सरकारले घोषणा गरेको चुनाव असम्भवः कोइराला
  |   Nepal24 hours

काठमाडौ, ३१ असार । नेपाली काग्रेसका सभापति सुशील कोइरालाले सहमतिलाई बेवास्ता गरेर गरिएको चुनाव घोषणाले संवैधानिक र राजनीतिक सङ्कट निम्ताएको र कानुनी अड्चनका कारण पनि चुनाव असम्भव रहेको बताउनुभएको छ ।  ।

नेपाली काँग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानको सहयोगमा नेपाल महिला सङ्घद्वारा आजदेखि राजधानीमा सुरु गरिएको चारदिने महिला नेतृत्व विकास प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उहाँले माओवादीले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा विश्वास गुमाउँदै गएको र आफैँले धोका खाएको बताउँदै काँग्रेसले सङ्कटलाई निकास दिन सहमति र छलफलको क्रम अघि बढाएको बताउनभुयो ।

“संविधानको संरक्षकको हिसाबले एकलौटी चुनाव घोषणाविरुद्ध राष्ट्रपतिलाई ज्ञापनपत्र दिएका छौँ, जनमत सिर्जना गर्न सडक सङ्घर्ष चलाएका छौँ र सहमतिका लागि वार्ता पनि थालेका छाँै,” सभापति कोइरालाले भन्नुभयो ।

वरिष्ठ नेता शेरबहादुर देउवाले सहमति नभई संविधानसभाको चुनाव र संविधान पनि बन्न नसक्ने बताउनुभयो ।

उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री डा. बावुराम भट्टराईको नेतृत्व असफल भइसकेकोले अब राज्यले नयाँ नेतृत्व पाउनुपर्छ भन्दै सबै दल मिलेर परिवर्तन ल्याउनुपर्छ भन्नुभयो ।

महामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्रीले राजीनामा दिएपछि सबैको सहमतिमा नेतृत्व लिन काँग्रेसले खुट्टा नकमाउने बताउनुभयो । अर्का महामन्त्री कृष्ण सिटौलाले संवैधानिक र राजनीतिक सङ्कट ल्याउने सरकार हटाएर नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाएर मुलुकलाई निकास दिनुपर्छ भन्नुभयो ।

केन्द्रीय सदस्य सुजाता कोइरालाले अहिले पार्टी अलमलिएको र स्पष्ट दृष्टिकोण दिन नसकेको गुनासो बढेको बताउँदै महिलाहरुलाई पार्टीभित्र, राज्यका निकाय र सभाहरुमा उच्चस्थान दिन कञ्जुस्याई गर्न नहुनेमा जोड दिनुभयो ।

नेपाल महिला संघले महिला नेतृत्वलाई सैद्धान्तिक र वैचारिक रुपबाट सक्षम तुल्याई उनीहरुमा साङ्गठनिक सीप एवम् दक्षता बढाउन चार दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको बताइएको छ ।

प्रशिक्षणमा सहभागीहरुलाई काँग्रेसको ऐतिहासिक पृष्ठभूमि, महिला मुक्ति आन्दोलनमा महिला सङ्घको भूमिका, प्रजातान्त्रिक समाजवाद, समसामयिक राष्ट्रिय राजनीतिक सवालहरुमा जानकारी दिइने छ ।

सङ्घका सदस्य नागिना यादवका अनुसार सङ्घ सञ्चालन, सदस्यता विस्तार, कोष व्यस्थापनसहित राष्ट्रिय अन्तर्राष्ट्रिय सवालहरुमा चेतनाको विकास गर्न पार्टी नेता तथा विज्ञहरुले प्रशिक्षण दिनेछन् ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*