पुल र पोषणका लागि विश्व बैंकको सहयोग
  |   Nepal24 hours

काठमाडौ, २९ असार । विश्व बैंकले पुल र पोषण कार्यक्रम कार्यान्वयनका लागि रु आठ अर्ब ८८ करोड उपलब्ध गराउने भएको छ । बैंकबाट प्राप्त हुने उक्त रकममध्ये रु पाँच अर्ब ३३ करोड पुल निर्माण तथा मर्मतसम्भार कार्यक्रम तथा रु तीन अर्ब ५५ करोड सुनौला हजार दिन पोषण परियोजनामा खर्च गरिने छ ।  बैंकले पोषण परियोजना कार्यान्वयनका लागि प्रदान गरेको रकम अनुदान सहायता हो भने बाँकी रकम ऋण सहयोग हो । आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ऋण तथा अनुदान सहायतासम्बन्धी दुई बेग्लाबेग्लै सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव लालशङ्कर घिमिरे र बैंकका कायममुकायम निर्देशक विज्ञान प्रधानले हस्ताक्षर गर्नुभयो । बैंकबाट लिइएको ऋण राष्ट्रिय राजमार्गमा १ सय २१ वटा नयाँ पुल निर्माण तथा ८९ वटा तत्काल मर्मत गर्नुपर्ने पुलमा उपयोग गरिने छ । त्यसैगरी २ सय ४२ वटा अन्य पुल र ९५ वटा साना पुलको मर्मतसम्भारमा खर्च गरिने भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसी सिटौलाले राससलाई बताउनुभयो । आगामी पाँच वर्षभित्र पुल परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको बताउँदै उहाँले त्यसबाट आर्थिक तथा सामाजिक सेवाका क्षेत्रमा मुलुकको उल्लेख्य प्रगति हुनाका साथै रोजगारीका थप अवसर सिर्जना हुनेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभयो । त्यस्तै  ग्रामीण भेगका प्रजनन उमेरका महिला तथा बालबालिकालाई लक्ष्य गरी एक हजार दिनसम्म पोषण तथा त्यसको महत्व र कुपोषणका कारण आइपर्ने जटिल स्वास्थ्यस्थितिबारे चेतनामूलक कार्यक्रम सञ्चालन गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

Your email address will not be published. Required fields are marked *

*


*