दशैं गयो, देश जहाँको त्यहीँ – विनोद नेपाल

नेपालको सबैभन्दा ठूलो चाड मानिने दशैं यसपालि पनि उसैगरी आयो र गयो । तर देश भने जहाँको त्यहीँ छ । यस्तो दशैं गणतन्त्रपछि पाँचवटा आए र गए, अझ २०६२/६३ को ऐतिहासिक एवं युगान्तकारी भनिएको सफल जनआन्दोलनपछिका दशैं समेत गन्ने हो भने त सातवटा नै गइसके तर मुलुक जहाँको त्यहीँ छ । राजनीतिक सहमति खोज्न थालेको पनि उत्ति नै भयो जतिवटा दशैं हामीले यस अवधिमा मनायौं । तर अहिलेसम्मको उपलब्धि भने शून्य नै छ । संक्षेपमा भन्नुपर्दा यो अवधि प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरुको संख्या बढाउन भन्दा बढ्ता केही उपलब्धिमूलक रहेन भन्दा पनि फरक पर्दैन ।
कतिपय मतभिन्नताकै बीच पनि संविधानसभाको निर्वाचन सम्पन्न हुँदासम्म दलहरु जसरी अघि बढे त्यसले मुलुकले निकास पाउने आशा जगाएको थियो । तर, जे जस्तो संविधानसभा बन्यो र संविधानसभा निर्वाचनपश्चात जे–जसरी दलहरु सत्ताका खेलमा अलमलिए त्यसलाई हेर्दा अब यिनले मुलुकलाई सही दिशा दिंदैनन्, निकास दिंदैनन् भन्ने अनुमान नगरिएको होइन । त्यसैअनुमान अनुसार नै संविधानसभाको म्याद पटक–पटक थपियो तर संविधान आएन । संविधानसभा विघटन भएपश्चात मुलुकमा एकप्रकारको संवैधानिक शून्यता छाएको छ, मनपरीतन्त्र हावी हु“दै गएको छ । जसले संकट अझ गम्भीर हुने आशंका बढ्दो छ ।
दलहरुबीच विश्वास र समझदारीविना निकास सम्भब छैन । तर दलहरुबीच विश्वासको वातावरण बन्न सकेको छैन । एकीकृत नेकपा माओवादी आफू विजेत भएको दम्भका साथ अघि बढिरहेको छ , अरु सबै आफ्ना सामु निहुरमुन्टी न हुनुपर्ने र जता भन्यो उतै हिंड्नुपर्ने उसको धारणा छ । अध्यक्ष प्रचण्ड नै अरु केही होइनन् भन्ने दम्भ पाल्छन् भने अरुको के कुरा ? तर जनताले उनको पनि नापजाँच र तौल गरिसकेका छन् किनकि उनकै अनिश्चय ,अनिर्णय एवं पिपलपातो शैली यो सबै अव्यवस्था अराजकता र अन्योलको कारक हो भन्ने सबैले बुझिसकेका छन् ।
दशैंअघि आफ्नै धुनमा हिंडेका प्रचण्डले यसपाली दशैंको भोलिपल्टै राष्टपति सामु उपस्थित भए । उनले राष्ट्रपतिलाई निकासका लागि सकारात्मक पहल गर्न आग्रह गरे रे । के राष्ट्रपतिले अलिहेसम्म नकारात्मक काम गरेका थिए र ? पक्कै गरेका थिएनन् । सकारात्मक नै थिए । उचाल्ने पछार्नेहरु थुप्रै भएपनि संयमका साथ प्रस्तुत भइरहेका राष्ट्रपतिलाई सकारात्मक पहल गर्न सुझाव दिनुपर्ने जरुरत नै थिएन । राष्ट्रपतिले दलहरुबीच सहमति हुनुप¥यो भनिरहेका हुन् , संविधानको पालक र रक्षक हुनुको नाताले संविधानको पुस्तकलाई धूपवत्ती गरेर रक्षा गर्ने कि यसको भावना अनुसार मुलुकलाई निकास दिने ? भन्ने प्रश्नसम्म गरेका हुन् उनले । के यसलाई नकारात्मक भन्न मिल्छ ? पक्कै मिल्दैन । नकारात्मक पहल त माओवादीका अध्यक्ष र प्रधानमन्त्री बाबुराम भट्टराईलगायतबाटै भयो राष्ट्रपतिलाई कांग्रेसको बिल्ला भिराएर । कांग्रेसको राष्ट्रपति भएकाले अध्यादेश जारी भएनन् , राष्ट्रपति कांग्रेसका भएकाले जनताको चाहना अनुसार काम गर्न सकिएन ,कांग्रेसका राष्ट्रपति भएकाले सरकारको नेतृत्व उसलाई दिनुहुँदैन ,दिन सकिंदैन भनेर ।
अर्कोदिन एनेकपा माओवादीबाट अध्यक्ष प्रचण्ड मार्फत् जुन तीनबुँदे विकल्प कांग्रेस र एमालेका सामु प्रस्तुत गरियो त्यो निकास होइन अलमलका लागि ल्याइएको हो भन्ने ठहर कांग्रेस र एमालेले गरे । हुन पनि या त पुनस्र्थापनाको बिकल्प रोज ,होइन निर्वाचनमा जाने हो भने यही सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा परिणत गर्नुप¥यो भन्नेजस्तो प्रस्ताव लिएर वर्तमान सरकारको विरोध गरिरहेकाहरु सामु जानु पक्कै निकास खोज्ने प्रयास थिएन केवल दुनियाँको आँखामा छारो हाल्ने प्रयत्न मात्र थियो । त्यसैले त्यस प्रस्तावले त्यसै अनुसार जवाफ पायो ।
प्रचण्ड बेलाबेला बोली फेरिरहन्छन् । उनको कुनै अडान छैन ,अरुलाई भुलाउने मेलोमात्र गर्छन् । उनी राम्रो अभिनय गर्नसक्ने कलाकार जस्ता छन् । कतिखेर आफू एकदमै गम्भीर भएजस्तो ,चिन्तित भएजस्तो गर्छन् कतिखेर यत्तिकै उत्तेजित र आक्रामक बन्छन् । भीड देख्दा आवेशमा आउँछन् ,विदेशीका सामु लत्रक्क पर्छन् । जस्तो देखिएपनि उनी षडयन्त्र बाहेक केही गर्दैनन् भन्ने यतिन्जेलको अनुभवले बताएको हो । अर्काको परीक्षण गर्ने ,प्रलोभनमा पार्ने प्रयत्न गर्ने र आफ्नो काम फत्ते गरेपछि आफ्नै बाटो सुइंकुच्चा ठोक्ने ,गरेका बाचामा प्रतिबद्ध नहुने र धोकाको अर्को नाम नै प्रचण्ड हो भन्ने पनि अहिलेसम्मका गतिविधिले प्रष्टै भइसकेको कुरा हो । यसैले उनीप्रति उनको भनाईप्रति धेरैले विश्वास गर्न छाडिसकेका छन् ।अहिले भनिरहेको कुरा भन्दा अब के भन्छन् भनेर बरु पछाडिको कुराको प्रतीक्षा गर्ने बानी धेरैलाई परिसकेको छ ।
सहमतिको थेगोले मात्र सहमती बन्न सक्दैन ,विश्वासको वातावरण पनि आवश्यक हुन्छ । यस सन्दर्भमा आफूलाई विघटित संविधानसभाको सबैभन्दा ठूलो दल भएको बताइरहने एमाओवादीले सहमतिलाई थेगो मात्र नबनाई यथार्थमै सहमति चाहेको हो भन्ने पुष्टि गर्नका लागि सर्वप्रथम वर्तमान सरकारको विकल्पमा खुला हुनुपर्छ । आफ्नै नेतृत्वमा निर्वाचन गराउने उसको उद्देश्य ,साम ,दाम ,दण्ड ,भेद चारै अश्त्र उपयोग गरी ,सबै उपाय अपनाई दुई तिहाई ल्याउने मनसाय नै हो भन्ने जगजाहेर छ । तर प्रमुख प्रतिपक्षीहरुले वर्तमान सरकारको विकल्प नखोजिएसम्म कुनै पनि संवाद र सहमति हुन नसक्ने बरु आन्दोलनमा जाने घोषणा गरि सोही अनुरुप अघि बढ्ने निर्णय लिएका सन्दर्भमा एनेकपा माओवादीले एकपटक गम्भीर भएर सोच्दा नै बेश हुन्छ ।
राजनीतिले निश्चित दिशा लिन नसक्दा आम जनतामा निराशा व्याप्त छ । बडो उत्साहका साथ मतदान गरी गठन गरेको संविधानसभा र पठाएका प्रतिनिधि रित्तै फर्केपछि उनीहरु अन्योलमा छन् । दल र नेताले निकासको जिम्मेवारी आफ्नो हो भन्ने सोच्नुपर्नेमा अआफ्ना स्वार्थमा तल्लीन हुँदा जनता आफूहरु उपेक्षित र अपमानित भएका महसुस गरिरहेका मात्र छैनन् आफ्नो भाग्यलाई धिक्कार्न बाध्य छन् । नेताहरुको स्वार्थका सामु मुलुक र जनताको स्वार्थ गौण भएको छ जवकि निहित स्वार्थका लागि मुलुकलाई बन्धक बनाउनु लोकतन्त्र हुन सक्दैन ।
लोकतन्त्रको कुरा गर्ने ,जनताको कुरा गर्ने ,आर्थिक विकासको कुरा गर्ने तर चार–चार वर्षसम्म संविधान दिन नसक्ने नेताप्रति जनताको आक्रोस बढ्दो छ । यसको अनुभूति नेताहरुले गर्नु जरुरी छ । समस्याको गाँठो फुकाउने भन्दा अझ कस्दै जाने दलहरुको चरित्रमा विरोधाभास देखिएको छ र आशंका उत्पन्न भएको छ यी निकास खोज्दैछन् कि परिस्थितिलाई झनै जटिल बनाउँदैछन् । के यही परिस्थितिलाई अझै लम्व्याइरहने ,अझै जनताका आकांक्षाको वेवास्ता गरिरहने ? एकपटक सम्पूर्ण दल र नेताले गम्भीर भएर सोच्नु नितान्त जरुरी छ ।

१४ कार्तिक २०६९, मंगलवार १४:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..