सीमा क्षेत्र विद्रोहीहरूको कब्जामा
  |   Nepal24 hours

दमास्कस (सिरिया), ५ साउन । सिरियामा गत १६ महिनादेखि चलिरहेको हत्या, हिंसा, र दमनको शृङ्खला अझै पनि चलिरहेको छ । यस विरुद्ध संयुक्तराष्ट्रसङ्घले सामरिक कारबाही चलाउने प्रयास गरेको थियो ।

तर विश्वका दुई महाशक्ति राष्ट्र चीन र रुसले राष्ट्रसङ्घीय कारबाही अवरुद्ध पारेका छन् । यसको विरोधमा सिरियाली सरकार विरोधी प्रदर्शनकारीले इराकसँगको सीमा क्षेत्र आफ्नो कब्जामा लिएका छन् ।

गत बुधबार मात्र विद्रोहीहरूको बम प्रहारबाट राष्ट्रपति बसार– अल असादका तीन प्रमुख सहयोगी मारिएपछि सरकारी सेनाले आाफ्नो शक्ति राजधानी दमास्कस क्षेत्रमा केन्द्रित गरेको थियो ।
यसै मौका छोपी विद्रोहीहरूले सिरियाको पूर्वी सिमाना आफ्नो कब्जामा लिएका हुन् । यता राष्ट्रपति असादले नवनियुक्त रक्षामन्त्रीलाई स्वागत गरेको स्थानीय टेलिभिजनले देखाएको छ ।

समाचार स्रोतका अनुसार उनले आफ्नो अनुहारमा पराजय लुकाएर सुरो बन्न खोजेको देखाइएको छ ।
यता राष्ट्रसङ्घीय सुरक्षा परिषद् मुख्यालय न्युयोर्कमा सिरिया विरुद्ध राष्ट्रसङ्घीय कारबाही गर्ने सम्बन्धमा पेश भएको प्रस्ताव उपर रुस र चीनले नौ महिनामा तीन पटकसम्म भिटो प्रयोग गरिसकेको जनाइएको छ ।

यस गतिविधिलाई ‘अत्यन्त निन्दनीय निर्णय (प्रजातन्त्र  प्रेमी सिरियाली जनताको घृणाको पात्र बन्ने’  भनी अमेरिकी राष्ट्रपति  बाराक ओबामाका प्रवक्ता जे कार्नेले टिप्पणी गर्नु भएको छ ।

सिरियाको भविष्य राष्ट्रपति असादको भविष्यसँग गाँसिदैन उसका दिन गन्ती सुरु भइसकेको छ भनी जे कार्नेले थप चेतावनी  दिनु भएको छ ।  सिरियाली सरकारी स्रोतअनुसार बम आक्रमणमा परी मरेका अधिकारीहरूको आज अन्त्येष्टी हुँदैछ ।

सिरियामा विगत १६ महिनादेखि जारी रहेको आन्दोलनका क्रममा सरकारी सेनाले व्यापक मात्रामा कारबाही जारी राखेको छ । जसका कारण त्यहाँ अहिले पनि दिनहूँ नागरिकको हताहति हुने गरेको छ ।

सिरियामा सन् २०११ को मार्चदेखि सुरु भएको सरकार विरोधी आन्दोलनका क्रममा अहिलेसम्ममा करिब १७ हजार नागरिकको ज्यान गइसकेको जनाइएको छ । त्यसैगरी सो आन्दोलनका क्रममा हजारौंको अङ्गभङ्ग भएको समाचारमा जनाइएको छ ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*