काठमाडौं, २३ साउन । सरकारविरोधी आन्दोलनमा रहेको एमालेको भ्रातृ संगठन युवा संघले दोस्रो चरणको आन्दोलन कार्यक्रम सार्वजनिक गरेको छ। नयाँ कार्यक्रममा एक दिने नेपाल बन्दसहित सिंहदरबार घेराउ र मन्त्री निवास घेराउका कार्यक्रम राखिएका छन्। यसअन्तर्गत मन्त्रीका गाडीलाई सडकमा गुड्न नदिने कार्यक्रमसमेत समावेस गरिएको संघले जनाएको छ । त्यसैगरी देशव्यापी मतदान गराउने कार्यक्रम पनि उसले सार्वजनिक गरेको छ। संघका अध्यक्ष महेश बस्नेतका अनुसार साउन २६ गते शुक्रबार सिंहदरबार घेराउ, साउन २७ गते मुकुण्डो प्रदर्शन, २८ गते मन्त्री निवास घेराउ, २९ गते देशव्यापी मतदान, ३० गते मत सार्वजनिक र जुलुस प्रदर्शन र ३१ गते मसाल जुलुस प्रदर्शन गरिनेछ। बस्नेतले आन्दोलनभरी मन्त्रीका गाडीलाई सडकमा गुड्न नदिने भन्दै जबर्जस्ती गुडाएमा मन्त्रीको टाउको फुटाउन सक्ने चेतावनी पनि दिए।