बाबुराम, अब छोडिदेऊ — देवप्रकाश त्रिपाठी

सत्ता त्यस्तो साधन हो जहाँ पुगेपछि मानिसलाई मुलुकको सर्वाङ्गीण हित गर्ने असामान्य हैसियत प्राप्त हुन्छ। त्यसैले राजनीतिमा संलग्न मात्र होइन सामान्य मानिसमा पनि सत्ताप्रति एउटै बेग्लै आकर्षण रहन्छ। शक्तिको अथाह प्रयोग दुरुपयोग गर्न पाउने हुँदा राजनीतिकर्मीहरूका निम्ति सत्ता सधैं एउटा सपनाको रूपमा रहेको हुन्छ। त्यसमा पनि लेनिनवाद र माओवादमा विश्वास गर्नेहरूका निम्ति त सत्ता त्यस्तो परम्धाम हो जहाँ पुग्नुलाई उनीहरूले मुक्ति ठान्दछन्। उनीहरूको परिभाषामा सत्ताबाहिर रहनु भनेको सबै अवसरबाट वञ्चित हुनु र शोषितपीडितको जिन्दगी जिउनु हो। त्यसैले एउटा खाँटी कम्युनिष्ट जहिले पनि सत्ताप्राप्तिका निमित्त लालायित र समर्पित रहेको हुन्छ। तर डा. बाबुराम भट्टराईलाई नेपाली जनताले एउटा माओवादीका रूपमा मात्र हेरेका थिएनन्, देश निर्माण गर्ने क्षमता भएका इमानदार र दूरदर्शी नेताको कोटिमा राखेका थिए। उनी प्रधानमन्त्री बनेपछि मुलुकको कायापलट नै हुने अपेक्षा मुलुकवासीले राखेका थिए। बाबुरामले सत्तारोहण गरेको वर्ष दिन नाघेको छ, यस अवधिमा उनको ध्यान आफ्नो सस्तो लोकप्रियतालाई बरकरार राख्नेबाहेक मुलुकोपयोगी कुनै पनि ठोस कार्यमा केन्द्रित भएको महसुस जनसाधारणले गर्न पाएका छैनन् भन्दा उनलाई अप्रिय र पूर्वाग्रहपूर्ण लाग्ला, तर सत्ताबाट बाहिरिएपछि उनले देख्ने सत्य पनि यही नै हो। सत्तामा रहँदा आफूबाट प्रशस्त काम भएको या भइरहेको ठान्ने मनोदशाको सिकार बाबुराम भट्टराई पनि भइरहेको महसुस आमनेपाली जनताले गरिरहेका छन्।
बाबुराम प्रधानमन्त्री भएपछि शान्तिप्रक्रियाले पूर्णता पाउने, संविधानसभाबाट संविधान निर्माण हुने, भ्रष्टाचार र घुसखोरी नियन्त्रणमा आउने, प्रशासन जनहितपे्रमी
बन्ने, राष्ट्रियता र राष्ट्रिय सार्वभौमिकता सुदृढ भई जनताको स्वाभिमान बहाल हुने, महँगी नियन्त्रण भई जनताको दैनिक जीवन सहज बन्ने र आर्थिक विकासले छलाङ मार्ने आशा राखिएको थियो। तर, वर्ष दिनको उनको शासनकालमा राजधानीका सडक फराकिलो पार्नेबाहेक अर्को कुनै सकारात्मक र ठोस काम हुन सकेन। काठमाडौं महानगरका कार्यकारी अधिकृत भाइकाजी तिवारीको परिकल्पना, योजना र प्रतिबद्धताका कारणले मात्र राजधानीको सडक विस्तार कार्य अघि बढेको जानकारी नपाउनेहरूले यसमा बाबुराम भट्टराईलाई जस (यस) दिइरहेका छन्। भाइकाजीको योजनामा आवास तथा भौतिक योजनामन्त्री हृदयेश त्रिपाठीको साथ नभएको भए बाबुरामले यही एउटा काम गरेको पनि देखाउन पाउने थिएनन्। वैदेशिक लगानी भित्र्याएर आर्थिक गतिविधि बढाउन उनले गरेको प्रयास अर्को एउटा सकारात्मक पाटो हो। भारतसँग बिप्पा सम्झौता गरेर विदेशी लगानी भित्र्याउन उनले लिएको अग्रसरतालाई सकारात्मक मान्नैपर्छ। तर, उनले जतिसुकै प्रयास गरेको भए पनि भारतीय र अन्य मुलुकका लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको ठ्याम्मै देखिएको छैन। देशभित्र लगानीमैत्री वातावरण र विश्वास नभएसम्म विदेशी मात्र होइन स्वदेशी लगानीकर्ताहरूमा पनि उत्साह पलाउन सक्दैन। एमाओवादीको नीति टे्रड युनियनहरूलाई शक्तिमान बनाउने प्रकारको छ र मजदुर बन्दा बढी शक्तिशाली बन्न पाइने भएपछि कुनै पनि व्यक्ति या कम्पनी मालिक बन्न इच्छुक नहुनु स्वाभाविक छ। पोखरीमा गोहीहरूको बथान पाल्नेहरूले हरिणहरूलाई पानी पिउन जसरी र जतिपटक आमन्त्रण गरे पनि त्यो पोखरीमा कुनै हरिण पानीका निम्ति जाने छैनन्। नेपालको इतिहासमा आर्थिक दृष्टिले वि.सं. २०४८ देखि २०५१ सम्मको अवधिलाई स्वर्णकाल मानिन्छ, जतिबेला मुलुकको आर्थिक विकासदर कम्तीमा ६ प्रतिशतबाट अझै उकालो लाग्ने क्रममा थियो। त्यसरी आर्थिक वृद्धि हुनुमा गिरिजाप्रसाद कोइराला या कुनै महेश आचार्यहरूको बुद्धि र विलक्षण प्रतिभा कारण बनेको थिएन। प्रजातान्त्रिक प्रणाली र देशभित्र लगानीमैत्री वातावरण बनेकोले आमन्त्रणबिना नै स्वदेश तथा विदेशका लगानीकर्ताहरू लगानीका निम्ति प्रतिस्पर्धामा उत्रिएका थिए। तर, बाबुरामले लगानी बढाउन अनेकौँ प्रयास गर्दा पनि उनले सफलता प्राप्त गर्न सकेका छैनन् र सक्ने सम्भावना पनि देखिएको छैन। बाघले ‘जङ्गल अब सबै जनावरका निम्ति सुरक्षित छ’ भन्दैमा कुनै खरायो या मृगले त्यसमा विश्वास गर्छ र गर्नुपर्छ भन्ने हुँदैन। हरिण या खरायोजस्ता प्राणीले नै ‘जङ्गल सुरक्षित भयो’ भन्ने घोषणा गरे भने त्यसको प्रभाव बेग्लै हुन्छ, गाउँ–सहरको आसपास पुगेको र दुलोभित्र छिरेका जीवजन्तु पनि त्यस्तो अवस्थामा जङ्गलमा आफ्नो गतिविधि बढाउन अग्रसर र उत्साहित हुनेछन्। माओवादले माओकै चीनको अर्थतन्त्रमा त सुधार ल्याउन सकेन भने नेपालमा त्यही वादको खास्टो ओढेर आर्थिक विकास गर्छु भन्नुलाई एउटा उटपट्याङपूर्ण ठट्टा या मजाक नभनेर के भन्ने? त्यसैले बाबुरामहरूले बुझ्नैपर्छ– माओवाद र माओवादी गतिविधि हावी भइन्जेलसम्म नेपालको आर्थिक सुधार असम्भव छ।
बाबुराम भट्टराई प्रधानमन्त्री भएकै बेला संविधान निर्माण नगरी संविधानसभाको अवसान भएको छ। देश निर्माणका निम्ति राष्ट्रिय सहमतिलाई अनिवार्य मान्ने हो भने उनी सहमतिको वातावरण बनाउन पनि पूर्ण रूपले असफल भएका छन्। बरु दिन प्रतिदिन राष्ट्रिय सहमतिमा मुख्य बाधक नै बाबुराम भट्टराई बनेको तथ्य प्रमाणित हुँदै जाने स्थिति बनेको छ। संविधान निर्माणमा सहमति भए आफू सत्ता छोड्न तयार भएको बाबुराम बताउँछन्, प्रचण्डले चाहिँ ‘संविधानसभाको पुनर्स्थापना’लाई सहमतिको एक मात्र एजेण्डा बनाएका छन्। संविधान निर्माणका निम्ति चार वर्षसम्म निरन्तर अभ्यास र प्रयास गर्दा बन्न नसकेको सहमति आगामी केही दिन, हप्ता, महिना या वर्षमा बन्ला भन्नेमा विश्वास गर्न सकिँदैन। त्यसैले सत्तामा रहिरहने बेजोड अस्त्रका रूपमा बाबुरामले ‘संविधान निर्माणमा सहमति बन्नुपर्ने’ नारालाई प्रयोग गरिरहेको आभास गराउँदै छ। संविधानसभा पुनर्स्थापनाको कार्यनीतिचाहिँ देशलाई अस्तव्यस्त तुल्याउने र अधिनायकवादी सत्ताको जग राख्ने अभिप्रायबाट प्रकट भएको तथ्य भन्ने स्पष्ट भई नै सकेको छ। यसैगरी बाबुराम जति समय सत्तामा रहन्छन् त्यति नै उनको व्यक्तित्व र उनीप्रतिको जनविश्वासमा ह्रास आउने यथार्थलाई चतुर प्रचण्डले राम्ररी बुझेका छन्। त्यसैले उनी बाबुरामलाई सत्ता नछोड्न उक्साउँदै छन्। बाबुरामप्रतिको विश्वास क्षयीकरण हुँदा आफ्नो एकलौटी राजको सपना साकार हुने सायद प्रचण्डले ठानेकाछन्। शालीनतापूर्वक सत्ताबाट बाहिरिने बाबुराम आफ्ना निम्ति सधैं चुनौती बन्न सक्ने ठानेर नै हुनसक्छ– प्रचण्ड अपमानजनक ढङ्गबाट बाबुरामको सत्ता बहिर्गमन भएको हेर्न चाहन्छन्। अर्कोतिर बाबुराम आफैँमा जतिसुकै असल र योग्य भए पनि सत्तालिप्सा र ‘हिसिलाकर्म’का कारण उनको व्यक्तित्व पहेँलिँदै गएको महसुस आमजनतालाई हुन थालेको छ। देशको होइन बढीमा आफ्नै समूह स्वार्थका लागि मात्र सत्ता छोड्न बाबुरामले आनाकानी गरेका हुन् भन्ने पनि अब स्पष्ट हुँदै गएको छ। उनको शासनकालले भ्रष्टाचारको इतिहासमा नयाँ कीर्तिमान कायम गरेको छ। आफूलाई इमानदार दाबी गर्ने बाबुरामले भ्रष्टाचार र भ्रष्टाचारीहरूलाई वैशाखी बनाएपछि उनको इमानदारी खिया लागेको खुकुरीजस्तै भएको छ। उनको शासनकाल भ्रष्टाचारीहरूका निम्ति स्वर्णकाल बनेको छ। वास्तविकता यस्तो हुँदाहुँदै पनि सत्तामा आफ्नो अपरिहार्यता महसुस गरिरहनुले बाबुराम एक ‘चिसो बेइमान’बाहेक केही नभएको सन्देश प्रवाहित हुँदै छ। संविधान निर्माणमा ठोस र निर्णायक योगदान पुर्‍याउन नसक्ने, जनताको जिउधनको रक्षा गर्न नसक्ने, प्रजातान्त्रिक विधि र प्रक्रियाहरू क्रमशः ‘डिलिट’ गर्दै अघि बढ्न खोज्ने, जनताको दैनिक जीवनलाई सहज, सरल र सुखद बनाउन नसक्ने, अराजकताबाट मुलुकलाई मुक्त गर्न नचाहने, राष्ट्रियता र सार्वभौमिकता कमजोर पार्दै जाने, भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा अझै त्यसमा मलजल गर्ने, एक वर्षमा ६ पटक इन्धनको मूल्य वृद्धि गरेर कीर्तिमान कायम गर्ने, किसानलाई मलजस्तो सामान्य र अनिवार्य आवश्यकताको पनि समयमै पूर्ति गर्न नसक्ने, अनिवार्य बन्दै गएको राष्ट्रिय सहमतिमा अड्चन बनेर तेर्सिने र आर्थिक विकासमा तिलबराबर योगदान पुर्‍याउन नसक्ने बाबुराम भट्टराईले योगदान दिनसक्ने भनेको अब एउटै कुरा छ– बिनाजनसङ्घर्ष सत्ताको परित्याग। सत्ता छोडेर योगदान दिने अवसरको लाभ पनि उठाउन सकेनन् भने बाबुराम नेपालको इतिहासका एक सर्वाधिक असफल र कलङ्कित पात्रको गणनामा पर्ने निश्चित छ। त्यसैले अब छोडिदेऊ बाबुराम, यसैमा तिम्रो र मुलुकको भलाइ छ।

१ कार्तिक २०६९, बुधबार २०:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..