फोरम (गणतान्त्रिक) को भेला सुरु
  |   Nepal24 hours

विराटनगर, २३ साउन । मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का कार्यवाहक अध्यक्ष एवम् सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले मधेस मुक्तिको लागि मात्र होइन, नेपाली जनताको मुक्ति, सुखमय जीवनस्तर र समृद्धिमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।
मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का मोरङद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण शिविरको उद्घाटन गर्दै मन्त्री यादवले सो निर्देशन दिनुभएको हो । राष्ट्रसामु जटिल राजनीतिक एवम् सवैधानिक अड्चन रहेको उल्लेख गर्दै सञ्चारमन्त्री यादवले मुलुकले लामो राजनीतिक लडाइँ लडेर पनि परिवर्तनलाई संस्थागत गर्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।
वर्तमान सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री यादवले मधेस आन्दोलनपछि सामजिकरुपमा मिलेर बस्न सिकाएको प्रसङ्ग उल्लेख गर्दै तर शासकहरुले आपसमा फुटाएर दुई किसिमको समाजको निर्माण गर्न खोजेको आरोप लगाउनुभयो । मन्त्री यादवले पार्टीलाई विचार र चरित्रले समर्पित एवम् उत्कृष्ट पार्टी बनाउन कार्यकर्ताहरुलाई इमान्दार एवम् समर्पित भएर लाग्न समेत आग्रह गर्नुभयो । फोरम (गणतान्त्रिक)का मोरङ अध्यक्ष राजेन्द्रप्रसाद गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा सो पार्टीका वरिष्ठ नेता राजलाल यादव तथा केन्द्रीय सदस्यहरु राजकिशोर यादव, शशिकपुर मियाँ, बलराम यादव, विजय महासेठ, सूर्य नारायण यादव र एस एन मेहताले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।     झापा, मोरङ र सुनसरीका कार्यकर्ताहरुको सहभागिता रहेको सो प्रशिक्षण दुई दिनसम्म चल्नेछ ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*