नेपाल–चीन सचिवस्तरीय बैठकमा सहभागी हुन गृहसचिव नेतृत्वको टोली चिन प्रस्थान
  |   Nepal24 hours

काठमाडौँ, ६ साउन । नेपाल–चीन गृहसचिवस्तरीय दोस्रो बैठक आउँदो सोमबार चीनको राजधानी बेइजिङमा हुँदैछ ।    बैठकमा भाग लिन गृहसचिव सुशीलजङ्ग राणाले नेतृत्व गरेको  सात सदस्यीय प्रतिनिधिमण्डल आज चीनतर्फ प्रस्थान ग¥यो ।
बैठकमा दुवै मुलुकका सुरक्षा अधिकारीबीच सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, आपसी सुरक्षा व्यवस्था, अवाञ्छित गतिविधि हुन नदिन सूचनाको आदानप्रदानबारे छलफल हुने जानकारी प्रतिनिधिमण्डलका सदस्य एवम् गृहमन्त्रालयका सहायक प्रवक्ता एकमणि नेपालले  दिनुभयो ।
नेपाल–चीन सिमानामा रक्तचन्दनलगायत सामग्रीको तस्करी बढिरहेका बेला हुन लागेको सुरक्षा निकायका उच्च अधिकारीहरूको यो बैठकले अन्तरसीमा अपराध नियन्त्रणका निम्ति प्रभावकारी रणनीति अवलम्बन गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
सुरक्षा अङ्गको व्यावसायिकीकरण तथा दक्षता अभिवृद्धिका निम्ति आर्थिक एवम् भौतिक सहायताबारे अनौपचारिक छलफल भए पनि त्यससम्बन्धी सम्पूर्ण कार्य अर्थमन्त्रालयमार्फत हुने प्रवक्ता नेपालले स्पष्ट गर्नुभयो ।
बैठकमा दुई वर्षअघि सम्पन्न पहिलो बैठकको प्रगति समीक्षासमेत गरिने जानकारी दिँदै उहाँले हरेक दुई वर्षमा सचिवस्तरीय बैठक गर्ने द्विपक्षीय सहमति भएको बताउनुभयो ।
एक हजार ४१४ किलोमिटर लामो नेपाल–चीन सीमा क्षेत्रमा त्यससम्बन्धी कुनै विवाद छैन । यद्यपि सीमा इलाकामा आपराधिक क्रियाकलाप हुन नदिन चार वर्षअघि गृह सचिवस्तरीय द्विपक्षीय संयन्त्र निर्माण गरिएको हो ।
नेपाल सहायता समूहको सदस्य रहेको चीनले नेपालको  सामाजिक –आर्थिक विकासका साथै सुरक्षा निकायको सुदृढीकरणमा पनि सहयोग गर्दैआएको छ ।
प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयकी चीन विभाग प्रमुख सहसचिव अम्बिका लुईंटेल, गृहमन्त्रालयका उपसचिव शम्भु घिमिरे, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षद्वय अर्जुनजङ्ग शाही र दुर्जकुमार राई तथा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक नवराज थापा हुनुहुन्छ ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*