काठमाडौं, ५ साउन । राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष शरतसिंह भण्डारीले सञ्चारमाध्यमहरु समाबेशी हुनु पर्ने बताएका छन् । उनले सञ्चारमाध्यमले मधेशको पहिचान र स्थान सुरक्षित गर्न नसके राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्तालाई मजबूत बनाउन नसक्ने पनि बताए ।
साम्प्रादायिक सञ्चार, विखण्डनको पूर्वाधार र समावेशी सञ्चार एकताको आधार भन्ने नाराका साथ पाँचबुँदे माग लिएर राजधानीको मधेश मिडिया हाउसमा रिले अनसनमा बसेका मधेशी सञ्चारकर्मीसँगमा अध्यक्ष भण्डारीले सञ्चारुमाध्यमहरुमा संरचनागत समावेशी मात्र नभएर विषय वस्तुको दृष्टिले पनि समावेशी हुनु पर्नेमा जोडदिए । उनले भने, ‘बहुसांस्कृतिक, बहुभाषिक र समग्रमा एउटा राष्ट्रको चरित्र बोकेको मधेशलाई तराईको रुपमा मात्र चित्रित गर्नु पूर्वाग्रही मानसिकता भएको भन्दै अध्यक्ष भण्डारीले सञ्चारमाध्यमहरुले भाषा र भेषभूषालाई मात्र नभई मधेशको अधिकार, आत्मनिर्णय र स्वशासनको पक्षमा पनि वकालत गर्नुपर्नेमा जोड दिए ।
संघीयताले विखण्डन ल्याउने झूठा र कपोलकल्पित समाचारले गलत सन्देश जाने तर्फ सचेत गराउँदै भण्डारीले चुरे संरक्षण, वन विनास र मधेशको मरुभूमिकरण आदिजस्ता सवालले सञ्चारमाध्यममा स्थान पाउन नसकेको औंल्याए ।