समय कटाउने एमाओवादी रणनीति -शम्भु श्रेष्ठ

राष्ट्रपति डा. रामवरण यादवले दिएको असोज मसान्तको समयसीमा सकिन अब एक हप्ता मात्र बाँकी हुँदा पनि दलहरु निर्णायक वार्ताका लागि अग्रसर नदेखिनुले राष्ट्रिय संकट झन् विकराल हुने छाँट देखिन थालेको छ। चार महिनाका लागि ल्याइएको एक तृतियांश बजेटको म्याद कार्तिकभित्रै सकिने तथा त्यसपछि कर्मचारी, शिक्षक, सेना, प्रहरीको तलब खुवाउन समेत समस्या हुनेु हुँदा त्यसैलाई निहुँ बनाएर विपक्षीलाई दबाब दिने रणनीतिमा सत्तारुढ एमाओवादी लागेको स्पष्ट संकेतहरु देखिन थालेका छन्। संकट समाधान तथा राजनीतिक निकासका लागि निर्वाचन मात्र विकल्प भएको दलहरुबीच भदौ पहिलो सातामा भएको सहमति तोडेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभा पुनर्स्थापनाको राग पुनः अलाप्न थाल्नु त्यसैको संकेत हो।
नेपाली कांग्रेसका सभापति सुशील कोइरालासँग भेटेर प्रचण्डले संविधानसभा पुनर्स्थापनामा सहमत भए नेपाली कांग्रेसलाई प्रधानमन्त्री पद दिन आफू तयार रहेको बताएका थिए। प्रचण्डले कोइरालासँग त्यसो भन्नु नेपाली कांग्रेसमा बिभाजनको बिउ रोप्ने चाहना एउटा कारण रहेको देखिन्छ भने दलहरुबीच कुनै हालतमा सहमति बन्न नदिने तथा राजनीतिलाई कचल्ट्याउने उद्देश्य अर्काे कारण रहेको देखिन्छ। प्रचण्डले कोइरालासँग त्यसो भनेपछि अहिले दलहरुबीच वार्ता र छलफल नहुनुले राजनीतिलाई कचल्ट्याउने प्रचण्डको उद्देश्य सफल हुँदै गएको पनि विश्लेषण गरिएको छ।
असोज मसान्तभित्र सहमति नगरेर एमाओवादी नेतृत्वले राष्ट्रपतिलाई पनि बिबादमा पार्ने षड्यन्त्र गरिरहेको बुझ्न गाह्रो छैन। भदौ मसान्त र असोजको पहिलो हप्ताको दुई भाका त्यसै खेर फालेका दलहरुलाई राष्ट्रपतिले असोज १५ गते बोलाएर छिट्टै सहमति गर्न निर्देशन दिएका थिए र असोज मसान्तभित्र सहमति निर्माण गर्न दलहरुको भेलामै आह्वान गरेका थिए। असोजभित्र सहमति नगरे राष्ट्रपतिले ‘केही’ गर्ने बुझेको प्रचण्डसहितको एमाओवादी नेतृत्वले त्यसैलाई निहुँ बनाएर बिबाद चर्काउन सकिने तथा राष्ट्रपतिलाई बिबादमा तान्न सकिने विश्लेषण गरिरहेको स्रोतहरुको भनाइ छ।
संविधानसभा पुनर्स्थापनाको मुद्दालाई पुनः उठाउँदा दलहरुबीच सहमति हुने सम्भावना कमजोर हुने तथा त्यही कारण सत्तामा बसिरहन पाउने एमाओवादी नेतृत्वको विश्लेषण रहेकाले पनि उसले यो मुद्दालाई अहिले उठाएको देखिन्छ। पुनर्स्थापनाले समस्या समाधान नहुने एमालेको दृढ मान्यता छ भने नेपाली कांग्रेस सभापति कोइराला पनि अहिलेसम्म पुनर्स्थापनाको विपक्षमै रहेका देखिन्छन्। कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल भने आफू प्रधानमन्त्री बन्न पाउने लोभले पुनर्स्थापनाको पक्षमा बोलिरहेका छन्।
असोजको तेस्रो सातासम्म समय कटाउँदै आएका प्रचण्ड अन्तिम साता फेरि दौडधुपको नाटकमा लाग्ने सम्भावना भने छ। यसअघि पनि उनले यसै गर्दै आएका थिए। त्यसो गर्दा सहमतिका लागि आफू प्रयत्नरत रहेको भ्रम छर्न सकिने तथा राष्ट्रपतिलाई पनि अन्तिम समयसम्म आफूले प्रयास गरेको भन्न पाइने उनको बिश्लेषण रहेको बुझ्न गाह्रो पर्दैन। तर, प्रचण्डको सहमतिको गीतको तालमा नाच्दै आएका नेपाली कांग्रेस र एमालेका नेताहरु यो पटक भने भ्रममुक्त हुने सम्भावना पनि छ। किनभने, कांग्रेस सभापति कोइरालाले प्रचण्डले प्रधानमन्त्रीका लागि आफूलाई दिएको आश्वासनको सार्वजनिकरुपमै पोल खोलिदिएका छन् भने एमाले नेताहरुले पनि प्रचण्डको कुरालाई अब नपत्याउने स्पष्ट सन्देश सार्वजनिक गरिसकेका छन्।
असोज मसान्तसम्म दलहरुबीच सहमति नबने राष्ट्रपतिबाट कस्तो कदम चालिने हो भन्ने चाहिँ अहिले सबैतिरबाट प्रतिक्षा गरिएको बिषय हो भन्नेमा कुनै बिबाद छैन। संविधानविदहरु राष्ट्रपतिले संविधानको धारा ३८ (१) बमोजिम सहमतिको सरकार गठनका लागि आह्वान हुने बताइरहेका छन्। यद्यपि, मुलुकको पहिलो राष्ट्रपतिको छवि बिबादरहित बनाउन राष्ट्रपतिले अहिलेसम्म धैर्य गरिरहेका तथा त्यही कारण एमाओवादी नेतृत्वको भट्टराई सरकारले जीवनदान पाइरहेको बुझ्न कठिन छैन। तर, संविधानसभा विघटनको दुई दिनपछि १६ गते नै वर्तमान सरकारलाई कामचलाउ भनिसकेका कारण केही नगर्न पनि राष्ट्रपतिलाई सजिलो भने छैन।

२४ आश्विन २०६९, बुधबार ०३:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। अख्तियारका..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..

मेलम्ची पहिरोः ७ जनाको शव भेटियो (अपडेट)

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्चीमा आइतबार रातिको पहिरोमा परी ज्यान गुमाएका ७ जनाको शव फेला परेको छ ।..

मेलम्चीमा पहिरोः ८ जना बेपत्ता

सिन्धु, १९ साउन । सिन्धुपाल्चोकको मेलम्ची बजारमा गएराति खसेको पहिरोले पुरिएर ८ जना बेपत्ता भएका छन् । बजारको..