कम्युनिष्ट र विवेक -देवप्रकाश त्रिपाठी

सृष्टिमा तीन प्रकारका प्राणी हुन्छन्– प्राण मात्र भएका, प्राण र चेतना दुवै भएका र प्राण र चेतनाको साथमा विवेकसमेत भएका । बोटबिरुवा (वनस्पति) र प्रोटोजोवा तथा अमिवालगायतमा प्राण भए पनि चेतना हुँदैन भने जनावर, पन्छी र किटपतङ्गमा प्राणका अतिरिक्त चेतना पनि हुन्छ । मानिसमा चाहिँ प्राण, चेतना र विवेक तीनै तत्वको संयोजन रहन्छ । यदि कुनै मानिसमा प्राण र चेतना छ तर विवेक हुँदैन भने तिनलाई मानिसको आकारका तर पशुको प्रकारका प्राणी भन्न सकिन्छ । मानिसलाई उत्कृष्ट प्राणी भन्नुको एक मात्र कारण तिनमा विवेक पनि हुने भएकोले हो, विवेकबिनाको मानिसलाई ‘म मानिस हुँ’ भन्ने हक हुँदैन, त्यस्तालाई आकारले मानिस भए पनि प्रकारले उत्कृष्ट प्राणी दाबी गर्ने हकअधिकारचाहिँ हुँदै हुन्न । दाबी गरे पनि तिनलाई उत्कृष्ट प्राणी भन्न मिल्दैन ।
एउटा मानिस उसको कर्म र व्यवहारका कारण अपराधी या असल बन्न सक्छ । प्राणी जगत्कै चिन्ता र चिन्तन गर्ने मानिसलाई असल भन्न सकिन्छ भने कम्तीमा मानव कल्याणमा समर्पित मान्छेलाई पनि असल नै मान्न सकिन्छ । तर, कर्म र व्यवहारले कोही आपराधिक या दुष्ट प्रवृत्तिको प्रमाणित हुन्छन् भने तिनलाई असल या विवेकवान मान्न सकिन्न । विवेक यस्तो तत्व हो जसले कहिल्यै गल्ती गर्दैन र गलत काम गर्न सधैँ सबैलाई सचेत गरिरहन्छ । विवेक सधैँ स्वतन्त्र रहन्छ र मानिसको छैटौँ कुनामा बसेर खबरदारी गरिरहन्छ । आफ्नो जीवन बिताउने क्रममा सही–गलतको पहिचान गर्न नसक्ने या नगर्ने मानिसलाई विवेकशील या विवेकधारी मान्न सकिँदैन ।
विश्व राजनीतिको ऐतिहासिक विकासक्रममा मानिसले सामुदायिक जीवन व्यवस्थापनका निम्ति अनेकौँ वाद, विचार र सिद्धान्तलाई अवलम्बन गरेका छन् । रुसो, अरिस्टोटल, प्लेटो,
फायरबाख र माक्र्सदेखि लास्कीसम्मका विचारहरू मानव विकासक्रममा प्रादुर्भाव भएका हुन् । माक्र्सको उदय भएपछि विश्व राजनीतिले कोल्टे फेरेको महसुस हामी सबैले गरेका छौँ । माक्र्सको दर्शन पूर्णतः भौतिकवादमा आधारित अर्थनीतिसँग सम्बन्धित छ र उनले गरिब तथा सर्वहाराको उत्थानमा आफ्ना सूत्रहरूलाई समर्पित गरेका छन् । माक्र्सले आर्थिक आधारमा वर्गविहीन साम्यवादी मानव समाजको सुन्दर कल्पना गरेका हुन् तर पछि लेनिनले माक्र्सको यही सुन्दर भावनामा टेकी राज्यसत्तालाई वर्गीय तुल्याउने सिद्धान्तको व्यावहारिक विकास गरे । साम्यवाद स्थापना गर्न कम्युनिष्टहरूको हातमा संसारभरिका मुलुकहरूको राज्यसत्ता हुनुपर्ने सिद्धान्तको पालना गर्दै रसियामा कम्युनिष्ट पार्टीको एकपक्षीय र एकदलीय राज्यसत्ता स्थापना गरेपछि संसारका सबै कम्युनिष्टहरूको ध्यान राज्यसत्तामा केन्द्रित हुन पुग्यो । साध्य (साम्यवाद) सुन्दर भएकोले साधन जस्तोसुकै पनि अपनाउन सकिने लेनिनको विचार–दर्शनले कम्युनिष्ट दाबी गर्ने मान्छे जातिलाई जसरी भए पनि राज्यसत्ता प्राप्त गर्न उत्प्रेरित गर्‍यो । माक्र्सवादी विचार–दर्शनमा उभिएर लेनिनले राज्यसत्तामा एकलौटी हक कायम गरेपछि चीनका माओत्सेतुङले लेनिनको विचार–दर्शनमा टेकेर सशस्त्र युद्धमार्फत राज्यसत्ता कब्जा गर्ने सिद्धान्त र राजनीति अलवम्बन गरेका हुन् । लेनिन र माओका विचारको सम्मिश्रणपश्चात् विश्वका अनेकौँ मुलुकमा साम्यवादको नाममा राज्यसत्ता कब्जा गर्ने अभियान चल्यो र त्यस्तो अभियानले एकताक संसार हल्लाएको भए पनि बीसौँ शताब्दीको आखिरीतिरबाट त्यसले विश्व समुदायबाट प्रतिवादको सामना गर्नुपरेको छ । यद्यपि नेपाललगायत कतिपय अल्पविकसित र विकासोन्मुख मुलुकहरूमा भने विश्वमा त्याज्य उक्त अभियानले महामारीको रूप लिइरहेको छ ।
एउटा मानिस ‘असल’ कम्युनिष्ट बन्न सबभन्दा पहिले ऊ आदेशहरूको पालना गर्ने सिपाही बनेको हुनुपर्छ । आदेशमाथि पुनर्विचार गर्ने हक एउटा सिपाहीलाई कहिल्यै हुँदैन र आदेशहरूमाथि पुनर्विचार या विश्लेषण गर्न थाल्यो भने त्यस्तो व्यक्ति कहिल्यै असल सिपाही बन्न सक्दैन, सिपाही बन्न नसक्ने मानिस कम्युनिष्ट बन्नसक्ने कुरै हुँदैन । पार्टी नेतृत्वमा रहेका खास–खास मानिसले धारणा, योजना र कार्यक्रम बनाई तल्लो तहसम्म निर्देशन जारी गर्ने र त्यसमाथि विचारै गर्न नदिई कार्यान्वयन गराउने काम कम्युनिष्ट पार्टीमा गरिन्छ । फरक विचारलाई निषेध गरिन्छ र एकछत्र वैचारिक साम्राज्य फैलाउन कम्युनिष्ट नेतृत्व सदा यत्नशील रहिरहन्छ । पार्टी नेतृत्वले दिनलाई रात मँन्ने निर्देशन जारी गर्‍यो भने पनि एउटा ‘असल’ कम्युनिष्टले त्यसको सर्वोपरि पालना गर्नुपर्दछ । नेतृत्वले शत्रु तोकेको व्यक्ति या समुदायलाई उसले शत्रुकै रूपमा स्वीकार गर्नुपर्छ र पार्टीद्वारा शत्रु तोकिएकालाई जसरी पनि नास गर्नु उसको परम् कर्तव्य हुन जान्छ । सृष्टि, जीवन, समाज, धर्म, सत्य र ब्रह्माण्ड विषयका रहस्य बुझ्न एउटा कम्युनिष्टले पार्टी नेतृत्वद्वारा उपलब्ध गराइएको चस्मा नै प्रयोग गर्नुपर्छ, यदि कुनै कम्युनिष्टले सृष्टिका रहस्य बुझ्न आफ्नै स्वतन्त्र ज्ञान चक्षुको प्रयोग गर्‍यो भने उसको ‘कम्युनिष्ट दाबी’माथि प्रश्न उठ्छ र सदस्यता खारेज गरिन्छ । धर्म भनेको जीवन पद्धति हो, त्यसलाई जीवन अनुशासन पनि भन्न सकिन्छ । धर्म र परम्परा पनि कुनै बेला मानवले नै स्थापना गरेका र प्रचलनमा ल्याएका हुन् । अहिले पुरानो बन्नुअघि यी पनि नयाँ थिए र समाजले सहज स्वीकार गरेका थिए । सबै धर्म एउटै काँटी र कोटिका नभए पनि कतिपय धर्म विज्ञान र तर्कसम्मत् जगमा उभिएका छन् । तर, कम्युनिष्ट बन्न सबै धर्म र परम्परालाई अस्वीकार गर्नुपर्दछ, आफ्नो असहमति या विमति भए पनि पार्टी–धर्मलाई नै आफ्नो जीवन पद्धति बनाउनुपर्छ । आफ्नै जीवन बिताउन या आफ्नो जीवनपद्धति रोज्न पनि एउटा कम्युनिष्ट कहिल्यै स्वतन्त्र हुन सक्दैन । माक्र्सवादलाई अन्तिम सत्य मान्ने कम्युनिष्टले सत्यको खोजी पनि माक्र्सवादमै टेकेर मात्र गर्नुपर्छ, बिनावाद या अरू कुनै वादमा आधारित भएर अध्ययन–चिन्तन गर्ने छुट एउटा कम्युनिष्टलाई हुँदैन । त्यसरी अध्ययन–चिन्तन गर्न थाल्यो भने त्यसो गर्ने व्यक्ति कम्युनिष्ट हुन सक्दैन । हिंसा जङ्गली युगको चिनो हो, सभ्य मानव समाजले हिंसालाई वर्जित गरिसकेको छ, तर कम्युनिष्ट बन्न उसमा हिंसाप्रतिको लगाव हुनैपर्छ, यदि कुनै कम्युनिष्ट हिंसालाई निरपेक्ष रूपमै अस्वीकार गर्छ भने उसलाई संशोधनवादी, दक्षिणपन्थी, पलायनवादीजस्ता विशेषण लगाएर सम्बोधन गरिन्छ । जब कि एउटा विवेकशील मानिसले कुनै पनि अवस्थामा हिंसालाई स्वीकार गर्न सक्दैन । विवेकवान मानिसको एउटा विशेषता सधैँ सत्य बोल्नु र त्यसैमा अड्नु पनि हो, तर एउटा कम्युनिष्ट सबै अवस्थामा सत्य बोल्न स्वतन्त्र हुँदैन, पार्टी स्वार्थलाई सर्वोपरी मानेर बोल्दा सत्य बारम्बार छुटाउनुपर्छ र बोली फेरिरहनुपर्छ । प्रजातन्त्रवादमा विश्वास गर्नेहरू कुनै पनि विषयमा आफ्नो धारणा बनाउन स्वतन्त्र हुन्छन् । नेपालको सन्दर्भमा नेपाली काङ्गे्रसमा आबद्ध कुनै पनि प्रजातन्त्रवादी माक्र्सवादी अर्थतन्त्रका पक्षमा अभिमत जाहेर गर्न स्वतन्त्र छन् र तीमध्ये कोही उदार अर्थनीतिका पक्षपाती छन् भने तिनलाई पनि आफ्नो मत राख्ते स्वतन्त्रता रहन्छ । नास्तिक र आस्तिक दुवै प्रवृत्ति प्रजातान्त्रिक पार्टीमा स्वागतयोग्य मानिन्छन् । आफूसम्बद्ध पार्टी नेतृत्वको खुला आलोचना गर्ने छुट पनि प्रजातान्त्रिक पार्टीका कार्यकर्ताहरूलाई रहन्छ । तर, कम्युनिष्ट पार्टीमा त्यस्तो कुनै पनि छुट हुँदैन, स्वतन्त्र विचार निषेधित हुन्छन् र पार्टीको विचार नै सर्वोपरी हुने गर्दछ । यसर्थ कम्युनिष्ट हुनु भनेको विवेकको प्रयोग गुमाउनु हो, आफ्नो विवेकको प्रयोग गर्न चाहने या स्वतन्त्र चिन्तन गर्ने व्यक्ति कम्युनिष्ट पार्टीमा ग्राह्य हुँदै हुन्न । कम्युनिष्ट पार्टीका हरेक सदस्य घरबाट बाहिर निस्कँदा आफ्नो विवेक घरकै कुनै दराजमा थन्क्याएर आउनुपर्छ र पार्टी नेतृत्वले उपलब्ध गराएको चस्मा लगाएर संसारलाई हेर्न बाध्य हुनुपर्छ । यदि कसैले यस्तो नियम उल्लङ्घन गर्छ भने ऊ पार्टी कारबाहीको भागीदार बन्नुपर्दछ । यसरी कम्युनिष्टहरू प्रकृतिप्रदत्त विवेकतत्व प्रयोगमा ल्याउन सदा वञ्चित हुने गर्दछन्, जब मानव पङ्क्तिमा पर्नुको एउटा महत्वपूर्ण र अनिवार्यको गुणतत्व विवेकको प्रयोग नै गर्न नपाउनेहरूबाट मानव समाज र मुलुकको सर्वोपरी उत्थानमा कसरी योगदान पुग्ला ? प्रश्न उठ्नु स्वाभाविक छ ।
एउटा राजनीतिकर्मी बन्नु भनेको समाज र देशसेवाको भावनाले ओतप्रोत हुनु पनि हो । विवेक प्रयोग गर्न नसक्ने या नपाउने व्यक्तिले देश र समाजसेवाजस्तो उत्कृष्ट कार्यमा योगदान पुर्‍याउँछु भन्नु खसीले प्रधानमन्त्री बन्ने आकाङ्क्षा राख्नुजत्तिकै हो । घाँस देखेपछि लम्कने, पिठो देखेपछि चम्कने, आफूजस्तै अर्को कुनै खसी देखेपछि जुध्न तम्सने खसीलाई प्रधानमन्त्री या राष्ट्रपतिको कुर्सीमै राखिदिए पनि उसको आफ्नो स्वभावअनुरूपको कर्म गर्न छोड्दैन । विवेक प्रयोग गर्दा कम्युनिष्ट नहोइने, विवेक प्रयोग नगर्दा मानवअनुकूल व्यवहार गर्न नसकिने सत्यलाई बुझ्ने हो भने एउटा खाँटी कम्युनिष्टबाट मुलुक र समाजको कल्याण हुने आशा राख्नु व्यर्थ हुन्छ । नेपाली समाजमा कम्युनिष्ट प्रभाव बढ्नेबित्तिकै राष्ट्रियता, धर्म, अनुशासन, सुशासन र शान्तिजस्ता अनिवार्य तत्वहरू सङ्कटमा पर्नुको कारण पनि विवेककै अभाव हो । बुद्धिको मात्र प्रयोग त जनावर र एउटा अपराधीले पनि गर्न सक्छन्, तर सच्चा मानव प्रमाणित हुन उसमा विवेककै प्राध्यान्य हुनुपर्छ । कम्युनिष्ट पनि बुद्धिको भरमार प्रयोग गर्दछन् तर विवेकबिनाको बुद्धि प्रयोगले कम्युनिष्टलाई सामान्य मानवभन्दा अर्र्कैै प्रकारको कठोर र यन्त्रवत् प्राणीका रूपमा स्थापित गरेको छ, त्यसैले राजनीतिकर्मी या शासक बन्नुअघि कम्युनिष्टहरूले आफूलाई सामान्य मानव प्रमाणित गर्नु अनिवार्य छ ।

२४ आश्विन २०६९, बुधबार २०:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..