हाम्रा चाडपर्व र बदलिएका आयामहरु -राम शरण प्याकुरेल

हामी नेपालीहरु सम्पन्न हाम्रा रितीरिवाज र संस्कृतीले पनि विशेष रुपमा चिनिएका छौं । बर्षायाम सकिएर सरद ऋतु प्रवेशसँगै हाम्रा चाडपर्वहरु नजिकिंदैछन् । कृषि प्रधान देश नेपालमा ऋतुको विचार गर्दै खेतीपाती लगाएर थन्काउनु भन्दा अगाडिको समयमा मनाइने हाम्रा चाडपर्वहरुले सवैलाई प्रशन्न वनाएका हुन्छन् । रोजगार र व्यवसायको सिलसिलामा देशभरी र अहिले त संसारभरी नै छरिएका नेपालीहरु यही चाडपर्वको मेसो मिलाएर आफ्नाहरुसँग सामिप्य हुँदै सुख–दुःख साट्न आफ्नै घर आंगनमा पुग्ने क्रम शुरु भएको हप्तौंवेसी भइसक्यो । कम्तिमा वर्षको एक पटक आफ्ना इष्टमित्र र नाता गोताहरुलाई भेट्ने यो एउटा महत्वपूर्ण अवसर पनि हो ।
मुस्लिम समुदायको इद उल फितर् (पबित्र रामादान) गएको महिना सकियो । हिन्दु धर्मालम्विहरुले दशै मनाउँदै गर्दा मुस्लिम धर्माबलम्विहरुको इद उल अजाह (बकरईद) फेरि शुरु हुने बेला हुन्छ । त्यस पछाडीको तिहार अनि लगतै तराइवासीको ठूलो चाड छठले हामी सबैलाई छुनेछ । कृष्णजन्माष्टमी मनाएर तिज मनाउन यो पटक मलमासका कारणले झण्डै महिना दिन कुर्नु परेको थियो । देशमा मात्र होइन परदेशमा समेत यो महिना दिन रातो पहिरनले रड०गिए, तिजका गितले गुञ्जाएर रम्दै चेलिवेटीहरुले तिज मनाए । तिज सकिनासाथको सोह्र श्राद्धमा पितृहरु सम्झिसकेपछि दशैं, बकरईद, तिहार र छठ पर्वसंगै सारा नेपाली मन एकचोटी दशैं र तिहारका कारण चाडपर्वमय हुँदैछ । देशमा विद्यमान अशान्ति, अस्थिरताका वावजुद उल्लास र विजयको प्रतिकको रुपमा मनाइने हाम्रा चाडपर्वहरुले एक चोटी फेरी हामी सवैलाई धार्मिक आस्था भन्दा माथि उठेर सांस्कृतिक महत्व, सहिष्णुता र आपसी सद्भावको सन्देशले भातृत्वमा गाँस्न खोजिरहेको छ ।
सानो छंदा दशै भने पछि नौरथा शुरु भए देखिनै गोठमा बाँधेको बोका खसी कोठेवारीमा फलेको केराको घरी अनि आँगनको डिलमा फूलेको गोदावरी, सयपत्री र मखमलीमा विशेस स्याहार सुसार हुन्थ्यो । खोरमा पालेको खसीलाई दानापानी खुवाएर लैनो भैंसीलाई भन्दा पनि चर्को स्याहार हुन्थ्यो ताकी बलियो बनाएर दशैमा एक एक दानाको मुल्य असुल्न सकियोस् । गाउं नजिकैको केउरिनी र बिराले डांडामा थापेको लिङ्गे पिङ अनि बुबा र दाजुको हात समातेर त्रिशूली बजारको रमिता हेरेर घर फर्किदा आमाले तयार पारेको चिप्लेभेंडीको अचार र चाम्रेभात खादै समवयका साथीभाइहरुसंग चलेको, दगुरेको दशैंमा कसको खसी कत्रो र कसले कस्तो कपडा किनी पायो भनेर हुने गरेका चर्चाहरुको संझना ताजै छ यो मानसपटलमा ।
रातोमाटो र कमेरो माटोले घर पोतेर दुलही जस्तै चिटिक्क पारी झ्याल ढोकामा आमा र दिदीले कालो रंग लगाउँदा अनि पर्खालभरी फूलेका घिरौंला र झिंझरीका पहेंला फूलहरु र घर नजिकको पारिजातको बोटहरुमा काग, ढुकुर, जुरेली र लाटोकोसेरोले भाका फेरीफेरी गीत गाउँदा लाग्थ्यो त्यो मेरो घर खरले छाएको झुपडी नभएर स्वर्गको राजा ईन्द्रको दरवार हो । उहिले दशै भने पछि सबै नेपालीहरुको हर्षो उल्लासको चाड हुन्थ्यो । बर्ष दिनमा एक पल्ट आउने सबै भन्दा ठूलो चाड । के गरिव के धनी के जनजाती के आर्यन सबै नेपालीहरको चाड । राष्ट्रिय चाड । अहिले त दशै पनि सबैको होईन रे । निश्चित जातजाति र भाषा भाषी र क्षेत्रको मात्र अरे । अनि विभिन्न जात जाती भाषाभाषीको आ आफ्नै चाडपर्बहरु अरे । त्यसैले अब त सबै नेपालीहरुको साझा चाड पनि छैन । मेरो सुन्दर शान्त सौम्य त्यो झुपडीमा दिन ढलेर साँझ पर्दै गए पछि सामरी डाँडाबाट चल्ने सिरसिरे हावाको झोक्का घरको डील नजिकैको बांसको पातमा ठोकिंदाको आवाज आहा कति कर्णप्रिय लाग्दथे । आफ्नो घरको दशैं सिद्धिने वित्तिकै मामाघर जान कत्रो हतार । खै ति दिनहरु फेरी देख्न पाइन्छ कि पाइंदैन, भोग्न भोग्न पाइंछ कि पाइदैन । यी यस्तै कुराहरु दशैको संझनामा मनभित्र कुराहरु खेलीरहेका छन् ।
तर पहिले पहिले जसरी मनाइंदै आएको भए पनि दशै लगायतका हाम्रा चाडबाडहरु सांस्कृतिक र अझ सामाजिक चाडहरुका रुपमा विकास हुंदै गएको छ । दशैं पूजाआजा धर्मकर्मभन्दा पनि खानपीन र भेटघाटको चाडका रुपमा पनि विकसित भइरहेको छ । कर्मकाण्डभन्दा पनि खेल्ने, रमाइलो गर्ने, भेटघाट गर्ने, आशिष दिने र आशिष थाप्ने अवसरका रुपमा दशैंको महत्व छ । परिवारबाट टाढा भएका व्यक्ति आफ्ना इष्टमित्रसंगको भेटघाटको लागि पनि दशैंलाइ नै पर्खने चलन बढ्दै गएको छ । यो चाड यस्तो विकल्पको रुपमा विकसित भइसक्यो कि दशैं नभइकन कतिपयको भेटघाट नै हुन नसक्ने भइसक्यो । यो पर्व गरीब र साधारण वर्गका लागि अझै पनि मिठो खाने र राम्रो लाउने अवसरकै रुपमा रहेको छ भने मध्यम तथा उच्च वर्गका लागि भने पारिवारिक सदस्यहरुको भेटघाटको रुपमा रुपान्तरित भइरहेको छ ।
त्यसैले दशैं लगायत हाम्रा चाडबाडहरु भातृत्व र सामाजिकीकरणको एउटा अपरिहार्य प्रक्रिया जस्तै बनिसकेको छ । बर्षौदेखि सम्पर्कमा नरहेका र नयां सम्बन्ध स्थापना गरेका नातेदार, छिमेकी र घरझगडा मिलाउने सम्बन्ध सेतुको पनि यसले काम गरिरहेको छ । बोलचाल र आवतजावत बन्द भएका कतिपय व्यक्तिहरुको दशैंको टिका साटासाट गरेर सम्बन्ध सुधार गर्ने पनि गर्दछन् । सामाजिक सद्भाव र मेलमिलाप बढाउनु दशैंको सबैभन्दा सकारात्मक पक्ष हो । सबैतिर चहलपहल बढ्ने र कामलाइ थाति राखिने गरेका कारण पनि मानिसहरु फूर्सदिला हुन्छन् र यही फूर्सदका क्षणहरु रमाइलोमा परिणत हुन्छ । त्यसैले १५ दिनसम्म मनाइने दशैंको अर्को आयाम भनेको मानिसले यसलाइ विश्रामको अवसर र रचनात्मक कामहरु गरेर उपयोग गर्ने समयका रुपमा पनि लिने गरेका छन् ।
तर विगतमा चाडबाडका लागि हुने व्यग्रता, तयारी र चाडबाडले ल्याउने सामाजिक न्यानोपन र आल्हादता हराएर गएको छ । सबैजना भेला भएको अवसरमा गरिने सामाजिक सेवाका कार्यहरु जस्तै बाटो, पुल पुलेसाहरुको निर्माण वा जिर्णोद्धार, गाउंघरको सरसफाइ आदि इत्यादि कार्यहरु हुन छाडेको धेरै भइसक्यो । अहिलेको पिंढीले नराम्ररी गुमाएको चाडबाडहरुको पक्ष भनेको यो अवसरलाइ कसरी सामाजिक सवाल र कामहरुसंग समेत जोडेर हेर्ने भन्ने हो । अत्यन्त मनोगतवादी र यान्त्रिक भएको छ अहिलेको पुस्ता, आफैंमा मग्न, आफैंमा सिमित र नितान्त उपभोक्तावादी संस्कृतिले ग्रस्त । पूराना पुस्ताहरुले भने हाम्रो पालो सिद्धियो भन्ने निरश टिप्पणी गरेर चुपो लाग्नमै उचित ठानेको छ । पूराना ती मूल्य, मान्यता र चाडपर्वलाइ हेर्ने दृष्टिकोणमा नै ठूलो परिवर्तन आएको छ र ति पूराना स्वर्णिम अनुभुतिहरुलाइ गिज्याइरहेको भानमात्र हुन्छ ।
अर्कोतर्फ चाडबाडले ल्याउने सामाजिक सद्भाव र मानविय सम्बन्धको बदला यान्त्रिक नक्कल र भद्धापनले पनि हाम्रो चाडबाड र संस्कृर्तिलाइ गांजिरहेको छ । हाम्रा चाडपर्व र संस्कृर्तिको सामाजिकीकरण र मानवीयकरण हुन सकेको छैन । ऋण काढेरै भए पनि फिजुल खर्च गर्ने र हजारौं पशुहरुको अनाहकमा ज्यान लिएरमात्र धर्म र संस्कृतिको रक्षा र प्रबर्द्धन हुन कसरी सक्ला । यस्तो संस्कार संस्कृर्तिलाइ हामी सबै मिलेर बढी मानवीय र उपकारी बनाउन सकेको भए चाडबाडहरु बढी जीवनमुखी बन्ने थियो । चाडबाडहरु जीवनमुखी बनाउन सकेको भए यो बढी सामाजिक पनि अवश्य बन्ने थियो । राज्यको असमान आर्थिक वितरण प्रणाली, सामन्तवादी चिन्तन र व्यवहारले गरीब र विपन्न वर्गका लागि दया माया र कृपाका आधारमा मानिने जस्ता भइरहेका छन् हाम्रा चाडपर्वहरु ।
महिनौसम्म भोजभतेर र मदिरापानमा जमेर होटल, रेष्टुरेण्ट र पार्टी प्यालेसवाटै चाडपर्वहरु सकिने गरेका छन् । यो निश्चय नै दुखद कुरा हो । हाम्रा चाडपर्वहरु हामीले सधै सांस्कृतिक महत्व र धार्मिक सहिष्णुताको सेरोफेरोमा मनाउन सक्यौ भने मात्र तिनीहरुले आफ्नोपन दिन सक्छन् । परिबर्तित सन्दर्भ र प्रबिधीको बिकासको यो समयमा हामीले हाम्रा चाडपर्बहरु निश्चय नै समय सुहाउंदो रुपमा मनाउनु पर्दछ । तर परिबर्तनका नाममा उत्ताउला गीत, नृत्य, महा भोज भतेर र फजुल खर्च नगरी मनाउने बारेमा सबैले विचार पुर्याउन जरुरी छ।
यस्ता चाडपर्वहरुलाइ सकारात्मक रुपमा लिएर भाइचारा र सामाजिक सम्बन्ध मजबुत पार्ने अवसरका रुपमा यसलाइ अधिकतम प्रयोग गर्न सक्नु पर्दछ । यदि चाडपर्वमा रमाउने नै हो भने पनि, यो भाइचारालाइ आफ्ना आफन्त, साथीभाइ र समुदायसंग सम्बन्ध मजवुत गर्ने अवसरका रुपमा यसलाइ लिनु उपयुक्त हुनेछ । बरु चाडबाडको फूर्सदको समय कतिपय सांस्कृतिक अपचलन र विभेदकारी नीति तथा संस्कृति लगायत वर्तमान राष्ट्रिय राजनीतिक संकट र जनताले गर्नु पर्ने खबरदारीका बारेमा विवेकपूर्ण छलफल तथा विचार विमर्श गरेर पनि मनाउन सकिन्छ । तबमात्र सम्मानजनक रुपमा अनेकताभित्र चहकिला सम्भावनाहरुले विद्यमान हाम्रा संस्कार र संस्कृतिभित्रका अपसंस्कृतिहरुलाइ नेस्तनावुद गरेर एउटा प्रगतिशील संस्कृतिको विकास गर्न सहयोग गर्न सकिन्छ ।
अन्त्यमा, वर्षभरीका थकान, तनाव र पारिवारिक विछोडका क्षणहरुलाई विर्साउँदै हामी सबै आ– आफ्नो आस्था र विश्वास अनुसारका चालचलन र परिपुरकका रुपमा रहेका हाम्रा भिन्न भिन्न संस्कृतीलाई त्यही नै सुन्दरताले छोप्दै सवैको सुस्वास्थ्य र दिर्घायुको कामना गरौं । एक अर्कामा सहभागी हुंदै हाम्रा सवै चाडपर्वहरु सामञ्जस्य र उल्लासमय तरिकाले स्वागत गर्दा हामी वीचको आत्मियता, माया र आफ्नोपन झन् वढ्दै जाओस् । सवैको जय होस् । सवैको भलो होस् । यही शुभकामना ।
rspyakurel@gmail.com
२०६९।०७।०१

 

१ कार्तिक २०६९, बुधबार २०:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..