित सोच–व्यवहारले उनीहरूलाई अन्धो बनाएको छ, आफूलाई माथि पार्न खोज्दा देश धेरै तल परिसकेको सामान्य हेक्का पनि उनीहरूले राख्न सकेका छैनन् ।
सृष्टिको नियम छ– नयाँ परिणाम हासिल हुन या त दुई तत्वबीच फ्युजन हुनुपर्छ या घुलित तत्वबीच संघर्ष भई एउटा तत्वमाथि अर्कोले पूर्ण विजय प्राप्त गर्नुपर्छ । पानीको अस्तित्व हाइड्रोजन र अक्सिजनको अन्योन्याश्रित मिलापसँग सम्बन्धित छ । हाइड्रोजन र अक्सिजन आ–आफ्नो स्थानमा अड्डी लिएर बस्ने हो भने पानीको उत्पादन हुन सक्दैन । राजनीतिमा पनि त्यस्तै हो– कि मिलेपछि नयाँ परिणाम आउँछ कि भिडेपछि । प्रचण्ड–बाबुरामहरू भिड्न नसक्ने भएपछि बाह्रबुँदे सम्झौतामार्फत नयाँदिल्लीको बाटो हुँदै खुला राजनीतिमा त आए, तर मिल्ने मार्ग उनीहरूले अवलम्बन गर्न सकेका छैनन् । भिड्न नसकेपछि मिल्नु स्वाभाविक हुन्छ, तर उनीहरूले भिड्न सकेनन् र मिल्न पनि सकिरहेका छैनन् । भिड्न नसक्दा प्रचण्ड–बाबुरामहरू क्रान्तिकारीहरूको दृष्टिमा पलायनवादी भएका छन् भने मिल्न नसक्दा देशभक्त र प्रजातन्त्रवादीका आँखामा प्रजातन्त्रविरोधी नालायक तत्व ठहरिएका छन् । यसर्थ उनीहरू दुवै पक्षका दृष्टिमा धोखेबाज ठहरिएका छन् ।
०६३ सालमा राजनीतिक परिवर्तन हुनेबित्तिकै उनीहरूले युद्धकालमा भएका जघन्य हत्या, लुटपाट र अन्य अमानवीय कार्यका लागि जनतासँग माग्दै आफ्ना पार्टीका लडाकुलाई पार्टी काममा फर्काएर इमानदारीसाथ राज्यलाई हतियार बुझाएका भए, राजाबाट पटकपटक प्रजातन्त्रका विरुद्ध धावा बोलेकाले हतियार उठाउनुपरेको बताउँदै अब हतियार उठाउनुपर्ने राजनीतिक र सामाजिक कारण नरहेकोले कसैले पनि हिंसात्मक गतिविधि गर्न पाउँदैन भनेका भए, राज्यसत्ता र पदप्राप्तिका लागि लडेको नभई देश र जनताका निम्ति बलिदानीपूर्ण सङ्घर्ष गर्नुपरेको भन्दै आफूहरू कुनै पदमा नबसी ‘वाचडग’को भूमिकामा रहने घोषणा गरेका भए प्रचण्ड–बाबुरामजति महान् नेपालको इतिहासमा सायदै कसैलाई मान्न सकिन्थ्यो । उनीहरूले त्याग गर्नुलाई भन्दा ‘ब्याग’ भर्नुलाई महान्तम कार्य ठाने, देश र जनतालाई भन्दा सत्ता र भत्तालाई उच्च प्राथमिकतामा राखे– अझै राख्दै छन्, विपक्षी विचारलाई रक्षा र सम्मान गर्नुको सट्टा निषेधको राजनीतिलाई तीव्रता दिन अनेक कसरत गरिरहेका छन्, जसका कारण देश रनामा परेको छ, हिजोभन्दा आज खराब र आजभन्दा भोलि झनै खराब हुने स्थिति बनेको छ । विदेशीको आडभरोसामा उचालिएर स्वदेशीहरूलाई फुर्ति देखाउने गद्दारहरू विश्वइतिहासमा अनेकौँपटक प्रकट भएका छन् र कालान्तरमा अपमानित, उपेक्षित र घृणित हुँदै सकिएका छन् भन्ने तथ्यबारे जानकार हँुँदाहुँदै पनि प्रचण्ड र बाबुरामहरू त्यसैको पुनरावृत्ति गर्न किन अग्रसर भएका होलान् ? आजका मितिमा जनजनको प्रश्न बनेको छ ।
विष्मार्क देशभक्त थिए, उनले आफ्नो महत्वाकाङ्क्षासँग देशको भविष्यलाई पनि जोडेका थिए । त्यसैले उत्तर जर्मन सङ्घको संविधान विष्मार्कले पाँच घन्टामा तयार गरेका थिए । जुन संविधान सन् १९१८ मा गणराज्य स्थापना नभएसम्म (पचास वर्षसम्म) जर्मनीमा चल्यो । तर, प्रचण्ड–बाबुरामहरूले आफ्नो महत्वाकाङ्क्षासँग देशको भविष्यलाई जोड्न ठ्याम्मै सकेनन्, त्यसैले संविधानसभा गठनको चार वर्षमा पनि संविधान बनेन । आज न संविधान सभा छ, न संविधान, न राष्ट्रिय सहमति छ न समृद्धितर्फको पाइला नै । फूलको बोट उखेल्न त बाँदरले पनि सक्छ प्रचण्ड–बाबुराम † फूल फुलाउनचाहिँ मानव र मानवीयताले मात्र सक्छ, सक्छौ भने मानव बनी फूल फुलाएर देखाऊ– जनताको चाहना त्यति मात्र हो । नाममा ‘राम’ जोड्दैमा कोही राम बन्दैनन् र त्यस्ताले रामराज्य बनाउन पनि सक्दैनन् । रामराज्य बनाउन खोज्नेले बाँदरलाई पनि मानिसलाई झैं सभ्य व्यवहारमा रूपान्तरण गरेर उपयोग गर्न सक्नुपर्छ, सत्ता र सीता छोड्नुपरे पनि धर्म छोड्नुहुँदैन, तर बाबुरामहरूमा सत्ता छोड्न सक्ने हिम्मत देखिएन, हिसिला छोड्नु भनेर त सायद कसैले भनेका पनि छैनन् ।
अधिनायकवादी शासनसत्ताको सपना कुनै पनि मुलुकका निम्ति कालकुट विषबराबर हो । लेनिनले सर्वहाराका नाममा स्थापना गरेको एकपक्षीय राज्यसत्ता जनताले मात्र ढालेका हुन्, साम्यवादी सत्ता मात्र होइन लेनिन स्वयम्को शालिक पनि जनता आफैंले उखेलेर लडाएका हुन् । सर्वहाराका नाममा विश्वमा करिब दुई दर्जन मुलुकमा कम्युनिस्टहरूले स्थापना गरेको सत्ता जनताले विस्थापित गरेको सजीव ऐतिहासिक दृष्टान्त हुँदाहुँदै पनि त्यसलाई आत्मसात् गर्न नखोजेर प्रचण्ड–बाबुरामले जुन बखेडा झिकिरहेका छन्, यसले उनीहरूमा देशप्रतिको ममता र जिम्मेवारीबोध नभएको सङ्केत गर्दछ । देशमा भिडन्त, तनाव र हिंसाको अन्त्य होस् भन्ने मनसायले राजनीतिक दल र माओवादीबीच अनेक चरणका सम्झौता हुँदै स्थिति यहाँसम्म आइपुगेको हो । शान्ति र स्थिरताका निम्ति पौने दशक लामो अभ्यासपछि पनि एमाओवादी नेतृत्व सर्वसत्तावादी सोचबाट मुक्त हुन नसक्दा देशको समय बर्बाद भएको महसुस गरिँदै छ । प्रश्न उठ्न थालेको छ– ‘आखिर भिड्नैपर्ने रहेछ भने देशले झन्डै एक दशक लामो समय किन खेर फाल्यो ?’

२१ कार्तिक २०६९, मंगलवार २०:१५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु

काठमाडौँ, २४ जेठ । कोरोना भाइरसका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पाका पुरुष..

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..