
काठमाडौ, ३१ असार । बजेटसम्बन्धी राजनीतिक वृत्तमा चलिरहेको अनेक चर्चा र कुतुहलबीच अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०६९ र ०७० को चार महिनाका लागि एक खर्व ६१ अर्व ६२ करोड रुपैयांको तृतीयांश बजेट सार्वजनिक गरेका छन् । सिंहदरवारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा आयोजित कार्यक्रममा मन्त्री पुनले सरकार पूर्ण बजेट ल्याउने सोचका साथ अघि बढेको भएपनि राजनीतिक सहमति र संवादको लागि प्रस्थानविन्दुको रुपमा सरकारले एक तृतीयांश मात्र बजेट ल्याएको बताए ।
विपक्षी दलहरुले सरकारलाई पूर्ण बजेट नल्याउन निरन्तर दबाव दिंदै आएपछि सरकारले अन्तरिम संविधानको धारा ९६ (क) अनुसार एक तृतीयांश मात्र बजेट ल्याएको स्वीकार गर्दै अर्थमन्त्री पुनले पूर्ण बजेटको तयारीमा जुटेपनि बजेटलाई राजनीतिक परीक्षाको विषय बनाइएपछि सरकारले आफ्नो कमजोरीका रुपमा नभई राजनीतिक सहमति र संवादको प्रस्थानविन्दुका रुपमा एक तृतीयांश बजेट ल्याएको स्पष्ट गरे । यसअघि आज विहान बसेको मन्त्रिपरिषदको बैठकले आगामी आथिर्क वर्ष २०६९ र ७० मा खर्च गर्न एक तिहाई बजेट ल्याउनका लागि राष्ट्रपतिसमक्ष अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।