चलचित्र क्षेत्रको विकासमा पार्टी प्रतिवद्ध छ : एमाओवादी अध्यक्ष प्रचण्ड
  |   Nepal24 hours

काठमाडौँ, १४ साउन । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको चलचित्र क्षेत्रको विकासका लागि आफ्नो पार्टी प्रतिवद्ध रहेको बताउनुभएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा चलचित्र विकास बोर्डका पदाधिकारी र चलचित्रकर्मीहरुसँगको भेटमा उहाँले चलचित्र क्षेत्रको विकासका लागि सरकारलाई विशेष आग्रह गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘नेपाली कला सँस्कृतिकोे प्रमुख परिचायकको रुपमा रहेको चलचित्र क्षेत्रको विकासका लागि एमाओवादीको तर्फबाट के गर्न सकिन्छ, त्यो हामी  गर्छौ, त्यसको लागि वैज्ञानिक र वस्तुनिष्ठ योजना ल्याउने दायित्व चलचित्रकर्मीहरुकै हो ।’
दोलखामा बन्न लागेको चलचित्र नगरीको लागि अर्थमन्त्रालयबाट रु १ करोड उपलब्ध गराइदिन अर्थमन्त्री वर्षमान पुनलाई आफूले निर्देशन दिइसकेको जानकारी दिँदै अध्यक्ष दाहालले दोलखामा निर्माण हुन लागेको चलचित्र नगरीले नेपालको थप परिचय दिने विश्वास व्यक्त गर्नुभयो । आफ्नै नेतृत्वको सरकारले चलचित्रकर्मीहरुलाई सम्मान दिने उद्देश्यले रु १ करोड उपलब्ध गराएको पनि उहाँले स्मरण गराउनुभयो । सो अवसरमा चलचित्रकर्मीहरुले चलचित्र क्षेत्रलाई सम्मानित र मर्यादित पेसाका रुपमा स्थापित गर्न सम्पूर्ण राजनीतिक दलको उत्तिकै भूमिका हुने र त्यसमा पनि   सरकारको नेतृत्व गरेको पार्टीको हैसियतले एमाओवादीको बढी भूमिका हुने बताएका थिए ।
चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारीले बोर्डलाई स्वायत्त संस्थाको रुपमा विकास गर्न विद्यमान  ऐन संशोधनका लागि एमाओवादीको सहयोग आवश्यक रहेको बताउनुभएको थियो ।
चलचित्रकर्मीलाई राज्यको गहना मान्ने तर त्यस मान्यता अनुरुप व्यवहार नगर्ने प्रवृत्तिप्रति अध्यक्ष दाहालको ध्यानाकर्षण गरिएको बोर्ड अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*